फेरि छोरी जन्मिई ।
म अस्पतालको बेडमै छु । प्रसवपीडाबाट थाकेकी छु । फेरि छोरी जन्मिएकीले मनभित्र आँधी आएको छ । मलाई त छोरा वा छोरी जे जन्मिए पनि उस्तै । आखिर मेरै सन्तान न हुन् तर घरमा नाति नै चाहिएको छ । सम्झिँदै भक्कानो फुटेर आउँछ ।
श्रीमान् बाहिर कुरेर बसिरहनुभएको छ । अघि झ्यालबाट चिहाएर मलाई हेरिसक्नुभयो । नर्सहरू भन्छन्-तपाईंका श्रीमान् तपाईंलाई कति माया गर्नुहुन्छ । तपाईंको चिन्ताले छटपटिइरहनुभएको छ । तपाईंको अवस्था सोधिरहनुहुन्छ । नर्सले यसो भन्दा एकछिन भए पनि खुसी सलबलायो । हो, उहाँले त धेरै माया गर्नुहुन्छ तर मैले उहाँको परिवारलाई नाति दिन सकेकी छैन । यो पीडा त उहाँलाई पनि होला ।
पहिलो पल्ट छोरी जन्मिँदा उहाँ कति खुसी हुनुभयो । काटीकुटी उहाँजस्तै छोरी जन्मिएकी थिई । घरका पनि खुसी नै थिए । सासू-ससुरा सबै दङ्ग । पहिलो सन्तानमा सबै खुसी हुँदा रहेछन् । त्यसपछि सबैले छोराको आशा गरे ।
‘यो पल्ट नाति चाहिन्छ है बुहारी’ फेरि दुई जिउकी भएपछि एकदिन सासूले भनिन् । त्यतिबेला उहाँ पनि त्यहीँ हुनुहुन्थ्यो । मेरा आँखाले उहाँको अनुहार हेर्न भ्यायो । उहाँका आँखा भने भुइँतिर घोरिएका थिए । चुपचाप हुनुहुन्थ्यो । मलाई लाग्यो छोराको चाहना उहाँमा पनि छ ।
बेलुका सोधें, तपाईंलाई पनि छोरो चाहिएको छ ? मेरो प्रश्नले उहाँ अचम्म मानेझैं मलाई हेर्न थाल्नुभयो । मेरो केश चलाउँदै भन्नुभयो, ‘लाटी हामीलाई सन्तान चाहिएको हो । नाति चाहनु बुबाआमाको इच्छा हो । मलाई त छोरा भए पनि छोरी भए पनि उस्तै हो ।’ यो जवाफले म खुसी भएँ तर श्रीमान्को इच्छासँग परिवारको इच्छा मिल्दैनथ्यो । त्यो सम्झेर अलिकति डर पलायो । एक मनले सोचें जे हुनु छ त्यो भैहाल्छ, किन सुर्ताउनु ?
पेटको बच्चा हुर्कदै गयो । मभित्र ममताको भावना पलाउन थाल्यो । हामीले गर्भस्थ शिशुको पहिचान गरिसकेका थिएनौं । घरमा कसैले बच्चा जन्मिनुअघि छोरा छ कि छोरी पहिले नै थाहा पाउन सकिन्छ भनेर लाइदिएछन् । सासूको सधै एउटै रट हुन्थ्यो, नाति चाहिन्छ अब । त्यो के जाति हो मेसिनमा छोरा वा छोरी छुट्याउँछ रे, जँचाओ-उहाँले बेलाबेला भनिरहनुहुन्थ्यो ।
सगोल परिवारमा बसेपछि आफूभन्दा ठूलाले भनेको मान्नैपर्छ । सासूको मन राख्न भए पनि गर्भस्थ शिशुको पहिचान गरिदिऊँ जस्तो लाग्थ्यो तर के यो समस्याको समाधान हो र ? उत्तिखेरै प्रश्न उठ्थ्यो । म अझ दोधारमा पर्थें ।
एकदिन भनें, ‘आमाले सधैं बच्चाको लिङ्ग पहिचान गरेर आओ भन्नुहुन्छ । के गर्ने ? एकपल्ट आमाको मन राख्न भए पनि जाने हो कि ?’
मेरो कुरा सुनेर उहाँ छक्क पर्नुभयो । मलाई नै ट्वाल्ल परेर हेरिरहनुभएको रहेछ । कहिल्यै नदेखे जस्तो गरेर । भन्नुभयो, ‘तिमीले पनि कस्तो कुरा गरेकी ? पहिचानै भयो रे ! अनि के गर्ने ? जे हुने भैहाल्छ ।’
जवाफ सुनेर म त ढुक्क भएँ तर सासूका लागि भए पनि एकपल्ट चित्त बुझाइदिऊँ भन्ने मेरो मनसाय उहाँले बुझिदिनु भयो ।
हामी क्लिनिक गयौं । हिजोआज लिङ्ग पहिचान सजिलै हुँदैन रहेछ । असजिलो बाटो हुँदै पहिचान गरायौं । छोरी नै थिई । यो जानकारीले नचाहँदा नचाहँदै पनि घरतिर सम्झिएँ । ढुंगाले थिचेझैं मन भारी भएर आयो । आमालाई के जवाफ दिने ? बुबाआमाको रहरको माया लागेर आयो । जे पर्ला-पर्ला भन्ने सोच्दै हामी घर फर्कियौं ।
आमाले हाम्रो कुरा सुनेर न खुसी प्रकट गर्नुभयो न दु:खी नै हुनुभयो । चुपचाप आफ्नो कोठातिर लाग्नुभयो । बेकारै पहिचान गरिछु जस्तो लाग्यो । अब भने मेरो मन छटपटिन थाल्यो । चिन्ताको अरिंगालले चिल्न थाल्यो । आमा कम बोल्न थाल्नुभयो । यता मलाई भने खानै मन लाग्न छाड्यो ।
हुर्कदै गएको बच्चालाई चाहिने पोषक तत्व पनि पुगेको थियो कि थिएन १ ख्यालै भएन । आफूलाई भने चिन्ताले खान थाल्यो । मेरो मनोदशा देखेर होला उहाँ मेरो विशेष ख्याल राख्नुहुन्थ्यो । बच्चाका लागि कपडा किनेर ल्याइदिन थाल्नुभयो । घरकाले त यसपटक केही तयारी नै गरेका थिएनन् । पहिलो पालीमा कति हर्ष थियो सबैको अनुहारमा ! तर यसपटक भने कसैमा उल्लास छैन, सिवाय उहाँमा । यसले मलाई झन् रुवाउँथ्यो ।
आमाको मन न हो सन्तानको माया लाग्छ नै ! जेठी छोरी हुर्काउँदै कान्छी यो धर्तीमा ल्याउने तयारीमा लागेकी थिएँ । घरका लागि हरेक बुहारीले सोच्नैपर्ने हुन्छ । हामी घरको कुल चलाइदिने उत्तराधिकारी जन्माउने माध्यम भएका छौं । हुन त सासू-ससुराले मलाई निक्कै माया गर्नुहुन्छ । आफ्नै छोरी जस्तो माया दिनुहुन्छ । त्यही मायाले मलाई उहाँहरूको चाहनाप्रति, इच्छाप्रति सोच्न बाध्य पारिदिन्छ । के उहाँहरूलाई नाति दिनु मेरो जिम्मेवारी होइन र ? यही कुराले बारम्बार मेरो मनको ढोकामा खटखटाइरहन्छ ।
एकदिन उहाँ अफिसबाट आएपछि भनें, ‘बच्चा नजन्माऊँ क्यारे ! अर्को पल्ट जन्माऊँ होला । यो बच्चा एबोर्सन गरे हुँदैन ?’ मैले उहाँको अनुहार हेर्न नसकी-नसकी भनेकी थिएँ । मेरो कुरा सुनेर उहाँ एकछिन अलमलिनु भयो । सायद उहाँले पत्याउन सक्नुभएको थिएन म यस्तो पनि कुरा गर्न सक्छु भनेर । मेरो प्रस्ताव सुनेर अचम्म मान्दै मलाई क्वारक्वार्ती हेर्दै हुनुहुँदो रहेछ । मैले बाध्य भएर कठोर प्रस्ताव राखेकी थिएँ । वास्तवमा भन्ने हो भने मेरो मनले चाहेको भने पक्का थिएन । म त आफ्नो परिवारको खुसीका लागि यो कठोर निर्णयमा पुगेकी थिएँ तर उहाँले मान्नु भएन । नमान्नु एउटा कुरा हो तर घरमा सासू-ससुराको चाहनाको कदर नभएपछि घर घरजस्तो रहँदैन । सासू मसँग अलि कमै बोल्नुहुन्थ्यो । पहिलेजस्तो नजिकिनु भएन । त्यसैलै पनि मलाई भित्रैभित्र पोलिरहेको थियो ।
अन्तत: उहाँलाई मैले फकाएरै छाडें । उहाँले मान्नुभयो ।
हामी पहिले लिङ्ग छुट्याइएको अस्पताल पुग्यौं । सम्पूर्ण जानकारी दिएर एबोर्सन गर्ने प्रस्ताव राख्यौं । पहिले त मानेनन् । यो गैरकानुनी हो भने । अन्त्यमा लामो प्रक्रियाबाट गरिने निर्णयमा सहमति भयो । विडम्बना भन्नुपर्छ मेरो-जाँच्दा एबोर्सन गर्न नहुने देखियो । एबोर्सन गरिए आमा र बच्चा दुबै बाँच्दैनन् अर्थात् मेरो बाँच्ने सम्भावना कम देखियो । तैपनि गरौं भन्ने मेरो निर्णयमा केही लागेन । मलाई त्यसै फर्काइयो । उहाँ मेरो व्यवहारबाट रिसाउनुभयो । अन्तत: मैले बच्चा
पेटमा हुर्काएँ ।
आज जन्मिएको बच्चा हेरें । काटीकुटी सासूजस्तै देखिन्छे छोरी । उसको अबोध अनुहार हेरेर म हिजोको कुरा सम्झिएर रुन्छु । मेरी प्यारी छोरी यो धर्तीमा आई । जसको नाम राखें, दीक्षा ।
आज दीक्षा ठूली भैसकी । स्टाफ नर्स छे । आफ्नै खुट्टामा उभिएकी छे । उसैले यो घर चलाएकी छे । हजुरआमाको हेरचाह उसैले गर्छे । निक्कै ख्याल राख्छे । भनौं भने बुबाआमा, उसका हजुरबा र हजुरआमालाई उसैले पालेकी छे । उसकी दिदी अहिले अमेरिका गएको आठ वर्ष भैसक्यो । दीक्षाले अहिले यो घरपरिवारलाई सम्हालेर राखेकी छे । मलाई भित्रैदेखि गर्व छ ।
(स्रोत : नारी मासिक पत्रिका, अंक: २०७१ मंसिर)