धनीलाल आधुनिक जमानाका मानिस भएर पनि छ सन्तानका बाबु थिए । तीनवटा छोरी, तीनवटा छोरा । यसमा उनलाई कत्ति पनि पछुतो थिएन । आफ्नो गच्छेअनुसारको पढाइलेखाइ गरिदिए । विद्यमान सामाजिक परम्पराअनुसार तिनको विवाह कर्म गरिदिने सोच उनमा जागृत भयो । सबै छोराछोरी विवाहका लागि योग्य भइसकेका थिए । उमेर क्रमसँग विवाह गर्दा पहिला छोरीहरुको सकेर पछि छोराहरुको बिहे गरिदिनु पर्ने थियो । त्यसैअनुसारको सोच उनले बनाए ।
छोरीहरुका लागि धनीलालले चाहेअनुसारका वर भेट्टाए । कुरा छिनियो । सकेसम्म कम खर्चमा विवाह सक्ने सोच उनले बनाए । अनि त्यसको भूमिका निर्माण गर्न थाले । ऐन–कानुनका कुरा कोट्ट्याए । जनवादी विवाहका कुरा निकालेर त्यसको प्रशंसा गर्न थाले । समाजमा अरुले गरेका भड्किलो व्यवहार र खर्चको निन्दा गर्न थाले । सबै मिलेर यस्ता व्यवहारको प्रतिकार गर्नुपर्छ भन्दै ठाउँठाउँमा आफ्नै अगुवाइमा प्रवचन दिन पनि उनले भ्याए । सबैले उनका कुरामा ‘हो–हो’ को स्वर मिलाए । यसरी अनेक नाटक गरेर उनले साँच्चै नै थोरैभन्दा थोरै खर्चमा छोरीहरुको विवाह सके । साँच्चै भन्दा वरका हातमा वधूको हात मात्र थमाएर उनले बिहे सम्पत्र गरे ।
छोरीका बिहेमा उनले छाँटेका आदर्शले वल्लोपल्लो सबै गाउँ प्रभावित थियो । यस्ता सज्जनसँग कुटुम्ब जोड्न पर्छ भत्रेको कमी रहेन । केही वर्षपछि नै जेठो छोराका लागि बिहेको प्रस्ताव आयो ।
केटी राम्रो पढेलेखेकी र निकै सज्जन पनि थिइन् । कुटुम्ब पनि साह्रै असल थिए ।
‘उमेर पुगिसकेको छोरो विवाह त गर्नु पर्छ नि । विवाह नगरेर कहाँ हुन्थ्यो ? ‘तर …’ भनेर उनले अलिक कुरो चपाएजस्तो गरे ।
नल्याउनु कुरो ल्याइसकेपछि कुरो त छिनोफानो गर्नै प¥यो नि भनेर केटीपक्षले कुरो कोट्ट्याए,—‘हजूरलाई हामी राम्रोसँग चिन्छौँ । छोरीका विवाहमा हजूरले अँगाल्नु भएको आदर्श चारैतिर प्रशंसित छ । समाजलाई परिवर्तन गर्ने हजुरको महानतम विचार र आदर्शप्रति हाम्रो पनि सह्राहना छ । हजूरको छोरो पनि पढेलेखेको र उमेरले विवाहयोग्य हुनुहुन्छ । हाम्री नानी पनि पढाइलेखाइमा अब्बल छिन् । उमेर पनि मिल्दोजुल्दो छ । त्यसैले राम्रो सोचेर प्रस्ताव ल्याएका हौँ । हजूरको के कस्तो विचार छ ?’
धनीलाल गमक्क गम्किए । तर पनि मुख खोल्न भने बाँकी राखेनन्,—‘बिहे त गर्ने हो, तर छोराको बिहे छोरीको जस्तो हुँदो रहेनछ । सबै कुरो समयले गर्दोरहेछ । मैले मात्र भनेर हुत्र । पढेलेखेको छोरो । उसको मनसाय बुझ्दा गुजाराका लागि एकडेढ रोपनीमा बनेको एउटा आधुनिक बङ्गला र यसो कहीँकतै सामान्य घुमफिरका लागि सानुसानु पजेरोसम्म त जुटाउनु पर्छ कि भत्रे लागेको छ । यति गरिसकेपछि त्यसको इज्जत धात्र भनूँ वा समाजलाई देखाउनका लागि भए पनि केही थप व्यवहार पनि गर्नै पर्ने हुन्छ । आखिर ती सबै मेरा लागि पनि होइनन् । अरु बढी के भनूँ । विचार तपाईंहरुको ।’
केटी पक्षकाले कुरो बुझे । समाजको चरित्र पहिल्याए । अनि, छोरीको अनुहार सम्झँदै निरुत्तर त्यहाँबाट बाहिरिए । त्यसपछिको घटनाक्रम के के भयो सोध्ने मान्छे अझै फेला परेको छैन ।
(स्रोत : Paniphoto.com)