‘उँधोलाई हे-यो त्यो कोसी बगर उँभोलाई तारेभीर, मरने सबै बैकुन्ठै पुगे बाँच्नेलाई पर्यो पीर’ घरैछेउको बाटो भएर उँधै–उँभै गर्ने घाँसे–दाउरेले यो विरही ताना अलापेर जाँदा वीरमानको छातीमा सोला हान्छ । हृदयमा तुफान उठ्छ, बिर्सन खोजेका वियोगका बादलहरू भित्रभित्रै मडारिन्छन् अनि अन्तस्थ शरीरका भागहरू छोप्दै–छोप्दै माथि उठेर झरीका रूपमा आँखाबाट खस्न थाल्छ त्यो । लाग्छ– यो क्रम त्यस बेलासम्म जारी रहनेछ, जुन बेलासम्म चन्द्रकलाको चिहानले आकार ग्रहण गरिरहनेछ ।
हिजोआज विगतको त्यो दर्दनाक घटनाको पीरो स्मृति स्मृतिपटबाट मेटिँदै गए पनि बेलाबेलामा सपना ती दृश्यहरू दुरुस्तै बोकेर नयनमा झुल्किदिन्छ । यस्ता निर्दयी सपना, जसले आफैँ अमूर्त भएर पनि एउटा मूर्त जीवन बाँचेको मान्छेको सारा मस्तिष्क खल्बल्याइदिन्छ । सपनाबाट व्युँझेर वीरमान आँसु पुछ्दै टोलाउँछ । हो कि, हो कि हुँदाहुँदै व्युँझँदा त होइन पो रहेछ । अर्कालाई भ्रान्तिमा राखेर पीडा मात्र दिने यस्ता रिक्त सपनाले वीरमानको मन आधारातमा पटक–पटक बहक्याएको छ ।
कैयौँचोटि उसले आँखामा तातो कोसी बगाएको छ । विशेषगरेर पूर्णेछेक आँगन–करेसाभरि जून पोखिँदा, मास्तिर खत्रीटोलमा एकोहोरो कुकुर भुक्दा र रातको सन्नाटालाई चिर्दै मुन्तिरको गुन्टेडाँडा र पारि तुनीपाखातिर बिसाइ–बिसाइ हुच्चिल बास्दा ऊ एल्बम पल्टाएर रुँदै चन्द्रकलाको फोटो सुम्सुम्याउँछ ।
‘ऊ त्यो चिपचिपे पानी उम्रिरहेको ठाउँमा उत्तिसको जरा देख्यौ ?’
‘कुन ? त्यो नागको गुहु रातै बगिरहेको नेर ?’
‘अँ हो, त्यहीँबाट खसेकी थिई तिम्री भाउजू र त्यै धारेढुंगामा बज्रिएर प्राण गएको थियो ।’ वीरमानले आफ्नो भाइ चाभालाई चन्द्रकलाको सुन्दर जीवन लुट्ने त्यही भीर देखाउन लगेको थियो, जुन भीरबाट वर्षाैंअघि उनीहरूकै तिल्के गोरु, पुतली बाख्र्रा र दार्मे गाईसमेत लडेर मरेका थिए । आफ्नो परिवारको खुसी पटक–पटक लुट्ने त्यो निर्दयी काल भीरलाई गहिएर हे-यो चाभाले । चन्द्रकला खेतमा धान गोड्न जाँदा भीरबाट लडेकी थिइन् । त्यो पनि आफूलाई पछ्याएर गएकी आफ्नै सानी छोरी बुङाको कारण । माथिल्लो गह्रामा काम सकेर तल्लो गह्रा झर्नेक्रममा आफूले कम्मरमा बोकेकी बुङाले भित्तामा खुट्टाले अडेस मारिदिँदा हुत्तिएर आमा–छोरी नै डिलको भीरबाट झन्डै सत्तरी फिट तल खसेका थिए र यसरी खस्दा चन्द्रकलाले आफू मर्दै छु भन्ने थाहा पाएपछि छोरीलाई वनमारा घारीतिर हुत्याइदिएर आफूचाहिँ धारेढुंगामा बजारिएकी थिइन् । यही कुरा उक्काउँदै वीरमानले आँसु झा¥यो अहिले । घाम पहेँलो हुँदै थियो, दुवै दाजुभाइ घर फर्कंदा उँधो उत्तिसेनी गैह्रातिर झ्याउँकिरीहरू कराइरहेका थिए ।
‘यै हो उनको ठाँटी चौतारो’ बाटैमा पर्ने चन्द्रकलाको ठाँटीमा आइपुगेपछि भावुक भयो वीरमान– ‘सुस्ताऊँ है एकछिन ।’ दुवै सुस्ताए चौतारामा ।
‘तिम्री भाउजू अहिलेसम्म बाँचिदिएकी भए मेरो अवस्था अर्कै भइसक्ने थियो भाइ,’ आँखामा आँसु टिलपिल पार्दै वीरमानले दुःखको सुस्केरा छोड्यो, ‘के गर्नु, जीवनको यो मोडमा यसरी छुट्टिनुपर्ने रै’छ, कुनै दिन उनले मसँग दुःख बिसाइनँ । रहरहरूको पोको फुकाएर गुनासो पनि गरिनँ, साह्रै नपाउनुकी थिई । त्यस्ती श्रीमतीलाई मैले पो बाँचिन्जेल न सुख दिन सकेँ न माया नै । बरु मेरो यातना, प्रताडना, वचन र दुःखसँग हाँसेरै सामना गरिरही बाँचिन्जेल ।’ आँखाको कुनाबाट बगेको आँसु दुई औँलाले पुछ्यो उसले ।
‘मन दह्रो बनाउनुस् दाइ, बच्चाहरूकै लागि भए पनि…..। तपाईंको यो आँसु ती कलिला नानीहरूको सुन्दर भविष्यका लागि तुषारो बन्न सक्छ । आँसु मान्छेको कमजोरी हो । अभिभावकको यो कमजोरीभित्र दरसन्तानले आफ्ना लक्ष्य भुल्न सक्छन्, उज्याला बाटाहरू हराउन सक्छन् । त्यसैले हाँस्नैपर्छ तपाईंले । हो दाइ, जानेहरू पो गए त, रहनेहरू त एक–अर्काको भविष्यकै खातिर पनि बाँच्नै पर्छ नि, हैन र ?’ भाइको कुराले सायद स्पर्श ग¥यो वीरमानलाई ।
उसले पुनः आँसु पुछेर भन्यो, ‘हुन त हो भाइ तर गाह्रो हुने रै’छ, बीसौँ वर्ष सँगसँगै बिताएका क्षण चटक्कै बिर्सन ।’
‘दाइ, सबै कुराले सुखी कोही पनि हुँदैन संसारमा । सबैलाई एउटा न एउटा दुःखले कोपरेको हुन्छ । फरक यति हो कि कसैले यसलाई भयानक सम्झन्छ त कसैले सामान्य तर हामीले यिनै दुःखहरूबीच सुख खोज्नुपर्छ, यही नै हो अन्तिम सत्य ।’
‘एउटा गुनासोले चैं बाँचिन्जेल पोलिरहने भो मलाई ।’
‘कस्तो गुनासो दाइ ?’
‘हामीले बाँच्दैखेरी एक–अर्काको सम्मान गर्न जानेनौँ भने मृत्युपछि पश्चातापले जलाउने रहेछ । मैले तिम्री भाउजूको दिलमा अनगिन्ती ठेस पु-याएको थिएँ, जुन गल्तीको प्रायश्चित गर्ने मौकासम्म मिलेन मलाई,’ वीरमानले पारि डाँडातिर हेर्दै भन्यो, ‘मेरो मन साह्रै विरक्तियो यो साल, बस्दिनँ भाइ यो दुःखी ठाउँमा म अब । जान्छु, केटाकेटी चेपेर अन्त कतै….. टाढा ।’
वीरमानको यो निष्कर्ष निको लागेन चाभालाई । उसको मनमा पनि कतै च्वास्स दुखेर आयो । उँधो हेर्दा गड्तीर पूरै ढाकेर बगिरहेको थियो दूधकोसी । उसले त्यसैको दृष्टान्त दिँदै उदास स्वरले भन्यो, ‘दाइ, त्यो दूधकोसी पनि त्यसरी धमिलिएर बग्नु उसको रहर नभएर विवशता हो, नियति हो । यहाँ सबै कुरा आफ्नो चाहले हुँदैन, दुनियाँमा, प्रकृतिमा जे–जे हुन्छ, त्यो अरूकै खटनले हुन्छ । तपाईं यहाँबाट आज एउटा दुःखसँग भाग्नुहुन्छ, त्यहाँ दसवटा दुःखसँग लड्नुपर्छ । त्यसैले म एउटै कलेजो सिरानी लगाएको भाइको नाताले सम्झाउँदै छु– यदि भाउजूकै याद बिर्साउनलाई यो ठाउँ छोड्न खोज्नुभएको हो भने त्यो तपाईंको ठूलो भूल हुनेछ ।
वीरमानले ‘त्यो त हो’ को संकेतमा टाउको हल्लायो ।
‘त्यसो भए सुन्नुहोस्, त्यो तपाईंको भावावेशले सिर्जेको भ्रमसिवाय केही होइन । हामी जति टाढा जाउँ, याद झन् गाढा भएर आउँछ, जसलाई कुनै चिजले छेक्नै सक्दैन । न खोलाले, न घुम्तीले, न पहाडले नै । अर्काे कुरा अहिले त तपाईंलाई मात्रै भाउजूको यादले सताएको छ । तर तपाईं यो थातथलो छाडेर अन्त जानुस् त, त्यो बेला भाउजूको के कुरा सारा संस्कृति, समाज, गाउँ अनि यो सिंगो देशको सम्झनाले रेट्नेछ तपाईंलाई, रेटिरहनेछ । त्यसपछि के गर्ने ? फर्केर आउँ भने गाउँ नै बिरानो भइसकेको हुन्छ, त्यतै बसौँ सधैँ एक्लो र शून्य ।’ वीरमानले भाइको कुरा मौन भएर सुनिरह्यो ।
चाभाले अरू थप्यो, ‘त्यसैले यो जन्मथलो छोडेर टाढा जाने कुरै नगर्नुस् । यो माटो, धारा, कुवा, पुलपुलेसा, भीरपहरा, जंगल, खोला, गाउँ अनि पँधेरी यी हाम्रा पुर्खाका अवशेष हुन्, इतिहास हुन् । यहाँ उनीहरूको विम्ब नाचिरहेको छ । यहाँको बाटामा हाम्रा हजारौँ थोपा रगत, पसिना र आँसु खसेका छन् । यहाँको माटोमा हाम्रो लुगाको धागो, टालो मात्र होइन, शिरको केश अनि पाउको नङसमेत पुरिएको छ । अब भन्नुस् आफँै, के यी सबैलाई नाङ्गो पाइतालाले कुल्चेर जान तपाईंको मनले मान्छ ?’
वीरमानले केहीबेर सोचेर भन्यो, ‘त्यो त मान्दैन भाइ ।’
‘तसर्थ जन्मभूमि छोडेर अन्त जानु भनेको समस्या समाधान होइन । हामी जहाँ जन्मेर हुक्र्यौं, त्यहीँ भेट्यौँ हामीले आफ्नो परिचय, संस्कार र सभ्यता । तसर्थ त्यो गाउँले दिएको सुखमात्र होइन, दुःख पनि ग्रहण गर्ने हिम्मत राख्नुपर्छ हामीले, कि कसो दाइ ?’
‘भाइ, साह्रै चित्तबुझ्दो कुरा ग¥यौ । के गर्नु, लेखपढ नभा’को मान्छेलाई यस्तो फराकिलो सोचाइ नआउँदोरहेछ । तर, म गर्वसाथ भन्न सक्छु आज, कि दुःख गरी मैले तिमीलाई पढाएर सतप्रतिशत ठीक गरेँ,’ वीरमानको उदास मुहार उज्यालिँदै आयो ।
‘दाइ, अब जाने होइन ?’
‘हुन्छ, जाऔँ ।’ दुवै ठाँटीबाट बाटो लाग्दा पश्चिम डाँडामा घाम रातो पिण्डजस्तो भएर डुब्नै लागेको थियो । उनीहरू घर पुग्दा ठूलो साँझ झरिसकेको थियो । बच्चा केटाकेटीहरू आँगनमा खेलिरहेका थिए रमाउँदै । वीरमानलाई देख्नासाथ ‘बाबा आउनुभो’, बाबा आउनुभो’ भन्दै सानाहरू दौडेर आई उसको छातीमा टाँसिए भने अलि ठूलाचाहिँ गाग्री टिपेर लागे पँधेरीतिर । सिकुवामा आमा र माइली सर्किनी कुरा गरिरहेका थिए ।
‘त्यै झल्को आउँछ अहिले पनि बज्यै … मेरो आँखैअघि लड्नुभो बैनी … हेर्दाहेर्दै, सम्झँदा पनि सपनै जस्तो,’ चन्द्रकला लड्दा खेतमा सँगै काम गरिरहेकी माइली सर्किनीले त्यो घटना सम्झेर अहिले भन्दै थिई, ‘त्यत्रो हेर्दै रिंगटा लाग्ने भीरबाट बैनी लडेको देखेर म त त्यसै विचेत भएछु, पछि पो हामफालेर जान्छु त … खुनको पोखरीमा डुबिराख्नुभाथ्यो, टाउको दुई फेसा भएको देखेँ, मुख बाउँदै हुनुहुन्थ्यो बरा… पानी माग्नुभएजस्तो लाग्यो तर म सानो जात आफ्नो हातले कसरी खुवाउँथे र ? आत्तिएर बाजेलाई बोलाउन पुगेँ, पछि बाजे र म त्यहाँ पुग्दा त …’
‘आ ऽऽ माइली केको जात न पात, तैँले आफूभन्दा माथ्लो जात ठानेको मेरी बुहारी त त्यसरी मरी, तैँले त्यस्तो कुरा मिचेर त्यै बेला पानी खुवाइदिएकी भए वा बाँच्थी कि …!’
‘खै बज्यै …?’ आँगनको डिलमा उभिएर सुक्न लागेको मकैको धानचामरको बीचबाट बारी पुछारतिर हे-यो चाभाले । अघिसम्म अलि–अलि देखिएको भाउजूको चिहानलाई क्रमशः गाढा अँधेरीले छोप्दै लगेको थियो । केही दिनपछि चाभा सहर फर्कियो । ऋतुहरू परिवर्तन हुँदै जाँदा वीरमानको पनि हृदयमा बसेका दुःखद स्मृतिका खाटाहरू पनि समयको छालले बिस्तारै पखाल्दै लग्यो । भीरको टाकुरामा उभिएर सफा नीलो आकाश एकनासले हेरिरहेको थियो ऊ । त्यही पल कान नजिकबाट ‘स्वाहाँ …’ गर्दै सुसाएको अदृश्य बतास हेर्दाहेर्दै सेतो बादल भएर उड्न थाल्यो माथि–माथि, मूर्त–अमूर्त आकारमा परिणत हुँदै उचालिएको त्यो बादल, हिमालयको रूप धारण गरेर टाँगियो अनन्त आकाशको नीलो तलाउमा । ऊ आँखै नझिम्क्याई हेरिरहेको थियो त्यतै, जहाँ पलभरमै दुई चुचुरोको काखबाट सुस्तरी उदायो एउटा कलिलो घाम र रूप धारणा ग¥यो पुनः निमेषभरमै त्यसले प्रिय भाउजू चन्द्रकलाको । ऊ छक्कै पर्यो, आफसेआफ खोलियो उसको ओठ ‘भाउजू’ ।
‘भाइ ! तपाईं किन ढिलो आउनुभो ? प्राण त्याग्ने बेला म तपाईंलाई नै सम्झेर रोएकी थिएँ ।’
‘…..’ ऊ निःशब्द भयो ।
‘म मेरो अधुरो रहरहरू सँगालेर बतासमा घुम्ने गर्छु दिउँसो र बिहान बेलुकी चैं खेल्छु सूर्यको कलिलो प्रकाशसित । मैले आँगनडिलमा फूलहरू रोपेर त्यसै छोडेकी थिएँ, फुल्न नसकेर रोइरहेको होला, जसलाई म अब गोडमेल गर्न सक्दिनँ, पानी हाल्न सक्दिनँ, अदृश्य भइसकेको म केवल स्पर्शमात्र गर्न सक्छु ।’
चन्द्रकलाको आँखाबाट हिमनदी बग्न थालेको देखेर हात फैलाउँदै बोलायो उसले, ‘भाउजू … भाउजू …’ तर, उनी टाढा हुँदै गइन् । अघि मात्र टाँगिएका हिमालका चुचुराहरू बिस्तारै पग्लँदै गए र त्यही पग्लिरहेको हिमालपारिबाट विलीन हुँदै गएको आवाज अन्तिमचोटि उसको कानमा ठोक्कियो, ‘त्यहाँ नउभिनुस् भाइ ! त्यो खुनी भीर हो, म लडेको भीर ….’
चाभाले उँधो भीरतिर हे-यो, जो फेदैबाट भत्किरहेको थियो, थर्किरहेको थियो । ऊ कहालिँदै ब्युझिनिस्क्यो । पसिनासरी मध्यरातमा तर्संदै ब्युँझिनिस्केको उसलाई पत्नी मित्माले झक्झक्याएर सोधी ‘के भो ? किन तर्सिनुभा’को ?’
‘मैले फेरि डरलाग्दो सपना देखेँ मित्मा ।’
‘कस्तो सपना ?’
‘उही भाउजू लडेको भीर ।’
(स्रोत : चन्द्र रानोहँछाको कथासङ्ग्रह ‘भाउजू लडेको भीर’बाट सभार )
कविताः जीवीत छु
भिम दुमी
काजी !
म, भाउजु
उ क्या तिमीले हुत्याएको
कि चिनेनौ र मलाई
याद गर काजी !
भनेको त्यो
सुङदेल जाँदा
सम्झ त
तिमी पछी पछी थियौ
म अघि अघि थिएँ
म चिप्लिए भिरमा
झरे अलि तल
तिमिलाई हात फैलाएँ
अहँ ताने नौ मलाई
म थेच्चारीए
मेरो शरिर छरपस्ट भो
मासुको चोक्टा चोक्टा उछिटिए
रमिता हे¥यौ तिमिले
कस्तो आनन्दी मनले
तर ,
काजी
मन त मरेको थिएन
मलाई रहर थियो
तिम्रो दाजुलाई पर्खने
आखाँको अगाडि
तस्विर खिच्नु बाँकी थियो
अगाडि अगाडि झोलामा
किताब बोक्ने
सानो लालावाला
नाना चाचा माग्ने तोतेबोलि
बनाउनु थियो
कुरी रहेको थिए
तिम्रो दाजुलाई
तर
काजी
म, छरपस्टिएँ
मेरो त्यो सपना चकनाचुर भयो
विपना हुनै लाग्दा सपना
मलाई मारेरै छाड्यौ
म कसरी सक्छु अब
तिम्रो दाजुको स्याहार सम्मार
खल्लो प्रतिक्षा
अली कति पनि
जोगाएनौ मलाई
काजी ,
म लड्ने बेला
समाउन आउने को पो रे ?
विर्से मैले
माफ गर, मैले वीर्से
तिमीले सम्झ
यस्तो लाई सम्झी रहनु पर्छ ।
उनैले हो ।
हामीलाइ दिएको अर्ति
सुनाएको कहानी
पोखेको व्यथा
अरठिलो हाम्रो समाज
ए साँच्ची,
म भाउजु
तिमिले लडाएको भिरमा
उभिएको म
नबुझेको समाजमा
छरपस्टीएको मेरो दिमाग
कसरी सम्हाल्नु
अघोषित म तिम्रो पात्र न हुँ
काजी
मलाई नामार्नु थियो
त्यतिको बाटो सँगै हिडियो
र
पनि मार्नु खोज्यौ
मारेर छाडयौ
अब कल्ले लान्छ तिमिलाई
सुङदेलको बाटो
म भाउजु
अझै हंसमा
जीवीत छु ।