म भन्दा पहिले उसैले छुन्छ
अग्लिएर जुन र घाम
फेरि पनि किन अझै उदास छ पहाड?
नापेर जिवनको गहिराई
उसैको आङ्मा परेको खोल्सि भित्र
चन्द्रमा कैद गरेर पानीमा
बनेकै हो ऊ एक जिवन्त प्रेमी
फेरी पनि किन ऊ निरास छ ?
सदियौ देखि आँखै अघिल्तिरबाट
बगिजाने नदीले सापटी लगेको जिवन कथा
समुद्री किनारका पैदल यात्रीहरुको पाउमा
छुदै कत्ति छल्किन्छ होला छालहरुसँगै ?
उतैतिरबाट काँधमा रेडियो भिरेर
फर्कि आउने लाहुरे दाईले विर्सने पो हो कि ?
मनको किनारहरु जस्तै भत्किएर
पहिरोसँगै बगेको गोरेटो
आउँदा चिन्ने हुन् कि होईनन् ?
बाटो कुरी बसेकी लाहुरेनी भाउजु खसेको भिर
रगतको रातो मिसिएको त्यही खोल्सी र पानी
पत्तो पाउलान् कि नपाउलान् ?
उनको आँगनीमा घोडाको पदचाप
सुन्लान् कि नसुन्लान् मध्यरातको चित्कार
मैले सोचे– म मात्र छु की उदास
तर म सँग–सँगै किन दुःखी छ पहाड ?
नदीको गित यहीबाट सुरु हुन्छ
आँखा भरि रहरको सौन्दर्य यहीबाट फुल्छ
यहीबाट जिवनको धुनहरु निस्किएर
चराहरुको प्वाखमा अल्झन्छ
यहीबाट खुल्छ मनहरुको परिसर
र नाच्छ मयुरको प्वाखहरुसँगै
फेरी यतै कतै कन्दराहरुमा किन छैन उज्यालो
अरबबाट आमा र सङ्गीलाई
किन आउन सक्दैन ईमेल ?
बन्दुक बोकेर क्रान्तिका आवाजहरुसँगै हराएको समय
फर्कि आउँदा किन रित्तै आए ?
खै कैले फर्कि आउँछ यो नदी ?
टिपेर समुद्रको गहिराईबाट मोति
र छर्छ बस्तीहरुमा मुस्कान
ए उदास बाँचिरहेकी मेरी प्रियसी
भन तिम्रो मनको किनार छुने बाटो
पहाडका कुन कुन बस्ति छिचोल्दै आउँछ ?
र यसरी आउँदा तिमीलाई कति खुशी ल्याउँछ ?
मैले सोचे– म मात्र छु उदास
तर म सँग–सँगै भन प्रिय किन दुःखी छ पहाड ?
– तेजविक्रम कार्की, चन्द्रनिगाहपुर-१, रौतहट
May 25, 2014
(स्रोत : Tej Bikram’s Notes )