भरखर झरी परेर रहेको हो क्यार बलेँसीमा तप्क्यानीहरू अल्छी लागी लागी तप्किँदै थिए। पल्लोपट्टि घरको भाले एकपल्ट पखेटा ठोकेर बास्यो। पारि स्याल पनि करायो एकपल्ट। त्यसपछि लगातार भुस्या कुकुरहरूको अल्छे भुकाइहरूको क्रम निकैबेरसम्म चलिरह्यो। उसलाई पटक्क निद्रा परेन अब। उ जुरुक्क उठ्यो, बत्ती बाल्यो र सिरानीमनिबाट एउटा फ्लेक निकालेर सल्कायो। उसले निकैबेर सोच्यो मन-मनै अनि आफै बर्बरायो ̵ “विनिता कसरी यहाँ छे अचम्म?”
त्यही प्रश्न घरि घरि चुरोटको धुवाँसँग गुँडुल्किएर माथि सिलिङमा ठोकिएर प्याट्ट फुट्थ्यो।
हिजै मात्र उ यहाँ आएको, नयाँ बडाबाबु भएर। यहाँको साहबसँग औपचारिक्ताका कागज-पत्रहरू बुझाएर गफ गर्दा उसमा (साहबमा) प्रशस्तै इमान्दारीपन देखेको थियो उसले। प्रथम दिनमै उ प्रभावित भएको थियो साहबसित। कुरा र उमेर मिलेकोले हो कि केले हो केही घनिष्टता पनि स्थापित भएको थियो। आफू पनि नयाँ बडाबाबु, एउटा नयाँ जोश, उमंग र रवाफ थियो उसमा। चौकी वृद्धि जे जसो होस् वेतन वृद्धि अवश्य भएको थियो; यसैमा सन्तुष्ट थियो – उ। घरका दुई जना भल्ट्याङ-भुल्टुङलाई बगडा चेपाएर स्वास्नीलाई एउटा सानो मुन्द्री लगाइदिएकै थियो। हुन त दस-बाह्र वर्षको नोकरीले केवल एउटा मुन्द्री किन्न सक्नु के गरेको भन्नु र? तर अवस्था नै त्यस्तै थियो, परिस्थिति नै त्यस्तै थियो।
उ जस्तै सर्वहारा उसको छिमेकीले त झन केही गर्न सकेको थिएन। अहिलेको यो महँगाईमा यो वेतन त केवल ऐना जस्तो हो, थुक-तेल गर्न नसक्नेको त भान्सा नै टुट्ला जस्तो हुन्छ। र पनि यिनीहरू देश अघि गद्दारी गर्दैनन्; ईमानदार भएर कर्तव्य निभाउँछन्। तर कहिले काहीँ भने रमेश बाबुको आलीशान घर देखेपछि भने उसको छाती चिरिन्थ्यो। पार्टीको कारिन्दा भएर हिँड्न थालेको कति पनि भाको छैन, काठको घर लडाएर गतिलो बिल्डिङ ठोकिरछ। लामो बिदामा घर जाँदा गाउँ-घरकाहरू रमेश बाबुकै गुण-गान गर्छन्। रमेश बाबुको लामो हात छ रे, धेरै माथिसम्म पहुँच छ रे, मन्त्रीसम्मले उसले भनेको बचन खान्छ रे भनेको सुनेर उ छक्क पर्थ्यो। यत्रो लामो अवधिसम्म सरकारको बफादार भएर सेवा गर्नेलाई चाहिँ चिन्नधरि चिन्दैनन् उनीहरूले भन्ने लाग्छ उसलाई।
कहिले-काँही वेतनले महीना नठेल्न नठेल्न खोज्दा त उसलाई पनि रमेश बाबु हुन मन पर्थ्यो। अफिसको बाबु हुन भन्दा रमेश बाबु हुनमा नाफा देख्थ्यो उसले। कतिजना आफ्नै सहकर्मी बाबुहरूले पनि मासिक वेतन र यता-उता झ्याप गरेर बजार छेउ सानो-तिनो घर जखेकै छन् – उ गम्छ। कसो कसो गरेर हेर्दा जिन्दगीको पल्लो पाटा निकै अँध्यारो देख्छ उ। यसरी सोचाइका पहलुहरू अँध्यारा, बेरसिला र अव्यवस्थित पाटामा पुगेपछि उ फेरि आफ्नो मनलाई उही प्रश्नमा थुराउँथ्यो – “साँच्चै उ कसरी यहाँ छे?”
उसका मनहरू विस्तारै बगेर अतीततिर डुब्दछ। लगभग आठ वर्ष अघिको कुरो हो, त्यसताक उ क्लर्क थियो। त्यतिबेलाका उसको साहब पनि साह्रै राम्रा थिए। उसले पनि आफ्नो साहबको सानो खातिरदारी गर्दैनथ्यो। साँझ-विहान साहबकोमा जाने गर्थ्यो। साँच्चै राम्रो हेलमेल थियो उनीहरूको।
एकदिन साँझपख साहब निकै ग्वाँ-ग्वाँ रोएर उसको अघि मनमा अपर्झट परेको चोट पोखेको थियो। साहबको छोरी विनिता दोजीया भएकी कुरो सुनेर एकपल्ट त उ पनि तर्स्यो। त्यसै घृणा उत्पन्न भएको थियो – साहबसित, सधैं घराना र इज्जतको ख्याल नराखी सबैलाई माया गर्ने विनितासित। कहीँ छल-कपट र आडम्बरको छाँयाधरि नपरेको विनिता कसरी यति तल गिरी? उसको मनमा प्रश्नै-प्रश्न उठे पनि साहब र उ बीचको स्तर र अवस्थाको फाँटभित्र ती प्रश्नहरू त्यसै बिलाएको थियो। त्यतिखेर औचित्यहीन भएपनि समय र अवस्थालाई समीकरण गर्न सहानुभूतिपूर्वक एउटा प्रश्न यसै सोधेको थियो – “अब के गर्नुहुन्छ सर?” उसका मनमा उठेका थुप्रै सुझाव र सल्लाहहरू पनि उही फाँटले छेकिदिएको थियो।
साहबले निकैबेर थुप्रै गन-गन गरेपछि “मलाई विश्वास लाग्दो तिमी नै छौ। अहिलेलाई मेरो लाज राखिदेऊ बदलामा म जे पनि गर्न तयार छु।” भन्दै एक्कासी उसको गोडा समात्दा उ खङ्ग्रङै भएको थियो। बाजको अप्रत्यासित आक्रमणमा आत्तिएको चिङना झैं उसले त्यतिबेला बलैले – “म..म.. कहाँ सक्छु र? मलाई माफ गर्नोस्।” भनेर उ कुदेको कुद्यै आफ्नो घर पुगेको थियो।
भोलिपल्ट बेलुका विनिता उसको कमरामा आएर धेरैबेर रोएकी थिई। गहभरि आँशु पारेर याचनाभरि स्वरमा भनेकी थिई – “मलाई अप्नाऊ मिलन! मलाई ठूलो धोका भो। मलाई बचाऊ….” उसले मूक भएरै आफ्नो असहमति जनाएको थियो। मेरो कठोरतादेखि हारेर विनिता निकै राती रुँदै बाहिरिएकी थिई।
त्यसपछि के हुन्थ्यो र! साहब आफ्नो स्थानान्तर गराएर कुन्नि कता गए। निर्विकल्प विनिताको अनुहार गाडीमा चढ्दा उस्तै देखेको थियो उसले।
“दाइ चिया!”
बाहिरबाट आएको आवाजले उ वर्तमानमा आउँछ। उज्यालो भएछ – साँच्चै रमाइलो। चिया पिउँदै उसले सोच्यो –‘त्यतिखेर मैले विनितालाई अप्नाएको भए! आखिर उसलाई म जस्तै कुनै पुरुषले नै धोका दिएको थियो..’ कस्तो कस्तो पश्चताप र आत्मग्लानिको तुवाँलो छातीभरि उर्लिएर उकुस-मुकुस बनायो उसलाई। जेभए पनि बडाबाबुपनको दोस्रो दिने जोशले त्यो मानसिक तुवाँलो केहीक्षणमै हटाइदिएपछि कपड़ा फेरेर उ होटलतिर हिँड्यो।
उ होटल अघि, खाना खाएर अफिसका लागि केही समय रहेकोले उभिरहेको थियो। पर एउटा दोकानको भीडभित्र उसले आफ्नो साहब देख्यो। उसले त्यहीँ गएर नमस्कार गरेपछि साहबले उसैको गाडीमा अफिससम्म जाने आग्रह गर्दा उसलाई आफ्नो नयाँ साहब मानवतादी लागेको थियो।
ड्राइभरले गाडीको पछाडिको दैलो खोलिदिएपछि उ यन्त्रवत भित्र पस्यो। अचानक उसको छेउमा उही विनिता र एउटा सात-आठ बर्षे बालक देख्दा उ एकपल्ट त गजबले तर्स्यो। अनुशासनले दिनु हो त सायद उ गाडी छोडेर भाग्ने थियो। तर कसो कसो त्यो तनावपूर्ण वातावरणलाई साहबले अघिल्लो सिटबाट पछि फर्केर – “यहाँ मेरी श्रीमती विनिता र छोरो दिनेश! अँ यहाँ चाहिँ हाम्रो अफिसको नयाँ बडाबाबु मिलन।” भनिदिएपछि अलिक तनावहीन महसुस गर्यो उसले।
उसले आफ्नो नयाँ मेमसाहबलाई आजभन्दा आठ बर्ष अघि झैं एकपल्ट फेरि नमस्कार गर्यो । विनिताले पनि नमस्कार फर्काउँदै आठ बर्ष अघि झै उसरी नै मुसुक्क हाँसि दिई ।
(स्रोत : Sujan Maden’s Blog)