त्यो युवतीलाई भेटेपछि
मलाई बोध भयो –
धोकापूर्ण राजनीतिविरूद्ध
वेश्यावृत्ति पनि यो देशमा सशक्त कारबाही हो ।
जोन हब्सको पुस्तकभित्र
अलंकार पहिरेर सजिएको छ संविधानको आदर्श
भाषाको सुन्दर जलप लगाएर
संविधानको पुस्तकभित्र थुनिएको छ मौलिक हक
प्रजातन्त्र र समाजवाद यो देशमा
कट्टुसका त्यस्ता चिल्ला दाना हुन्
जसभित्र केवल ढुसी हुन्छ ।
त्यो युवतीलाई भेटेपछि
मलाई बोध भयो –
वेश्यावृत्ति यो देशमा प्रजातन्त्रभन्दा सुन्दर व्यवस्था हो ।
देशमा बुद्धको तस्बिर र हिंसाका खबर
बिकिरहेछन् एकसाथ
एकसाथ बिकिरहेछन्
बेइमानी र संवेदनाका कविता
हो, एकसाथ चलिरहेछन्
क्रान्ति र सुरक्षाका मुनाफादायक व्यवसाय
सूचनाको हक यो देशमा
त्यत्तिकै सुरक्षित छ
जति सुरक्षित छन् यस देशका नागरिकहरू ।
इमानको परिणाम खोज्नु यो देशमा
एउटी बैँशालु आइमाईले
जन्मजात हिँजडासँग यौनसुख खोज्नु हो
यद्यपि इमानबिना क्रान्ति हुँदैन
क्रान्ति यो देशको सबभन्दा पुरानो भोक हो ।
दुःख छ
मुटु नै कटकटी खाने दुःख छ
दुःख, वेश्यावृत्ति र इमानबीच के साइनो छ कुन्नि !
त्यो युवतीलाई भेटेपछि
मलाई अनुभव भयो –
वेश्यालय यो देशमा क्रान्तिको पहिलो पाठशाला हुनसक्छ ।
––––––––––––––––––––––––––––––––
जन्मः २०२८,भदौ २५, गुण्डू, भक्तपुर ।
शिक्षा ः स्नातक
पेसाः पत्रकारिता
प्रकाशित कृतिः फूलबिनाको शाखा (गजल संग्रह)
पुरस्कारः राष्ट्रिय गजल गोष्ठी पुरस्कार २०५७, साहित्यिक पत्रकार संघ सम्मान २०६०
सिर्जनाको प्रमुख विधाः कथा, कविता
सम्पर्कः ६६१६२५८
(स्रोत : साहित्य संग्रहालय )