पहिलो दृश्य
पशुपतिमाथि एउटा डाँडो छ र यसलाई कैलाश भन्छन् । फराकिलो चौर, उत्तरतिर फर्केपनि जाडो कमै हुने किसिमको, तर
हावा चलिरहने गर्छ यो डाँडामा । मान्छेहरू आउँछन् किनभने पारि मृगस्थली, उता विश्वरूप, पल्लोपट्टि किराँतेश्वर र सूर्यघाटको माथि रमाइलो डाँडो छ यो ।
साँढेहरू स्वच्छन्द घुम्ने; पानी, बदाम र चटपटे बेच्न बसेकाहरूको व्यापारको चहलपहल । रुखका स-साना पोथ्रा-पोथ्रीमुनि र डाँडामा राखिएका फलामका बेन्चीमा बसेर मायाप्रिति गाँस्नेहरूको अलग्गै संसार ।
होलीको दिन थियो । कैलाश डाँडामा पनि तरुनी तन्नेरीहरू रातो अबिरले रङ्गिएका हुलका हुल आइरहेका थिए । बिदाको दिन यहीँको कृष्ण मन्दिरको पेटीमा बसेर म केही लेखपढ गरिरहेको थिएँ । उताबाट ऊ आई । सोधी “के लेख्दै हुनुहुन्छ दाइ, भगवानको कुरा हो कि आफ्नै कुरा ?’’
प्रश्न अप्रत्याशित थियो, तर पनि मैले सहज रूपमै भनेँ “सबै भगवानकै त हो नि, पढाइ-लेखाइ पनि आफ्नो हुन्छ र ?”
“सबै भगवानको कहाँ हुन्छ ?” उसले प्रतिवाद गरी ।
“लौ, लेखपढ गर्ने भनेको सरस्वतीको उपासना त हो नि, अनि यो भनेको सबैलाई ज्ञान बाँड्ने कुरा हो । त्यसो भएपछि सबै भगवान्को भएन त ?” मैले स्पष्टीकरण दिएँ ।
“अहँ, सबै भगवानको त हुँदै हुँदैन । जाली काम गर्नेहरूले गर्ने लेखपढ पनि भगवानको हुन्छ त त्यसो भए ? सबैभन्दा बढी लेखपढ त तिनीहरू नै गर्छन्” उसले भनी । उसको भनाइबाट म अलिक सतर्क भएँ । कतै मलाई नै जाली काम गर्न लागेको त ठानिन यसले ?
मैले यसो फर्केर हेरेँ । मसँग अपरिचित भए पनि ऊ एकदमै परिचितले जस्तो कुरा गरिरहेकी थिई । उसको भावभङ्गीमा निर्भिकपन देखिन्थ्यो । मलाई उसको जिज्ञासा मन पर्यो । मैले भनेँ “जाली काम सरस्वतीको वरदानको दुरुपयोग हो । यस्ताले गर्ने काम सरस्वतीको उपासना होइन, राक्षसको पूजा हो । तिनीहरूले ज्ञान होइन, भ्रम बाँड्छन् र मान्छेलाई छल्ने गर्छन् । मैले मान्छेलाई छल्न चाहन्नँ ।’’
मेरो कुराले सायद उसको मन छोयो क्यारे !
“तपाईँ त धेरै कुरा जानेको मान्छेजस्तो पो हुनुहुन्छ त” उसले भनी ।
“त्यस्तो ज्ञानी त म होइन, मैले आफूलाई लागेको कुरामात्रै गरेको” मैले भनेँ ।
“तपाईँको घर !” उसले सोधी ।
“मेरो पहिलेको घर कपिलवस्तु ।’’मैले बताएँ र सोधेँ “अनि तपाईँको नि ?”
“मेरो त नुवाकोट” उसले भनी ।
मैले राम्ररी हेरेँ । कुनै सुन्दर आइमाई होइन ऊ । बेल्थरी बेल्थरी र उमेर पनि पैँतीसको हाराहारी पुगेकी । हातमा मोबाइल र पैसा राख्न मिल्ने एउटा थैली झुण्ड्याएकी थिई । थैली मैलो–मैलो थियो र अनुहार पनि सङ्घर्षले पाकेजस्तो, चाया भरिएको र कालो–कालो भैसकेको ।
एउटा बाँदर सानो बुट्यानमा चढेको छ र पातहरू खाइरहेछ । भोको बाँदरले पात खाएर जिउ पाल्दो रहेछ । भर्खरै एउटा केटाले सूर्यघाटतिरबाट एउटी केटी लिएर डाँडामा उक्ल्यो र म्यालको बुटामा अडेस लागेर अँगालो हाल्यो । उहिल्यै देवताका पालामा महादेवले पार्वतीलाई चुमेझैँ हामीले देखेको देख्यै उसले पनि केटीको ओँठमा दुई पटक म्वाइँ खायो । यस्ता दृश्यहरू यहाँ सायद महादेवकै पालाबाट देखिँदै आएका छन् ।
म वार्धक्यका कारण यस्ता कुरालाई सामान्य ठान्न थालेको छु र मेरो नजिक बसेकी नुवाकोटकी यो महिला सधैँ देखिरहेका कारण यसलाई खासै अनौठो नमानेझैँ गर्छे । दुइटा पुलिस पनि आउँछन्, हामीले हेर्दाहेर्दै । मलाई थाहा छ, रुखले छेलिएर प्रणयक्रीडा गर्ने केटाकेटीलाई समात्छन् वा भगाउँछन् यिनीहरू ! पुलिसलाई गएर भनौँ भनौँ लाग्यो, भो नसमात यिनीहरूलाई । जिन्दगी के छ र मान्छेको ? पूरा गर्न देऊ सबैलाई आफ्ना रहर र तृष्णाहरू ! के तिम्रा मनमा छैनन् र यस्ता कुनै रहर ?
मनमा यस्तो सोचे पनि त्यसरी रजनीश–दर्शन नै त म कहाँ फलाक्न सक्थेँ र ? त्यसैले बाहिरी दृश्यबाट आँखा हटाएर म उसलाई सोध्छु-“तपाईँ यहाँ के गर्नुहुन्छ नि ?”
“गौशालाबाट पशुपतितिर आउने बाटैमा बसेर फूल बेच्छु ।’’ ऊ भन्छे ।
“पसल छ तपाईँको ?’’ म सोध्छु ।
“आफ्नो ठूलो पसल थियो पहिले, तर अहिले त नाङ्लोमा फूल राखेर बेच्ने गर्छु ।’’ ऊ बताउँछे ।
“पसल किन बेचेको नि ?’’ म कुरा खोतल्न चाहन्छु ।
“कुबेत जाँदा रिन लाग्यो, त्यसैले ।’’ ऊ भन्छे ।
“ए, त्यसो भए कुबेत जानुभएको थियो तपाईँ ? अनि कति वर्ष बस्नुभो त ?’’ म फेरि सोध्छु ।
“दुई वर्ष बसेँ ।’’ उसले भन्छे ।
“कुबेत कस्तो रहेछ त ?’ म सोध्छु ।
“कस्तो हुनु अर्काको देश ? दलालबाट ठगिएँ र पासपोर्टसमेत उहीँ छाडेर आएँ !’’ उसले भनी ।
“के पर्यो र त्यस्तो ?’’ मैले फेरि प्रश्न गरेँ ।
“यस्तै त हो, खै के भन्नु र ?’’ उसले बताउन चाहिन ।
उसको जिन्दगीको कथा एकदमै रोचक हुन सक्छ । ऊ कुबेतमा कुनै मुस्लिमको घरमा काम गर्दा बलात्कृत पनि भएकी हुन सक्छे । राम्रो ठाउँमा जागिर लगाइदिन्छु भनेर लगेको दलालले उसलाई अलपत्र पारेर कुनै बदमाससँग भिडाइदिएको पनि हुन सक्छ । तर कसैले नचाहँदा नचाहँदै उसको कथा ओकल्न लगाउने काम मलाई ठीक लाग्दैन ।
फेरि एकदमै अन्तरङ्ग नभईकन मान्छेहरू आफ्नो कथा अर्कालाई बताउन पनि त चाहँदैनन् । एकैछिन भेटिएको मलाई कस्तो विश्वासमा भनोस् उसले आफ्नो मनभित्र लुकेको दर्दको कथा ? म कुनै जोड गर्दिनँ, उसलाई ।
ऊ आफै भन्छे “अब फेरि उतै जाने भनेर पासपोर्ट बनाएकी छु । बौद्धमा मेनपावर भएको नवलपरासीतिरको एक जना मदिसेले साउदी पठाइदिन्छु भनेको छ ।’’
“कुबेत गएर भएन, अब साउदी जाने ?’’ म थोरै व्यङ्ग्य मिसिएको बोलीमा प्रश्न गर्छु ।
“अनि के गर्ने त ? अरू उपाय नै छैन । कुबेतबाट फर्किँदा रिन लागेपछि र केही कमाई नभएपछि श्रीमान् पनि राम्ररी बोल्दैनन् ।’’ ऊ भन्छे ।
उसलाई साउदी जानु ठीक छ भनौँ कि ठीक छैन भनौँ, म आफै अलमल्ल पर्छु । साउदी गएका अनेकौँ नेपाली महिलाहरूको दर्दनाक कथा उसले नसुनेकी हुन सक्छे, तर आफै कुबेत गएर आइसकेकीलाई मैले के सिकाउनु ? त्यसैले भन्छु “अहिलेको नाङ्लो पसलबाट गुजारा चलेको छैन ?’’
“छ अलिअलि, दिनमा ५००–१००० को व्यापार हुन्छ, तर त्यसबाट चार जना छोराछोरी कसरी पाल्नु ? सानोमा पढ्न पाइएन, अब कर्मले जस्तो–जस्तो पारिल्याउँछ, त्यै त्यै गर्छु ।’’ ऊ भन्छे । लाग्छ, जिन्दगी चलाउँदै जाँदा बाटोमा आइपर्ने हरेक पर्खालसँग जुध्न ऊ तयार भैसकेकी छ ।
तर उसले आफ्ना विवशतासामु आत्मसमर्पण गरेर नरकमा जान समेत तयार भएको घोषणा गर्दै छे कि सङ्घर्षको नयाँ बाटोमा अघि बढ्ने साहस सँगालेर उभिएकी छे, म कुनै निष्कर्ष निकाल्न सक्दिनँ । मलाई उससँग के भनौँ के भनौँ हुन्छ । कुरा अन्तैतिर लैजान म सोध्छु “अनि श्रीमानको कमाई छैन ?’’ “ छैन ।’’ऊ छोटो उत्तर दिन्छे र घडी हेर्दै भन्छे “तीन बज्न लाग्यो, अब एकछिन राम मन्दिरमा सत्संग गर्न जान्छु । तपाईँ पनि जानुहुन्छ?”
“अहँ म जान्नँ, मलाई केही लेखपढ गर्नुछ” म भन्छु । ऊ मेरो उत्तरको खासै वास्ता नगरेर आफ्नो बाटो लाग्छे । म पछाडिबाट उसको अनौठो हिँडाइ हेरिरहन्छु ।
दोस्रो दृश्य
म पेटीमा बसेकै छु । एकजना बूढा यतै आउँदैछन् । यो मान्छेहरूको घना चहलपहल हुने ठाउँ । तर यहाँनेरको वातावरण एकान्त र शान्त छ । बूढा मैले लेखिरहेको देखेपछि एक नजर मतिर फ्याँक्छन् । तर म अनुभव गर्छु, खासै उत्सुकता छैन उनको अनुहारमा । राम्ररी महसुस गर्छु म, यदि मैले खासै चासो दिइनँ भने उनी यहाँ धेरै बेर अडिँदैनन् ।
त्यसैले उनलाई सम्बोधन गर्दै म भन्छु “कहाँबाट आउनु भो ?’’ आउनोस् न बसौँ ।’’
मेरो आग्रहपछि उनी थोरै उत्सुक देखिन्छन् र अलिक गह्रौँ पाइला सार्दै मेरो छेउमा बस्न आउँछन् । म अनुभव गर्छु, यी बूढामा जिन्दगीका अधिकांश जिज्ञासाहरू सकिइसकेका छन् । मैले बोलाइनँ र कुरा झिकिनँ भने यिनी धेरैबेर यहाँ बस्नेवाला छैनन् । त्यसैले म सोध्छु-“घर कहाँ पर्यो नि तपाईँको ?’’
“उ…त्यहीं पारि बौद्ध टुसाल’’-कैलाशबाट बौद्ध टुसालतिरको भेग अलिअलि देखिन्छ र उनी त्यतै औँलो सोझ्याउँछन् ।
“पशुपति, कैलाश र वरिपरिको ठाउँको बारेमा कत्तिको थाहा छ तपाईँलाई ? के सधैँ घुम्न आउनुहुन्छ यतातिर ?’’ म सोध्छु ।
“म पनि नयाँ नै हुँ यहाँका लागि l जम्मा एक वर्ष भयो यता घुम्ने गरेको l फेरि पढाइ लेखाइ छैन, त्यसैले खासै थाहा छैन ।’’ उनी भन्छन् ।
“पहिलेको घर ?’’ म सोध्छु ।
“धादिङ सुनौलाबजार’’ उनी उत्तर दिन्छन् ।
“उता जग्गाजमिन छ कि छैन त ?’’ म अर्को प्रश्न गर्छु ।
“अहँ, केही छैन । सबै छोराहरूले बेचिसके ।’’ उनी भन्छन् ।
“छोरा कति जना नि तपाईँका ?’’ म सोध्छु ।
“जन्मेका तीन वटा, तर अहिले एउटा’’ उनी भन्छन् ।
“भन्नाले ?’’ म स्पष्टीकरण चाहन्छु ।
“माइलो छोरो पोहोर साल खस्यो । कान्छो छोरो बेलायत गएको भन्छन्, कुनै समाचार छैन, यहाँ जेठो छोरोमात्रै छ, अनि जन्मेका तीन वटा अहिले एउटा भएन त ?’’ उनी भन्छन् ।
“त्यसो भए टुसालमा छोराले घर बनाएका छन् ?’’ म सोध्छु ।
“छन्’’ उनी भन्छन् ।
“बूढाबूढी दुई जनै हुनुहुन्छ कि तपाईँ एक्लै ?’’ म प्रश्न गर्छु ।
“बूढी खसिसकी’’ उनी छोटो उत्तर दिन्छन् ।
“त्यसो भए गाह्रै रहेछ तपाईँलाई l अनि पहिले केही जागिर थियो ? पेन्सन छ कि छैन नि ?’’ म सोध्छु । मलाई थाहा छ, नेपालमा बूढाबूढीको जिन्दगी विस्तारै नरमाइलो र एक्लो हुँदै गएको छ ।
“केही थिएन, कहाँबाट पेन्सन हुनु ? त्यही पाँचसय रुपियाँ वृद्धभत्ता पाउँछु त्यत्ति हो ।’’ उनी बताउँछन् ।
“त्यसो भए पूरै छोराबुहारीको भरमा ? जिन्दगी त अलिक दुःखिया नै रहेछ तपाईँको l छोरो त आफ्नै सन्तान भयो हेर्ला पनि, बुहारी आफ्ना हुँदैनन् क्यारे !’’ म सोझै कुरा गर्छु ।
“आफ्नो सन्तान भएर के गर्नु ? बरू बुहारी लाजकाज पाँडे बोली भए पनि बोल्छे, आफ्नो त छोरै बोल्दैन, के गर्नु ?’’ उनी भन्छन् ।
“एक त कुनै कमाइ–धमाइ नभएको मान्छे, अर्को बूढो भैसकेको र सबै हेरविचार आफैले गर्नुपर्ने, किन बोल्थे आजको आर्थिक जमाना चिनेका छोराहरू ?’’ म व्याख्या गर्छु । मेरो व्याख्या सुनेपछि बूढा केही खुल्न खोजेको म अनुभव गर्छु । भन्छन् “साँच्चै बाबु, बरू राँडी आइमाई जाती, राँडो लोग्नेमान्छे पाल्नु त पाल्नेलाई पनि गाह्रो हुँदो रहेछ l’’
“त्यसो त अलिक होइन कि ? मान्छेहरू त राँडी आइमाईभन्दा राँडो लोग्नेमान्छे पाल्न सजिलो पो भन्छन् त, किनभने एक्लो लोग्नेमान्छे यताउता डुलिरहन्छ, अन्तै समय बिताउँछ, राँडी सासूले जस्तो बुहारीसित झगडा गर्दैन, होइन र ?’’ म जिज्ञासा राख्छु ।
“कहाँ त्यस्तो हुनु ? आइमाई भएपछि घरको काममा सहयोग हुन्छ । भातभान्सा गरिदिन्छे, भाँडा माझिदिन्छे, बालबच्चाको स्याहार गरिदिन्छे, तर राँडो लोग्नेमान्छे, त्यसमा पनि कमाइ केही नभएकोले के गर्नु ? भान्सामा भात पकाउन जाऊँ, ढङ्ग छैन । बुहारीसँग कोठामा बसेर गफ गरौँ, त्यो पनि सुहाएन । यस्तो जिन्दगी त बोझ पो हुँदो रहेछ’’ उनी भन्छन् ।
“तपाईँको पनि कमाईको केही बाटो भएको भए राम्रो हुन्थ्यो होला, छोराले पनि खातिर गर्दा हुन्’’ मैले भनेँ ।
“त्यसो भए त पक्कै अर्कै हुन्थ्यो, तर के गर्नु- उमेर छँदा खेतीपाती र गाईभैँसी पाल्नेमा लागियो । सन्तानका लागि केही गर्न पनि खोजियो । मान्छेहरूले दश वर्षअघि स्वास्नी बितेपछि बूढेसकालमा दुःख हुन्छ है अर्को बिहे गर भनेका थिए, तर छोराछोरी छँदै छन्, अब केका लागि बिहे गर्नु भनेर गरिएन । अहिले त्यही कुराले चिमोटिरहन्छ ।’’ उनले भने ।
“त्यसो भए एक्लो जीवन गाह्रो छ है !’’ मैले साँच्चै नै सुस्केरा तानेर भनेँ ।
“गाह्रो मात्रै हो र ? यो त नरकजस्तै हुँदो रहेछ । बुहारी खाना पकाएर खान बोलाउँछे । के मिठो लाग्छ, केले हित गर्छ, आफ्नो चाहनाको कुरै हुँदैन । भान्सा जान्छु, मुन्टो पूरै निहुराएर जे पस्केका छन्, चूपचाप खान्छु र उठ्छु । कतै बोल्यो भने मुखबाट खाएको कोखाबाट निकाल्नुपर्ने हो कि भन्ने डर लाग्छ । मान्छे कमाई नभएपछि आफ्नै सन्तानबाट पनि यसरी डराउनु पर्दो रहेछ ।’’ उनले भने ।
साँच्चै जिन्दगी कष्टकर छ मान्छेको ! तर यो त बूढाको कुरा मात्र न हो । यिनका छोराबुहारीको पनि त केही भोगाइ होला । कति बूढाबूढी त असाध्यै अर्छट्याहा हुन्छन्, कसैले गरेको राम्रो नमान्ने । यिनका छोराबुहारीको कुरा पनि सुन्न पाएको भए बल्ल मेरो कथा आयामिक हुन्थ्यो होला, मैले सोचेँ ।
“आज तपाईँसँग भेट भएर यति कुरा सुनाउन पाउँदा पनि मन सारै हल्का भयो l भगवानले सुबेलामै भेटाइदिए तपाईँसँग’’ अहिले चाहिँ उनको अनुहारमा अपार सन्तुष्टि झल्किएको अनुभव गरेँ मैले ।
“घरमा यति सारै दुःख भए सन्यास लिएर कुनै आश्रममा बस्नोस् न त’’ मैले भनेँ ।
“त्यो चाहिँ म गर्दिनँ’’ उनले रुचि देखाएनन् ।
“किन ?’’ मैले प्रश्न गरेँ ।
“किनभने आफ्नै सन्तानले गरेको हेरविचार र दिएको खानपिन त हामीलाई मन पर्ने किसिमको हुँदैन भने अर्काले गरेको झन् कसरी चित्त बुझ्ला ? जस्तो गर्छन् उनीहरूसितै बस्ने र त्यहीँ मर्ने । कहिले एउटा रुखमा, कहिले अर्को रुखमा हाम्फाल्दै हिँड्ने बाँदर म होइन ।’’ बूढाले भने ।
मलाई लाग्यो, आज दुई जना ज्ञानी मान्छेसँग भेट भयो । यी जमानाले बाध्यतावश ज्ञानी बनाएका मान्छेहरू ।
(स्रोत : Chakrapath )