उल्टो घुम्ने उनीहरु
उल्टो चल्यो देश
उल्टो हिँड्ने मान्छेहरुको
उल्टै परिवेश
अनि भन्छन् उनीहरु-
उल्टो हिँड्छौ तिमीहरु !
औँशी छायो आकाश रोयो भन्छन् उनीहरु
हामी तारा गनिदिन्छौँ
बादलभित्र हरायो घाम भन्छन् उनीहरु
हामी फाट्छ भनिदिन्छौँ
अनि भन्छन् उनीहरु-
उल्टो सपना देख्नेहरु !
भन्नु एउटा गर्नु अर्को भन्छन् उनीहरु
हामी साँचो बोलिदिन्छौँ
अँध्यारोमा मिलाउँ हात भन्छन् उनीहरु
हामी पर्दा खोलिदिन्छौँ
अनि भन्छन् उनीहरु-
उल्टो पाइला चाल्नेहरु !
(स्रोत : Salambihani)