~राजेन्द्रप्रसाद अर्याल~
सामान्यतया मैले आफ्नो झोला अघिल्लो दिन बेलुका नै तयारी गरेँ । छोटो भ्रमण भएबाट धेरै सामान त के थियो र नै । आफ्नो लुगा कपडामा भन्दा कागजपत्रहरूको सन्दर्भमा म विशेष सचेत र सतर्क थिएँ । मैले नेपालको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नु थियो । यसो–उसो गर्दा गर्दै रातको ११ बजिसकेको हुँदा म ओच्छ्यानमा पल्टिएँ । शरीर थाकेको थियो तापनि लुटुक्क निद्रा परेन । भोलीको गन्तव्य मेरा मनभरी नाच्न थाले । आजसम्म त बैंकक सहरप्रतिको स्वप्निल संसारमा डुवुल्कि मारिरहेको छु । वmेवल काल्पनिक दुनियाँमा पौडी खेलिरहेको थिएँ म । भोलि यथार्थ रुपमा त्यही बैंकक नगरीमा पुगिने मीठो काल्पनिक अनुभूतिभित्र म हराइरहेको थिएँ । सुनसान रातको एकाग्रतालाई भङ्ग गर्दै टेलिफोन अनायासै करायो– टर्र, टर्र, टर्र । काल्पनिक तन्द्राबाट म व्यूझिएँ ।
सामान्यतया टेलिफोन आदान प्रदानको समयभन्दा ढिलो भैसकेको थियो । त्यसैले कुबेलाको टेलिफोनको घण्टीप्रति अनेक किसिमका संभावित त्रासदिपूर्ण तथा अस्वाभाविक समाचारको आशङ्काले म केही आन्दोलित हुँदै जुरुक्क उठेँ र रिसिभर उठाएँ ।
हेलो !
हेलो ! सर नमस्कार । म बैंककबाट सर्वेश्वरी पण्डीत ।……………।
म खुसी भएँ । आन्दोलित मन साम्य भयो । त्यो फोन त म जुन कार्यक्रममा सहभागि हुन जाँदैछु त्यही कार्यक्रमका अर्का सहभागि साथीको रहेछ । हामी दुई जना नेपालको तर्फबाट सहभागि हुँदै थियौं । वहाँ उक्त कार्यक्रमको लागि एक दिन अगाडि जानु पर्ने भएबाट आजै दिउसो बैंककततर्फ लाग्नु भएको थियो । हो उहाँकै फोन रहेछ । फोन वार्ताबाट भोलिको मेरो हवाई यात्रा समाप्तिपछि सम्बन्धित होटलको पहुच सजिलो हुने भएकोमा ढुक्क भएँ ।
स्पेशल ओलम्पिक्स इण्टरन्यासनलको आयोजनामा थाइल्याण्डको बैंककमा अयोजित एशिया प्रशान्त क्षेत्रका १४ वटा देशहरूको विजनेश मिटिङमा भागलिन नेपालको तर्फबाट मैले प्रतिनिधित्व गर्नु पर्ने कार्यक्रम थियो । म स्पेशल ओलम्पिक्स नेपालको वोर्ड सदस्य थिएँ । सर्वेश्वरी पण्डित जो कर्मचारी हुनुहुन्थ्यो । म र वहाँ त्यस सम्मेलनको लागि छानिएकोमा कारणवस मभन्दा एक दिन अगावै वहाँ बैकक जानु परेको थियो ।
पण्डितजीले भिसाको चाँजो पाँजो केही दिन अगावै सजिलोसँग मिलाईसक्नु भएको थियो । थाइल्याण्डको लागि भिसा प्राप्ति प्रकृया सजिलो रहेछ । म भिसाको लागि राजदुतावासमा जानु नै परेन । विजनेस मिटिङ आयोजकले हवाइ टिकटको व्यवस्था गरिसकेका रहेछन् । दरवारमार्गस्थित थाइ एयरलाइन्समा गएर आ–आफ्नो टिकट लिएका थियौं हामीले ।
रातभरिको विभिन्न उत्सुकतापूर्ण कल्पनाभित्र कल्पिँदा कल्पिँदै कुन बेला निदाएछु । भोलिपल्ट नियमित समयभन्दा केही ढिलै पो व्यूझिएँ । भदौ महिनाको विहानी, कलिलो रविले आफ्नो साम्राज्य चारैतर्फ फिँजाइ सकेको रहेछ । घर कम्पाउण्ड वरिपरि आँखा नचाएँ । वर्षा समाप्ति र सरद ऋतु आगमनको दोसाँधमा उभिएको प्राकृतिक छटाभित्र फाट्ट फुट्ट सयपत्री, गोदावरी, डालिया फूलहरूले आफ्नो वैस पोख्न उद्यत् देखिन्थे । नित्यकर्म पश्चात खाना खाइवरि विमानस्थलतर्फ लाग्ने तरखरमा लागेँ ।
दिनको ठीक ११ बजे म विमानस्थल पुगेँ । टिकट सुपरिवेक्षणको लामो लाइनमा आफूसहित सुडकेशलाई उभ्याएँ । धिमा गतिमा शरीर अगाडि बढेको छ तर मन भने आफ्नै अतित खोतल्न पुग्छ । विमानस्थलको यो कक्षमा मैले २३÷२४ वर्ष पहिलेदेखि प्रत्येक वर्ष २÷४ जनालाई यसरी नै लाइनमा राखि विदाई गरेको थिएँ । वहाँहरूका सुख र सुविधाका लागि म ध्यानमग्न रहन्थेँ । निर्धारित तौलभन्दा बढी सामान हुन्छ कि भन्ने चिन्ताले म पिरोल्लिएको हुन्थेँ । सामान कुनै छुट्यो कि भनि सोचमग्न रहन्थेँ । टिकट र सामानको परिक्षण पश्चात विछोडको अङ्कमाल पछि हामी छुट्टिन्थ्यौ । वहाँहरू अगाडि बढ्दै इमिग्रेशनतर्फ र म पछाडी फर्कदै ढोका बाहिर निस्कन्थेँ । आपसमा फर्केर हेर्ने क्रममा शरीर देखिउञ्जेल हामी बेलाबेलामा हात हल्लाई–हल्लाई विछोडको हृदयविदारक उराठीला अवस्थालाई झन् उत्कर्षमा पु-याउथ्यौं । जव हामी एक आपसबाट विलाउथ्यौं तव मात्र आ–आफ्नो बाटो लाग्ने क्रममा म विदाइको मलिनो अनुहार लिएर घरतर्फ फर्केको हुन्थेँ । तर आजको अवस्था भिन्न छ । भिन्नताको मात्र ठीक उल्टो छ । आज म स्वयं विदा भएर इमिग्रेशन हलततर्फ आफै लाग्दैछु । मेरी श्रीमतीले त्यसैगरी मलाई विछोडको हात हल्लाई–हल्लाई विदाइ गरिन् । मेरो अतितको कर्म उनले निभाईन् यसपटक ।
अँ, प्रसङ्गलाई आफ्नै लिकमा लैजाउँ । माथि इमिग्रेशनमा मेरो हाते झोला परीक्षण गर्ने क्रममा सेभिङ सामाग्रीको सानो वट्टामा रहेको एक प्याकेट ‘पत्ति’ लैजाने अनुमति मिलेन । त्यतिको लागि बेग्लै प्याकेट बनाएर ट्याग लगाउने कुरा पनि एकातिर आएन भने अर्कोतिर पहिले नै बुझाएको लगेजमा राख्न जाने अनुकूल नमिल्नु स्वभाविकै थियो । त्यसको मूल्यभन्दा भोलि विहानको आफ्नो अनिवार्य आवश्यकता र सोको अनुपस्थितिमा झेल्नु पर्ने नमिठो अवस्थाको कल्पनाले मलाई पिरोल्यो । देश विदेश विचरण गर्न उत्सुक मनको निर्मल आकाशमा ‘पत्ति’ वियोगको घटनाले धमिलो वादल छाइरह्यो । खुसीमा रमाउन उद्यत मनलाई केही हदसम्म खुम्च्यायो । त्यसको महत्व र आवश्यकताको सुनुवाई हुन सक्ने अवस्था पनि थिएन त्यहाँ । त्यो पत्तिको प्याकेटलाई त्यही छाडी म अगाडि बढेँ ।
२०६० सालको भाद्र २३ गते । काठमाडौंको मौसम ज्यादै सफा छ । निलो आकाशको छादनभित्र उपत्यका मुस्कुराइरहेको छ । भदौरे घाम, त्यसमाथि मध्य दिन । गर्मिको नापो तव हुन गयो जव हामी टर्मिनल भवनबाट हवाइजहाजसम्मको दुरी हिडेर पुग्छौ । टर्मिनल भवन र जाहाज रोकिएको दुरी न त वस चढ्नु नै पर्ने न त हिडेर जान सुविधा हुने किसिमको थियो । वस चढ्ने, गुड्ने, ओर्लने समयभन्दा पहिले नै हिडेर छिटो पुगिने दुरि थियो त्यो । प्रचण्ड गर्मिले सबैलाई आलस तालस पारेको देखिन्थ्यो ।
मनभरी कौतुहलताले छाएको छ । रोमाञ्चित पनि भएको छु । आँखाभरी विमानस्थल, जेट र विभिन्न रुप, रङका मानिसहरूको चहलपहल देखिन्छ । मेरो एउटा पैतला जहाजको भ-याङको खुड्किलामा र अर्को जमिनमा छ । मनको कुनामा झिनो त्रास पलायो । ‘न टेक्ने डालो न समाउँने हाँगो’ । शुन्य आकाशमा तैरनु छ । अनिष्टका घटनाहरू श्रृङ्खलाबद्ध भई तरेली लाग्न थाले– भट्टेडाँडाको दुर्घटना, अपहरण र कान्दहार आदि आदि । मनमनै भगवान सम्झन्छु । भगवानका आकृतिहरू सलवलाउन थाल्छन् । लौ पशुपतिनाथ मलाई मेरो गन्तव्यसम्म सकुशल पु-याउ र जन्मभूमि अनि आफ्नो परिवारका सामुन्ने सहिसलामद उतारी देउ ।
भगवान छन्, छैनन् उनै जानुन् । पशुपतिनाथ कुन चाही पशुको पति हुन् ? उनी कुनै अरण्यमा चरिरहेछन् कि मन्दिरमा नै विराजमान छन् म अनभिज्ञ नै छु । उनीप्रतिको याचना र प्रार्थना हिन्दु संस्कृति र संस्कारको उपजको रुपमा लिएको छु मैले । आखिर म पनि त यही संस्कारभित्रको एउटा पात्र नै हुँ । त्यसैले यात्रारत अवस्थामा जीवन र जगत, सुख र दुःख अनि जन्म र मृत्यु आदि विषयमा मन र मस्तिष्क अनिष्टको आशङ्कामा मडारिई रहेको बेला भगवानलाई सम्झँदा थोरै भए पनि राहत मिल्छ । यात्रारत अवस्थामा आनन्दि हुन सकिन्छ ।
जहाजको भ-याङ चढ्दै जानेक्रममा रोमाञ्चित अनि आल्हादित मन अनायासै केही खुम्चियो । खुसीमा केही वेचैनी घोलियो । मलाई नजानिदो गरी कता हो कता कोक्यायो । हल्का भारीले किचेको अनुभूति भयो । एकातिर प्रख्यात पर्यटकिय नगरी बैंककजस्तो विकसित भू–भागको भ्रमणमा मन खुसिले पखेटा हालेर उड्न उद्यत छ । उत्सुकताले मनलाई खर्लप्प निलेको छ । अर्कोतिर जन्मभूमिसँगको विछोडले पारेको भावनात्मक अशान्तिले पिरोलेको छ । स्वदेश छाडेर विदेश जाँदैछु भन्ने सोचभित्रको ‘विदेश’ शब्दले ओकल्ने मानसिक असुरक्षा र पराइत्वको पातलो त्रासले मनको कुनै कुनामा मसिनो टलपटी सृजना गरिरहेको छ मलाई ।
नमस्ते !
मेरो तन्द्रा तार चुडेसरी च्वाट्टै चुडिन्छ, भङ्ग हुन्छ । भ-याङको खुटकिला समाप्त भई म त जहाजको ढोकाबाट भित्र पसिसकेछु । स्वर्गकी परिजस्ति थाइ परिचारिकाले सुरिलो तथा कर्णप्रिय आवाजमा घुलिएको ‘नमस्ते’ शब्दबाट मलाई स्वागत गरेकि रहेछन् । हत्तपत्त म सम्हालिएँ र टाउको झुकाएर त्यसको स्विकारोक्ति जनाएँ ।
जहाजभित्र छिर्नेवित्तिकै मेरा नयनहरू चारैतर्फ खेल्न थाले । कक्पिटदेखि लिएर जहाजको पछाडीसम्म विद्युतसरी दृष्टि पुग्यो । घरेलु उडानको साना जाहाजमा मात्र अभ्यस्त नयनहरूका त्यो स्पर्सले मनलाई केही अचम्मित बनायो । कतिधेरै सिटहरू ? झ्यालका दुवै साइड लगाएत विचको भागमा समेत । त्यस जहाजको भौतिक स्वरुप र साज–सज्जापूर्ण अवस्थालाई मैले खुवै नियालेँ – मानिसको वुद्धि र खुवि अनि श्रम र विश्वासप्रति नतमस्तक भएँ म ।
गोरोवर्ण, होचोकद, मिलेका अनुहार, हसमुख भावभङ्गी, आकर्षक तर समान पहिरनमा सजिएका परिजस्ता लाग्ने ७÷८ जना परिचारिकाहरूले स्वाभाविक मादकता सहित यात्रुहरूलाई आ–आफ्नो सिट र त्यसमाथि सामान राख्ने सम्बन्धी निर्देशन गरिरहेका थिए । पहिले नै टिकट तथा लगेज परिक्षण गर्ने क्रममा मैले झ्यालमा सिट मिलाई दिन अनुरोध गरेको थिएँ । ती भलाद्मीले मेरो अनुरोधलाई लत्याएनछन् । एउटी हिसि परेकी परिचालिकाले झ्यालतर्फ कै सिट देखाईदिईन् मलाई । प्रशन्नताले उत्ताउलिएका मेरा गोडाहरू त्यतैतर्फ लम्किए । ढसमस्स बसेँ झ्यालतर्फको सिटमा ।
समय आफ्नै रफ्तारमा बगिरहेको थियो । जहाजभित्रको अवस्था र सुरसार देख्दा अब धेरैवेर त्यहाँ बस्नु नपर्ने शङ्केतको आभास भैरहेथ्यो । कोरिडरमाथितिर टेलिभिजनको पर्दामा अङ्ग्रेजी र थाई भाषामा सिटवेल्ट बाँध्ने लगाएत शङ्कटकालामा लाइफ ज्याकेट प्रयोग गर्ने विधि समेत विभिन्न खाले निर्देशनहरु प्रशारण भइरहेका देखिन्थ्यो । यसै बेलामा एउटी वैंशले छपक्कै ढाकिएकी हिसिपरेकी वmेटी हस्याङ् र फस्याङ् गर्दै हामीतर्फ लम्किँदै आईन् । लाग्दथ्यो समयले उनलाई नपर्खिएको वदलामा त्यसलाई भेट्टाउने प्रयत्नमा हतारिएकि देखिन्थिन् । समय गुज्रिइनसकेको अवस्थाले तिनलाई ठूलो राहत मिलेको देखिन्थ्यो । उनको टिकट हेरेपछि परिचारिकाले मसँगैको खाली सिटमा बस्ने सङ्केत गरिन् । श्वासप्रश्वास लिने क्रममा धकाईरहेको उनको आकर्षक शरिरलाई त्यही सिटमा घ्याच्च राखेर सुस्ताइन् । लाग्दथ्यो गुम्न लागिसकेको अवसरलाई आफ्नै अधिनमा राख्न तिनी सक्षम भइन् । त्यसैले प्रफूल्ल देखिन्थिन् ।
दिनको ठीक १ः४० बज्यो । जहाज धावनमार्गमा आफ्नो बुताले भ्याएसम्म दौडन थाल्यो । त्यसको अन्तिम परिणति धरतिसँग विछोड भै झण्डै तीन घण्टा आकाशमा विचरण गर्नु थियो । एक्कासी सिटको अडेस लाग्ने भागतिर नै हाम्रो शरीर खाँदियो, कोच्चियो । जहाजले धरति छाडेछ । उकालो उक्लिने क्रम जारि छ । जहाजको उडाइसँगै हाम्रा शरीरमात्र उँडेन, हाम्रा खुसी, उमङ्ग अनी उत्सुकता र सवै रहरहरू हररर उँडे ।
मेरा चन्चल र तिर्खालु नयनहरू झ्याल बाहिर पुगे । काठमाडौं उपत्यकाको अव्यवस्थित सौन्दर्य तनतनी पिउन व्यस्त थिए ती । काठमाडौं उपत्यकालाई कङ्क्रिटको जङ्गलले ढपक्कै ढाकेको देखिन्थो । यसै क्रममा म सोचमग्न हुन पुगेछु– मेरो देशलाई प्रकृतिले त अन्याय गरेको थिएन । भूगोलमा त हामी ठगिएका छैनौँ । हामी नेपालीमा जाँगर नभएको पनि होइन तर हाम्रो व्यवस्थापकीय पक्ष ज्यादै कमजोर महसुस गरेँं मैले । लगानी छ, श्रमको प्रयोग हुने नै भयो । मिहेनत र जाँगर त व्यवस्थित तथा अव्यवस्थित दुवैमा खर्च भै हाल्छ तर, तर योजनाबद्ध र समूचित व्यवस्थापन बेगरको निर्माण–निर्माण सामाग्रीको एउटा थुप्रो वा ढिस्को मात्र हुनजानु स्वभाविकै थियो ।
हो, मैले जहाजको झ्यालबाट उपत्यकाको अव्यवस्थित बसोबासलाई ‘निर्माण सामाग्रीको ढिस्को’ को रूपमा अनुभूत गरेँ । प्राकृतिक अनिष्टको काल्पनिक आशङ्का ममा मडारिन थाल्यो । भूकम्पजस्तो दैविप्रकोपमा उपत्यकाले व्यहोर्न पर्ने भयावह अवस्थाको आशङ्काले म स्तब्ध मात्र भइन दिक्दारी र बेचैनीको बोझले पुरिएँ । यसैमेसोमा राज्यको ढुकुटी रित्याएर विकशित देशहरूका अवलोकन भ्रमणमा जाने राजनितिज्ञ, निती निर्माता र प्रशासकहरूजस्ता विभिन्न क्षेत्रका कुपात्रहरू सम्झे । तिनीहरूले के देखेर आए र के बनाए ? विरुप काठमाडौं बनाउँने तालिम नै लिएर आएका थिए त ? सेमिनार, गोष्ठि र बैठकहरूका उद्देश्य अब्यबस्थित सृजना निर्माणमा नै केन्द्रित थियो त ? कि डलर हसुर्नमा मात्र परिलक्षित थियो ? यी र यस्तै तर्क वितर्कहरु मनले गर्दै रह्यो । गरुङ्गो मन हुँदा हुँदै पनि केही पोज फोटाहरू क्यामराभित्र जतनसाथ राखे मैले भविष्यको सम्झनाको लागि । जहाज क्रमशः आकाशिँदो थियो । धरति र जहाजको फासला बढ्दै थियो । मेरो नयनबाट उपत्यका ओझेलमा पर्दै गयो र अन्य भूभागका रमणिय, हरिया पाखा–पर्वत आमने–सामने हुन थाले । यस्तो क्रम चलिरह्यो । अन्ततोगत्वा जहाजले आफ्नो उचाई पु-यायो । कुहिरो र वादल माथि अनन्त आकाशमा विचरण गर्न थाल्यो ।
यता जहाजभित्रको अवस्था शान्त थियो । यात्रुहरू कौतुहलित अवस्थामा मौन थिए । झ्यालमा बस्नेहरूमात्र होइन बिच भागमा बस्नेहरूले पनि आफू नजिकैको झ्यालतर्फ मून्टो तन्काउँदै उत्सुकतापूर्वक जे जति सकिन्थ्यो आँखाको प्यास मेटाउन तल्लिन थिए । जहाज आफ्नो उचाइको रुटमा नपुगुञ्जेल सम्पूर्ण परिचारिकाहरू छरिएर रहेका आ–आफ्ना सिटको बेल्टमा कस्सिएर मूर्तिवत वसेका देखिन्थे । मीठो आवाजमा ‘ट्याङ्ग’ को आवाज सुनियो ।
मूर्तिवत सिटमा टाँसिएका परिचारिकाहरूले विद्युतिय झट्काको महसुस गरेजस्तो देखियो । एकैचोटि आ–आफ्ना बेल्ट फुकाले– ट्याक–टुक, कट्याक–कुटुक । लाग्दथ्यो उनीहरू सोही निर्देशित आवाजको प्रतिक्षामा थिए । ज-याक्–जुरुक् उठेर यात्रुहरूको सेवाका लागि तोकिएका काममा व्यस्त हुन थाले । यो अवस्थाले पनि मलाई अनुमान गर्न सजिलो भयो कि जहाज पर्याप्त उचाईमा पुगेपछि नियमित आफ्नो पथबाट अगाडि लम्किदैछ ।
मसँगैको सिटमा बस्ने महिला चाहीँ केही अगाडिको टेलिभिजन पर्दामा केन्द्रित देखिन्थिन् । लाग्दथ्यो झ्याल बाहिरको दृष्यसँग उनको कुनै साइनो छैन । उनी सिटमा ढसमस्स बस्नु स्वभाविकै थियो तर कतिपय अवस्थामा उनका अङ्गहरूले मलाई हिर्काइ रहेका हुन्थे, घोची रहेका हुन्थे । त्यो अवस्थालाई उनले सहजरुपमा नै लिइकी हुनुपर्छ । त्यसपछि पनि शरीरलाई आफ्नै सिटमा मात्र सम्हाल्ने प्रयत्न गरेको पाइन मैले । त्यस्तो कृयाकलापमा वैंशालु उन्मादभन्दा पनि सरल र निर्दोस चिन्तन बढि देखिन्थ्यो । हरेक कुरालाई सहज रूपमा लिने निश्छल तथा अबोध सोचाईले पनि घर गरेको हुनुपर्छ ।
एकपटक पुनः शिरदेखि पाउसम्म उनलाई नियालेँ मैले । न शहरकी न गाउँकी जस्ति देखिन्थिन् । २०÷२१ वर्ष उमेरकि । कान्तियुक्त मुखमण्डल । शरीरका प्रत्येक अङ्ग प्रत्यङ्गहरूबाट वैँशको सुवासना उडिरहेको अनुभूति हुन्थ्यो । लाग्दथ्यो फक्रनबाकी वैँशका कोपिलाहरु अब बाकी छैनन् । मकालु र कञ्चनजङ्घा जस्ता वक्षस्थलहरूले उनको वैशालु शरीरलाई पूर्णता दिएको थियो । हातगोडा त्यति सुकोमल चाहीँ थिएनन् । भावभङ्गिमा निश्छलता देखिन्थ्यो । शहरिया पूर्णसभ्यताभित्रको बनावटी र कृतिमतामा उनी बाँधिएकिजस्ति थिइनन् । पहिरनको छनौटले झन् लावण्य थपेको थियो ।
दाई ! मलाई झ्यालमा बस्न दिनुस्न ।
झ्यालको उपयोग गरी शहर, बस्ति र धरतिको प्राकृतिक छटा अवलोकन गर्न पाइने मौका छउन्जेल टेलिभिजनमा व्यस्त थिइन् जुन वस्तु जहिले पनि हेर्न सकिन्थ्यो । हाल आएर झ्यालमा बस्नुको अर्थ केही थिएन् । जहाज कुईरोको महासागरमा हराई सकेको थियो तर पनि उनले चाहना गरिहालिन् । मैले नमान्नै पर्ने अवस्था पनि त थिएन । त्यसमाथि हुने, भए र मिलेसम्म सवैको चाहना पुगोस भन्ने मान्छे म ।
परिचारिकाहरूले एउटा गहिरो किस्तिमा हात भरिका कपडाको डल्लाहरू फोरसेफले (चिम्टा) टिप्दै यात्रुहरूको हातहातमा दिदैं आए । त्यो कपडाको डल्लोबाट तातो बाफ आइरहेको देखिन्थ्यो । त्यो वस्तु के हो र कुन प्रयोगको लागि वितरण भै रहेछ भन्ने कौतुहलतालाई अन्य यात्रीहरूले उपयोग गरुञ्जेलको अवधिसम्म पर्खने धैर्यता पनि नराखिकन सरल र अवोध भावभङ्गिमा ती महिलाको प्रश्न मतिर सोझियो ।
दाई ! त्यो के हो ? त्यसको प्रयोग किन र कसरी होला ?
मैले पनि त पहिलो पटकमात्र त्यो व्यहोर्दै छु । जवाफ दिनुपूर्व सहि उत्तर खोजीगर्न मेरा मस्तिष्कले नयनहरूलाई त्यो डल्लो उपयोग गरिरहेका केही माथिका सिटहरूतर्फ खटायो । त्यसको पहिलो उत्तर मेरो दिमागले पत्ता लगाइ हाल्यो । अन्य दुई उत्तर पहिलोको जानकारीबाट स्वतः निकाल्न सकिन्थ्यो ।
“बैनी ! त्यो उमालेर निर्मलिकरण गरिएको सानो रुमाल हो । नास्ता, खाना खानुपूर्व हात धोइ–पखाली गर्न आ–आफ्नो सिटमा असजिलो हुने हुन्छ । सोको साटो त्यो रुमालले हात–मुख पुछेर पसिना, फोहर आदिबाट उब्जने हानिकारक किटाणुबाट बच्नको लागि त्यो प्रयोग गरिन्छ” भनि मैले आफ्नो जवाफ दिएँ उनलाई । हुन त आजकाल त्यो पद्दति हटिइसकेछ । हालैको हाम्रो युरोप भ्रमणबाट अवगत भयो कि निर्मलिकरण गरिएका कागजका ठूला ठूला रुमालहरू सो प्रयोजनार्थ उपयोग हुन थालेछन् ।
ती बैनीसँग यसै मेसोमा मेरो केही जानकारीमूलक प्रश्नहरू तेर्सिए । मीठो स्वरमा आफूलाई सबैले सृष्टि भन्ने गरेको जानकारी दिईन् । हाम्रो हेलमेल क्रमश केही छिप्पिदै गयो । दुई वर्ष पहिले विवाह सम्मन्न गरी श्रीमान् अमेरिका गएका र श्रीमती लैजाने क्रममा कागजपत्र मिलाउँदा मिलाउँदै वल्ल अनुकुल मिलेछ । अहिले उनी विश्वको शक्तिसम्पन्न देश अमेरिकामा बैशको भारी कुर्लुम्म बोकेर श्रीमान्सँगै बस्न जाँदैरहिछन् ।
वास्तवमा मेरो मन उत्सुक छ । खुसि छ । दक्षिणपूर्वि एशियाको मूख्य आर्थिक तथा मौद्रिक केन्द्र, एशियाको मुख्य तथा विश्वको तेस्रो पर्यटकिय नगरि, पर्यटनकै माध्यमबाट आर्थिक उन्नति गर्न सफल थाइल्याण्डको बैकक शहर देख्न पाइने र त्यसबाट मिठो अनुभव र अनुभूतिहरू सँगाल्न सकिने स्वादिलो कल्पनामा म हराइरहेको थिएँ ।
आखिरमा जीवन भन्नु नै अनुभव र अनुभूतिहरूकै एउटा श्रृङ्खला नै त हो । त्यही अनुभव र अनुभूतिहरूको थुप्रोले जीवनलाई पूर्णता दिदो रहेछ । त्यसैले म नयाँ अनुभव बटुल्न लालयित थिएँ । जहाजले लिएको उचाइभन्दा मेरो आनन्दको उचाई धेरै गुणा माथि पुगेको अनुभूति भैरहेछ मलाई परिचारिकाहरूले यात्रुहरूको मनग्य सेवा गर्दैछन् । तिनीहरूका चिटिक्क परेका शरीर फूरफूर गर्दै यताउति हस्याङ फस्याङ गरिरहेका देखिन्छन् । हरपल हँसमुख अनुहार र मधुरस घोलिएको बोलिले प्रभावित नहुने कोही हुँदैन होला । समय–समयमा विभिन्न परिकारहरूबाट सेवा पस्किइरहेछन् । भोकमार्ने गरी केही खाएँ मैले । एक ग्लास फ्रेन्च ह्वाइट वाइनको चुस्किमा म रमाइरहेछु ।
वगलमा बसेकी महिलातर्फको झ्यालबाट मैले आफ्नो दृष्टि बाहिर फालेँ । त्यो दृष्यले मलाई रोमाञ्चित बनायो । बाक्ला बादलका भुवामाथि जहाजको गति रफ्तारमा छ । जहाजभन्दा माथि निलो आकाशले जगतलाई ढाकेको देखिन्छ । कसैले नदेखेका तर सम्पूर्णले अत्यधिक वर्णन गर्ने “स्वर्ग” यतै नजिकै छ कि जस्तो लाग्यो मलाई । हेर्दा हेर्दै वादलका वुट्टाहरू अनेक तस्विर र आकृति बनेर प्रस्तुत हुन्थे । हरेक तस्विरहरू क्षणभरमा अर्कै आकृतिमा परिणत भएको भान हुन्थ्यो । मेरो निरिक्षणको क्रम रोकिएको छैन । बादलका डल्लाहरू, फाल्साहरू एकाएक विलिन हुन्थे । पृथ्वीको हरियो भूभाग गहिरो निलो दहजस्तो देखिन्थ्यो । क्षण–क्षणमा परिवर्तन हुने दृष्यहरूले मलाई केही वेरसम्म अलमल्याईरह्रयो ।
सृष्टि बहिनीले एकातर्फ अनुमती नलिई आफ्ना ग्लासका केही जुस र खानाका केही परिकार ह्वात्त–ह्वात्त मेरो ग्लास र भागमा हालि दिन्थिन् । त्यसको त मैले शिष्टतापूर्वक नामन्जुरी ब्यक्त गरेथेँ । अर्कोतर्फ कहिले मेरो काँधमा निदाएकी हुन्थिन् त कहिले साडीको फेरले मेरा हात, कुम छोपिन जान्थे । शरीरका अन्य भागका र कुरै छाडाँै, उनका मकालु र कन्चनजङ्गाले धेरै पटक घोचेको हेक्का छ मलाई । “कन्चनजङ्गालाई सम्हाल्नुस्न भन्या” भनेर भाषाद्वारा नै प्रत्येक्ष प्रतिवाद गर्न पनि असजिलो । तर पनि उनीभन्दा उल्टो दिशातर्फ शरीरलाई लगेर त्यसको जनाउ दिन्थेँ म । सृष्टिको सम्हालिन नजान्ने निश्छल र निर्दोस व्यवहारलाई मैले राम्रोसँग बुझेको थिएँ तर मलाई आँफू नजिकका यात्रुहरूदेखि हल्का असजिलो अनुभव भैरहेको थियो ।
जहाजको टि.भि. स्क्रिनबाट हाम्रो पहुच, उचाई, गन्तव्यस्थलको मौसम, अब लाग्ने समय र दुरी आदिको विषयमा बारम्बार जानकारी प्रवाहित थियो । यात्राले साढे दुई घण्टा व्यतित गरीसकेछ । अब आधा घण्टामा थाइल्याण्डको डनमूयङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकिने जानकारी मिल्यो हामीलाई ।
जहाजको कोरिडर खालि कहिल्यै भएन । बाथरुम जाने आउनेको दोरिलत्तो चलिरहेको छ । मलाई पनि त्यतातर्फ जाने मनसुवा भयो । छोटो शौचपछि मैले फ्लस गरें । त्यसको स्वाँ अँ अँ आवाज यति चर्को रहेछ कि मलाई तर्सायो पनि । पानी मात्र नभई हावा मिश्रीत फ्लस हुनुपर्छ त्यो ।
शहरका घरहरू, बस्तिहरू, खोला, नदी, पुल–पुलेसाहरू स्पष्ट देखिन थाले । जहाजले क्रमशः आफ्नो उचाइलाई घटाउँदै ल्याएछ । यसो घडि हेरेको केही समय अगावै घोषित ‘आधा घण्टा’ समाप्त हुन पाँच मिनेट मात्र बाँकी रहेछ । साथै जहाज कर्मचारीहरूबाट पनि सूचनाहरू प्रशारण हुन थाल्यो । केही स्थानहरूमा झल्याक झुलुक वत्तिहरू बलेका पनि देखिन्थे । निशाले आफ्नो उपस्थिति जनाउन थालेको आभास मिल्दथ्यो । थाइ समय अनुसार ६ः१० बजे हाम्रो जहाज अवतरण भयो ।
हामीले आ–आफ्ना झोलाहरू बोकेर निस्कियौ । परिचारिकाको यन्त्रवत नमस्कार र मिठो मुस्कानपछि जहाजबाट विदा भयौं । मसंगैकि महिला बैनी ट्रान्जिटको प्रतिक्षालयमा चार घण्टा कसरी बिताउने होला भनि आफ्नो समस्या मलाई सुनाइ रहेकिथिइन् । अमेरिका भ्रमणको अनुकुलतामा भेट्ने अवसरको याचना गर्दै थिईन् तर ठेगाना दिन सक्दिनथिन् । मैले पनि अनुकूल परेर अमेरिका गईएछ भने भेट गर्ने फोस्रो औपचारिकता निभाएँ । उनी ट्रान्जिटतर्फ लागिन्, म विमानस्थल बाहिर निस्कनको लागि भन्सारतर्फ । गरुङ्गो हाते झोला बोक्ने समस्या हुँदाहुँदै पनि उनले मलाई हात हल्लाई–हल्लाई पटक–पटक अभिवादन गरिरहिन् । एक दुई पटक त झोला भुइमा बिसाएरै पनि दुबै हात धेरैबेर हल्लाई बिदा गरिन् । मैले पनि पैचो तिरेँ । सद्भाव र मायाँ पोख्ने उनको छलकपटरहित निश्छल व्यवहार अनि सरल र निर्दोश चिन्तन सम्झँदा अनौठो पनि लाग्यो । शब्दको मीठो माला गाँस्न नजाने पनि मप्रति उनी धन्य थिईन् भन्ने कुरा म बुझ्दथेँ । यी र यस्तै कुराहरु खेलाउँदै म अगाडि बढेँ ।
विमानस्थलबाट आफ्नो सामान लिई बाहिर निस्किएँ । बाहिर त्यति सारो भिडभाड थिएन । एकजना नवजवान तन्नेरिले मेरो नेमप्लेट उचालेर उभिइरहेको देखेँ मैले । हिजो पण्डितजीले फोन गरि सूचना दिएता पनि विमानस्थलमा लिन आउने मानिस भेट् नभएमा के गर्ने होला भन्ने मसिनो आशङ्काले हुँड्लिईरहेको मेरो मन शान्त भयो । उनीसँग मैले परिचय गरँे । प्रतिक्षारत व्यक्ति उपलब्ध भएकोमा प्रफूल्ल देखिन्थे । आकर्षक गाडीमा मलाई बसाए उनले र साङ्ग्रिला नाम गरेको फाइभ स्टार डिलक्स होटलतर्फ द्रुतगतिमा दौडाए । प्रसिद्ध “चावफरया रिभर” को किनारमा अवस्थित उक्त होटलमा पुग्न विमानस्थलबाट झण्डै २५÷३० मिनेट लाग्दो रहेछ ।
अघिल्लो दिनमा नै बैंकक पुग्नु भएका मेरा टोलि सदस्य सर्वेश्वरी पण्डित मलाई रिसिभ गर्न होटलको गेटमा नै हुनुहुदोरहेछ । म गाडीबाट ओर्लिएँ । हामी अगाडि बढ्यौं । गेटमा पुग्ने बित्तिकै ढोकाको स्वचालित खापा स्वतः खुले । झण्डै बेलुकाको सात बजिसकेको हुनुपर्छ । पण्डितजीले मलाई एउटा ठूलो चारपाटे कोठामा लैजानु भयो जहाँ चौध देशका सहभागिहरू लगायत आयोजकहरू खाइ–पिइमा व्यस्त थिए । ती सबैसँग परिचय गर्दै म पनि त्यही समूहमा समाहित भएँ ।
(लेखक परिचय–
जन्म मितिः– वि.सं.२०१३ मार्ग २१ गते ।
जन्म स्थानः– गोरखा नगरपालिका, गोरखा बजार ।
लेखनको मूल विधाः–यात्रा निबन्ध ।
कृतिः– (१) “फ्रान्सको भ्रमण मेरो संस्मरण” (२०६३) नियात्रा सङ्ग्रह (२) “पुस्तान्तर” — संयूक्त कथा सङ्ग्रह (२०६६) ।
संपादनः— “ज्ञानविन्दु”— २०६६ र २०६७ अंङ्क ।
समसामयिक फुटकर लेख रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित ।
प्रकाशक ः– “मृगतृष्णा” कथा सङ्ग्रह – २०६० ।
संस्थापकः— दण्डपाणि अज्र्याल स्मृतिकेन्द्र, काठमाडौँ ।
शैक्षिक योग्यताः– स्नातकोत्तर (त्रि.वि.) ।
भ्रमणः– भारत, कतार, थाइल्यान्ड, बेलायत, जर्मनी, फ्रान्स र संयूक्त राज्य अमेरिका ।
सम्पर्क ठेगानाः– अमेरिका, फोन नं. ६०८ — ५७२ — ९८९६, Email: aryalrajendra3@gmail.com ।
पदक/पुरस्कार– त्रि.वि दीर्घ सेवा पदक २०६१, राष्ट्रिय शिक्षा दिवस पुरस्कार (२०६२.) ।
(स्रोत : Nepallooks)