~राजु दाहाल~
आजकल मलाई, म पागल हुन थालेको भ्रम भईरहेको थियो । कारण म कसैसँग मिल्न नसकेरै फगत एक्लो रहन्थेँ । मनको बह पोख्ने एउटा सज्जन साथी थियो खोज्दै जाँदा पागलखानामा भेटेँ । सोधेँ “तँ किन यहाँ ?”
“खराब भएर ।” – उस्ले छोटो जवाफ दियो ।
“ह्या नचाहिने कुरा नगर् न ? के भयो ?” – मैले उस्को कुरा हल्कासँग लिदैँ पुनः सोधेँ ।
“हेर्, फटाहाको संगत गरेँ, फँट्याई गर्न नजानेर खराब भएँ ।
सज्जनको संगत गरेँ देखेको साँचो कुरा बोलेर खराब भएँ ।
चोरको संगत गरेँ चोर्न नजानेर खराब भएँ ।
जुवाडेको संगत गरेँ ईमान्दारिताकासाथ जुवातास खेलेर खराब भएँ ।
जँड्याहाको संगत गरेँ जाँड रक्सि नखाएर खराब भएँ ।
ठगको संगत गरेँ ठग्न नजानेर खराब भएँ ।
ब्यापारीको संगत गरेँ ईमान्दारिताले खराब भएँ ।
नेताको संगत गरेँ जनतालाई नझुक्काएर खराब भएँ ।
कामदारको संगत गरेँ काम गरेर खराब भएँ ।
कसैको पनि संगत फापेन मलाई । अनि यो समाज र दुनियाँमा एक्लै बाँच्न गार्हो हुने रहेछ । त्यसैले हेर्, यिनीहरुको संगतमा छु, जस्लाई तिमीहरु जस्ता पागलहरुको जमातले पागल भन्छ…. ।” – उस्ले आफ्नो लामो भाषण छाँट्यो ।
निकै दिनपछि म पनि सोच्दैछु, म पनि त्यतै बसुँ कि ? किनकी मेरो हालत पनि ठिक त्यस्तै नै थियो र छ ।
समाप्त
(स्रोत : Shabdahar )