~हरिप्रसाद भण्डारी~
उसको प्रमुख पेशा चोरी थियो । चोरीको काम दिन, रात, साँझ, बिहान जतिखेर पनि हुन्थ्यो तर पनि उसले रातिको समयलाई नै अनुकुल ठान्थ्यो । अरु समयमा सम्भाव्यता अध्ययन गर्थ्यो । अनुकूल स्थान भेटेपछि राति गएर झ्याप पार्थ्यो । चोरीको काम सामूहिक वा साँमूहिक रुपमा पनि हुन्थ्यो । तर त्यो काम अलि झण्झटिलो हुने, पछि बाँडफाँड गर्दा विवाद हुने हुँदा व्यक्तिगत रुपमै व्यवसाय चलाउन रुची राख्थ्यो ।
राम्रो आम्दानी थियो । सुबिधासम्पन्न तरिकाले बस्थ्यो । हिड्दा डुल्दा पनि चिटिक्क परेर हिड्थ्यो । बाटामा हिड्दा ऊ चोर वा पाकेटमार हो भनेर अनुमान गर्न सकिदैनथ्यो । अरुसँग जागीरे भएको बताउँथ्यो । सहर बजारमा कसले के काम गर्छ कसैलाई केही चासो हुदैनथ्यो ।
एकरात चोरी गरेर बिहानीपख घरमा फर्कियो । थाकेको थियो, बल्लतल्ल ढोका खोलेर भित्र पस्यो । साथमा ल्याएको सामान थन्काएर आराम गर्ने विचार गर्दै थियो, त्यस्तैमा घरभित्रको दृष्य देखेर ऊ चकित भयो । चकित के भन्नु झण्डै मुर्छा परेन । छाँगाबाट खसेजस्तै भयो । कञ्चटमा हात राखेर चिन्ता गर्न थाल्यो । कारण ऊ नभएको मौका पारेर उसको घरको सारा सम्पत्ति चोरी भएको थियो । घर प्राय खाली थियो ।
‘कुन पापीले चोरेछ । त्यसको सत्यनास होस् । भोलिको सूर्य देख्न नपाऒस् । अधर्मी मोरो, कोही नभएको मौका पारेर झ्याप पारेछ । हे दैव ! यसरी अर्काको मन रुवाएर खानु भन्दा त पुक्लुक्क मर्नु नि बरु ……….।’ यसो भन्दै निकै बेर एक्लै रोइकराई गर्यो ।
यसो उसो गर्दा गर्दै उज्यालो भइसकेको थियो । उसले छरछिमेकमा खवर गर्यो । हारगुहार गर्यो । त्यति गर्दा पनि उसको पोलेको मन शान्त भएन । त्यसपछि ऊ प्रहरी चौकीमा गयो र चोरीको रिपोट लेखायो ।
(स्रोत : Paniphoto.com)