घाम अस्ताइसकेको थियो । साँझले सहर ढाक्न लागेको थियो । दीपमालाले आफ्नो टेम्पू कोटेश्रमा रोकेकी थिई । टेम्पू भरिएको थिएन । ऊ भन्दै थिई, ‘लगनखेल, लगनखेल । सिट खाली । अब हिँड्नै लाग्यो ।’
ट्राफिकप्रहरीले कर्कश सिट्ठी बजायो । दीपमालाले संकेत बुझीे । दशमिटर जति टेम्पू अगाडि बढाई र रोकी । फेरि बोली, ‘लगनखेल, लगनखेल । छिटो आउनुस् सिट खाली छ ।’
तीनचारजना ठिटा कुद्दै आए । ती टेम्पूमा चढे । अझै दुईतीन सिट खाली थिए । केहीबेर रोकी । टेम्पूभित्रबाट एउटा यात्रु बोल्यो, ‘छिटो लग बहिनी, छिटो । रात पर्न लाग्यो ।’
रात पर्न लागेको त दीपमालालाई पनि थाहा थियो । ‘यिनै यात्रुहरू टेम्पू भेट्न दौडिन्छन् । रोकेन भने कराउँछन् । चढ्यो, चढ्नेबित्तिकै कुदाउन दबाव दिन्छन् । अरू कसैलाई पनि त टेम्पू भेट्नु परेको होला नि ! दुईसिट भरिँदा एकछाक तरकारी आउँछ ।’ अलिकति सोच्न भ्याई दीपमालाले । अगाडि आफूछेउको सिटपनि खाली थियो । यात्रुको कचकचले गर्दा टेम्पू अगाडि बढाई । टेम्पूले पूरै गतिचाहिँ लिएको थिएन । दीपमाला यताउता हेर्दै स्टेरिङ्ग घुमाउँदै थिई ।
उसले दोस्रोपटक धामीसरलाई देखी । उनी मुखमा माक्स् लगाएर सडकछेउमा उभिएका थिए । पहिला त राम्रोसँग चिनिन । एकछिन हेरेपछि धामी सर नै हो भन्ने ठम्याई । उसले धामी सरलाई बोलाई, ‘सर, उतै जाने होइन ? आउनुस्, जाऊँ । म सातदोबाटोसम्म पु¥याइदिन्छु ।’
धामीसर अलमलिए । दीपमालाको टेम्पू नम्बर पनि धामीसरले याद गरेका थिएनन् । नजिकै आएको टेम्पू हेरे । टेम्पू भित्र हेरे । दीपमालाले मास्क लगाएकी थिइन । यो पटक त रामै्रसँग चिने धामीसरले दीपमालालाई । यसो निहुरिएर हेरे, उही दीपमाला ठ्याक्कै ।
सहरमा दीपमाला र धामीसरको पहिलो भेटको प्रसङ्गलाई एउटा कथाकारले कथा लेखेको थियो । त्यो कथा चर्चित एउटा साहित्यिक पत्रिकामा छापिएको थियो । त्यो कथाकारले देखिरहेको भए फेरि अर्को कथा लेख्ला र छपाउला । हुँदाहुँदा त्यो कथाकारले आफ्नो जीवनवृति पूरै थाह पायो भने कथोपन्यास बनाउला भन्ने डर लाग्यो । यताउति कथाकार हेरे धामी सरले । कथाकारको फोटोसँग मिल्ने कुनै अनुहार देखेनन् । निर्धक्क भए । टेम्पू चढे ।
दीपमालाले टेम्पू अगाडि बढाउन लाग्दा ट्राफिकप्रहरी त्यहीँ अगाडि आयो । त्यो अलि रिसाएको जस्तो देखियो । भन्यो, ‘छिटो लैजा न तेरो ठाँडो ।’ धामी सर जिल्ल परे । दीपमालाई आत्मग्लानी भयो । के पेशा लिएछुजस्तो लाग्यो उसलाई । उसको मुख रातो भयो । धामी सरले कुरा उप्काए, ‘यस्तै हो दीपमाला बहिनी, यी ट्राफिकहरूलाई पनि टेन्सन छ । दिनभरिको छारोधूलोले हत्तु भएका छन् । कुनैबेला सडक खाली हुने होइन । एउटा पन्छायो, अर्को उभिन आइपुगिहाल्छ । फेरि रोक्न नहुने ठाउँमा रोक्छन् ।’
दीपमाला बोली, ‘सर मैले निषेधित ठाउँमा त रोकेको थिइनँ नि, किन त्यस्तो बोल्नुपरेको ! ट्राफिकको कुरा मलाई थाहा छ सर । ठाउँकुठाउँमा गाडी रोक्छन् । लाइसेन्स् माग्छन् । दियो, एउटा न एउटा फत्तुर झिकेर दुईचार सय त डाँडिहाल्छन् । मलाई गाली गर्ने ट्राफिकलाई मैले कस्तो ठाउँमा देखेकी छु, पत्याउनै गाह्रो । पैसा त कस्को खल्तीमा ।’ धामी सर बोले, ‘यस्तै हो बैनी, सबै कमाउने मौका हेर्छन् । के गर्नु त उजुर गर्ने ठाउँ नै यस्तै छ ।’ उनले गाँठी कुरा बुझेनन् ।
दीपमालाले टेम्पू अगाडि बढाई । पटकपटकको जामले टेम्पू छिनछिनमा रोकिन्थ्यो । रोकिएको बेला कुरा गर्ने मौका पथ्र्यो । दीपमालाले फेरि कुरा कोट्याई, ‘अस्ती सरले मलाई चिन्नुभएन । मेरो मुखमा मास्क थियो । आज सरको मुखमा मास्क रहेछ, मैले हत्तपत्ती चिनिनँ । अनि सर, यता कहिले आउनुभएको ? तपार्इँं त रामेछापतिर पढाउनुहुन्छ भन्ने सुनेकी थिएँ ।’
धामीसर बोले, ‘एकडेढ वर्ष भयो यता सरुवा भएको । अहिले व्यर्थै यता आएछुजस्तो लागेको छ । आफ्नै जिल्लामा जान पनि हम्मेसी सरुवा मिल्दैन । यो सहर देखेर वाक्क भइसकियो । जहान बच्चा यतै छन् के गर्नु ।’
दीपमालाले टेम्पूको गतिलाई तेज पारी । धामीसरको कुराकै प्रसङ्गलाई कोट्याई, ‘सर, हामीलाई पनि यो सहरमा बस्न मन छैन तर दुईचार पैसा यहीँ देखिन्छ । गाउँमा त उराठिलो पाखोबारी । केही फल्दैन । पैसाको मुखै देख्न गाह्रो । सर, एकदिन मेरो डेरामा रात बस्ने गरी आउनु न । सरलाई म एउटा घटना बताउँछु । मलाई गाली गर्ने ट्राफिक पनि चिनाइदिन्छु ।’ धामीसर बोले, ‘तिम्रो डेरा कता छ नि ? टाढा होला ।’ फेरि मनमनै भने, ‘घटना त कथाकारलाई पो बताउनुपर्ने दीपमाला ।’ उसले भनी, ‘पहिले त लगनखेलमै थियो । अहिले ठमेलमा छ । श्रीमान् सुन्धारा–चक्रपथ–महाराजगञ्जरुटको टेम्पू चलाउनुहुन्छ । उतै सजिलो भयो । नजिक पनि भयो । भाडाचाहिँ अलि महङ्गो छ ।’
दीपमालाले टेम्पू रोकी । धामीसरलाई पैसा दिन पनि अप्ठेरो भयो । नदिन पनि अप्ठेरो भयो । उसले छुट्ने बेलामा आफ्नो मोवाइल नम्बर पनि दिई । धामीसरले पनि दिए । दीपमाला लगनखेलतिर मोडिई । धामीसर हात्तीवनतिर लम्किए ।
– – – – –
दीपमाला धामीसरलाई लिन चोकमा निस्किई । नभन्दै धामी सर त्यहीँ आइपुगेछन् । दीपमालाले धामीसरलाई नमस्कार गरी । धामीसरले नमस्कार फर्काए । दीपमालाले धामीसरलाई कोठातिर लगी । कोठा केही साँघुरो भए पनि सफा थियो । सानी बच्ची थिई । त्यसलाई धामीसरले चकलेट दिए । नाम सोधे । बच्चीले भनी, ‘रूपमाला’ । धामी सरले बच्चीलाई नजिकै ताने । भने, ‘दीपमालाकी छोरी रूपमाला । कति मिठो नाम ! तिम्री ममी सडकमा देश चलाउँछिन्, तिमी के चलाउँछ्यौ ?’ रूपमाला लजाई ।
दीपमालाको श्रीमान् आइपुग्यो । उसले धामीसरलाई चिनेन । दीपमालाले चिनाई, ‘उहाँ हामीलाई क ख चिनाउने सर ।’ दीपमालाको लोग्नेले अभिवादन ग¥यो । दुईचार कुरा ग¥यो र कोठातिर लाग्यो । रूपमाला पनि बाबाको पछि लागी । दीपमालाले चिया बनाई । धामीसरलाई दिई । कोठामा छोरी र श्रीमान्लाई पु¥याई ।
धामीसर र दीपमाला चियासँगै गफिनथाले । कुकरमा सिट्ठी बज्न लाग्यो । त्यो सिट्ठी ट्राफिकको भन्दा कर्कश थिएन । दीपमालाले कुरा भिकी, ‘सर, यो सहर बाहिर देख्दा कति सुन्दर छ तर भित्रभित्र खोक्रिइसक्यो । भित्र खोक्रिई सकेर पनि बाहिर भरिलो भएको देखाउनुपर्छ सहरियाहरूलाई । सुविधा भएर पनि के गर्नु, पैसा भएन भने भोकै बस्नुपर्छ । भित्र रित्तो भएपनि बाहिर भरिलो भएर हिँड्नुपर्छ सबैलाई । सर, यहाँ कति केटाहरू धेरैदिन भोकै बसेर पनि बीसौँहजारको मोवाइल बोक्छन् । सानोतिनो काम गर्न लाज मान्छन् बरु चोर्नपट्टि लाग्छन् । केटीहरू उस्तै छन् । सुन्दरी भएर हिँड्नुपर्छ तर खल्तीमा कौडी हुँदैन । त्यो हेरी त म धेरै धनी छु जस्तो लाग्छ सर ।’ धामीसरले उज्यालो मुख पारेर भने, ‘दीपमाला, तिमी साँच्चै धनी छ्यौ, किनभने तिमी सन्तुष्ट छ्यौ ।’
दीपमालाले अस्ति टेम्पूमा धामीसरलाई एउटा घटना सुनाउँछु भनेकी थिर्इं । धामीसरले सम्झिहाले, ‘दीपमाला, तिमीले मलाई एउटा घटना सुनाउँछु भनेकी थियौ । मलाई त्यै सुन्न हतार भएको छ । त्यो सुनेर म जान्छु ।’
दीपमाला बोली, ‘त्यो त सरलाई मेरो कोठामा बोलाउने निहुँ पो त ।’ धामी सर बोले, ‘त्यसो भन्न पाइन्छ ! के घटना हो नभनी हुँदैन ।’
दीपमाला अन्कनाई । उसलाई कसरी भन्नुजस्तो लाग्यो । भनी, ‘साँच्चै सुनाउनै पर्ने सर ! खै कस्तोकस्तो लागिरा’छ । तैपनि सरलाई बोलाइहालेँ । सर, म लगनखेलबाट टेम्पू थन्क्याउन यतै आउँदै थिएँ । त्यो दिन मलाई अलि छिट्टै घर आउनुपरेको थियो । जाउलाखेलमा एउटी ठिटीले टेम्पू रोकी र चढी । त्यो मसँगैको अगाडिको सिटमा बसी । ठिटीको अनुहार र ल्वाइख्वाइ हेर्दा धनीकी छोरीबुहारीजस्ती देखिन्थी । त्यसको शरीरबाट महङ्गो सेन्टको बास्ना आइरहेको थियो । म चुपचाप आफ्नो गाडी चलाइरहेकी थिएँ । उसैले कुरा झिकी । त्यो सानो स्वरमा बोली, ‘हेर्नुस न, आज बीचबाटोमै मेरो कारको एक्सीलेटर बिगे्रर यो हाल भयो । टेम्पूु चढ्नु प¥यो । हजुरलाई फोन गरेँ, बानेश्वरमा जाममा छु भनिस्यो । क्या बोर भयो ।’ त्यो सुनेर मलाई रिसरिस उठ्यो । ट्याक्सी चढेको भए भैहाल्थ्यो नि भन्दिउँजस्तो लागेका थियोे, तर केही भनिनँ । त्यसका शरीरका लुगा धेरै मोल पर्नेखालका थिए । त्यसले मलाई खिसी गरेजस्तो गरेर हेरिरहेकी थिई ।
धामीसरले भने, ‘अनि के भयो ? त्यो ठिटी कहाँसम्म आई त ?’ दीपमालाले कुरा जोडी, ‘सर, त्यो ठिटी थापाथली पुलनेर ओर्लिई । त्यसको मोवाइलमा घण्टी बज्यो । कुरा गर्दै थिई । म टेम्पू थन्क्याएर डेरामा आएँ । हामी खानासाना खाएर सुत्ने कोठामा पस्यौँ । श्रीमान्ले झ्यालको पर्दा सार्नुभो । उहाँले नै देख्नुभएछ । सर, उः त्यहाँ एउटा चल्तीको मसाजसेन्टर छ । कसरी भन्नु सर ! भन्नै लाजमर्दो छ । त्यही टेम्पू चढ्ने केटी मसाजसेन्टरको कोठामा ठिटाहरूसँग मोलमोलाइ गरिरहेकी थिई । एकसय, दुईसय, पाँचसयसम्मको कुरा हुँदैथियो । श्रीमान्ले मलाई हेर भन्नुभयो । मैले त हेर्नै सकिनँ । पर्दा बन्द गरेँ । त्यो ट्राफिक पनि त्यहीँ थियो । त्यो केटीले एकदमै पातला लुगा लगाएकी थिई । त्यसपछि त सर, मलाई यो डेराबाट अन्तै सर्न मन लागेको छ । त्यसपछि मलाई त्यो ट्राफिक देखिसहँदैन ।’
दीपमालाले घटनाको वर्णन सकी । धामीसरले त्यो कथाकारलाई सम्झिए । त्यसले यस्तो कथावस्तु भेट्टाएको भए कस्तो राम्रो कथा बनाउँथ्यो होला । दीपमालाले धामीसरलाई खाना खान दिई । सत्कार गरी । उनलाई छुट्टै कोठामा सुत्ने व्यवस्था मिलाई । दीपमालाका परिवार आफ्नै कोठामा गए । धामीसरलाई निकैबेर निन्द्रा लागेन । बल्लबल्ल निदाए । सपनामा त्यही मसाजसेन्टर, मोलमोलाइ, अश्लील कृयाकलाप देखे धामीसरले । त्यही कथाकार मसाजसेन्टरमा कथा लेखी नै रहेको थियो ।
(सयपत्रीको प्रकाशोन्मुख कथासंग्रहबाट)
(स्रोत : eJanata)