~रामशरण बजगाई~
‘यो उज्यालो दिउँसोको भन्दा सेक्सी छैन !’ समुद्री जहाजभित्र भान्सातिरबाट निस्कदै गर्दा विन्नाले सोधी । पर्ल किनारमा ग्वान्झाउ शहरतिरवाट आएको उज्यालो बनावटी भएपनि सूर्यले आफैं छोडेझैं लाग्थ्यो । किनारमा छरिएको प्रकाशको रंग वेलावेला फेरिंदो रंगसँगै त्यो पुड्की चिनियाँ युवती घरी रातो वर्णकी लाग्थी घरी अनुहारमा निलो मादकता देखिन्थ्यो ।
छेउछाउबाट टिनएजरहरु हरिया, पहेंला, राता र अनेक रंगमिश्रित वत्तीको प्रतिछायाँ समुद्री किनारमा हेर्दै थिए । हेर्दा झ्यापुल्टै लाग्ने केही केटाहरु गर्लफ्रेन्डको छातीमा टाउको अड्याएर आँखा चिम्लेका भेटिन्थे भने केही सेतो प्लास्टिकको चित्रजस्तै देखिने युवतीहरु बेस्सरी चुम्बनमा लिप्त थिए । दृश्यको चुम्माचाटीले मेरो पनि ध्यान त्यतै अलि बढी खिचियो ।
‘किन घोरिएको ?’ विन्नाले सोधी । हतपत दृश्यबाट आफुलाई अलग गरेँ, मनमा खेलेको कुरा उसले नदेखोस् भनेर । तर, मनको गञ्जागोल अनुहार हेरेरै त्यो चतुरी केटीले चाल पाई । गर्धनसम्म मुठरेको कपाल हल्लाएर कानसम्म फिंजारेर उसले सोधी ‘घरको सम्झना आयोे ?’ अनि हाँसी मज्जाले । हाँस्दा उसका चिम्सा मङ्गोल आँखा केहीवेर चिम्लिइए । मैले केही जवाफ दिइनँ । अझै एक कदम अघि बढेर उसले भनी, ‘तिम्रो गोजीमा दिउँसोको भिजिटिङ कार्ड छ नि, कुन फोटो मन पर्छ भन, म फोन गरिदिन्छुु ।’ उसले कानैमा मुख जोतेर भने पनि मैले कोटको खल्तीमा जम्मा भएको एक मुठो कार्ड झिक्ने हिम्मत गरिनँ । पर्ल नदी किनारमा ओर्लंदा दिउँसो नगरवधुहरुको भिजिटिङ कार्ड बाँड्न केही पुड्के केटाहरु आएका थिए । कार्डमै तस्बीर देखेर ताज्जुब मनलाई झन् झन् पछिका नयाँ दृश्यहरुले भिजिटिङ कार्डका तस्बीरहरुलाई बिर्साइदिएको थियो । बरु विन्नाले सम्झेकी रहिछ । दिउँसोलाई साझसँग जोड्दै उसले भिजिटिङ कार्डको कुरा गर्दा मलाई हल्का ब्यङ्ग्यझैं लाग्यो । ‘हैन हैन पर्दैन’ आफुलाई केही भलादमी देखाउँदै जवाफ दिएँ । विन्नाले पत्याइन कि कुन्नी आँखीभुइँ निधारमा सिउँरेर कुटनीतिक हाँसो हाँसी, दाहिने हातले च्याप्प मेरो हात समातेर देब्रे हातले कुम थुम्थुम्याई ।
रात छिप्पिएपछि त्यो डल्ली गाइड केटी होटेलको प्रांगणवाट विदा भई । म सुत्न लागेँ । दिमागमा सँगसँगै आए ‘माओ त्सेतुङ’ र ‘देङ स्याओ पिङ्’ । मैले सुनेका माओ उथलपुथलपूर्ण चिनियाँ छापामार युद्धका नायक । त्यसलगत्तै माओ नेतृत्वको सांस्कृतिक क्रान्तिले जेल पुर्याएका देङ । माओको निधनपछि देङकै नेतृत्वमा भएको आर्थिक उदारीकरण र विश्वब्यापीकरणको सांस्कृतिक प्रभाव । यी सबै सतहमा सुनेका किस्साहरु दिमागमा आइरहे । ‘नग्न नारीहरुको तस्बीर पनि नहेर’ माओ भन्थे रे । माओकै देशमा गाइड केटी नाङ्गा नारीहरुको शरीर देखाइदिन पनि तत्पर छे । लाग्यो, ‘अन्न र आदर्शको लडाईमा मान्छेले अन्नको पक्ष लिन्छ र आदर्श युगौंसम्म आदर्शकै रुपमा अमर हुन्छ ।’
माओ बाँचेकै भए पनि कि आज समुद्री किनारको गुलावी प्रकाशमा रतीरागात्मक सम्मोहनका विरुद्ध चिनियाँ युवाहरुमाथि लालसेनाका डण्डा बर्साइरहेका हुन्थे र सेन्जेन शहरका केटीहरु रोटी खानकै लागि सित्तैमा माओको आँखा छलेर देह ब्यापार गरिरहेका हुन्थे । कि उनी पनि नाङ्गा नारीहरुका शरीर नहेर भन्न छोडेर ब्यवसायिक उन्नतीका लागि जेसुकै गर तर, राज्यलाई ब्यवसाय वापतको कर तिर भनिरहेका हुन्थे । निन्द्रआघि मेरो आत्मनिश्कर्ष थियो, ‘बेलैमा चिनियाँ सांस्कृतिक क्रान्तिको पतन भइदियो र देङले आधुिनक चीन बनाउन सके । संसार चीनको आर्थिक विकास देखेर आत्तिंदैछ, म समुद्री किनारका रंगीन वत्ती मुन्तिर हरेक चीजको ब्यवसायिकरण हेरिरहेको छु ।
०००००००००
सबेरै निन्द्रा खुल्यो । रुमको भित्तामा झुिण्डएको देङ्को तस्बीरमा आँखा ठोक्किए । मनले पनि कति दूरसम्म एकैपटक फेरो मार्न सक्नेरहेछ ! अचम्मै । एकवर्षअघि काभ्रेको पोखरीचौंरी पुग्दाको कारुणिक सम्झनाले गाँज्नथाल्यो । आधुनिक चीनको सुविधसम्पन्न गेष्टहाउस भित्रको एउटा ओच्छ्यानमा शरीर पल्टेको छ तर, मन ? मन भने काभ्रेको कोशीपारीतिर एउटा गाउँमा पुग्यो । ‘आलोककी बहिनी बिन्दा त्यहीं मारिएकी हुन्’ त्यहींका कृष्णप्रसाद गौतमले माओवादी जनयुद्धकी शहीद बिन्दाको शहादतस्थल देखाएका थिए । बिन्दा माओवादीका चर्चित नेता यानप्रसाद गौतम आलोककी बहिनी थिइन् । आलोकका भाइ नवीन अझै बेपत्ताको सूचीमा छन् । बुहारी रेणुका चौंलागाई माओवादीबाट संविधानसभामा सदस्य थिइन् त्यतिवेला । ‘सांस्कृतिक विचलन’को एउटै आरोपले ‘आलोक’ माओवादीको श्रम शिविरमै मारिएका थिए ।
आलोकका छोराहरु माओवादी पोलिटब्युरोका शक्तिशाली नेताका छोराजस्ता लागेका थिएनन् । बाँच्ने नेताका छोराछोरीले शहरको समृद्धि भोगिरहेका छन् । आलोक माओवादी राजनीतिको केन्द्रमा जिवितै भए यतिवेला उनका छोरा प्रचण्डपुत्र प्रकाशजत्तिकै शाक्तिको स्वाद भोगिरहेका हुन्थे कि अर्कै जीवनमुल्यको खोजीमा हुन्थे । मर्नेको क्रान्ति मृत्युसँगै सकियो, बाँच्नेको क्रान्तिमा बहार ! आलोकका दुई छोराको जीवन नेपालको ‘माओवादी क्रान्ति’को विद्रुप शिकारझैं लागिरहेको थियो । ओठ पट्पटी फुटेका, अनुहारवाट क्रान्तिको रंग पुरै उडेका ।
त्यतिवेला आलोकका बाबु जिवितै थिए । सांघुरो पिंढीमा बसेका तिनी नाम्लोको बरियोमा पोया थप्दै थिए । भर्खरै बनेको कच्ची घरमा जस्ताको छानो त थियो, खापा हाल्न नसकेर थोत्रा गुन्द्रीले झ्यालढोका टालिएका थिए । छेवैको खोरमा बाख्री उघ्राइरहेको थियो । बेलाबेला पाठापाठी उफ्रिंदै नजिक आएर थुनमा झम्टिँदा उग्राइरहेको बाख्रीले झर्काे मानेझैं लाग्थ्यो । आलोकका बाबुले बाख्रालाई स्याउला दिन नातीहरुलाई अह्राए । पातलो छाला छिचोलेर बाहिर देखिएका नाडीका नशा हड्डीमा टाँसिएका लहराजस्ता थिए । आलोकको कुरा गर्दा कानसम्म खिचिएका उनका छालाका मुजामा आँखाबाट आँशु फैलिंदै गयो । ‘बाँचेको भए प्रचण्डजस्तै पो हुन्थ्यो कि !’ यत्ति बोले बुढा । उनको यो भनाई सम्झेपछि माओको श्रम शिविरमा कैद गरिएका देङ त्यहीं मारिएका भए आजको विकसित चीन कहाँ हुन्थ्यो होला र भन्ने लाग्यो ।
सांस्कृतिक क्रान्ति नामको वितण्डाको विपक्षम रहेका तेङ जिउँदै जेलमुक्त भए र आधुनिक चीन रचियो । विद्रोहले जेलमै सडाएका ल्यु साओ चीका हड्डी उहिल्यै मक्किइसके । तेङको घर भएको आधुनिक शहर सेन्जेन र आलोकको घर, मनका दुई पत्रमा ओल्टाइपल्टाई गर्दै थिएँ, किर्रर्र घन्टी बज्यो । सबेरै आएर घन्टी बजाउने उही केटी थिइ, विन्ना । बहुस्त्रीगमनको आक्षेपमा पार्टीले कैदी बनाएका आलोक र माओको सांस्कृतिक क्रान्तिप्रति विमति राख्ने देङको तुलनाको मनोवादले विश्रान्ति पायो । मनोवादमा शिक्षक मुक्तिनाथ अधिकारी, पत्रकार ज्ञानेन्द्र खड्का र कवि कृष्णसेन इच्छुकहरु त आउनै पाएनन् ।
००००००००००
होटेल छोडेर सेन्जेनतिर हिंड्न हतार भयो । सेन्जेन देङको जन्मस्थान रहेछ । ३० वर्षअघि पुरै भोकमरीले थिचिएको । विन्नाले तीन दशक अघिको सेन्जेनबारे भन्दै गई, ‘समुद्री किनारमा दिनभर माछा मारेर त्यसैले मात्र प्राण धान्नुपर्ने ।’ आज संसारमा गनिएको औद्योगिक शहर । सेन्जेन शहरमा ठूलो होर्डिङबोर्डमा देङ मुस्कुराइरहेका थिए । एउटा नमुना शहर डिजिटल मेशिनजस्तो, भुइँमा टेक्न पनि डर लाग्ने कतै आफ्नो शरीरको मैलो पो सर्ला कि ! देङ्को ठूलो फोटो देखाएर साथीहरु सबैले विन्नालाई सोधे, ‘माओ र देङमध्ये को महान् ?’ जिभ्रो लड्खडाउँदै उसले जवाफ फर्काइ, ‘दुबै महान ।’
प्रश्नको चुरो अझै गलेको थिएन, ‘महान देङ् पनि सांस्कृतिक क्रान्तिको हिरासतमा मारिएका भए उनको महानता रहन्थ्यो !’ वा सेन्जेनका बासिन्दा समुद्री किनारमा माछा मारेर दिन दिनकै छाक जोहो गर्दै ‘संशोधनवाद’ विरुद्ध जुझिरहेका हुन्थे कि ! प्रश्नको पेटारो नरित्याइ म चीनबाट नेपाल फर्केँ । यता उस्तै छ, क्रान्तिका लागि ढाटमा चन्दा उठिरहेकै थियो, उद्योग र राजमार्गहरु बन्द भइरहेकै थिए । केवल उत्पादनविनाको चन्दाले राजनीतिक नेतृत्व आफ्नो धुरी अग्ल्याइरहेकै थियो, छ । वर्षाैं शिविरमा बसेर घर फर्केका लडाकु चेक खोसिएर रुँदैथिए । र नेतापुत्रहरु सगरमाथा यात्रा गर्न ३ करोड खर्चको जोहो गर्दैथिए । ३० वर्षमा तेङ्ले बनाएको सेन्जेन र नेपालमा भीषण युद्धपछि निर्माण भएको आर्थिक चित्र दिमागले तौलिरहेछ ।
(स्रोत : Chakrapath )