हजारौं बर्षदेखि नै
संघीयताको कथा बाकेर
त्यो अरुण नदी बग्थ्यो रे छोरा
ढाकार चौतारोमाथि बिसाउँदै
काहानीको पोका खोलेर केलाउनु थाल्नुहुन्छ- मेरो बा
कोपाको कथालाई ।
यो क्षितिज अनि उ परऽऽऽपर
चारैतिर देखिने ठाउँसम्म
निलो आकासमा पूर्णिमाको मधुर मुस्कान
शीतमाथि तरेली खेल्थ्यो रे
त्यही दृश्य हेरेर
तँ मजस्तै लाखौँ व्यक्तिहरु
पहिला-पहिला धेरै समय रमाइरहन्थ्यो रे
छोरा…
मैना रहर जस्तो बनाएर होइन
पहिला-पहिला हाम्रो आपुनै
खुल्ला आकाश थियो रे !
स्वतन्त्र भूमी थियो रे !
त्यही आकासमुनि
यही भूमीमाथि स्वतन्त्र निशानीहरु फरफराउँथ्यो रे !
बिस्तारै हुस्सु र सिमसिमे झरीले
फरफराइरहेका निशानीहरु
हाम्रो आङ्को लुगाझैं पार्दै लग्यो रे
तेरो कोपालाई पनि धेरै पुस्ता अगाडिको कोपाले भनेको रे !
एकदिन-
यस्तो निरङ्कुश आँधीहुरी चल्यो रे
फरफराइरहेका हाम्रो निशानीहरु
च्यात्दै उखेल्दै लान थाल्यो रे
संघीयताको सिमानाहरु मेटाउँदै लान थाल्यो रे
त्यही
निशानी अनि सिमानालाई
बचाउँनेक्रम्मा
कोपालाई पनि
त्यो निर्दयी आँधीहुरीले छाडेन रे
निर्वस्त्र बनाउँदै
मेटिदैं गएको सिमानाको कथाझंै
कोपालाई नि बनाइदियो रे
छोरा…
नेपथ्यमा रहेको
बेमौसमी हुस्सु र झरीले
त्यो स्वतन्त्र निशानी खुल्ला सिमाना र निर्वस्त्र तेरो कोपालाई
कब्जामा लिएर
निर्दयी आँधीहुरीको स्थापना गरेको रे
निरङ्कुश झण्डाको प्रत्यरोपण गरेको रे
स्वतन्त्रतालाई खुम्च्याउँदै
बिनासकारी मनहरुको भ्रुम छाडेको रे
छोरा-
त्यहीबाट सुरु भएको रे-
यहाँ निरङ्कुशताको बेनामी पात्रहरु
हाम्रो स्वतन्त्रतामाथिको अतिक्रमण
त्यहीबाट जलाउँन थालिएको रे
हाम्रो इतिहासको पन्नाहरु
गाउन प्रतिबन्द लगाइएको रे
हाम्रो मुन्धुम्÷मुन्दुमी भाकाहरु
त्यहीबाट मेटाएको रे
हाम्रो साद सिमानाको रेखाङ्कन
कोपाको कथादेशमा छौं बा र म
कथाको पात्र बनिसकेको म
फर्किएर हेर्छु –
आफैंले लगाएको लुगा पिन
यहीँ कथाबीच
पत्तै नदिई
निरङ्कुश आँधीहुरीले
कपडा च्यात्न थालिसकेको रहेछ ।
(स्रोत : Sangheeya Monthly Vol. 1, Issue 4/5, Full Issue 5, 2o10)