ओयाक्चुङ भीरबाट अग्लिन्दै गएको अक्करे भीरदेखि माथि माथि ओख्राबु गाउँको थुम्काथुम्कीमा झुम्म परेका रुखहरु अनि ठाउँ ठाउँमा बर-पिपलको चौतारी र बर्षातले कोतारेका ठिट्लाग्दो पहिरोका डोबहरु खेला वारिपारिका गाउँलेहरुको रमिता हुन्थ्यो । एक प्रकारले ती बस्तीहरु आदिम मानव बस्तीजस्ता देखिन्थे । गाउँको फैलावट पश्चिमतिर जलजले पहाडमा गएर ठोकिन्थ्यो । पूर्वमा तमोर दोभानमा गएर टुङ्गिन्थ्यो । दक्षिण पूर्वतिर मैवा खोला आफ्नै लयमा सुसाइरहेको हुन्थ्यो । त्यही गाउँमा फुलेकी थिई नुमा पहरामा फक्रेको बुके सुनाखरीझैं । बुके सुनाखरी देख्ने आँखाहरु त्यसै त्यसै लोभिन्थे । तर सौन्दर्य हेर्न मात्र सकिन्थ्यो । त्यो आदिम युगजस्तो गाउँमा शिक्षाको नाममा पाठशाला थिएन । न सञ्चार माध्यमले अरु संसारसँग जोडेको थियो । सञ्चार माध्यमको नाममा हुलाकीहरु डाक बोक्थे । हाटबजार र मेला पर्वमा बैँसालु मनहरुले माया प्रीति साट्थे । तर भौतिक सुविधाले सम्पन्न शहर बजारका मान्छेहरुभन्दा ओख्राबुका मान्छेहरु हाँसीखुशी देखिन्थे । नुमा त्यही गाउँले जीवनको उकालीमा आफ्नो बैँसको सपना सजाउँदै उक्लिरहेकी थिइन् ।
आङ्गोमाको चौतारीमा चलेको सिरसिरे हावाजस्तै नुमाको जोवानमा पनि बैँसका हावा चल्न थालेको थियो । नुमाको अन्तरात्माले भन्थ्यो- ”नुमा अब तँ एक्लै यो संसारमा रमाउँन सक्दिनस् ।” तर हावा-बतासको सुसेलीभित्रै जागेको तृष्णा बहेर जान्थ्यो । साथी-सङ्गीका घरबार भइसके पनि उन्को लागि जन्मपत्रिका पहाड भएर उभेको थियो । जन्मपत्रिका हेराउँदा नुमाको लगन पच्चीस बर्षपछि मात्र जुरेको थियो । नुमाको बाबा सुब्बा भाषामा भन्थ्यो- ”नुमाको लगन जुराएर माइति पिराउँनु छैन ।” मतलव नुमाको विवाह गरेर माइतिपक्षमा नोक्सानी हुन्छ भन्ने अन्धविश्वासले नुमाको बाबालाई सरलक्क निलेको थियो । नुमाको सुन्दरता र बैँस देखेर जिब्रो टोक्नेहरु हाट बजारमा आफै होस्गुम हुन्थे । तर नुमाले माइतिपक्षको अनुरोध र बचनलाई तोडेर संस्कृतिको जोहो गरिनन् केटाकेटीको मन मिलेर भागी जाने चलन एउटा घुरमाइलो दिनको आकाश मडारिरहेको थियो । आङ्गोमाको चौतारीमा पुग्दा फक्ताङ्लुङ हिमालको एउटा कुनाबाट सूर्योदयको धमिलो पर्दा उघ्रने सुरगर्दै गरेको देखिन्थ्यो । तर सूर्य उदाउँने साइत नजुरेझैं बादलका पहाडहरु आफ्नै आँखाअगाडि ठिङ्ग उभिरहेका देखिन्थे ।
एकाबिहानै नुमालाई एक प्रकारको वैराग चलेर होला पारिगाउँमा बजेको नौंमतिबाजा सुन्दै चौतारीमा सुस्ताइरहेकी थिइन् । गाउँले जीवन डोकोनाम्लो र हसियाँले छाड्ने कुरै भएन । सालिम्बो घारीले भरिएको अक्करे भीरमा घाँस काट्दै जीवन बितेको कैयौं बर्ष भइसकेको थियो । ऊ त्यतैतिर लागिन् जहाँ सालिम्बो घाँसले भीर रमाएको थियो । तर नुमालाई थाहा थिएन कि त्यो घुरमाइलो दिनको घाँस कटाई जीवनको आखिरी दिन हुन्छ भनेर । उ घाँस काट्ने धुनमा गुनगुनाई रहेकी थिइन् । मैवाखोलाले मधुर मुच्र्छना हाल्दै सुसाउँने गति रोकेको थिएन । दुर्भाग्यको मैदानमा एकाबिहानै राता र सेता बाँदरका बथानहरु जोड जोडले चिच्याउँदै जीवन र मृत्युको अन्तिम युद्ध लडिरहेका थिए । एक तमासको वातावरण तयार भयो । पहरा माथिबाट ढुङ्गाहरु लड्न थाले । बाँदरकै चिच्याहट पनि एक प्रकारको मृत्युको दुन्दुभि बजेको आभास भयो नुमालाई । पहरा माथिबाट लड्दैआएको ढुङ्गा उसको मृत्युको अचुक निशाना बन्यो । शायद नुमाको मृत्यु हरणगर्ने सोघाले त्यो लिलारुप धारण गरेको थियो ।
नुमा घर नर्फर्केपछि घरको सदस्यहरु दौडधुपमा हारगुहार गर्न थाले । नुमालाई देख्ने एउटी अधबैँसे केतुकी भन्दै थिइन् । म बिहान गोठबाट घर फर्कर्दै गर्दा आङ्गोमा चौतारीबाट ओरालो लाग्दै थिइन् । भोलिपल्ट बिहानै केतुकीको सूचना अनुसार गाउँलेहरु सालिम्बोको भीरतिर लागे । नुमाको अत्तोपत्तो थिएन । सालिम्बो भीरको पहरामा धेरैको आँखा दौडिन थाल्यो । गाउँको एकजना लाठेले पहरामा कुनै रातो बस्तु हल्लिरहेको देख्यो । धेरै जनाले नियालेर ठहर्याए त्यो नुमाको रातो सल थियो । भीरको फन्को मारेर भीरको फेदमा पुगे । तर त्यहाँ लास थिएन । सबै गाउँलेहरुको सल्लाहअनुसार भीर मौरी काड्ने सेन् काम्रो झुण्ड्याएर सालिम्बो भीरमा नुमाको लास खोज्न थाले । नुमाको मृत लास भीरको बीचमा झुण्डिरहेको थियो । सोघा भएको मृत लासलाई विधि पुर्याएर त्यही पुर्नुपर्दथ्यो । तर त्यो सम्भव थिएन । एकजना अनुभवी बुढाले एउटा खास्टोमा पोको पारेर नुमाको लासलाई डोरीद्वारा भीरको फेदमा झार्यो । भीरको फन्को मारेर भीरको फेदमा गाउँलेहरु जम्मा भइसकेका थिए । दुई जना येबाले मुन्धुम्को ज्ञाता लिम्बूजातीय पुरोहितका एउटा बर्ग आ-आफ्नो सामा-सार्दाम् पहिरेर थाल ठट्टाउँदै नाचिरहेका थिए ।
लास भीरको फेदमा पुग्नासाथ मन्त्र उच्चारण गर्दै मन्त्र जपेर लासको मुखमा बीखमा खुवाइदिए । घुङ्रिङ्का फुर्काहरु खिपेर नाक मुख काखी र दुबै हातखुट्टामा ठोकियो । यतिखेर नुमाको बिहेमा जोरजोर बन्दुक पड्काउँनु पर्ने नौंमति बाजाले आफन्त र लक्कन्दि विवाहको समयमा बेहुलीलाई पुर्याउन जाने दिदीबहिनी स्त्रीहरु-जन्तिहरु हरुलाई मन्त्रमुग्द्य बनाउँनु पर्ने तर नुमाको नाममा बिजोर बिजोर बन्दुक पनि पड्केको थिएन । न चेथाप् लास बोक्ने बाँसको खट साम्दाखोङ् सुद्ध्याइँको संस्कार गर्दा मृतात्मालाई चढाइने खाद्य पदार्थ र खोङ् ढुङ्गाको बाकस जस्ता मृत्यु संस्कारको अन्तिम सलामी नैं नुमाको नाममा बनेको थियो । ऊ मृत भइकन पनि उनको अनुहारको कान्ति उज्यालो थियो । नुमाको भौतिक शरीर नुमा भए पनि उसको आत्मा ‘सोघा’ भइसकेको थियो । ऊ सधैंजस्तो हाट मेला बजार जाँदा शीरमा शीरफूल कानमा चेप्टेसुन र सुनको कण्ठा लाएर लुप्लुङ्गो कान्छाको मनलाई रोटेपिङ्को चर्खामा घुमाउँने ती प्रेमील स्पर्शका दिनहरु सधैँको लागि बिदा भइसकेका थिए ।
यो खबर सुन्नासाथ वारिपट्टिको मिक्लुक डाँडामा बसेर लुप्लुङ्गो कान्छा धुरुधुरु रोइरहेका थिए । मदनमेलाको त्यो रङ्गीन रात हिजैजस्तो लाग्थ्यो । सातपत्रे डाँडाको देउरालीमा बाचा गरेका थिए ‘सँगसँगैं बाँच्ने-सँगसँगैं मर्ने’ । तर लुप्लुङ्गो कान्छाले नुमाको नाममा मिक्लुक् डाँडाबाट फाल हाल्न सकेन । न सोघा भएकी नुमाको लासमा एक थुङ्गा फूल चढाउँन सक्यो । लुप्लुङ्गो कान्छाको धमीलो अतीतमा एउटा सुन्दर पुतली उड्दै आयो । नुमा पुतलीलाई हत्केलामा लिएर भन्दै थिइन् । कान्छा यो मेरो मैनाम् प्रतीकका धनी स्वयम् उपस्थित नहुँदा पूजामा राखिने ब्यक्तिविशेषको उध्र्ववस्त्र हो । यो रमिते डाँडाबाट मेरो चिहान हेर्न आयौ भने यसरी नैं यो पुतली उडेर आउँनेछ ।
पारिपट्टिको सालिम्बो भीरको फेदमा येबाहरुले जोडजोड्ले थाल ठट्टाएर नुमाको लासलाई दफन गर्न तयारी गर्दैथिए । दुईजना लोद्वारा एउटा खाल्डो तयार गरिएको थियो । एउटा बुढोले विधि पुर्याउँन सामा-सर्दामको अराउखटाउ गर्दैथिए । नुमाले घाँस काट्न जाँदाजस्तो पहिरन पहिरेकी थिइन् त्यही लुगामा घोप्टो पारेर सुताइयो । येबाले घुङ्रिङ् र काउलोका गुच्छाहरुले चारसुर ठोकी दियो र मन्त्रद्वारा बिन्ति गर्यो । घाम मर्नेछ जून पनि मर्नेछ तारा नक्षत्र मर्नेछन् हामी सप्पै नैं एकदिन मर्नेछौं । तिम्रो मृतात्मा भड्केर जीवात्माहरुप्रति खराब काम नगरोस् । तिम्रो मृतात्मालाई मार्नु मप्रति घोर अपराध हुनेछ । म तिम्रो बाटो मात्र छेक्न लाग्दैछु । सात पर्वत र सात नदीहरु तरेर सोघा बस्ने ठाउँतिर रमाउँनु । यति मन्त्र जपी सकेर येवाले लास पुर्ने आदेस जारी गर्यो । खाडल खन्ने लाठेहरुले खाडल पुरी दिए । त्यहाँ ढुङ्गाको तीन तले चौतारो बनाइएन । न एउटा अग्लो सुत्लुङ् ढुङ्गा लिम्बूहरुको चिहानमाथि गाडिने लाम्चो र दुई-तीन फुटको अग्लो ढुङगा-गाडियो । नुमाको त्यो दुर्दान्त नियतिको मृत्युमा धेरै गाउँलेहरु रोए । हिजोको सुन्दरी युवती आज सोघा भएकी थिइन् । धयेँरोको फूल टिपेर नुमाका आफन्तहरुले नुमाको चिहानमाथि राखिदिए । येबाले जोडजोडले थाल ठट्टाउँदै मलामीहरुलाई घर फर्किने आदेश दियो । सालिम्बो भीरको फन्को मारेर गाउँलेहरु गाउँ पुग्नलाग्दा पश्चिम क्षितिजमा सूर्यको अन्तिम दियो झ्याप्प निभ्यो । भोलिपल्ट वारि गाउँमा अर्को अशुभ हल्ला फैलियो लुप्लुङ्गो कान्छा रमिते डाँडाको सिकार बन्यो रे !
नोट: ‘सोघा’- लिम्बू-दुर्घटनाजन्य मृत्युबाट हुने प्रेतात्मा
tankawanem@hotmail.com
(स्रोत : संघीय मासिक वर्ष १, अंक ३, २०६७ )