आज ग्यामजो धेरै खुसी छ । मनमा निकै चन्चलता लिएर फर्याकफुरुक गरिरहेछ । स्वास्नीसँग दुई–चार पटक ठट्टा पनि गरिसक्यो । छोराछोरीलाई प्यारो गरी बोलाउँदै छ । उसको भनी जिम्मा लागेको सानो छोरो नुर्पालाई विशेष प्यारो गरी खेलाइरहेछ । स्वास्नीले पनि उसलाई आज अर्थपूर्ण मुस्कान भरिएको अनुहार लिएर लोभिएको आँखाले बराबर हेरिरहेकी थिई । उसको हेराइले ग्यामजोेको स्वाभिमानलाई धेरै नै भरोसा मिलेको थियो ।
जेठो दाजु छेवाङ व्यापारमा हिंडेको सात दिन भइसकेको थियो । तर यसपालि माहिलो ङवाङ फिन्जु र साँहिलो टासीले पालैसँग घर नछोडेको हुनाले ग्यामजोेले आजसम्म स्वास्नीसँग एकान्तवासको मौका पाएको थिएन । आज बल्ल निकै लामो प्रतीक्षापछि सिङ्गै दिन उसको अनि सिङ्गै रात पनि उसको हुने भएको थियो ।
अधिराज्यको अधिकांश भागमा बर्खा लागेको बेला भए पनि त्यो चट्टानी मरुभूमि भएको मुस्ताङ जिल्लाको माथिल्लो भागलाई बर्खाले उति असर पार्दैनथ्यो । यहाँका चौंरीहरूलाई सधैं नै हिमाली खोंचको माथिमाथि भीर र चौरहरू खोजी हिंड्नुपर्छ । यसरी जाँदाजाँदै एक साता वा त्योभन्दा बढी समयका लागि चौंरी चर्न पुग्ने घाँस भएका ठाउँमा पुगेपछि चौंरीलाई त्यहीं छाडेर गोठालाहरू घर फर्कने गर्छन् । त्यसैले टासी पनि बराबर घर फर्किरहेको थियो । टासी नफर्केको दिनमा जहिले पनि गाउँ नजिकैको गुम्बाबाट माहिलो जानू ङावाङ फिन्जु घरमा सुत्न आउने गथ्र्यो । त्यसैले बिचरा ग्यामजोका चन्चल तृष्णाहरू प्रत्येक दिन उठ्दै बस्दै गरिरहेका थिए । यसपालि छेवाङले उसलाई नुन खेपमा जान पनि दिएको थिएन । नत्र झोपा लिएर नुन लिन ल्ही मन्थाङ (मुस्ताङ) र नेचुङसम्म जाने उसको विचार थियो । त्यसो गर्न पाएको भए घरका समस्याहरूले उति पिरोल्न पाउने थिएनन् ।
(स्थानीय परम्परा अनुसार एउटा परिवारमा जतिसुकै छोरा भए पनि जेठोले मात्र विधिपूर्वक विवाह गरी ल्याउने चलन छ । अनि उसले घर थामी बसेसम्म पारिवारिक सम्पत्ति सबैमा विवाहिता दम्पतीको एकलौटी हक हुन्छ । बाँकी सबै भाइहरू संयुक्त परिवारमा बसी सम्पत्ति, स्वास्नी तथा छोराछोरीमाथिको पैतृक हकमा साझेदार हुने चलन छ । कुनै भाइले अलग स्वास्नी ल्याउने रहर गर्यो भने उसले पैतृक सम्पत्तिमा दाबी गर्न पाउँदैन । त्यस्ता मानिसहरू धेरैजसो गाउँ छोडी अन्त बसोवास गर्न जान्छन् ।
धेरै जना दाजुभाइ हुने परिवारमा पालैसँग भिन्नाभिन्नै काम बाँडी बाहिर डुल्नुपर्ने हुनाले सबै दाजुभाइ एकै समयमा घरमा उस्तो रहँदैनन् । सबैले एकोटा काम सह्मालेर हिंड्ने र एक भाइले घरमा हेर्ने गर्नाले पालैसँग स्वास्नीको साथ रहने दिन सबैको आउँछ । तर यसपालि धेरैसम्म ग्यामजोले चाहेको बेला उसको पालो आएको थिएन ।
छेवाङ व्यापारमा र टासी चौंरी गोठमा हिंडेका बेला अनि ङावाङ फिन्जु गुम्बामा सुत्ने दिन संयोगले ग्याम्जो घरमा रहेछ भने त्यो दिन एकलौटी हक उसको हुन्थ्यो । आज पनि बिहान त ङावाङ फिन्जु घरमा देखिएको थियो । दिउँसो कसरी हो कुन्नि स्वास्नीसँग झगडा गरेर उसलाई सराप्दै गुम्बामा फर्केको थियो । त्यसैकारणले भरे राति ऊ घरमा सुत्न आउने सम्भावना बिलकुलै थिएन ।
ङावाङ फिन्जुसँगको झगडापछि एकछिनसम्म अँध्यारो अनुहार लगाए तापनि ऊ गुम्बातर्फ हिंडेपछि पेम्फुटीले मुस्काएर ग्याम्जोलाई छड्के आँखाले हेरेकी थिई । मानौं इसाराले ऊ यही भनिरहेकी थिई — धेरै समयपछि आज कान्छो लोग्नेको मयालु अँगालोमा बाँधिन पाउने खुसीयालीको दिन हो । त्यस्तो सानो कुरामा सित्तै पनि निहुँ खोजिरहने रिसाहा माहिलो लोग्नेसँगको झगडाले उसलाई पिरोलिरहन सक्छ र ? ग्याम्जोको जवाफी मुस्कानले पनि यस्तै भनिरहे जस्तो भान हुन्थ्यो — दाजुको घुर्कीले तिमीले डराउनु पदैन । म तिम्रो साथ रहेसम्म कुनै पनि दाजुको घुर्कीदेखि तिमी किन डराउने ?
सरल तथा धैर्यशील पेम्फुटी ग्याम्जोको धेरै माया गर्थी । कर्तव्यले उसलाई सबैप्रति बराबर माया बाँड्न सिकाउँथ्यो । ऊ व्यवहारमा त्यसै गर्न कोसिस गर्थी । अनि विवाहमा विधिपूर्वक उसको निधारमा नौनीको टीका लगाइदिएर ल्याउने जेठो हुनाले छेवाङको ऊ सबैभन्दा बढी अदब राख्थी । तर उसको हृदय ग्याम्जोको लागि जति फराकिलो र कोमल बन्न सक्दथ्यो त्यति अरू लोग्नेको लागि कहिल्यै बन्न सकेको थिएन ।
पेम्फुटीले ग्याम्जोेलाई एउटी स्वास्नीको माया मात्र होइन आमाको ममता पनि दिएकी थिई । ऊ स्वास्नीको रूपमा त्यस घरमा पस्दा ग्याम्जो केवल सात वर्षको थियो । अरू लोग्ने नभएको बेला पेम्फुटीले उसलाई आफ्नो न्यानो अँगालोमा च्यापेर सुत्ने गर्थी । ग्याम्जो पनि उसको फराकिलो अँगालो र भरिलो छातीमा टाँसिएर सुत्न पाउँदा आमाको ममतालाई बिर्सन्थ्यो । बालखै छँदा मरेको आमाको मायाबाट ठगिएको ग्याम्जोलाई पेम्फुटीले आमाको माया बिर्साएकी थिई । जब उसको उमेर पुग्दै आयो त्यस बेला पेम्फुटीले नै ग्याम्जोलाई आइमाई र लोग्नेमान्छेका बीच कायम हुने एक अर्काको स्नेहमा भिज्न भिजाउन सिकाएकी थिई । आफूभन्दा चौध वर्ष कान्छो लोग्नेलाई केटाकेटीबाट युवक र अनुरागी बैंसालु लोग्नेको थान्कोमा पुर्याउने उसको धेरै वर्षको परिश्रम उसका हृदयका ममता र तिर्सनाहरूले आतेप्रोत भएका थिए । त्यसरी ग्याम्जोको सुख सन्तुष्टिसँग उसको जिउनुको अधिकांश भाग गाँसिएको थियो । चारै जना दाजुभाइप्रति बराबरी माया, स्याहार तथा रेखदेख बाँड्न खोजेर पनि कति कोमलताका कासेलीहरू पेम्फुटीेले आफ्नो हृदयको अन्तरकुन्तरमा लुकाई ग्याम्जोको लागि मात्र सँगालेकी हुन्थी । त्यसैले आजको जस्तो दिन भेट्टाएको बेला बितेका दिनका न्यास्रोपनहरू सबै मेटिने गरी ग्याम्जोलाई ऊ मायामा चुर्लुम्म डुबाइदिन्थी र आज पनि ऊ त्यस्तै प्रयास गरिरहेकी थिई । एक चोटि उसले ग्याम्जोको विचार लिन खोजी । “ग्यामजो, अलिकति गोकपा (जङ्गली लसुल) खोजेर ल्याइदिने भए म आज मीठो हुने गरी ग्येथुक बनाउँछु । भरे बेलुकी ग्येथुक खाऊँ ।”
“ओहो त्यसरी मीठो खान दिने भए म गोकपा जति भने पनि ल्याइदिउँला । मैल अस्ति झोपा चराउन लैजाँदा एक ठाउँमा हरियो गोकपा थुप्रै देखेको छु ।” ग्याम्जो दाँत जम्मै देखाएर हाँस्यो । पसिनासँग मिसिएर कालो मयलले गाला र चिउँडोदेखि डोरा पार्दै लगेर धमिल्याएका मैला ओठहरू र हाँस्दा ओठले छोडेका राता गिजाहरू रसाएको पेम्फुटीले देखी । आत्मसन्तुष्टिले उसको छाती खँदिलो भए जस्तो लाग्यो । पेम्फुटी भित्ताको दराजको भाँडा पुछ्दै तर लगाउँदै गर्न थाली । ग्याम्जो चाहिं नाकमा लत्रिन थालेको सिंगान हातले पुछेर भित्तामा दल्दै उठ्यो ।
पेम्फुटी घर बढार्न थाली । ग्याम्जो पानी लिन गयो । पानी लिन जाँदा बाटाभरि ऊ निकै प्रफुल्ल रह्यो । गीत गाउँदै गयो । खोलातिर झर्ने घुम्तीको बैंसको रूखमुनि पुगेर एक पटक नाचको चालले खुट्टा बजार्दै घुम्यो । ‘‘एक, दुई, तीन, एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ ।’’ यस बेला उसको मन बालखको जस्तो थियो । ज्यादै चन्चल । खुसीले उन्मत्त ।
फेरि पनि ऊ गाउँदै ओल्र्यो । ‘‘सो … ओ … हो … याला … सो’’ अनि भुइँमा खुट्टा बजार्यो, ‘‘खोसे, खोसे, खो…से । खोसे, खोसे खो…से ।’’ खोलामा पुगुन्जेल पनि ऊ मस्त नै रह्यो ।
खोलाको छेउमा पानी थाप्न बनाएको काठको धारोमा पुगेर मुख हात धोयो । अगिल्तिर लत्रेको कपालको चुल्ठो टाउकोमा एक फन्को घुमाएर रातो धागोको फुर्का झुन्डिएको टुप्पो निधारमाथि घुसार्यो ।
आज उसले स्वास्नीलाई माया गर्नुपर्छ । उसले चाहे जति, लिनसके जति माया खन्याइदिनुपर्छ । मायाको अविरल धारा बगाएर चुर्लुम्म डुबाइदिनुपर्छ । आफूभन्दा बूढी स्वास्नी भई त के भयो, उसको माया बूढो भएको छैन । तरुनी भनाउँदी सार्कीडोमा यौवनले उन्मत्त छ । नखरा गर्न जान्दछे तर पेम्फुटीको विवेकपूर्ण गहिरो माया र सरलतापूर्ण स्वच्छ व्यवहारका दाँजोमा उसको उत्ताउलोपना ज्यादै फिका र सस्तो ठहर्छ । तर सार्कीडोमाले पनि ग्याम्जोलाई कम माया दिएकी होइन । गाउँका दुई–चार जना ठिटाहरूले धूमधाम गरी कराउँदा पनि वास्ता नगरी ऊ ग्याम्जोको एकलौटी मायामा लपेट्न चाहन्थी । ग्याम्जोले पनि समयसमयमा उसलाई लोभ्याइरहेको थियो । बीचबीचमा ऊसँग रात बिताउने गथ्र्यो । खास गरी दाजुहरू घरमा जम्मा भएको बेला उसको उद्विग्न हृदय तथा चुलिएको जवानी, दुवैलाई सह्माल्न ऊ सार्कीडोमाकै सहायता लिन पुग्थ्यो । त्यसरी गएको बेला उसले कहिले पनि ग्याम्जोलाई निराश तुल्याएर फर्काएकी थिइन । त्यो गुन ग्याम्जोले राम्ररी सम्झिराखेको थियो । हुन त उसले प्रत्येक पटक गाली र घुर्कीले नै ग्याम्जोको पहिलो स्वागत गर्ने गर्थी । तर त्यो हतियारलाई सन्तुलित सीमाभन्दा बढी उसले कहिल्यै प्रयोग गरेकी थिइनँ । त्यसैले त्यो नियमित विधिपूर्वकको क्रियालाई ग्याम्जोले झर्को नमानी स्वीकार गरिसकेको थियो ।
धाराबाट पानी लिएर ग्याम्जो घर फर्कंदा पेम्फुटीले गहुँको मैदा मुछ्न ठीक पारिसकेकी थिई । त्यसमाथि दुईओटा कुखुराको फुल फुटाएर हालेपछि ऊ पिठो मुछेर डल्लो पार्न थाली । ग्याम्जोले भित्ताको ठूलो रोटी बेल्ने फल्याक भुइँमा उत्तानो पारेर सुतायो । अनि आफ्नो बक्खुको बाहुलाले एक पल्ट पुछ्यो । पिठो डल्लो पारिसकेपछि पेम्फुटीले त्यसै फल्याकमाथि राखेर ठूलो रोटी बेल्न थाली । ग्याम्जो गोकपा खोज्न निस्क्यो ।
फल्याकभरि पारेर बेलिसकेको ठूलो रोटीमाथि अलिकति पिठो छरेर मुसार्दै फुस्रो पारेपछि पेम्फुटीले त्यसलाई बेरेर लामो मुठा पारी, अनि एक छेउबाट एउटा स्याँगीले काट्दै लामालामा ग्येथुक (नुडल) तयार पारी । भुजुङ्गोमा पानी तताएर ग्येथुक पाकुन्जेल ग्यामजो एक मुठी हरियो गोकपा लिएर आयो । त्यसलाई काटेर सानोसानो टुक्रा पारेपछि अगेनुमाथि झुन्डिरहेको एउटा ठूलो साँप्रो झिकेर ग्याम्जोले सुकुटीको मसिनो टुक्रा काट्यो । पेम्फुटीले अलिकति नुनखोर्सानी पिँधी । बाहिर साँझ प¥यो । खेल्न गएका छोराछोरी जम्मा भए । खेल्नु के थियो र, एउटा सानो डोको लिएर दाउरा खोज्ने खेलमा गएका थिए । अलिकति सुकेको जरा, धूपीको एक–दुईओटा हाँगा र केही बैंसका पातहरू बटुलेर ल्याएका थिए ।
पेम्फुटीले सबैका लागि एकेकोटा फराकिलो प्यालामा अलिकति थुक्पा, त्यसमाथि सुकुटीमासुका टुक्रा, त्यसमाथि गोकपाको झुरा अनि सबभन्दा माथि नुनखोर्सानीको धूलो छरेर हातहातमा थमाइदिई । अनि दराजमा रहेको एउटा काठको भाँडोबाट एक मुठा खोज (चपस्टीक) झिकेर सबैलाई दुई–दुईओटा दिई । अन्तमा आफ्नो भाग लिएर सबैको साथ ऊ पनि खान थाली । आजको यो फर्मायसी खानामा सबै मग्न थिए । केटाकेटी रमाएका थिए । तर पेम्फुटीको लागि यो विशेष सन्तोषको बेला थियो । त्यसैले उसको ध्यान आज आफू खानमा भन्दा ग्याम्जोलाई खुवाउनमा तल्लीन थियो । उसले कति मीठो मानेर खाएको भनी उसको मुखमा हेर्दै थिई । तल कसैले ढोका खोलेको आवाज आयो । ग्याम्जोले कान थाप्यो । पेम्फुटीले आँखा गाडेर ग्याम्जोको अनुहारतिर हेरी । एकैछिनमा भर्याङ उक्लेको आवाज आयो, ‘थप … थप … थप’ गरेर । अनि भर्याङको टाउकोछेउको छेकाबाट देखा पर्यो छेवाङ । घरको मालिक । आफ्नै घरमा साँझमा आइपुगेको घरको मुख्य मानिस । पेम्फुटीको लोग्ने, ग्याम्जोको दाजु र केटाकेटीका बाबु । तर यस बेला ऊ चोर जस्तै कुबेला, कुठाउँ तथा कुसाइतमा आइपुगेको थियो । उसलाई देखेर ग्याम्जोको अनुहारमा आवेश, पेम्फुटीको अनुहारमा थकाइ र नैराश्य फैलियो ।
पेम्फुटीले पहिले सोधी, ‘‘किन हँ ? के भयो ?’’
‘‘झोपाहरू टुकुचेमा छोडेर आएको ।’’ छेवाङले बिस्तारै भित्र पस्दै जवाफ दियो ।
‘‘भारी केही पाइएन ?’’ ग्याम्जोले सोध्यो ।
‘‘अँह । नुन लिन ढाक्रे आएकै छैनन् । चामल एक गेडा पनि छैन । मलाई त हन्हन ज्वरो आयो । त्यसैले फर्कें ।’’
‘‘केही खाएको छैन होला … ?’’ पेम्फुटी आफ्नो हातको प्याला र काखको छोरो नुर्पालाई भुइँमा राखेर उठी । अर्को भाँडो झिकेर त्यसमा खाना हालेर अगेनुछेउको सानो होचो टेबिलमाथि राखिदिई । यतिन्जेल घरको मूल मानिस बस्ने पिर्काबाट आफू हटी टेबिलबाट प्याला हटाई ग्याम्जोले दाजुको लागि ठाउँ खाली गरिदिइसकेको थियो । छेवाङ आएर त्यही बसी चुपचाप खान थाल्यो । उसको अनुहार रातो र ज्यादै थाकेको देखिन्थ्यो । अगेनोमा बलेको आगोको उज्यालोमा उसको निधारको पसिना टल्केको पनि प्रस्टै देखिएको थियो । सबै जना उसैलाई हेर्न थाले । अलिकति खाना खाइसकेपछि उसले भन्यो, ‘‘मलाई ज्वरो आएको तीन दिन भयो । घट्ला भनेर पर्खेको, घटेन । टुकुचेमा रामप्रसाद तुलाचनको घरमा सुतेको रातभरि कामज्वरो आएर कम्प छुटेपछि सुत्नै सकिन । अनि आज बिहान सबेरै उठेर झोपालाई खोलापारीको भीरमा चर्न छोडेर हिंडेको ।’’
‘‘झोपा हराउँदैन ?’’ पेम्फुटीले सोधी । ‘‘रामप्रसादलाई याद गरिदिनु भनेर आएको छु ।’’
पेम्फुटीले ग्याम्जोको मुखमा हेरी, ग्याम्जो कतै नहेरी खाइरहेको थियो ।
‘‘म त जान सक्दिन । भोलि बिहान सबेरै उठेर ग्याम्जोले जानुपर्यो ।’’ ग्याम्जोले खाइसकेर कसैसँग नबोली आफ्नो हातको भाँडो चाट्दै उठ्यो । अनि भाँडो र चपस्टीक दराजमा राखेर भित्ताको बाकस खोतल्न थाल्यो । मुक्तिनाथको मेलामा एक जना मनाङेसँग लिएको तीन सेलको टर्च एउटा थियो, त्यसलाई खोकिलामा हालेर ऊ सरासर घरबाट निस्क्यो । पेम्फुटीलाई ज्यादै न्यास्रो लाग्यो, तर उसले केही भनिन । छेवाङलाई नरमाइलो लाग्यो, तर उसलाई ज्वरोले मिच्दै लगेको थियो । ग्याम्जो रिसाएको थियो, तर रिसलाई बलैले दबाएको थियो उसले ।
ग्याम्जो तल ढोकाबाट बाहिर निस्कँदा पेम्फुटी कराई, ‘‘उवाको सातु अलिकति छ है, ग्याम्जो । बाटोका खाजालाई लगे हुन्छ ।’’ उवा भुटेर बनाएको सातु चियासँग मुछेर खान ग्याम्जो निकै मीठो मान्थ्यो । तर यस बेला ग्याम्जो बोल्दै नबोली गयो । ऊ एक झोंकमा हिंड्न थाल्यो । पारा गाउँभन्दा केही तल पुगेपछि एउटा घुम्ती आउँछ । त्यहाँदेखिको बाटो कालीगण्डकीको खुला डोलबाट ओरालो लागेको हुनाले हुरीले हान्ने ठाउँमा पर्छ । कागबेनीतिर घुम्ने बेलाको भन्ज्याङको बाटो हिंडेको कोही पनि मानिसले कालीगण्डकीको हुरीलाई जिन्दगीभरि बिर्सन सक्ने कुरा होइन । त्यो ओरालोमा परेको बेला बलियो मानिसालाई समेत हुरीले पेलेर भित्तामा टाँसिदिन खोज्छ । केही गरी लड्यो भने सितिमिति मानिस एक्लै उठ्न सक्दैन । भटमासका गेडा जत्रा बालुवाका टुक्राले हानेर मुखभरि चस् चस् घोच्न थाल्छ । तर ग्याम्जो यस बेला आफ्नै हृदयभित्रको हुरी थाम्नमा व्यस्त थियो, त्यसैले कालीगण्डकीको हुरीको पर्वाहै नगरी ओरालो झर्न थाल्यो । त्यहाँ ढुङ्गाका निकै अप्ठेरा खुड्किलाहरू थिए । बत्तीको उज्यालोमा त्यो बाटो फटाफट् हिंड्न सम्भवै थिएन । त्यसमाथि बालुवाले नाक, मुख, आँखा, घाँटीमा हान्न थाल्यो । चिसो बढ्दै आयो । ग्याम्जोको रिस र जोस शान्त भयो । अनि विचार गर्न थाल्यो । यस्तो रातमा कसरी त्यति लामो बाटो लाग्ने । रिसको झोंकमा त्यसै हिंडेर कसरी काम बन्छ । त्यसैले त पेम्फुटी उसलाई बरबर भन्थी, “ग्याम्जो धेरै रिसाउँछ, कुन दिन एउटा ठूलो खाल्डोमा खस्छ ।”
ग्याम्जोले ठान्यो, ठीकै त हो नि उसले भनेको । यस्तो रातमा हिंड्दा गण्डकीमा खसे के गर्ने । यसरी रातमा हिंड्नु ठीक होइन । जेसुकै होस् भोलि बिहान जानुपर्ला । यस्तो सोचेर ऊ बिस्तारै गाउँतर्फ फक्र्यो । अनि दोबाटामा आइपुगेपछि सरासर सार्कीडोमाको घरतिर लाग्यो ।
३० कार्तिक, २०७१
(स्रोत : RecordNepal)