~हर्क राज गुरुङ ‘भुटानि’~
पढेको थिएँ इतिहास।
सुनेको थिएँ किंवदन्ती।
रचेका अनेक कथाहरू,
जाहाँ माटो जोडेर, गोडेर अनि सिन्चेर
साम्राज्य स्थापित गरेका थिए।
हो त्यही साम्राज्य बनेको माटो फूल्यो।
पुर्खाको नासो हो त्यो पश्चिम फाँटहरू।
कुनै इतिहासमा समेट्नु अगावै
टुक्रेका ति दिशाहरू, स्तुपाहरू,
कलकल बगेर भूमी त्याग्ने नदी नालाहरू
मलाई खास लाग्दैन।
टुक्रेर अजर अमर बन्न सक्दैन
त्यहाँ पुर्खाले पसिना दिएर गएका थिए
सायद त्यही पसिनाले सराप दिने छ।
त्यो काल ओगेल्ने छ
अनि आफ्नै साम्राज्य तहसनहस भएर
फेरी माटो फूल्ने छ।
अब त त्यो भूमी
मुखमा सियोले धागो
उनिएर छोड़े जस्तो लाग्छ
तर आँखाले हेर्न खोज्दा,
पाउहरूले टेक्न खोज्दा,
मलाई विदेशी भन्ने छ।
तब मेरो मन मुटुमा
भुईचालो नै जाँदो हो…..
अन्न फल्ने बारीमा
हिरा मोती त पक्कै फल्नेछैन
फले पनि बाँदर, दूम्सी, मृग, चौँरी आदी
जनावरको आहारा होला
तर मलिलो माटोमा
सुन्तला, अलैँची, अम्बा, अनारस,
आरू, काँक्रा, कोदो, धान, मकै.. धेरै लेख्दिन।
काहाँ फल्दो होला कठै!
गोठमा कराउने लैना गाईको ड्वाँ ड्वाँ मा
सुन्दैछु म – माटो फुल्यो रे।
होईन भन्नै सक्दिन बरू म पनि भन्छु
मेरो देशको – “माटो फुल्यो”
(स्रोत : संगम साहित्य चौतारी)