निबन्ध : टुक्रा टुक्रा काठमाण्डु –  घण्टाघर देखि धरहरासम्म  

~सुमन लम्साल~Suman Lamsal

नाम ? सर्वनाम ? विशेषण ? क्रियापद ? आदि इत्यादिको एउटै नाम हो काठमाण्डु । यसलाई कसैले राम्रो भन्दैनन् तर यसलाई छाड्न पनि कोहि चाहदैनन् । दिनभरि आमासँग झगडा गरेर बेलुका निदाउन आमाकै काख खोज्ने बालक जस्तै लाग्छन मलाई काठमाण्डु सराप्ने मान्छेहरू । यही काठमाण्डुको मुटुमा गाडिएका छन् दुई वटा खम्बाहरू । खम्बा एक – घण्टाघर, खम्बा दुई – धरहरा । खम्बा एक अलिक सानो छ तर मोटो छ । खम्बा दुई अलिक अग्लो छ तर पातलो छ । खम्बा एक अरुको लागि काम गर्छ । घामलाई मुठीमा निचोरेर समयको अमृत निकाल्छ र दुनियाँलाई बाँड्छ । खम्बा दुइ एउटा बाँचेको इतिहाँस हो ।  पहिले  खम्बा दुई देशकै सबैभन्दा ठुलो खम्बा हो अरे तर आजभोलि अपार्टमेन्टहरूमा चढेर हेर्यो भने खम्बा दुई हाम्रो घरको जाँतो को मानी जत्रो मात्र देखिन्छ । यसपालिको काठमाण्डु यात्रामा खम्बा एक देखि खम्बा दुइसम्म निकै बेर लगाएर यात्रा गरें । आज बल्ल थाहा भो बर्षौ देखि समयले मलाई नै बिछ्याएर त्यहि माथिबाट हिड्न सिकाएको रहेछ ।

यात्रा आरम्भ :

खम्बा एक बिहानै उठ्यो र उठायो – बास्न सिक्दै गरेको भालेलाई, देश खाँदा खाँदा बढी भएर पखाला लागेका एक हुल बिरामीलाई, हाम्रो सरकारको भाषामा सर्वसाधारण जनतालाई र उठायो भर्खरै मात्र भोको पेटमा गम खाएर आफ्नै पैतालामा निदाएको बच्चालाई पनि । मैले सुनेको खम्बा एक निदाउदैन केवल ब्यूँझिन्छ र  ब्युझाउछ मात्र । यहाँबाट मेरा पाइलाहरू अगाडि लागे ।

आम्मा मा………..मान्छेलाई कत्रो हतार । आउनुस सर हजारको को समान मात्र सयमा….आउनुस सर…..आउनुस……. । मान्छे आफूले बनाएकाहरू प्रति यति विश्वास गर्न थालेछ कि आफैलाई विश्वास गर्न छाडेछ । हजारको समान सयमा भन्नुपर्ने ठाउमा झुक्किएर समान सयमा मात्र भन्छु कि भन्ने डरले मान्छे घाँटीमा एउटा स्पिकर झुण्डाएर बसेको छ । उनीहरूलाई देखेर होला रत्नपार्कमा खुब हासिरहेको थियो एउटा समयको तस्वीर ।

उक्त बोल बजार नजिकै दुख प्रदर्शनी मार्ग छ । जहाँ मर्नुको मज्जा बिर्सेर बच्नुको कष्ट खेपेर बसेका छन् केही जोर टाउकाहरू । मैले टाउकाहरू भनेर एकमुस्ठ भन्नुको आशय टाउको चाहि सबैको थियो । कसैको खुट्टा थिएन,कसैको हात थिएन त कसैको टाउको र अलिकति ज्यान बाहेक अरु केही थिएन । यसलाई कसैले अपमान नासंझिदिनु होला । मैले एउटा टाउकाको जीवन खोतल्न खोज्दा टाउको स्पिकर झैँ फररर बोल्न सुरु गर्यो र भन्यो रु पचास । सोचें, आजसम्म कति जना लेखकले बनाए होलान उसको छाती माथि महल ? टाउको चिने झैँ गरी हेर्छ प्रत्यक चेहेरालाई ता कि उनीहरू अघिल्लो जन्ममा उसकै आफन्त हुदा हुन् । उसको जिवनको मुख्य उध्यश्य नै धेरै समय बाँच्नु र धेरै जनालाई हेरेर आफ्नो बनाउनु हो । मान्छे हेर्नु बाहेक उसको अरु कुनै कम नै छैन भन्दा पनि हुन्छ । अरुलाई हेर्नकै लागि पनि कोही यहाँ बचिरहेको छ भनेर मैले कहिल्यै सोचेको थिइन । हामीहरू आफ्नै लागि बाँच्दा पनि ठिक संगले बन्च्दैनौं उनीहरू अरुको लागि पनि बडो इमान्दारीका साथ बाँचिरहेका छन् ।

यहाँसम्म आउदा खम्बा एकले सहरको एक चक्कर लगाइसकेछ ठुलो स्वरले चिच्याएर मन हलुका गरायो । खम्बा एक प्रत्यक घण्टा सहर घुम्छ र एक पटक मन हल्का गर्न ठुलो स्वरमा भक्कानिन्छ ।म फटाफट पाइला सारेर अलि अगाडि पुगें ।

आँखामा कालो चस्मा लगाएका एक हुल मान्छेहरू ठुलै उत्सब हुदै छ कि जस्तो गरी गीत गाइरहेका थिए । गीतको बोल “कान्छीलाई घुमाउने काठमाण्डु सहर”…….। सायद उनीहरूलाई थाहा छैन होला आजकाल काठमाण्डु घुम्न आएका कन्छिहरूसँग काठमाण्डु घुम्छ । उनीहरू संसार देखेका छैनन् र पनि संसारकै वर्णन गरेर गाउनु पर्छ किनकि उनीहरू आफ्नो लागि गाएका होइनन् । आंफ्नो गीत पनि गाएका होइनन । अर्को तर्क, उनीहरूले सहर देखेका छैनन् र मज्जाले सहरलाई गाउन सक्छन यदि देख्थे त घाँटीमै अड्किन्थ्यो । मैले आजभन्दा एक वर्ष अगाडि मात्र मादल र खैजडीमा देखेको त्यो झुण्ड अहिले त माइक स्पिकर र हर्मोनियममा पो भेटियो । सायद उनीहरूलाई पनि मन पर्न छाड्यो जिन्दगीको क्लासिक् धुन । उनीहरूले बुझ्न सिकेछन मान्छेको चाहना । दिनभरि गाउदा पनि थकान उनीहरूसँग शरण लिन आउदैन । आजकाल पानीले उनीहरूको घाँटीमा बसेर प्यास मेट्छ । मृत्यु उनीहरूलाई जीवनको संगीत सिकाउछ ।

संगीत केन्द्रसंगै जोडिएको छ एउटा बृदा आश्रम । यो मान्छे राख्ने बृदा आश्रम होइन । यो त किताब हरुको बृदा आश्रम हो । उमेर पुगिसकेका पुराना पुस्तकहरुलाइ मृत्यु पूर्व अन्तिम पटक यहाँ ल्याएर बिक्रीमा राखिन्छ । यहाँ उनीहरुको मूल्य जन्मदाको भन्दा निकै कम हुन्छ । अक्सर साहित्यकारहरु पसलमा गएर पुस्तक हेर्ने र किन्न चाही यहाँ आउने गर्छन ।

अब त म लगभग खम्बा दुई को नजिक पुगिसकेको रहेछु । घामको बैश चड्न थालेको थियो ।  एक हुल मन्दिरका घण्टहरू भोक बजाउन थालिसकेका थिए । हाम्रो बनेको धर्ममा हो या बनाएको धर्ममा एउटा कुरा मलाई असाध्यै अनौठो लाग्छ । ढुंगालाई भोक लाग्छ, ढुंगालाई संगीत मन पर्छ र ढुंगालाई शृंगार पनि राम्रो लाग्छ । ढुंगा घण्ट बजाएर संगीत सुन्छ, मान्छे उसलाई आफ्नो भोक चडाउछ ।

आर एन ए सी पछाडि मन्दिरमा चडाएको लड़डुलाई एक बालकका आँखाहरू खुब मज्जाले खाइरहेका थिए । सायद उसले सानोमा आमाले सुनाएको देउती आमाको कथा सम्झियो । मनले लागिसकेको हात पनि दिमागले निकालेर आफ्नो बाटो लाग्यो । यो मेरो त्यही देश हो जहाँ छाला को मान्छे भोको हुन्छ ढुंगाको मान्छे अघाउछ । त्यहि देश हो जहाँ भूपीले कविता लेख्छन ।

बाटो छेउ एउटा लामो वीर मृत्युकुन्ज छ । केही थान मृत्यु पत्र भर्खर हावाले उडाएर त्यहाँ भित्र पुर्याएको थियो । थाह छैन पत्रमा नाम क-कसको छ । मृत्यु कुन्जको गेटमा टाँसिएको थियो देशमा राम्रो काम गर्ने हरु पहिला । मेरो मनले खुसुक्क मलाई भनिरहेको थियो पत्र तेरो पनि तयार नै छ । ढिलो चांडो भन्ने तेरो काममा भर पर्छ ।

म लगभग दुई घण्टा लगाएर खम्बा दुई अगाडि आइपुगें । भत्केको बिरासत लिएर खम्बा दुई एक टकसँग सिंहदरबारलाई हेरिराखेको थियो । अपार्टमेन्टको झ्यालबाट मान्छेहरू उसको टाउकोमा पिसाब फेर्छन । ऊ थाहा नपाएको जसरी मौन बस्छ । मान्छेहरु उसको उचाइको प्रशंसा गर्दा उसलाई आत्मग्लानी हुन्छ । ऊ एउटा इतिहास बोकेर वर्षौ देखी उभिएको छ इतिहास जोगाउनु उसको जिम्मेबारी हो । उ सहरको एक अग्लो स्तम्भ हो यसकारण उ सहरको धेरै चिज देख्छ । सायद त्यसैले आजकल निदाइरहन मन पराउछ ।

वास्तबमा काठमाण्डु सहर एउटा कोलाज हो । प्रत्यक मान्छेको जिवनशैलिको टुक्रा टुक्रा मिलेर सहरको पूर्ण सभ्यता बनेको छ । धरहरा र घण्टाघर तिनै मध्यको दुइ टुक्रा हुन् । यो सिंगो सहर खुसीले हाँसिरहेको जस्तो देखिन्छ तर यो भित्रका अधिकांश टुक्राहरू खुशी छैनन् ।  यहाँ मान्छे धरहरा भएर पनि खुसी हुन सक्दैन । धेरै जना घण्टाघर जसरी अरुका लागि बाँचेका छन् । उनीहरू पनि खुशी छैनन् । यहाँ एकजना मान्छे मात्र खुशी छ त्यो आफुलाई रत्नपार्कको मालिक भन्छ,  सबैले भन्छन उसको दिमाग छैन ।

(स्रोत : Ratopati)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.