‘यहाँ दिनभर करायो, तर सामान त के बोली पनि बिक्दैन,‘ आकाशे पुलमा बसेर ‘एक सय नब्बे, एक सय नब्बे…’ भन्दै सामान बेच्ने दिदी बोल्दै थिइन्। सहरको व्यस्तता र व्यवस्था बीच उनको कुरा सुन्ने, बुझ्ने को नै पो हुन्थ्यो र? उनीसँगै लुगा बेच्न बसेकी अर्की दिदी उनको कुरा सुन्दै सहमति जनाउँदै थिइन्।
आकाशे पुलका दुई ‘साहुनी’ कुरा गर्दागर्दै एक हुल भिड आकाशे पुलमा चढ्छन्, ब्रान्डेड परफ्युयमको बास्ना बोकेर। भिडको बाक्लो रुप सँगै चर्किन्छ फुटपाथे साहुनीहरुको स्वर। अगाडिसम्म एक अर्काको दुखेसो सुन्ने संगिनीहरु मान्छेको भिड बाक्लिनासाथ एक अर्काको प्रतिस्पर्धी बन्छन्। कोभन्दा को कम भन्दै कराउँछन् पुनः ‘एक सय नब्बे, एक सय नब्बे…’। तर चिच्याउनु फगत एउटा असफल प्रयास बन्छ। किनकि उनीहरुको बोली जति चर्को, मिठो अनि वजनदार भए पनि सहरको भिडले उनको सामानमा हो या उनी व्यापार गर्न बसेको ठाँउमा क्वालिटी पाउँदैन।
कोही आँउछन्, आँखाको कालो चस्मा निधारमा सार्छन् अनि यसो उचाली हेर्छन् पसले दिदीले बेच्न राखेको सामान। साहुनी सक्दो प्रयास गर्न थाल्छिन् सामान राम्रो भनेर बुझाउन। तर उनले बुझाउन नपाँउदै ग्राहकको नाक खुम्चिन्छ, निधारको चस्माले आँखा छोप्छ। अनि त, सामान जति राम्रो भए पनि कालो चस्माको फ्रेमले त्यसलाई सेतो देख्दैन।
सायद पुलमा बसेर अनावश्यक भिड बढाउने म अनि अन्य केहीलाई देखेर रिस उठ्यो होला साहुनीलाई। पुलुक्क आँखा तरिन्। मलाइ डेग चल्न मन लागेन। अझै हेर्नु थियो आकाशे पुलको ब्यापार। सामान किनेको, अनि फिक्सड प्राइसमा बार्गेनिङ गरेको। भोक मार्न त होला नि अलिकति आशा उमारेर व्यापार गर्न थालेक। जीवनस्तर त्यो आकाशे पुलमा झैँ अलिकति उचालिएको हुँदो हो त कसैलाई रहर हुन्थ्यो होला र धुलो, धुँवा, भिड, गन्ध, हेपाइ, बोलाइ सहेर बाटोमा सपना र सामान पैसासँग साट्ने ?
लाग्यो, किन चाहियो यी साहुनीहरुको १९० वाला माल, यो काठमाडौँलाई त ठूलाठूला कम्प्लेक्स अनि सपिङ मलको ब्राण्ड भए पुग्छ। आखिर साहुनी दिदी किन कराउँदै थिइन् सामान त्यति सस्तोमा बेच्न? जबकि उनले कराउँदा कराउँदा दुखेको घाँटी अनि लागेको प्यास मेट्न किन्नुपर्ने, पानीमा एक रुपैँया पनि छुट पाउँदिनन्। महँगी बीच पनि किन सस्तो छ ती दिदीहरुको सामान। सायद हरेक कुराको मोल यो सहरको फुटपाथ अनि आकाशे पुलमा पाइने सामानसरह सस्तो हुँदो हो त ती दिदीले कुनै कम्प्लेक्स या पुल बाटोको सटर भाडामा लिएर व्यापार गर्थिन् होला। उनी पनि आफ्नो ग्राहकहरुमा क्वालिटी खोज्थिन् होला। पसले साहुनीको बोली सस्तो बन्ने थिएन। दिदीसँग बसेको पुन्टे छोरो कुनै मोन्टेस्वरीमा सँधै रुमालदेखि जुत्तासम्म फेरी फेरी लाएर जान्थ्यो होला।
अँ यदि दिदीको थाप्लोमा सान्दार पसलकी साहुनी भन्ने ट्याग लाग्न पाएको भए उनी एक सय नब्बे भन्दै कराउनुको सट्टा हरेक सामानमा कति नाफा राख्ने भन्दै सोच्थिन् होला ।
पुलमा उभिएर सबै दृश्य हेरिरहँदा मैले सोच्न अनि बुझ्न सकिनँ मान्छेको छनोट। किन कसैले केही किनिरहेको छैन। दिदीहरुको हरेक पटक ग्राहक आकर्षित गर्ने प्रयास असफल भएको देख्दा नरमाइलो लाग्दै थियो। अचानक नगर प्रहरी ग्रीन सिग्नल पटक्कै नदिने हरियो लुगा लगाएर डण्डा घुमाउँदै उक्लिए। साहुनी दिदीहरु हस्याङ र फस्याङ गर्दै सामान पोको पार्न थाले।
सोचेँ ती सामान सँगै हजारौँ सपना पोको परे, आशा पोको परे, सम्भवतः भोक अनि प्यास पोको पर्यो।
(स्रोत : Pahilopost)