हरेक दिन मेरो छाँया
यो घर भित्र पस्छ र बाहिरिन्छ
सधै जसो मेरो फोटो हेर्छिन् आमा
सुकसुकाउदै रून्छिन्
एकछिन् टोलाउँछिन्
अनि कसैले नदेख्ने गरी
सारीको सप्कोले आँशु पुस्छिन्
बा मैले रोपेको क्याकटसमा
सधैजसो पानी हाल्छन्
थाहा छ
जो कहिल्यै फुल्दैन
जिवनको रङ्गहरू लिएर
सधै जसो बिहानीको
झिसमिसेमा
पधेराको डिल मुनी
म उनिलाई कुरी रहन्छु
गाग्री झै रित्तो मन लिएर
ऊनि आउछिन्
पानी भर्छिन
आँखाको डिलबाट
तप्प झार्छिन् आँशुका थोपाहरू
छछल्किएर पानीसँगै भुईमा झर्छन्
र बिलाउँछन्
जिन्दगीका रङ्गहरू
कहिल्यै नआउने भोलिपर्सी गन्दै
सधैजसो मलाई कुरी रहन्छन्
मैले रोपेका ति फुलहरू
उनिसँग जवाफ छैन
ति अबोध प्रश्नहरूको
विस्तारै मुन्टो फर्काउछिन्
रित्तिसकेको आँखा मिच्छिन्
निचोरेर एकफेर मुटु
निस्सासिन्छिन्
गलामा सास रोकिन्छ
मानौ एकछिनलाई
हावा बहनुको कुनै अर्थ नै छैन
घमाईलो भएर आऊने दिन
सधै जसो मुटु बिझाएर जान्छ
आज फेरी मेरो छायाँ घर भित्र पसेर
एकफेर आमाको चरण छुन्छ
बाको आशीर्वाद माग्छ
नानीहरूको अबोधता नियाल्दछ
सङ्गिको निधार चुम्दछ
बाँकी रहेको एउटा युद्ध लड्न
आज फेरी मेरो छाँया घर बाहिरीन्छ
छुन खोज्छु ईट्टाहरू टिपिदैनन्
भत्काउन खोज्छु बारहरू भाँचिदैनन्
मलाई गोलि लागेको सडक नियाल्दछु
म छटपटाएर समातेको
सडक छेउको भित्तो छोईहेर्छु
मेरो रगत पोतिएको छाप खोज्छु
च्यात्न खोज्छु च्यातिदैनन् यि पोस्टरहरू
सिंहदरबार भित्रका धमिराहरूको
बाल्न खोज्छु सडकमा आगो
बल्दैन किन ओस परेको छ यहाँ
म ऊचाल्दै मुठ्ठी बिरोधको
माग्दैछु न्याय यो माटोलाई
तिमीले नसुनेर के भो
तिमीले नदेखेर के भो
म हरेक दिन ऊभिनेछु
तिम्रो सिंहदरवार अघिल्तिर
बिरोधको मुठ्ठी उचालेर
खबरदार !
म अवश्य ब्युतनेछु एकदिन
र भत्काउनेछु तिम्रो दरबार
जो तिमीहरूले आफ्नो निम्ति मात्र बनाएका छौ!
– तेजविक्रम कार्की, चन्द्रनिगाहपुर-१, रौतहट
July 17, 2013
(स्रोत : Tej Bikram’s Notes )