कथा : जीवनको परिवृतमा

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

ऊ हतार-हतार गर्दै बाटो काट्छे । झण्डै एउटा टेम्पोले हानेको, उसले थाहा नै पाइन । जब पछाडि र्फकेर टेम्पो ड्राइभरले ‘मर्लास नि !’ भनेर गाली गर्‍यो तब मात्र ऊ झसङ्ग भई । झण्डै इहलीला नै समाप्त भएको । उसको मुटु ढुकढुक गर्‍यो – ‘थुइक्क ˜.. आज यो बनढाडेको गाली खानुपर्‍यो एकाबिहानै ।’ उसले मनमनै सरापी, त्यस टेम्पो ड्राइभरलाई ।

‘यो हतार, यो व्यस्तता, यी पाइलाहरू पनि अलिक लामा भइदिए हुने नि ! फटका जति लामो पारु भन्छु त्यति नै छोटो भइदिन्छ । नौ-बीसमा स्कुल पुग्नुपनर्,यही नै नौ-बीस भइसक्यो । आज पनि ढिलो भएर गाली खाइने भइयो । कहिले के भएर गाली, कहिले के भएर गाली यो जीवन नै गाली खान खाली भएजस्तो लाग्छ ।’

ऊ मनको गनथन मनमा नै पोको पारेर लम्कन्छे । धेरै कुरापछाडि छोडेर जानुछ उसलाई । अगाडि बढ्नलाई पछाडि धेरै कुरा छोड्नै पर्छ । जीवनको परिवृतमा जति अगाडि बढ्न खोज्यो उति पछाडि हुन्छे ऊ ।उसको जीवन नै वृताकार छ । त्यसैले घुमिरहन्छ , घुमिरहन्छ कुनै उद्देश्य र लक्ष्यविना नै वृतको वरिपरि ।

अहिले ऊ धेरै अगाडि आइसकेकी छे । झण्डै स्कुल पुग्न पाँच मिनेटको बाटो बाँकी रहँदा उसको सेन्डिलको फिता चुडिन्छ ।

‘थुइक्क ˜.. आज अवासी नै अवासी लाग्ने दिन रहेछ । यो सेन्डिल पनि यही बेला फुस्कनुपर्ने । सबै सामान डुप्लिकेट ल्याएर महगोमा बेचेपछि यस्तै हुन्छ । व्यापारी न हुन, कसले नियन्त्रण गर्ने बजारको महगी र सामानको मूल्यको स्तरीयता । जति भनेर बेच्दा पनि भएको नै छ । अझ अलिक नयाँ डिजाइनको छ भने त भाउले आकाश छुन्छ । हुन त हामी उपभोक्ता नै उस्तो ।’

ऊ मनको गनथनसँग रन्थनिदै दौडन्छे । खुट्टा घिस्याउँदै मुश्किलले स्कुल पुग्छे । स्कुलमा कक्षा संचालन भइसकेको छ । सबै स्टाफ क्लासमा छन् । उसको साथी मीना चाहिँ चक लिन स्टाफ रुममा आइपुग्छे ।

‘गुड मर्निङ्ग’

‘गुड मनिङ्ग’ ऊ र्फकाउछे ।

‘तिमीलाई प्रिन्सिपल सरले सोध्दै हुनुहुन्थ्यो ।’

‘ हेर न आज सेण्डिलको फिता फुस्केर बाटोमा आपत पर्‍यो भन्या । त्यसैले ढिला भयो ।’ उसले राम्रो बहाना पाई । किनभने उसको स्कुल आउन त त्यसै पनि ढिला भएकै हो नि ।

‘यो प्रिन्सिपल पनि मापाको छ । कस्तो स्टि्रक गर्छ । पहिलाको प्रिन्सिपल त सोझो थियो, कुरा पनि बुझ्थ्यो । यो त सोझै भन्छ मलाई तपाईहरूलाई गाली गर्न छुच्चो हुन नै फाउन्डरले तलब दिएको छ । कस्तो अधर्मी बूढो छ ! व्यावहारिक कुरा नै बुझ्दैन । लेडिजलाई कस्तो समस्या हुन्छ भनेर । ऊ होस्टेलमा खान्छ । केही काम गर्न पर्दैन । हामीले कति थोक भ्याउनुपर्छ । नाथे आठ हजारले काठमाडौँको ठाउँमा बाँच्नुछ । डेरामा ग्यास सकिएको छ । दुइ चार लिटर मटि्टतेल मागेर खाना बनाउँदैछु । आज सेण्डिलको फिता फुस्कियो । यो पनि घाटा नै लाग्यो । यस्तो जिन्दगी पनि के जिन्दगी यस्तो लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा त माठोमीठो खान पाउनु र राम्रो राम्रो लाउन पाउनु अनि पो जिन्दगी । मनभित्र धेरै कुरा उकुसमुकुस हुन्छ उसको । ऊ मन नलागी-नलागी प्रिन्सिपलको कोठामा पस्छे ‘थ्याक गड बूढो रहेनछ ।’ ऊ खुसी हुन्छे । हतार-हतार उपस्थिति वहीखातामा उपस्थिति जनाएर कक्षाकोठातिर हानिन्छे । चकझैँ उसको जीवन घोटिएको ठ्याक्कै सात वर्षभयो । उसको जीवनको ब्लाकबोर्डमा धेरै कुरा लेखिदै, मेटिदै गरेका छन् । अचानक उसको कानमा गाउँको सासू कराएको आवाज आउँछ-

‘ए शिवे ˜.. तेरो दुलहीको चाला के हो – हेर आठ बजेसम्म सुतिरहन्छे । घरमा कति काम छ, धान सुकाउनुपर्ने । चामल अस्ति ने सकिएर पैचो मागेर काम चलाइरा’ छु । गहुँ घाममा सुकाउनु पर्ने कीराले सबै खाइ सके । बिउ नै मासिने भो । तिमीहरूको कुरा सुनेर खेती पनि अधियामा दिइयो । धान पनि राम्रो आउँदैन । केले घरधन्दा खेप्नु । महगी बढेर कहाँ पुग्यो । रुपैयापैसा त माटाको भाउ भए । के समय आयो यस्तो… !’

ऊ भसङ्ग हुन्छे । ऊ अहिले कक्षाकोठामा छे । अघिका सासूका संवाद ब्लाकबोर्डमा मेटिइसकेको छ । ऊ वर्तमानमा तरङ्गति हुन्छे । ऊ विगत भुल्न चाहन्छे तर पनि किन यसरी पछ्याइरहन्छ उसलाई । उसको छाती भारी भएर आउँछ । खोई खुसी, खोई रहर, खोई चाहना, खोई सन्तुष्टि – ऊ ब्लाकबोर्डभरि यिनै शब्द मात्र कोर्न चाहन्छे । सके आफ्ना पीडाहरु लेख्न चाहन्छे । तर लेखिदैन । लेख्न खोज्यो चक नै मधुरो भइदिन्छ ।

बिद्यार्थी कराउँछन् – ‘टिचर चकले केही लेखिएन ।’

‘थुइक्क ˜.˜ चक, चक पनि यस्तो ! चक बनाउने कम्पनी पनि चोरैचोर हुन् ।’ ऊ चकलाई आक्रोश पोख्छे ।

‘टिचर लेखेको बुझिएन ।’ एउटा छात्र कराउँछ ।

उसलाई झनक्क रिस उठ्छ । गुरु गुरुआमाबाट मिस, मैम हुँदै अहिले टिचर शब्दमा प्रदुषित हुँदैछन् गुरु र गुरुआमाहरू, काठमाडौको प्रदुषणजस्तै । गुरु र गुरुआमा शब्दमा कति गहनता छ सम्मान छ । अब त टिचर शब्दमा सम्बोदित हुनुपर्ने । होइन ! यी आयातित शब्दहरू कहाँबाट उडेर आउँछन् फुत्तफुक्त । आधुनिकताको नाममा सबै सम्मानजनक शब्दहरू उडाइसके नेपालीहरूले कम्प्युटरमा डिलिट गरेझै अब त बुबाआमालाइृ डैडीमम्मी भन्दाभन्दै पनि फादर मदर भन्न थाल्छन् होला । वाह रे सभ्याता ! यसलाई कसले थाम्ने र रोक्ने सबैलाई आधुनिक हुनुछ ।’

‘टिचर हिजोको मेरो होमवर्क कापी दिनु भएकै छैन ।’ एउटा छात्रा कराउँछे ।

‘ए ! ल आज टिफिन पछाडि दिन्छु है , ल यो कक्षागत कार्य गरेर देखाऊ ।’

अब ऊ कक्षाको कार्यमा स्थिर हुन्छे ।

‘ हिजोको होमवर्क चेक गरेको छै्रन, युनिट टेष्टको प्रश्नप्रत्र तयार गर्नुपर्ने, लेशन प्लान्ट बनाउनुपर्ने , कतिखेर भ्याउनु -‘ ऊ अत्तालिन्छे । बिद्यार्थीलाई कक्षागत कार्य गर्न दिएर गृहकार्यको कापी चेक गर्न थाल्छे ।

कापीभरि गाउँको सासू र लोग्नेको चित्र चित्रित हुन्छन् ।

‘खान्दानकी छोरी ल्याइस् आफै मन पराएर । ढलेको लोटा उठाउँदिन । हेरौँ न सुत्केरी हुँदा कसले स्याहार्दो रहेछ ।’

उसको लोग्ने भन्दै छ – ‘आमा दुर्इजीउकी हुँदा यस्तै हो काम गर्न मन लाग्दैन । सधैँ यसरी रिसाएर हुन्छ ।’

साँच्चै ऊ सुत्केरी भई । बच्चा सिजर गरेर निकाल्नु पर्‍यो । उसलाई स्याहार्ने कोही भएनन । माइतबाट भाउजू र भदैनी हस्पिटलमा हुँदासम्म स्याहार्न आए । त्यसपछि घर ल्याएपछि आउन मानेनन । उसलाई स्याहार्नेको नाममा गाउँकी सानीमा पर्ने आउँथिन । तिनी बच्चालाई तेल लगाइदिने , कपडा धोइदिने गर्थिन । जिउँदो मूढाजस्तो बीस दिनसम्म ओछ्यानमा लडी रही । छोरालाई दूध खुवाउन सम्म सकिन । दूध थुनिलो भयो । पीडाले सहीनसक्नु भएपछि ऊ माइत गई । छोरालाई पनि निमोनिया भइसकेको थियो । मुश्किलले आमा छोरालाई हस्पिटलमा भर्ना गराइदिएर बुवाआमाले निको पारिदिए । त्यसपछि बुवाआमाले उसलाई घर जान दिएनन । उसको लोग्नेले आमाबुवासँग अंश माग्यो । उनीहरू छुटि्टएर व्यापार गर्न थाले । व्यापारमा कसरी घाटा लाग्यो उसले थाहा पाउन सकिन । अभावले उनीहरूलाई माछालाई पाहामा पछारेझैँ पर्छानथाल्यो । अभावसँगै कलह पनि उम्रियो अनि झ्यागिन थाल्यो । त्यसपछि उसको लोग्ने विदेशिनुको विकल्प थिएन ।

उसको लोग्ने थियो र – ऊ झसङ्ग हुन्छे । साँच्चै थियो । उसले त लोग्ने थियो भन्ने कुरा पनि बिर्सीकेकी रहिछ । आज यो गृहकार्यको कापीमा कसरी उसको लोग्नेको चित्र आयो – थियो र त आयो उसले मन बुझाई ।

टिफिनमा उसको मिल्ने साथीले कानमा भनी ‘हेर तिमीलाई सस्पेन्स गर्ने हल्ला छ रे ।’ ऊ थरर काम्छे । उसको जागिर फुस्क्यो भने कसरी बाँच्ने – त्यसै पनि नेपाली विषय पढाउने टिचरको कुनै औकात नै हुँदैन । उसले अग्रेजी पढाउन जानेकी भएदेखि यस्ता नाथे पढाउने काम जति पनि पाउँथी तर के गर्नु नेपाली पढाउने टिचर फालाफाल हुन्छन् अनि स्कुलले पनि भाउ खोज्छ ।

ऊ आज ढिलो आएकोमा पछुतो मान्छे ।

‘मीस गीता, तपाईले स्टुडेन्ट कन्टोल गर्न सक्नुभएन । ‘

‘मीस गीता तपाई अफिस टाइममा कहिले आइपुग्नु भएन ।’

मीस गीता तपाईले समयमा लेसन प्लान्ट बनाएर बुझाउन भएन ।’

‘मीस गीता, तपाईलाई प्यारेन्टसहरूले कम्प्लेन गरेका छन् ।’

‘मीस गीता, तपाईले क्रियटिभ वर्क गर्न सक्नुभएन ।’

‘त्यसैले तपाईको यो महिनाको तलब रोक्का गरिएको छ ।’

ऊ छाँगोबाट खस्छे । ऊ घर आइपुग्छे । घरमा प्रिन्सिपलको तीनै शब्द कानमा गुन्जिरहन्छ । ऊ कान थुन्छे । तर पनि आवाज कहाँबाट भित्र गुन्जिरहेको हुन्छ । उसले घरको भाडा तिर्न सकेकी छैन । छोराको लागि फिस माइतमा पठाउनुपर्नेछ । केले बाँच्नु ? ऊ अत्तासिन्छे । विकल्पका बाटाहरूमा भौतारिन्छे । सहाराको लागि कोही देख्दिन । मानवसागरले भरिएको काठमाडौ खण्डहरजस्तो देख्छे । बाँच्नुको बाध्यताले उसको यौवनलाई त्यसै सुकाईसक्यो । अभाव र आवश्यकताले यौवनका सुखद अनुभूतिहरू खडेरी लागेको खेतझैँ सुकिसके । ऊ निसासिन्छे । अब सास कसरी फेर्ने ? कुनै माध्यम छ ? कुनै विकल्प छ ? जिन्दगी उसलाई भारी भएर थिच्न आइपुग्छ ।

ऊ फेरि स्कुलमा पुग्छे जीवनको भारी बोकेर । ऊ कापी काटिरहेकी हुन्छे । उसको कानमा प्रिन्सिपलका तिनै वाक्यहरु दोहोरी रहेका हुन्छन् ।

‘टिचर टिचर’ एउटा विद्यार्थी कराउँछ । ऊ केही सुन्दिन । फेरि छेउमा आएर जोडले कराउँछ – ‘टिचर मेरो करेक्ट वर्कमा पनि कट्टा गरिदिनु भयो ।’

ऊ एक झापड हान्छे । विद्याथी रुन थाल्छ । सबै विद्यार्थी सशंकित र त्रसिद बन्छ ।

उक्त विद्यार्थीको गालामा रातो छाप बस्छ । ऊ देख्छे । त्यसपछि उसलाई आत्मलानि हुन्छ । ऊ उक्त विद्यार्थीमा आफ्नो छोराको रुप देख्छे । उसलाई माया लागेर आउँछ । एकछिन पछि डरले थरर काम्छे । ‘कतै प्यारेन्टसले कम्लेन्न गर्ने हुन कि यस्ता सजायको विषयमा बारम्बार पत्रिकामा खबर आउने गरिराख्छ ।’ ऊ विद्यार्थीलाई मायलुभाव राख्दै मुख धुन पठाउँछे । उसको कानमा फेरि प्रिन्सिपलको आवाज गुन्जिन थाल्छ । अहिले आवाजमा नयाँ संवाद पनि थपिएको छ ।

‘मिस गीता, तपाईले विद्यार्थीलाई कडा फिजिकल पनिसमेन्ट दिनुभयो त्यसैले तपाईलाई दुर्इ महिनाको लागि सस्पेन्स गरिदै छ । ‘

(स्रोत : SahityaSirjana)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.