कथा : शब्ददेश

~तीर्थ प्रसाईँ ‘अभिनव’~Tirtha Prasai 'Abhinav'

बिहान हुनै लागेको थियो, अहँ, भाले कतै बासेन । उसलाई प्रकृतिका सारा कुराहरुले आफ्नो कर्तव्य बिर्सें जस्तो लाग्यो। ऊ जुरुक्क उठेर बाहिर तिर हानियो। बाटापारि झिलिली बिजुली बलेको थियो, ऊ हिंडेकोतिर बाटावारी भने अन्धकार! ऊ अन्धकारबाट उज्यालो तर्फ लाग्यो, सिलिङबिलिङ छायाँजस्ता केही मान्छेहरु पनि त्यतै उज्यालो खोज्दै लम्कँदै गरेका देख्यो, तिनले फ्याकेको चुरोटको धुवाँ उसको नाकसम्मै आई पु…ग्दै थियो मधुरो हुँदै। अलिकति बत्तिको नजिक पुगेपछि चम्किला साइनबोर्ड तिर हेरेका उसका आँखाहरु त्यतै टाँस्सिए। ऊ मन्त्रमुग्ध भएर खुट्टा जता जान्छन त्यतै डोरिंदै गयो। मस्जिदको माइकबाट ‘अल्लाह’ भनेर लामो र कलात्मक स्वरमा कराएको सुनिदै थियो, एउटा मन्दिरबाट ‘राम नाम कथा’ भन्दै मधुर धुनमा भजन बज्न थालेको थियो, गाडीहरु हर्न बजाउँदै हुइँकिन थालेका थिए। ऊ बेसुरो भएर तन्द्रामा हिंडेजस्तै एकोहोरो पाइला सार्दै थियो। गाउँबाट हिजै मात्र शहर आईपुगेको न हो ऊ, यो भब्य शहर! त्यो पनि छोराले भुँडी दुखेको राम्रो ओखती गर्नुपर्छ भनेर बोलाएकोले बसमा कोचिएर वान्ता गर्दै।
पुराना पुराना जुत्ता लगाए पनि कोट चैं नयैं लगाएर जा भनी बुढीले, ठिकै भनिछे, यो शहर नै भव्य रहेछ, भन्दै, गम्दै निर्लिप्त शहरमा बरालिंदै एकतमास रमिते भएर डुबिरहेथ्यो ऊ। ऊ अर्थात एउटा अधबैंशे मान्छे अर्थात मान्छेहरुको पहिलो नजरमा बुढै बढी लाग्ने मान्छे।

************

गल्लीबाट फुत्त निस्कनासाथ “शब्ददेशको शब्दबजारमा यहाँलाई हार्दिक स्वागत छ!” भनेर एउटा पालेले उसलाई मिठो बोलीमा अदवका साथ झुकेर स्वागत गर्यो ।
ऊ झसंग भएर हेर्यो, ओहो! थाहै नपाई रंगीचंगी गेटको अगाडी पो पुगिसकेको रहेछ। गेटको माथि “शब्ददेश, शब्दबजार, शब्द प्रदर्शनी” लेखिएको देख्यो र चकित पर्यो, , ए अचम्म! उसले यस्तो बजार पनि हुन सक्छ भन्ने सपनामा पनि सोचेकै थिएन। आँखा मिचेर ताज्जुब मान्दै फेरी हेर्यो, शब्दहरु उही थिए। ऊ वाल्ल परेर उभियो, र बोल्यो- ” अरे! यो के उदेक? हैन, म नेपाल देशमा पो छु, हैन र? यो शब्ददेश भन्ने के हो फेरि?”
उसको जिज्ञाशापूर्ण गुनगुन सुन्नासाथ पाले च्याँट्ठियेर भुतभुतायो, “हरे! कस्ता कस्ता उल्लु आउँछन यहाँ! नेपाल भन्ने शब्द यहाँ त्यति प्रयोग नै हुँदैन नि! यहाँ त नयाँ शब्दहरु, तिनका प्रयोग गर्ने तरिकाहरु र तिनले कसरी मान्छेको जीवन बदल्छन् भन्ने कुरो पो सिकाइन्छ त! यहिंबाट शब्द किनेर प्रयोग गर्नेहरु कहाँ कहाँ पुगिसके, खै कुरो बुझेको? अझ बढी बुझ्न मन लागे भित्रै गएर बुझ्नोस, होइन भने बाटो लागि हाल्नोस त! अहिले प्रधानमन्त्री र शब्दमन्त्री आउने कार्यक्रम छ। तपाईंजस्ता अबुझसंग गनगनाएर बस्ने फुर्सद छैन मलाई!”
त्यतिबेला सम्ममा दोहोरिलत्ता मान्छेहरु ओहोरदोहोर गर्न थालिसकेका थिए, उसले दाँयाँवायाँ हिंडेका मान्छेहरुका अनुहारमा हेर्यो। तिनमा कुनै कौतुहलता देखेन, मानौं, उनीहरुका जीवनका जिज्ञाशा सारा मेटिईसकेका हुन वा उनीहरुमा कौतुहलता जगाउने तन्तुहरु मरिसकेका हुन। जीवनका कुनै अवयवहरु छुटेका असन्तुलित अनुहारहरु बिना कुनै इन्द्रियजन्य प्रतिकृया हिंडिरहेको देखेर उसलाई भाउन्न भयो।

चिट्चिट पसिना आयो, एउटा मात्रै सजीव मान्छे हो त ऊ त्यो बजारको आसपास? कि प्रकृति असमान र पक्षपाती रुपले वितरित छ मान्छे-मान्छेमा! ऊ र तिनिहरुमा भेद छ? ऊ गहिरो द्विविधामा फँस्यो, ‘शब्ददेश’ रे! ‘शब्दबजार’ रे! बिना कुनै प्रतिकृया हिंडिरहेका मेशिनजस्ता स्वचालित मान्छेहरु! के हो यस्तो? भित्रै गएर बुझौं कि छोराको फ्ल्याटमा गएर चिया खाउं? ऊ घोरियो ।

नातिले छोएर चलाऊने मुबेल फुनमा हिजो बेलुका खेलेको सम्झ्यो, के खेलिस बाबु! भन्दा क्रसर्डपजल भन्थ्यो, चाराना केही नबुझेकोले फेरी नेपालीमा भन त भन्दा, शब्द मिलाउने शब्दजाल के हजुरबा, भनेको थियो। आज त जिन्दगीकै शब्द मिलाउने शब्दबजारै फेला पर्दा उसको कौतुहलको सिमा ननाघ्ने कुरै थिएन, ऊ आफुलाई पाँच कक्षामा पढ्ने नातिभन्दा निम्छरो महसुस गरेकोले यहाँ त धेरै कुरो बुझिएला र गफ गर्न सकिएला भन्ने निश्कर्ष सहित धेरैबेर सोचेर भित्रै पस्ने र कुरो बुझ्ने उपक्रममा लाग्यो।

उसको मानसपटलमा शब्द नै ब्रह्म हो भनेर शास्त्रमा लेखिएको छ भनेर बुबाले भनेको झलझली याद आयो । पोहोरसाल गाउँमा खुलेको चर्चको पास्टर पनि परमेश्वरले संसार शब्दले बनाएका हुन भन्थ्यो, तर उसले धेरै कुरो बुझेको भने थिएन। आज पत्तो लाग्ने नै भयो त? हिजै त हो यो शहर छिरेको, कतिबेला यो अचम्मको बजारमा आइपुगिसकिएछ पत्तै नपाई? ऊ झस्कियो, अतास्सियो, अनगिन्ती कौतुहलहरु उसको मनभरि तंछाड्मछाड् गर्न थाले। ऊ फर्किएर जान सकेन, तिर्खाएको मान्छे खोलामा पुग्नलागे झैं खुरुखुरु पस्यो शब्दबजार तिर।

‘सोधपुछ’ कक्षमा पुग्नासाथ उसलाई तिखा आँखाले जाँच गरियो। पहिला उसलाई नाम सोधियो, उसले ‘हर्क बहादुर नेपाल’ मात्र के भनेको थियो उसलाई प्राचीन भन्ने शब्दको तल्तिर दर्ता गरियो। उसलाई आफुलाई प्राचीन बनाएर दर्ता गरिएकोमा झन ताज्जुब लाग्यो, उत्तिकैमा एउटा ‘चर्क ड्यानिएल चरी’नाम भएकोलाई भने आधुनिक वर्गको शुरुमै दर्ता गरिएको देख्यो, हर्क-चर्क, चर्क-हर्क! केही फरक थाहा नपाएर ऊ वाल्ल पर्यो।

“मलाई त शब्दबजार पनि हुन्छ भन्ने थाहै थिएन! सत्ते! फेरी हाम्रो गाउँतिर त देशको नाम पनि ‘नेपाल’ भन्छन, मेरो थर पनि नेपाल नै हो, मरिजाउँ, यो ‘शब्ददेश’ भन्ने नाम नै पहिलो चोटी सुन्दैछु!” उसले अनुहार रातो हुन नदिन बल गर्दै आफ्नो निरिहता प्रकट गरिहाल्यो ।

फेरी पालेको जस्तै गाली खाने भय छँदै थियो; ऊ अझै त्रसित देखियो। तर पनि निधारमा चिटचिट आएका पसिना पुछ्दै यो त सोधपुछ पो हो त भन्ने एउटा बोधले ऊ आश्वस्त हुन खोज्यो र थोरै संभालियो।

‘हरे, कति लाटो हौ तपाईं!’ उसको अज्ञानतामा अलिकति टीठ देखाउँदै रिसेप्सनिस्टले थोरै जानकारी थप्यो- “यहाँ ‘नेपाल’ भनिंदैन, ‘शब्ददेश’ भनिन्छ, कहिलेकाहीं आपतकालिन अवस्थामा शब्दका नतिजा प्राप्त गर्ने क्रममा मात्रै ‘नेपाल’ प्रयोग गरिने हो। यो त असली शब्ददेश पो हो त! त्यसको पनि शब्दबजार! यहाँ त नयाँ, फ्रेश शब्दहरु पो बिक्री हुन्छन त! चिटिक्कका, जिन्दगी बदल्ने शब्दहरु।”

“खोइ, हाम्रो गाउँतिर र शब्दले केही बदल्दैन, जिन्दगी बदल्ने नै हो भने शब्द होइन कर्ममा विश्वास गर्नुपर्छ भन्थे बुढापाकाहरु!” उसले भन्यो ।

उसलाई गेटको पाले भन्दा रिसेप्सनिस्ट अलि बढी दिलदार र खुलेर बोलेको जस्तो लाग्यो। उसको बोलीमा कमसेकम अलिकति भएपनि एउटा दयाभाव र उपेक्षाको मात्रा त कम थियो ! यो किसिमको अनुभुतिले उसलाई थप बोल्न हौस्याँउँदै थियो; उसले गाउँको अनुभव भेला गरेर अलि बाठो हुन खोज्दै थोरै भये पनि रिसेप्सनिस्टको प्रतिवाद गरिहाल्यो।

उसको अज्ञानतामाथि फेरी पालेले जस्तै झापु लगाउंदै रिसेप्सनिस्टले उसको सातो लियिहाल्यो; “त्यसैले त तपाईं प्राचीन त! मैले सहि ठाउँमा दर्ता गर्दिएको छु। अब तपाईं जान सक्नुहुन्छ, बाटो नझुक्किनु होला, पहिला दाँया अनि बाँयाँ अनि तुरुन्तै तल अनि माथि, शब्दपरिक्षण केन्द्रमा जोगिनु होला, त्यहाँ ढुंगामुढा, डनगिरी, प्रतिरोध, विरोध प्रदर्शन जस्ता शब्द किन्नेलाई प्रशिक्षण दिईन्छ, कुनै दुर्घटना हुन सक्छ, तपाईंले पनि ति शब्द किन्नु भयो भने तपाईंलाई पनि त्यसमा सहभागी गराइन्छ।”

ऊ वाल्ल पर्यो, ‘आफू नमरी स्वर्ग के देखिन्थ्यो त! केही बुझ्न सक्या होइन कुरा गरेर!’ भन्दै, भुट्भुटिंदै ऊ अगाडी लम्कियो, एउटा कहिल्यै नभोगेको, नदेखेको संसार, शब्दबजारतर्फ।

ऊ त्रसित र कौतुहलपूर्ण मन लिएर बजार भित्र छिर्यो,”शब्द हि ब्रह्म है -उपनिशद”, “शब्द राम्रो चलाऊन जाने कर्मको जरुरत रहंदैन” जस्ता बिभिन्न नाराहरु पढ्दै स्टल चाहर्दै गयो । अनौठा र मुटु ढक्क हुने गरिका कुनै साँघुरा र कुनै फराकिला भ्वाङ परेका स्टलहरुले उसलाई अर्कै लोकको भान पारेका थिए। एउटा दुइटा स्टलहरु अघि दुइवटा बन्दुकधारी बर्दीवाल केटाहरुले पहरा दिई राखेका, केही साँघुरा र अँधेरा थिए भने केही स्टलहरु पर्खालमा भ्वाँङ परेका हावा मजाले खेल्ने र चरा-मुसा सजिलै पस्दै निस्कंदै गर्ने किसिमका।

अलि-अलि बजारको ज्ञान भएकाहरु मुखामुख गर्दै केही भूमिगत स्टल र दुर्लभ शब्दहरु पनि छन रे भन्ने कुरा गरेको सुनेपछि उसलाई आफु झन अज्ञानी रहेको बोधले मुटु छेड्ला जस्तै खरो भएको थियो।

केही स्टल कटेर ऊ मुख्य बजारतिर लम्केको मात्र के थियो, उसको टाउकामा अलि चिसो चिजको पोकोले मजाले लाग्यो, ऊ रन्थनियो र अनियन्त्रित भएर भुइंमा पछारियो, ऊ सम्हालिन मात्र के खोजेको थियो उसको खुट्टामा एउटा ईट आएर बजारियो, मान्छेहरु वरिपरि भेला भए, ऊ सुरक्षामा तल्लिन कराहीटाउके हेलमेट लगाएका प्रहरीको तमासाको चिज भयो , प्रश्नवाचक आँखाहरुले उसलाई वरिपरिबाट छेड्न थाले, केहीले त भिडबाट उसलाई पाखे सम्म भन्न भ्याए।

‘यो शब्दप्रशिक्षण केन्द्रको वरिपरि हिंड्दा होश पुर्याउनु पर्छ भनेर तपाईंलाई कसैले भनेन?’ प्रहरीले उसलाई हप्कायो।

उसले रिसेप्सनिस्टले जोगिनु भनेको सम्झ्यो र लाजले रातो अनुहार लगाएर मुन्टो घोसे पारिरह्यो। आखिर उसलाई शब्दपरिक्षण केन्द्र कहाँ पर्छ भन्ने नै के थाहा थियो र? उसले मनमा भएको पिडा र मान्छेहरुको खिसिको तिखो घोचाइ सामु शरीरको पिडा बिर्सिदियो र जुरुक्क उठ्यो। प्रहरीले उसको कठालोमा समात्यो र भन्यो- ‘अब जोगिएर हिंड्नु। यो बाटो नछोड्नु! सबै स्टल घुमेपछि आँफैं निस्कने गेट देख्नुहुनेछ।’

ऊ निरुत्तर बाटो लाग्यो, अज्ञान, लाज र भयले ऊ भित्रको जिज्ञाशु र सजीव मान्छे कप्लक्कै खाएको थियो।

‘ए बहिनी! किन रोएकी?’ एउटा सानो आराम गृहमा रोइरहेकी एउटी केटी देखेर उसले आफुजस्तै होली भन्ने लागेर दयाभावमा सोध्यो।

‘गतबर्षको शब्दमेलामा मैले किनेको शव्दले गर्दा म बर्वाद भएं! उफ्फ!’ ऊ फेरी आफ्नै सुँक्क-सुँक्क संसारमा हराइ हाली।

‘भन त के भयो?’ उसले फेरी तो केटीलाई आवाजको धक्का लगाएर वर्तमानमा ब्युँतायो।

‘के भनुँ दाई, मेरो जीवनमा माया भन्ने कुरै थिएन। पोहोरसाल जिन्दगी व्यवस्थित होला भन्ठानेर माया भन्ने शव्द किनें। शब्द प्रशिक्षण केन्द्रमा माया कसरी गर्ने भन्ने सिकाइयो, फिल्म देखाएर माया पाउने प्र्याक्टिकल गराइयो। नभन्दै मैले राम्रै केटो भेटें। तर बिहे भेएको छ महिना नपुग्दै ऊ विदेश गयो, मेरो मायाले काम गरेन। अभाबले मायालाई जित्दो रहेछ। यिनिहरुले मलाई माया नै ठुलो भनेर झुक्याए। यहाँ आएको त पुरानो स्टल नै छैन, मैले कहाँ गुनासो गरुँ?’ ऊ फेरी आफ्नै सुँक्क-सुँक्कमा डुबि हाली।

उसलाई शब्दबजारको प्रकृति अलि छर्लंग भएजस्तो लाग्यो। उसको सान्त्वना त्यो केटीको सामु अर्थहिन देखिएकोले ऊ लामो निश्वास छोड्दै बजारको भित्रीभाग तिर लम्कियो।

बाटोमा केही अंधेरा स्टलमा पुगेपछि उसको भय अलि बढ्यो। त्यहाँ अनुहार नचिनिने नकाव लगाएका मान्छेहरु घुमिरहेका थिए ।,

शोरुम यता छ दाई! एउटाले उसलाई मिठो आवाजमा भित्री कोठामा रहेको शोरुम तर्फ टर्च लाएर बोलायो।

उसको ढुकढुकी अकासियो, अनुहार रातो भयो। तर यहाँको नियम यस्तै रहेछ, नत्र त फेरी पाखे भईन्छ, भन्ने सोचेर ऊ शोरुमतर्फ लम्कियो।

एउटा नकाबधारीले उसलाई शिर देखि पुछारसम्म हेर्यो र तिखो आवाजमा बोल्यो- ‘हाम्रो यो व्यवहारिक शब्द पाइने महान ठाउँमा तपाईंलाई स्वागत छ। यो यस्तो ठाउँ हो जहाँ शब्दहरु आँफैँ व्यबहारमा उत्रिन्छन, यी शब्दहरु खतरनाक छन, निशुल्क छन, यिनको प्रयोग गर्ने तालिम शब्दपरिक्षण केन्द्रमा दिईँदैन, हामी हाम्रै फिल्डमा दिन्छौं। तपाईँ सोझो देखिनु हुन्छ, तपाईंको साथमा धेरै पैसा पनि छैन होला शब्दमा खर्च गर्न! हाम्रा शब्दहरु तपाईंजस्तै गरीबका लागि बिदेशबाट झिकाइएका हुन। यिनमा तपाईंको मात्र होइन देशकै मुक्ति छ।’

शव्दब्रह्ममा मुक्ति छ, बुवाले भनेको कुरो उसको दिमागमा घुम्यो, आखिर पैसा पनि नतिरी मुक्ति न भन्यो, उसलाई अलिअलि लोभ जाग्यो। ‘अनि मैले कुन शर्तमा पाउँछु त यी शब्दहरु?’ उसको कौतुहलता फुत्कियो।

‘ तपाईंले हामीसंग हिंड्नु पर्छ, मैले भनिहालेँ नि! यी शब्दहरु खतरनाक् छन, तपाईं शब्द र हतियारको प्रयोग एकै साथ गर्नुहुनेछ हाम्रो फिल्डमा। खानको कुनै समस्या हुने छैन!’

उसलाई अब चाँहीं चारैतिरबाट शंका र सन्त्रासले गाँज्यो, ओहो! खान त पुगेकै छ नि गाउँको बारीले! म यतै हिंडे त त्यो बुढी पिरले मर्दिन? त्यसमा पनि म बुढो भुँडी दुखिरहने बिरामी, फेरी यिनले त मुक्ति भनेर डकैति जस्तो डरलाग्दो कुरो गर्छन्, कुन दिनमा यो यस्तो बजारमा आई पुगिएछ भगवान!
एकफेरा गम्यो, डाँका भन्यो भने रिसाउलान भनेर उसले उम्किने बल गर्न थाल्यो। ‘म घरसल्लाह नगरि मुक्तिको लागि हिंड्न सक्दिन, घर पुगेर पछि आउँला। अहिले लागें।’

ऊ हिंड्न के लागेको थियो, एउटा नकावधारीले उसलाई ट्याप्प अँठ्यायो, र भन्यो- ‘देश र जनताको मुक्तिको लागि तपाईं नहिंडी सुखै छैन। म जाउँ तपाईंलाई लिन घरसम्मै?’

ऊ सुरुवालै मुतुँला जस्तो गरेर थरथरी काँप्तै धर्धरी रोयो। ‘म आँफैँ आउँला हजुर’ उसले बिन्तिपुर्वक छुट्टिने याचना गर्यो।

‘छोडिदिउँ मित्र! यस्ता कायरहरुको काम छैन।’ चुस्स बोकेदारी भएको बोल्यो, उसलाई समाउने हात अलि खुकुलिएकोले ऊ फुत्किएर निमेषमै बाहिर तिर हान्नियो।

उसले स्वासलाई नियन्त्रण गरेर अलि होशमा आउँदा मात्र थाहा भयो, पसिनाले छ्याप्पै भिजेको रहेछ। पसिना पुछेर अलि सचेत भएपछि उसले देख्यो, बाटै छेउमा अर्को त्यस्तै अर्को मुक्तिका शब्द बेच्ने पसल रहेछ, त्यहाँ पनि विदेशी शब्दहरु, निशुल्क नै बेचिने तर बन्दुक लिएर होइन, खुलमखुल्ला, हातमा पुस्तक लिएर। एउटाले त यो पुस्तक पढिस भने तेरो भुँडी दुखेको ठीक हुन्छ सम्म भन्न भ्यायो। बाउबाजेको धर्म छोडेर अर्कै भगवान बनाउने हो रे निशुल्क शब्द पाएर मुक्त हुन! उसले निकै भाषण सुन्यो तर बाउबाजेको धर्म छोडेर पेट निको पार्नु भन्दा अस्पताल् नै छंदैछ नि! भन्ने सोचेर ऊ उम्कियो।

हैन, यी निशुल्क शब्द बेच्ने त छोड्ने मात्रै कुरो गर्छन् त! एउटाले परिवार छोड् भन्यो, एउटाले धर्म, होइन यिनको जीवनमा मानवीय संवेदना छैन? यही भएर पो मान्छेहरु निर्जिव देखिएका हुन यता तिर! तर्कना गर्दै उभियो अर्को स्टल नजिक, आश्चर्य मान्दै।
स्टलमा ‘बाँच्नका लागि अनिवार्य शब्दहरु छानी छानी लानुहोस्’ लेखेको देखेर ऊ छेउमै गयो, पसलेले उसलाई एकछिन हेर्यो र मुख खुम्च्याउंदै भन्यो, “तपाईँ त खुब सोझो देखिनुहुन्छ, हाम्रा शब्दहरु चलाऊन त सक्नुहुन्छ! यहाँ सोझा मान्छेलाई कामलाग्ने शब्द धेर छैनन, तर आँट गरेर चलाऊनु भयो भने तपाईंको जिन्दगी नै बदल्छन् हाम्रा शब्दहरुले।”

उसले केही शब्दहरु देखाउनोस म चलाऊन प्रयास गर्छु भनेपछि उसले केही डब्बा ल्यायो। उसंग शब्दपरिक्षण केन्द्रमा तालिम नलियी नहुने खालका धेरै शब्द रहेछन, ठगी, गुण्डागर्दी, डनगिरी, चोरी, डकैति, चन्दा असुली, गणतन्त्रका गफ, आस्वासन्, बैदेशिक रोजगारको प्रलोभन, बैदेशिक रोजगार, चाकरी आदि शब्दका ब्रान्डहरु डिब्बाहरुमा गन्दै गयो। उसलाई कुनै पनि चलाऊन सक्ने हिम्मत भएन। उसले अब शब्दबजारलाई राम्रैसंग बुझ्न थालेको जस्तो महसुस गरिरहेको थियो, समयले कति चाँडै अनुभवी बनाउँदो रहेछ, जिन्दगी एउटा दुर्घटना र भोगाइको पेलाइमा त पर्नुपर्ने रहेछ नि!

ऊ फिस्स हाँस्यो र भन्यो, ‘केही यी भन्दा नयाँ, महंगा , र केही यी भन्दा सस्ता सस्ता र काम नलाग्ने शब्दहरु देखाउनोस त!’

ब्यापारी छक्क पर्दै केही नयाँ र पुराना डब्बा ल्यायो, नयाँ डब्बामा उग्र जातिवाद, जातीय राज्य, केही जातीय झडप, गृहयुद्ध, कमिशन, घुसखोरी, दलाली, डलर हात थाप्ने काइदाहरु आदि थिए । तिनलाई हेरेपछि ऊ खुइय गरेर पुराना डब्बाका ब्रान्ड चिन्ने प्रयासमा लाग्यो, एउटा राजसंस्था ब्रान्डको डब्बा चिनिसकेपछि उसले एकएक गर्दै अरुपनि नियालेर हेर्दै गयो, लेबल चिन्न अलि मुस्किल परेकोले गहिरिएर। एउटामा हिन्दू अधिराज्य र अन्तिम ब्रान्डमा नेपाल लेखिएको थियो।

उसमा गहन चेतनाको प्रकाश भरियो, उसले किन आफ्नो नाम प्राचीन भनेर दर्ता गरिएछ भन्ने पनि बुझ्यो, किन नेपाललाई शब्ददेश भनिंदो रहेछ भन्ने पनि बुझ्यो, उसको आँखाभरी आँशु रसाए। उसले पसललाई गौर गरेर हेर्यो, नेपाल भन्ने शब्द पसलको भुइंभरी बिछ्याईएको देख्यो, जसमाथी कुल्चिएर पसले हिंडिरहेथ्यो। उसलाई पसलेका बलेका आँखा बगरेका जस्ता लागे।

‘मैले त भनेकै हो नि! तपाईं हाम्रा शब्द चलाऊन सक्नुहुन्न, हाम्रा शब्दहरुले धेरैलाई महान बनाएका छन।’ पसलेले उसलाई खिस्याउँदै बोल्यो।

‘हो, म सक्दिन! म पाखे हुँ, पाखे! मलाई नेपाल नै ठीक छ!’ ऊ रन्थनिएर बाहिरिने गेटतर्फ हुईँकियो। ‘शब्ददेशका प्रधानमन्त्री र शब्दमन्त्रीको सवारी हुंदैछ, सबैजना सचेत रहनुहोला।’ माइकिङमा सुनिंदै थियो। ऊ एकचोटी पनि पछाडि नफर्की गेटबाट बाहिरियो।

*************

ऊ सोझै छोराको फ्ल्याटतर्फ हुइंकियो, उज्यालो भैसकेको थियो। उसभित्रको आस्थाको खण्डहरमात्र थियो, उसको अनुहारमा केही भाव थिएनन, केवल प्लास्टिक टाँसेजस्तो भएको थियो अनुहार। बाटोमा मन्दिर छेउ एउटा साधु देखियो- ‘शब्दसत्य, जगत मिथ्या बालक!’ ऊ भनिरहेको थियो।

ऊ अडिएन, ‘मलाई सब थाहा छ योगी! सब थाहा छ!’ ऊ बर्बराएर उसको अगाडिबाट उल्कापिन्ड गुज्रेझैँ राँक्किएर गुज्रियो। छोराको फ्ल्याट पुग्दा उसको नाती अझै बेलुकी झैं शब्दजाल खेलिरहेको थियो मोबाइलमा। ‘आज स्कुल गईनस बाबु!’ उसले सोध्यो, ‘आज स्याटरडे हो हजुरबा! स्कुल होलिडे!’ ऊ गहभरी आँशु पारेर नातीले शब्द मिलाउने शब्दजाल खेलेको हेरिरह्यो।
उसको मनमा ठुलै आँधी चलिरहेथ्यो।
‘धेरै कुरा नजाँची उहाँको रोगको निदान हुँदैन। भोली इन्डेस्कोपी पनि गर्नुपर्छ, खाली पेटमा आउनु होला।’ दिउँसो डाक्टरले उसलाई जाँचेर भनेको थियो।
ऊ झन शिथिल महसुस गरेर अस्पतालबाट फर्केपछि बिछ्यौनामा पल्टीरह्यो, बेलुकी उसलाई हनहनी ज्वरो आयो। ‘नेपाल! मेरो नेपाल!!’ ऊ सपनामा थुप्रै चोटि बर्बरायो।

भोलिपल्ट बिहान उठ्ने बित्तिकै लुगा लगाएर झोला ठिकठाक गरेर निस्कने तरखरमा लाग्यो। बुवाको रातभरको बिरामीले चिन्तित छोरो बाथरूमबाट निस्कियो । बुवाले एकाबिहानै लुगा लाएर तयार भएको देखेर देखेर चकित भावमा बोल्यो, ‘अनि बुवाले त कपडा लगाइसक्नु भएछ, आज त बाहिर ननिस्कनोस् है! रातभर बिरामी भएर सुत्नु भएको छैन, एकछिन पछि अस्पताल् जानु पर्छ!’
‘यिनले मलाई निको पार्दैनन बाबु! यहाँ सब बोल्ने मात्र हुन, म घर जान लागेको! मलाई गाडीसम्म पुर्याइदे।’ बुढाले शिथिल स्वरमा बोल्यो, ‘मलाई मेरै नेपाल प्यारो छ, म त्यहीं निको हुन्छु, निको नभए त्यहीं शान्तिले मर्छु!’
‘बा! यो पनि त नेपाल हो नि!’
‘अहँ! यो नेपाल होइन, यो शब्ददेश हो, शब्ददेश! यहाँ बोल्नेहरु राजा छन। काम गर्नेहरु भोकै मरिरहेछन।’ छोरो मौन भएर बाबुको अनुहारमा हेरिरह्यो। उसको अनुहार प्लास्टिकको जस्तै देखियो; बुढाको अनुहार अहिले धप्प बलेको थियो, जसको सामु छोराको अनुहार फिका अनि फुङ्ग रंग उँडेको। बाहिर घाम झुल्कँदै थियो, भाले बासेकै थिएन।

[सुलेख साहित्यिक मासिक, अंक २७ मा प्रकाशित्,
पत्रिकामा रहेको कथामा पुन: सम्पादन मित्र सन्देश घिमिरे,
रचना मिति: २०७१ कार्तिक ७, किर्तिपुर ट्यांग्लाफाँट
कथाकार: तीर्थ प्रसाईँ ‘अभिनव”]

(स्रोत : Abhinawtp.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.