रातदिन काम खोजिदेउ भनेर हैरान पारेपछि नेता महोदयले आफ्नो चुनाव क्षेत्रको एउटा चुनावकालिन कार्यकर्तालाई रोजगारीको सिफारिस नगरी रहन सकेनन । नेता महोदयको बारम्बारको ताकेता पछि र नेताको आफ्नै पार्टीको विश्वासिलो कार्यकर्ता भनेपछि हाकिमले हुँन्न भन्न सकेनन । उसलाई नियक्ति दिईयो । बडो फुर्तीसाथ उ कार्यस्थलमा प्रवेश गर्यो । सबैले उसमा कामप्रति जोस जागर भएको अनुमान लगाए । काममा लागेको पहिलो दिन उसले सबै सहकर्मी साथीहरुसंग भेटघाट गर्यो । परिचय साटासाट गर्यो । परिचयका क्रममा आफु राजनैतिक पार्टीको प्रभावशाली कार्यकर्ता भएको र प्रभावशाली नेताको दाहिने हात भएको पनि बताउन छुटाएन । उसको पहिलो दिनको परिचय पछि नै सुपरभाईजरले उसलाई काम लगाउन सक्ने क्षमता गुमायो । जागिर सजिलो भयो किनकी काम गर्न नपर्ने भयो । अर्को दिन क्यान्टिनमा खाजा खादै गर्दा सहकर्मीहरुसंग पारिश्रमिक र अन्य सुविधाहरुको अवस्था बुझ्यो । अर्को दिन हक अधिकारको व्याख्या गर्यो । अर्को दिन थप पारिश्रमिक सुविधा लगायतका लामो मागपत्र देखायो र यसका लागी उसका नेता तथा पार्टीको पूर्ण सहयोग रहने बतायो । सबै दंग परे । एकातिर मागपत्र र अर्कोतिर साहासिलो र शक्तिसाली सहकर्मी पाएकोमा सबै खुसी भए । उनीहरुलाई लाग्यो अब सूखका दिन आए । पछिल्लो दिन उसले विरोधको कार्यक्रम देखायो । कोही कोही हच्किए । कोही कोही जोसिए । हच्किनेहरुलाई केही दिनको मिहेनतपछि उसले नै जोसिने बनायो । अन्तमा सबैजना जोसिए ।
पछिल्लो महिनाको एक बिहान हाकिम जसै कार्यालय कक्ष पुग्यो उसको कार्यालयमा ताला लगाइएको थियो र छेउमा एउटा लामो मागपत्र टाँसिएको थियो । भोलिपल्ट त्यही नयाँ कामदार हाकिमको कोठाको सोफामा हाकिमको पनि हाकिम पारामा बसिरहेको थियो । हाकिमले त्यो कामदारको अनुहारमा विरोधको संकेत भन्दा पनि बढी धमिलो पानी देख्यो ।
पहिल्यैदेखि नै लोडसेिडंगले पक्षाघात भएझै पुरा उत्पादन गर्न असक्षम प्राय भईसकेको त्यो उद्योग आखिरमा महिनौको काम बन्द आन्दोलनपछि आफै बन्द भयो ।
५ मार्च २०११ शनिवार, २१ फाल्गुण २०६७
(दोहा, कतार)
(स्रोत : KhassKhass.com )