कथा : एक पूर्व लडाकुको कथा

~शशी लुमुम्बू~Shashi Lumumbu

‘दाइ! म पनि तपाईंजस्तै साहित्यकार बन्छु। दुःखी र स्वप्नजीवी मान्छेका कथा–कविता लेख्छु।’

मेरो सानो भाइ मसँग सधैँ यसै भनिरहन्थ्यो। कहिलेकाहीँ चिठी लेख्थ्यो। चिठीमा पनि यही कुरा दोहोर्‍याउँथ्यो। मेरा कविताहरू बढो चाख लिएर पढ्थ्यो। अनेक जिज्ञासा राख्थ्यो। र, आफू पनि कविता लेखेर मलाई देखाउँथ्यो। ऊ कक्षामा सधैँ प्रथम हुन्थ्यो। राजनीतिमा पनि थोरबहुत चासो राख्थ्यो। मेरो सानो भाइ सानै थियो तर उसका सपनाहरू ठूला थिए। ऊ मनमस्तिष्कभरि सपनाहरू सजाएर खरायोको बच्चाझैँ फुत्रुक–फुत्रुक उफ्रिदै जीवनका उकालीओराली गरिरहन्थ्यो। दाजुकै बाटो हिँड्छु भनिरहन्थ्यो। उसको बालक–हातमा ‘थु…थु’ गरेर म अरुण तरेँ। सपनाको खोजीमा तराईं झरेँ। तराईबाट पनि राजधानी छिरेँ। म बिस्तारै राजधानीमा रत्तिन थालेँ। दशैँ–तिहारमा घर गएका बेला ऊ मेरो साथी हुन्थ्यो। वनजङ्गलमा जाँदा होस् वा गाउँमा जाँदा। घरमा बस्दा होस् मेलापातमा जाँदा। ऊ हमेशा मलाई अरुण नदी देखाउँदै सोध्थ्यो – ‘त्यो नदी कहाँबाट आएको होला हगि दाइ? कहाँ पुगेर थकाई मार्ला त्यसले?’ ऊ क्षितिज देखाउँथ्यो र आकाशसितको सम्बन्ध सोध्थ्यो। पहाडहरू हेरेर ऊ भावुक हुन्थ्यो। आकाशका जूनतारा हेर्दै एकान्तमा टोलाउँथ्यो फेरि कविता लेख्थ्यो र डायरीमा बन्द गर्‍थ्यो।

काठमाडौँ पसेको म केही वर्ष यो कङ्क्रिटको भीषण जङ्गलमा यतै–कतै हराएँ, गन्तव्य हराएको यात्रीजस्तो। र, जान सकिनँ घर पनि। देशमा माओवादीले सशस्त्र युद्ध शुरु गरिसकेको थियो। बिस्तारै त्यो युद्ध फागुन–चैत्रको डढेलोसरी देशैभरि फैलियो। गाउँ–गाउँबाट उसले मेरो भाइजस्तै सयौँ–हजारौँ स्वप्नजीवी युवायुवतीहरूलाई अनेकन सुन्दर सपनाहरू देखायो आफूतिर सम्मोहित गरायो। भर्खर जीवनमा सुन्दर सपनाहरू देख्न थालेको मेरो भाइलाई पनि माओवादीको सपनाले मोहनी लगायो। अन्ततः बुर्जुवा शिक्षा बीचैमा छोडेर मेरो भाइ पनि जङ्गल पस्यो― लिएर आउने छु सुन्दर बिहानी भन्दै। बनाउने छु देशको मुहार उज्यालो भन्दै।

एक दिन सुनेँ ऊ लालसेना भयो रे। आमा रोइरहनुहुन्छ रे सुनेपिच्छे युद्धको समाचार। मेरा पनि आँखा तेजिला हुन थाले टेलिभिजनका स्त्रि्कनहरूमा। कान चलाख हुन थाले रेडियोका खबरहरूमा। अशुभ समाचार सुन्नु नपरोस् भन्ने कामना मनमनै दोहोरिरहन्थ्यो। दिनदिनै मनमा बेचैनी बढिरहन्थ्यो। मेरो भाइ कहाँ होला? के गर्दै होला? भोकै छ कि, तिर्खै पो छ कि? कतै दोहोरो भिडन्तमा केही पो भयो कि? बेला–बेला यस्ता अनेक आशङ्काहरूले मन ढक्क फुल्थ्यो। फेरि मनमनै कामनाको उपक्रम दोहोरिन्थ्यो– मेरो सानो भाइलाई केही नहोस्, उसका साथीहरूलाई केही नहोस्। तिनका कलिला सपनाहरूलाई केही नहोस्।

स्कुल छोडेर ‘सुनौलो बिहानी’ ल्याउन हिँडेको मेरो भाइ केही वर्षपछि लालसेनाहरूको हुलमा झुलुक्क गाउँ आएर फेरि अलप भयो भन्ने समाचार सुनेँ। आमाले रुदै सम्झाउँदा उसले भन्यो रे, ‘आमा! म तपाईंको मात्रै होइन यो देशकै छोरो हो। नेपाल आमा रोइरहेकी छिन्, तिनको अनुहारमा उज्यालो ल्याएर मात्रै म गाउँ फर्कन्छु।’

त्यसको केही वर्षपछि कसैले खबर ल्यायो– भाइ बन्दीपुरको युद्धमा सख्त घाइते भयो। दुश्मनसँगको बमबारीमा रौँ–रौँले मात्रै बाँच्न सफल भयो। फेरि आमा रुनुभयो। गढीटाकुरालाई एकपटक भुइँकुहिरोले फेरि छोप्यो। बाँसघारीमा चराहरू एक पटक नमीठोसँग चिर्बिराए। पारि सल्लाघारीमा सल्लाहरू उदास सुसाए।

आमा पारि पाखामा कोरिएको गोरेटो बाटो हेर्दै रोइरहन थाल्नुभयो। अन्य साना भाइबहिनीहरू पनि सातो हराएका जस्ता भए। बाबाको अनुहारमा आशाका रङहरू देखिन छाडे। हरदम गाढा उदासीले डम्म छोपिरहन थाल्यो उहाँको मुहारमा। गाउँको मुहारबाट खुसीका दिनहरू बेपत्ता भए।

दश वर्षसम्म चलेको माओवादी सशस्त्र युद्ध समाप्त भएर शान्ति प्रक्रिया स्थापना भएपछिको कुनै एक दिन शरीरभरि बमका छर्राहरू बोकेर ऊ घर आयो। आमाको अनुहारमा एक झिल्का उज्यालो देखियो। बाबाका आँखाबाट गाढा उदासी भाग्यो। गढीटाकुराबाट भुइँकुहिरो हट्यो। मैले भाइको सपना फक्रिन लागेको देखेँ। र, सारा दुःखहरू भुलेँ।

केही दिन घरमा व्यतीत गरेर भाइ ‘शिविर’मा गयो। देशमा संविधानसभाको चुनाव भयो, माओवादी पार्टीले अन्य दलभन्दा धेरै सिट जित्यो। माओवादीको सरकार बन्यो। अब देशमा शान्ति होला। जनताको चाहनाबमोजिमको संविधान बन्ला। तर, केही भएन। अन्यौलताहरू बढेर जान थाले। एउटा खोचेँ थापेर माओवादी सरकारबाट हट्यो। एमालेको नेतृत्वमा अर्को सरकार बन्यो। माओवादी ‘नागरिक सर्वोच्चताका लागि’ भन्दै सडकमा गयो। आमहड्ताल गर्‍यो। तथापि केही भएन। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रेखा थापासँग कम्मर मर्काउँदै नाचे। उपलब्धि यत्तिमात्रै भयो।

मैले भनेँ, ‘भाइ! तिम्रो सपनामा तुषारोपात हुँदै छ। तिम्रा नेतामा स्खलन आइसक्यो। ती बदलिइसके। हजारौँहजार शहीदहरूको बलिदान तिनले बिर्सिसके। ती सुविधाभोगी भइसके। तिनले विग भुलिसके।’

उसले मेरो भनाइको कडा प्रतिवाद गर्‍यो। आफ्ना नेताहरूको बचावट गर्‍यो। मैले भनेँ, ‘हेरिराख! यी नेताहरू तिम्रो सोचविपरित देखिने छन्। तिनले जनतालाई धोका दिँदैछन््। तिम्रो क्रान्तिको ह्याङओभर एक दिन उत्रिने छ। र, त्यो दिन धेरै टाढा छैन। वास्तविक धरातलमा आऊ भाइ। मेरो अनुभवले यही भन्छ।’

उसले हरेस खाएन। ऊ भन्थ्यो, ‘देशमा नागरिक सर्वोच्चता कायम हुने छ। आमूल परिवर्तन आउने छ। सर्वहारा वर्गको सरकार बन्ने छ। हाम्रा नेता असल छन्, अरुजस्ता होइनन्। धोका दिने कल्पनासम्म गर्न सकिन्न।’ मैले कामना गरेँ, मेरो भाइको विश्वासमा कहिल्यै पनि तुषारापात नहोस्। उसका कलिला सपनाहरू कहिल्यै नओइलाऊन्।

मेरो भाइको क्रान्तिकारीपन ताजै थियो। दशैँमा बाआमाको हातबाट टीका लगाएन। तर, प्रचण्ड र बाबुरामले लगाए। प्रचण्डले भैँसीपूजासमेत गरे। अनेक गरे।

बुबा खस्नुभयो। भाइले काजक्रिया गर्न मानेन। ‘कम्युनिष्टले यसो गर्दैनन्’ उसले भन्यो, ‘काजक्रिया गर्ने चलन वैज्ञानिक हुनुपर्छ।’ कम्युनिष्ट विचार लिएरै हिँड्ने मैले परम्परागत संस्कारलाई स्वीकारेँ। बरू गाउँसमाजलाई ‘कन्भिस’ गरेर त्यो संस्कारमा केही सुधार गरेँ।

ऊ शिविरमा बस्थ्यो। धेरैपछि ऊसँग भेट भयो। लागेको थियो उसको क्रान्तिकारिता अझै ज्युँकात्युँ होला। उसका विचारहरू उस्तै धारिला होलान्। उसका निष्ठाका पहाडहरू अझै अग्लिरहेका होलान्।

र, एक वर्षअघि जनमुक्ति सेनाबाट स्वेच्छिक अवकास लिएर आएपछि मेरो सानो भाइले थकित स्वरमा भन्यो, ‘दाइ! आज मेरा आँखा खुले। तपाईंले ठीकै भन्नुभएको रहेछ। हामी त भ्रममा पो रहेछौँ। संसार बदल्छु भनेर हिँडेका हाम्रा नेता त आफै पो बदलिए।’ उसले गहभरि आँसु पारेर भन्यो, ‘तिनले जनतालाई धोका दिए। हजारौँहजार शहीदको रगतको अवमूल्यन गरे। तिनले हाम्रा कलिला सपनाहरूको हत्या गरे। अब म यिनका पछि लाग्ने छैन। यिनीहरूलाई म घृणा गर्छु दाइ! अब म जान्छु विदेश, बेच्छे श्रम र बनाउँछु आफैँ आफ्नो घरसंसार।’

(स्रोत : Drishti )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.