…..सायद पहिलो प्रेम थियो जिन्दगीको। ऊ त्यति हाँस्दैनथि,हाँस्दा राम्री नै लाग्थि। हरेक कुरामा जिद्धी गर्नुपर्ने अनि जितेरै छाड्नुपर्ने, मलाईजस्तै।
उसलाई न त फूटबलको चाख थियो न त राजनितीको। तर पनि मैले ब्राजिल भन्दा ऊ अर्जेण्टिना भनेर उफ्रिन्थि अनि मैले कांग्रेस भन्दा माओवादि बनिसक्थि।
‘तिम्रो ब्राजिल त तीन अक्षरको मेरो अर्जेण्टिना त चार अक्षरको!’,यस्तै तर्क हुन्थे उसका जित्नलाई। गोल, नतिजा आदिका कुनै औचित्य थिएनन्।
‘कति जिद्धी गर्नुपर्छ है तिमीलाई? जसरी पनि आफ्नै कुरा ठूलो!’,यहि नै आन्तिम अस्त्र हुन्थ्यो उसको। म नाजवाफ हुन्थेँ। ऊ जितेरै छाड्थि।
म हरेकपल्ट हार्थेँ। सायद सबैथोक हारेको थिएँ उसको प्रेममा। दिल, दिमाग, भोक, प्यास सबै। किन किन उसको यो जित्ने बानी नै पनि मन पर्न थालिसकेको थियो।
मेरा निम्ती ऊ सामु प्रेम प्रकट गर्नु अत्यन्त कठिन थियो। उसको स्वभावसंग डर लाग्थ्यो। मित्रता धरापमा पर्ने डर थियो। मलाई उसको मप्रतिको धारणा बुझ्न मन लाग्यो। म उसलाई अरु केटिहरुका झुटा प्रसंग सुनाउँथेँ,संगै खिचेका झुटा तस्वीरहरु देखाउँथेँ। ऊ चाख लिँदैनथि। कसैलाई पनि राम्री भन्दैनथि। बिस्तारै ऊ मबाट टाढा हुन थालि।
असह्य भएर एकदिन मैले उसलाई प्रेम प्रस्ताव राखेँ,मेरो जिन्दगी र मित्रता दुबै दाउमा थियो।
ऊ बेग्लै अनुहार बनाएर मलाई हेर्दै बोल्न थालि।’कहाँ गए तिम्रा ति चुच्ची, पोक्चीहरु? कसैले पत्याएनन् र मैले नै मान्छु भन्ने आश गर्यौ? तिमी धेरै ढिला भयौ। जतिबेला म तिमीलाई चाहन्थेँ, त्यतिबेला त मलाई हराएर होच्याउँथ्यौ त। अरुकै प्रशंसा गर्थ्यौ त। आज म नै कसरी तिम्रो नजरमा परेँ हँ?’
ऊ आँशु झार्दै बोलिरहेकि थिई। मसंग आँशु समेत निकाल्ने हैसियत थिएन।फेरी एकपल्ट म हारिरहेको थिएँ।ऊ जितिरहेकि थिई मलाई,उसको आँशुको बलमा।।।
(स्रोत : Suresh Badal’s Facebook )