~सन्तोष स्पन्दन~
आँशुहरु त त्यसै-त्यसै झर्छन
बोलाउननै पर्दैन
दु:ख परेपनि झर्छन , सुख परेपनि झर्छन
नझरिकन बस्न सक्दैनन् आँशुहरु
आफु रित्तिने पिर गर्दैनन्
कसैले पुछोस नपुछोस बस्ता गर्दैनन्
कसैलाई रुवाउन वा हसाउन झर्दैनन
मृत्युको शोकमा झरोस
या हर्षको आनन्दमा
नझरिकन बस्न सक्दैनन्
आँशुहरु त त्यसै-त्यसै झर्छन
कसैको बेदनामा झर्छन
रुपैयाका सयौ कागजमा बिक्दैनन
बन्दुकको नालीसंग झुक्दैनन
न त प्रतिकार
आँशुको नुनिलोपन रित्तिदा पनि
आँशुको मूल सिद्दिदा पनि
झर्ने चेस्टा गरिरहन्छन
लामो खरेडिले सुकेको पहाडको झरनाबाट
बर्षे झरीमा गडगड़ाउदै झरेजस्तो
कालो बादल मडारिदै अकासबाट
मेघ गर्जी झरेको मुसलधारे पानी झैँ
नाकेडाडी बनेर गालाको खोबिल्तो हुदै झर्छन
एउटा ख्याउटे मरनच्यासेको पानी झर्छन
बडेमानको घ्याम्पे भुडिले रोक्दैन आँशु
चिल्लो पजेरोको चमकले छेक्दैन आँशु
झर्ने परेपछि आगोको शुल बनेर झर्छन
आँशुहरु त त्यसै-त्यसै झर्छन
नझरेर संगलिन सक्दैनन्
कहिले आँखाभित्र अपहरित हुन्छन
कहिले झर्दा-झर्दै बलात्कृत हुन्छन
न बेचिन्छन न कसैले किन्छ
यदिलो एकान्तमा पनी झर्छन
कसैको प्रवाह गर्दैनन्
मान्छेको हलमा खुलम खुल्ला झर्छन
कहिले शोकको
कहिले भोकको
बर्षात हिउद
जेसुकै होस्
झर्छन झर्छन
पछ्यौरीको फुर्काले पुछेर भएपनि
भक्कानो छुटाएर भएपनि
अन्तरमा स्पन्दन रुवाऊदै
बाहिर हासो देखाएर पनी झर्छन
झर्नु बाध्यता हो
थमाएर थामिन्नन
स्वतन्त्र रुपमा आफ्नो काम गर्छन
प्रकृति अनुरुप
आँशुहरु त त्यसै-त्यसै झर्छन
(स्रोत : Santosh Spandan’s Blog)