निबन्ध : मृत्यु एक कला हो ।

~सीमा आभास~seema avas

सिल्भिया ! बौद्धिकता अस्तित्वबोध युगबोध काब्यिक चिन्तन दर्शन र एक घनघोर बिद्रोह हो तिम्रो मृत्यु । मृत्यु मित्रु हो । अवसरसँगै अस्वीकृत सत्य जिवन अनि गहिरो निद्रा त्यसपछि एक सपना हो मृत्यु ।

ओ आत्मदाहकी देवी ! तिम्रा उच्च स्तनभित्र लुकेको मृत्युचिन्तन ! तिम्रो स्त्रीयोचित गुणभित्र दनदनी दन्किएको मृत्युलाभा ! म आहत हुन्छु मृत्युपुत्री ! जीवनलाई टेक्तैटेक्तै मृत्युको ब्रम्हनाल तरेर फर्किएकी मृत्युलाई चुम्बन गरेर बाँचेकी जीवनलाई जलाउन जीवनकै संघार कुल्चिएर मृत्यु चियाउने ओ साहसकी देवी ! म नतमस्तक छु तिम्रो मृत्यु चिन्तनदेखि ।

कति साहस हिम्मतसाथ मृत्युको सुन्दर चित्र कोरेर भन्यौ ‘मृत्यु एक कला हो ।’

कुरुप युगको सुन्दर कला हो तिम्रो मृत्यु । कायर युगको साहसिक कदम हो तिम्रो मृत्यु ।

‘मृत्यु एक कला हो’ यो मृत्युको तस्वीर म टाँसिरहेकै हुन्छु छातीमा । मेरो जीवनको क्यानभासमा टाँगेर उतारुँ यसका यसका केही चित्रहरु । कोरुँ कोरुँ र मेट्टाउँ यसका लामालामा धसा्रहरु जो अक्सर मभित्र लेखिने गर्छ । यसका गीतहरु गाउँ मृत्युसमुद्रमा डुबेर या मृत्युपहाडमा उक्लिएर पररर पुग्नेगरी सुसेलौँ । नाचौँ ढोलक बजाएर नाचौँ या खोलाको बीचभागमा पुगेर बुर्लुङ्ग बुर्लुङ्ग गर्दै तलसम्म पुग्ने गरी बगौँ । अनुभव गरौँ मृत्युको किनारै किनार हिँड्दा कस्तो हुनेछ । आगो बालौँ चरुको होम गरेर जबजब आगोको लप्का माथिमाथि आकाशको छेउछेउ पुग्न खोज्छ त्यहिँभित्र पसेर नाचुँ । मृत्युको छातीमाथि उभिउँ र हात फिँजाएर ‘सिल्भियाऽऽऽ’ भन्दै बोलाउँ ।।

कामना ! कसैले पागल नभनुन् । भने, भने पो के डर ।

म मृत्युसँग हारेको एक कायर ! मृत्यु उत्सबको पर्ब मनाउन नसकेर कुनै दिन म बाँसको झ्याङ हेरेर फर्किएकी लाछि । कुनै दिन रुखको हाँगासम्म पुगेर मेरो मृत्युको कल्पना गर्दै फर्किएकी थिएँ साँझमा । मैले जिवनदाह गरेर मृत्युउत्सब मनाउने ठूलो प्रयत्न गरेँ कुनै समय । म सम्मलाई उँचो र उँचोलाई सम्म देख्थेँ कुनैबेला । म आफ्नै अनुहार यति कुरुप देख्थेँ कि यसलाई फेरि अर्कोपटक हेर्ने झन्झट गर्न नपरोस । म त्यो अनुहार हेर्नुपर्ने झन्झटबाट मुक्ति चाहान्थेँ ।

म कायल छु । मैले अनुहार हेर्नुपर्ने झन्झटबाट मुक्ति पाउन सकिनँ । तिघ्रामा आगोले अलिअलि डढाउँ र हेरुँ त्यो पिल्सएको तिघ्रा । मैले त्यसो पनि गरेँ । त्यसको चिनो मेरो तिघ्रामा आज पनि खत सजिएको छ । यो खत मेरो साहस लिपिएको कायर चिन्ह हो । यो खत इतिहास हो मेरो शरीरको । त्यो गर्व गर्न अयोग्य इतिहास जसबाट म दुख्छु । बारम्बार दुख्छु । यो सम्झिनासाथ दुखाई हुन्छ । मेरो नसानसाबाट दुखाइ उम्लिन्छ ।

काव्यिक मृत्यु- जिवनको उत्सब हो । म त्यो उत्सब मनाउन कति आतुर थिएँ कुनै दिन । आज त्यो ब्याकुलता त्यो आतुरता मेरो शरीरभित्र थिचिएर बसेको छ कतै । कहिलेकाहिँ त सनक चढ्छ । त्यो सनक मृत्युउत्सब होइन । न त्यो कायरता हो नसहास । हो मात्र एक सनक । म त्यो सनकको सिकार हुन सक्तिनँ । म त्यो सनक पालिरहन पनि सक्तिनँ ।

म मध्येरातमा कहिलेकाहिँ घर बाहिर निस्कन्छु । ती ताराहरु कस्का आत्मा हुन म एक कवि बनेर भाबुक हुन्छु । म दन्त्य कथाको पात्र जस्तो बहुलठ्ठि हुन्छु । फेरि होसमा आएर भन्छु ताराहरु आत्मा होइनन । तर मेरो कामना हुनेछ ती ताराहरु मृतात्मा भइ दियुन । अरुकोलागि पुरा नहुने सिर्फ एक कवि चाहना । एक कवि कामना । भएनन त के भो कवितामा सम्भब बनाइदिउँदा ! कवितामा भनौँला ताराहरु मृतहरुकै आत्मा हुन ।

मेरा विद्रोही पाखुरा जोडेर मृत्युसँग अंकमाल गरुँ र पखालुँ मलाई अनाबश्यक जिवनमा भाग लागेका कुराहरु । दलाल हुने सपनाको भागबण्डा म असल छु या खराब छु निक्र्यौल गर्नेहरु अगाडि उभिएर मैले दिनुपर्ने अग्निपरीक्षा । मेरा अनाबश्यक नातासम्बन्धका जालझेलहरु म मुल्याङ्कनको कठघरामा उभिनुपर्ने कायर समयको शिकार… यस्ता तमाम अनाबश्यक र मलाई जरुरी नलाग्ने कुराहरुबाट म मुक्ति चाहन्छु ।

मेरो भागमा परोस् मैले चाहेको जीवन । जस्तो मैले अक्सर सपनामा देख्ने गरेका पि्रय प्राणीहरुसँग माथिमाथि आकासमा उडुँ । मेरो भागमा होस् मैले उड्ने आकाशको गोरेटो । मेरो साथमा हर्दम रहने ती सुनौला प्वाँखा भएका माछा बिष नभएका उड्ने सर्प अनौठा जीव । जो मसँग आग्रह राख्तैनन् । पूर्वाग्रह राख्तैनन् । मात्र उनीहरु मसँग उड्छन् । परसम्म उड्छन् । सपनाभरि उडिरहन्छन् । जब म यसरी उड्दा उड्दै नीलो डाँडामा ठोक्किन आँट्छु । ब्युँझन्छु । यसबेला मलाई काव्यिक मृत्युको रहर जाग्छ ।

म निर्वाध रुपमा मृत्युवरण गरुँ मभित्र रोपिएको अस्तित्वबोधको ।

सिल्भिया ! मेरो मृत्युको दार्शनिक गुरु तिमीलाई बनाऊँ !

मेरो मृत्यु वरणको बेला मेरो छातीभरि मृत्यु कविताका टाटु खोपुँ । ताकि नजलाउन यी कविताका हरफहरु । न म त्यो कविता जन्माउने आमा हुन सामथ्र्य राखिसकेको छु । न म तिमीजस्तो साहसिक गुरुकी चेला हुन सकेको छु ।

यो जालझेलमा बाँधिएको धमिलो कुवाजस्तो कति सकस र साँघुरो छ जिन्दगी । म चाहान्छु जिन्दगी बन्धनमुक्त होस, सङ्लो खोलाको पानी होस अथवा सुन्दर कविताको हरफजस्तो स्वतन्त्र होस ।

जब म बिहानको घाममा बस्छु र मेरो मृत्युको कल्पना गर्छु । घाम खिस्याउँदै खिस्याउँदै मेरो कपाल छाती र आँखामा टेकेर माथि आकासमा पुगी हात हल्लाउँछ । जिवनभरि मृत्यु भरेर बाँचेको अर्धशरीर ! म चाहान्छु जीवन बाँच्न मृत्यु जीवन्त होस् । मेरो जीवनमा उठेका मृत्युका तरंग पुरस्कृत होस् तिरस्कृत नहोस् सम्मानित होस् अपहेलित नहोस् साहसिक होस् कायर नहोस् सुख होस् दुःख नहोस् रहर होस् बाध्यता नहोस् मृत्युभित्र जीवन होस् जीवनभित्र मृत्यु नहोस् । मलाई मृत्युले कहिल्यै खिसी नगरोस् ।

जब पूर्णिमाको मध्येरात निलो आकाशको पछ्यौरीमा भरीएको चन्द्रमालाई कवि मनले हेर्छु सिल्भिया † तिम्रो अनुहार पोलिँदै गर्दाको खत देख्छु चनद्रमाको धब्बामा । अनुहारमा धब्बा लागोस् त तिम्रो अनुहारको जस्तो । तिमीलाई म त्यही पूर्णिको चन्द्रमा देख्छु । तिमी कविता बनेर चन्द्रमा झुल्किन्छ्यौ मेरो आँगनमा ।

जब तिमीलाई सम्झिएर शितका बुँद हेर्छु तिमीले बगाएका आँसुका धसा्रमा कविता देख्छु ।तिमी जलेर उडेको निलो गन्धे धुवाँमा तिम्रा कविताका सुन्दर हरफ पढ्छु ।

हिम्मतकासाथ मृत्युपत्रमा हस्ताक्षर गर्न पँइयोस । यो मृत्युलाई कसैले प्रश्न नगरुन् । बुझ्नेहरुले यो एक घनघोर विद्रोह हो भनेर बझुन ।

मलाई जिवनप्रति एक आग्रह बाँकी छ । मेरो मृत्यु होस् कवितामा । म कविताकै सिरान लगाएर मरुँ । म कविताका हरफहरुमा जलेर मरुँ । मलाई मृत्यु लिन आउँदा कविताले सिगारेको बाकस लिएर आओस् ।

फेरि पनि भन्छु -मृत्यु होस तिम्रोजस्तो साहसिक मृत्यु, बौद्धिक मृत्यु, विद्रोही मृत्यु, काव्यिक मृत्यु, जिवन भरिएको मृत्यु ।

सबैलाई भन्न सकियोस् ‘मृत्यु एक कला हो ।’

(स्रोत : Seema’s Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.