कथा : तिम्री स्वास्नी

~घायल श्री~Ghayal Sri

एउटा सामान्य सेमिनारबाट नै उनले मलाई राम्रोसँग चिनेका रहेछन् । हुन त त्यसभन्दा अगाडिबाट नै उनले मलाई चिन्नको लागि धेरै प्रयास गरेका रहेछन् । आफु चिनेको र भेटेको प्रत्येक व्यक्तिसँग मलाई चिनाइदिने अनुरोध गर्दा रहेछन् । त्यस अवसरमा कतिले चिनेको छैन भनेर उनलाई निराश पार्दा रहेछन् त कतिले ‘भइहाल्छ नि, उहासँग मेरो राम्रै सम्बन्ध छ त्यसैले तपाइँलाई उहासँग परिचय मात्र होइन तपाइँको चाहना अनुसार घनिष्ठ मित्रता कायम गराइदिने छु’ भन्दै उनलाई भुल्याउने गर्दा रहेछन् ।

त्यसदिन म एउटा स्टेशनरीमा बसी आफ्नो केही बाँकी रकम असूल गर्दै थिएँ । अकस्मात् उनको आगमन भयो र मेरो नजिक आई विस्तारै बोल्न पुगे– ‘तपाइँको नाम……….हो ?’

उनको त्यो ठाडो प्रश्न सुनेर कताकता म भित्र अपमानित रेखा कोरिन थाल्छन् तर आफैंलाई साम्य पार्दै म बोल्छु– ‘हजुर ! केही काम थियो कि ?’

मेरो प्रतिउत्तरमा थपिएको प्रश्न सुनेर केही अत्तालिएको र केही असजिलो मान्दै उनी बोल्छन्– ‘होइन, होइन त्यस्तो केही काम छैन तैपनि तपाइसँग परिचय गरौं कि भनेर’ त्यसपछि आफ्नो दायाँ हात मतर्फ बढाउँदै बोल्छन्– ‘मेरो नाम राजेन्द्र ।’ म उनको हातमा हात मिलाउँदै बोल्छु– ‘ए नाम त साह्रै राम्रो रहेछ ।’ यति भनेर आफ्नो हात आफुतिर खिच्न थाल्छु तर उनले भने जोडसँग समातिरहन्छन् । मैले केही झड्का दिँदै आफ्नो हात आफुतिर खिच्छु । उनको चेहरामा कताकता नैराश्य छाउँछ । त्यसको मध्यनजर गर्दै म बोल्छु– ‘अनि तपाइँ अहिले कहाँ हुनुहुन्छ ?’

मेरो प्रश्नमा केही खुशी हुँदै तत्काल उनी बोल्छन्– ‘अहिले म काठमाडौं छु ।’

त्यसदिन उनी र म लामो समयसम्म कुरा गरिरहन्छौं । उनी मेरो नियमित पाठक भएको कुरा पनि सुनाउन पछि पर्दैनन् र अन्तमा उनले मेरो हातमा एक कार्ड थमाउन पुग्छन् । लगत्तै उनी मबाट विदा भएर आफ्नो बाटो लाग्छन् भनें उनी गएपछि केही समय म उनकै बारेमा सोच्न बाध्य हुन्छु । उनीसँग बोल्नुपर्दा र मित्रताको हात बढाउनुपर्दा कताकता आफैमा नरमाइलो लाग्छ किनकी……….।

त्यसपछिका दिनमा उनी र म धेरैपटक भेट भइसकेका हुन्छौं । भेट्नु भन्दा अगाडि म उनीबाट भाग्ने प्रयास गर्छु तर मेरा सबै प्रयास ‘प्रयास’ मा नै सीमित रहन्छन् । म भाग्नुभन्दा अगावै उनी मेरो हात समाउन आइपुग्छन् । अनि त नचाहेर पनि म उनीसँग बोल्न बाध्य हुन्छु । उनैसँग होटल र सेमिनारमा सहभागी हुन्छु । त्यो समयको बीचमा उनले मलाई आफ्नो घरमा जाने प्रस्ताव राख्छन् । घरपरिवारसँग परिचय गराई राम्रै सम्बन्ध स्थापित गराउँन चाहन्छन् तर म कुनै न कुनै बाहनामा भाग्ने गर्छु ।

त्यसदिन म एउटा सेमिनारबाट विदा भई घरतर्फ प्रस्थान गर्दै थिएँ । साँझ परिसकेको थियो । बाटोमा सवारी साधनहरु बिरलै भेटिन्थे । आकाश धमिलिँदै थियो । म लामोलामो पाइला बढाउँदै थिएँ । क्षणभरमै गड्याङगुडुङको आवाज आई मुसलधारे पानी बर्षियो । म निथु्रक्क भिजिसकेको थिएँ । बाँकी भिज्नबाट जोगिन नजिकैको प्रतीक्षालयभित्र पसी भिजेको कपडा निचोर्न लाग्छु । अकस्मात् ! उताबाट एक चिल्लो र चिप्लो पजेरो आउँछ । हतारहतार प्रतिक्षालयको डिलमा उभिएर हात ठड्याउँछु । पजेरो म नजिकै आउँछ र विस्तारै रोकिन्छ । पजेरो भित्र राजेन्द्र थिए । अचानक उनलाई देख्दा म झस्कन पुग्छु र आफुलाई साम्य पार्दै केही हाँस्ने चेष्टा गर्छु । बिचैमा मलाई हेर्दै राजेन्द्र बोल्छन्– ‘अरे तपाइँ यतिबेला यहाँ हुनुहुन्छ ? आउनुहोस् ।’

उनको आग्रहमा म केही सोच्न बाध्य हुन्छु ।

‘होइन् तपाइँ के सोच्न लाग्नु भो ? आउनुहोस् ? तपाई त साह्रै रुझ्नुभएछ । आज हामी दुबैजना हाम्रो घरमा जाउँ । हेर्नोस तपाइँको स्वागतको लागि मेरो घर प्रतीक्षामा छ ।’ राजेन्द्र बोल्दै गर्दा बिचैमा म बोल्न पुग्छु– ‘भो पर्दैन म यहींसम्म आएको, तपाइँ जानुभए हुन्छ । म यहाँ केही समय बिसाएको मात्र हुँ ।’

त्यतिबेलासम्म उनी प्रतीक्षालयमा आइपुगी मेरो हात समाउँदै बोल्छन्– ‘प्लिज मेरो अनुरोधलाई खेर नफाली दिनोस् । आज तपाइँ जसरी भएपनि मेरो घर जानुपर्छ ।’ मैले विस्तारै आकाशतर्फ नजर लगाउँछु । पानी झन् बर्सिंदै थियो । साँझ बढ्दै थियो । हुन त उसको सहयोगको अपेक्षा कहिल्यै गरेको थिइन र गर्र्नेपनि छैन । विपत्को समयमा शत्रुका पनि पाउ मल्नु भन्छन् ! त्यसैले मेरो चाहना नहुँदा नहुँदै पनि उनको साथ लाग्न बाध्य हुन्छु । मेरो स्वीकार पश्चात् उनी आफुलाई एउटा विजयी योद्धा सम्झेको मैले अनुभव गर्छु । पजेरो उनको घरतर्फ अगाडि बढ्छ ।

पानी झन् वर्षिंदै थियो । बाटामा सवारीसाधनहरु ओहोर दोहोर गर्दै थिए । म झ्यालबाट बाहिर चियाउँदै अनेक दृष्यमा रमाइरहेको थिएँ । दुबै जना चुपचाप थियौं । निकै बेरको शून्यतालाई भङ्ग गर्दै राजेन्द्र मतर्फ फर्केर बोल्छन्–‘तपाइँ त चुपचाप हुनुहुन्छ नि ?’

उनको मधुर बोली, मेरो एकोहोरो सोचाइ र झरीको कारण राम्रोसँग सुन्न सक्दिन मात्र उनीतर्फ फर्कन्छु । राजेन्द्र पुनः केही समय चुपचाप रहन्छन् र केही समयपश्चात् मतर्फ फर्केर बोल्छन्–‘अहिले तपाइँ कुन कृति प्रकाशनको तयारीमा हुनुहन्छ ?’

‘अहिले म आफ्नो अत्मकथा लेख्दै छु ।’

पजेरो द्रुत गतिमा कुदिरहेको थियो । त्यही गतिमा मेरो मन पनि अस्तिर थियो । यस बीचमा राजेन्द्र घरि मतर्फ नजर डुलाउँथ्यो त घरि बाटो र गाडीको स्टेयरिङमा ।

‘यसभन्दा पहिले प्रकाशित भएको तपाइँको उपन्यास पढ्ने अवसर पाएको थिएँ । त्यो उपन्यास पढेर सकेकै दिनदेखि म तपाइँको खोजीमा थिएँ तर धेरै समयपछि तपाइँलाई भेट्ने अवसर जु¥यो जुन भेटले म आफुलाई भाग्यमानी सम्झन्छु ।’ यसपटक उनी केही गम्भीर भएर मतर्फ नहेरी बोलेका थिए । उनी बोल्दै जान्छन् ‘हुन त प्रेमदेखि कोही पनि टाढा रहन सक्दैन । आफ्नो उमेरको अवस्थासँगै कोही न कोहीप्रति झुकाव रहन्छ ।’ यसबीचमा उनी केही दार्शनिक बन्न पुग्छन् । म चुपचाप उनलाई सुनिरहन्छु । यस बीचमा उनले मलाई आफ्नो पारिवारिक अवस्था र दाम्पत्य जीवनका केही पाटाहरु पनि खोलिसकेका हुन्छन् । उनको कुरालाई मान्ने हो भने प्रेमकै कारण आफ्नो विवाहको लगनगाँठो कसिएको रहेछ । तर त्यो सम्बन्ध निकै छोटो समयमा गाँसिएको रहेछ । दुबैजना गैर सरकारी संस्थामा कार्यरत भएको र प्रायः सधैं भेट भैरहने हुँदा पनि यो सम्बन्ध गाँस्न सफल भएका रहेछन् । यसैबीचमा उनले मलाई मेरो विवाहको बारेमा पनि सोध्न पुग्छन्–‘तपाइँ यो उमेरसम्म पनि अविवाहित नै हुनुहुन्छ नि ? कतै यो सांसारिक मोहदेखि भाग्न खोज्नुभएको त होइन ? तपाइँले लेख्ने गर्नुभएको कृतिहरुजस्तै छ जस्तो लाग्छ मलाई तपाइँको आफ्नो वास्तविक जीवनकथा । आत्मीयताको सम्बन्धले के म तपाइँको जीवनका केही पाटाहरु जान्न सक्छु ?’ उनको त्यस किसिमको अकल्पनीय प्रश्नले मलाई अप्ठ्यारोमा पार्छ । तैपनि उनीतर्फ फर्केर बोल्न बाध्य हुन्छु–‘कृपया तपाइँले मेरो बारेमा जुन जिज्ञासा राख्नुभयो त्यसका लागि धन्यवाद ! म जुन अवस्थामा छु त्यसैमा खुशी छु । त्यसैले मेरो जीवनका वैयक्तिक पाटाहरु नसोध्नुहोला ।’ राजेन्द्र मतर्फ फर्केर बोल्छन्–‘मेरो चाहना यो होइन कि तपाइँको जीवनको व्यक्तिगत पाटाहरु थाहा पाउनु । थाहा पाउन खोज्नु मेरो नैतिकताले पनि दिँदैन । मलाई लाग्छ घनिष्ठ मित्रसँग आफ्ना केही कुराहरु बाँडेको खण्डमा मन हलुका हुन्छ ।’ उनको कुरा सुन्दा मलाई उनीप्रति अविश्वास गरेजस्तो लाग्छ । केही समयपश्चात् उनीतर्फ फर्केर म बोल्छु–‘भावना भन्ने कुरा यस्तो हो जति कोट्यायो उति बढ्छ । त्यसैले म जानीजानी आफ्नो भावना शेयर गर्ने निहुँमा बढाएर ठूलो बनाउन चाहन्न । किनकी एक दिन त्यही भावनामा दरार आउँदा मन जलाउने काम हुन्छ ।’ मेरो कुराले उनको चित्त बुझ्छ या बुझ्दैन म केही बुझ्न सक्दिन ।

‘भैगो, म चाहन्न तपाइँको व्यथाहरु बढाएर तपाइँको मनमा नुनचुक छर्किउँ। एउटा पाठकको हैसियतले म तपाइँको सम्मान गर्छु । तर आफ्नो प्रिय लेखकको बारेमा जान्न पाउनु म आफ्नो अधिकार ठान्छु ।’

उनी चुपचाप गाडी हुइँक्याइरहन्छन् । म चुपचाप यात्रा गरिरहन्छु । घुम्तीहरुमा र टाढा सवारी साधनहरु देख्दा उनी हर्न बजाउँछन् र त्यही हर्नको कारण शून्य वातावरण खल्बलिन्छ । म उनलाई नियाल्न थाल्छु । धेरै समय बितिसक्दा पनि उनी मतर्फ नजर लगाउँदैनन् । उनी मबाट धेरै निराश बन्न पुगेको म अनुमान गर्छु । तर पनि उनलाई केही भन्न सक्दिन । केही समयको यात्रापछि राजेन्द्र एउटा घरको आडमा लगेर गाडी पार्किङ गर्छन् । म झ्यालबाट बाहिर चियाउँछु । मेरा अगाडि एउटा चारतले बिल्डिङ देखापर्छ । त्यतिबेलासम्म पानी पर्न बन्द भैसकेको थियो । राजेन्द्र गाडीबाट ओर्लंदै गर्दा अगाडिको बिल्डिङ देखाउँदै भन्छन्–‘यही हो मेरो घर ।’ गाडीबाट उत्रेर उनको नजिक पुगी उनको हात समाउँदै म बोल्छु–‘राजेन्द्रजी तपाइँलाई ँएउटा सानो अनुरोध छ ।’

‘कस्तो अनुरोध ? उनी मतर्फ फर्केर प्रश्न गर्छन् ।’

‘म को हुँ भन्ने बारेमा तपाइँ आफ्नो घर परिवारसँग केही बताउनु हुनेछैन । बताउनु हुनेछ त केवल एउटा मित्र ।’

‘तपाइँको जो इच्छा’ भन्दै उनी घरभित्र प्रवेश गर्छन् । म पनि उनको पछि लाग्छु ।

बेलुकी खाना खाएर सुत्नको लागि हामी दुबै जना कोठातर्फ प्रस्थान गर्छौं । त्यस दिन उनकी श्रीमती घरमा नभएको कारण उनीसँग हेलमेल गर्न मलाई धेरै सजिलो हुन्छ । दुबै जना कोठाभित्र गएर बस्छौं । कोठा निकै सजिसजाउ थियो । कोठाको दायाँपट्टिको भित्तामा राजेन्द्रका दुई दम्पतिको तस्वीर ठूलो फ्रेमभित्र सजाइएको थियो । जुन कोठाको आकर्षणको बिन्दु पनि थियो । उक्त तस्वीरमा गुलावी ओठमा मन्द मुस्कुराइरहेकी श्रीमतीले आफ्नो दाहिने हात लगेर राजेन्द्रको काँधमा अड्याएकी थिइन् भने राजेन्द्र श्रीमतीको सम्पूर्ण भाग सम्हाल्न तयार जस्तो देखिन्थे । तस्वीर हेर्दा लाग्थ्यो ती युगल जोडी सातौं जुनीसम्म सँगै जिउन तयार छन् । उक्त तस्वीर देख्दा मेरो मन अस्थिर हुन्छ । तत्काल तस्वीरबाट आँखा हटाउँछु । लाग्छ, त्यो घर र शहरबाट टाढा गई आनन्दको स्वास फेरुँ । त्यति नै बेला राजेन्द्रले उक्त तस्वीर देखाउँदै बोल्छन्–‘यिनी मेरी श्रीमती ।’

‘अँ, मलाई थाहा छ ।’ राजेन्द्र बोल्दै गर्दा हतारिएर बीचैमा म बोल्छु ।

‘कसरी थाहा पाउनुभयो ?’ राजेन्द्र मेरो अनुहार ताकेरै प्रश्न गर्छन् ।

‘कोठाभित्र प्रवेश गर्नासाथ पहिले मैले यो तस्वीर देखें । यति ठूलो तस्वीरमा सँगै बसेपछि वहाँ तपाइँको परिवार नै हुनुपर्छ भन्ने मैले अनुमान लगाइसकेको थिएँ ।’ मेरो कुरा सुनेर उनी लामो हाँसो हाँस्छन् र बोल्छन्–‘अनुमान लगाउन त तपाइँ निकै अगाडि हुनुहुँदो रहेछ ।’

रात छिप्पिँदै थियो । चिसो हावाको कारण जाडो पनि बढ्दै थियो । जाडोसँगै मेरो मनभित्र कौतुहल बढ्दै थियो, साथमा केही त्रास पनि । आज म जीवनमा कहिल्यै पनि नसोचेको ठाउँमा थिएँ । म उनको घरमा थिएँ । म उनको अतिथि थिएँ र अतिथिको रुपमा सम्मानित थिएँ । आफ्नो अतिथिको सत्कार गर्नु आफ्नो कर्तव्य ठान्थे राजेन्द्र । त्यहाँ कुनै अभाव थिएन तैपनि मन भारी भैरहेको थियो । असजिलोको अनुभव भैरहेको थियो । म त्यस रातभर निदाउने पक्षमा थिइन । किनकी केही कुराले मेरो मन थिचिरहेको थियो । त्यसैले म भोलिको मिरमिरे बिहानीको कल्पनामा थिएँ । मिरमिरे बिहानीसँगै त्यो र त्यो ठाउँ छोड्ने योजनामा थिएँ । निकै समयदेखि राजेन्द्र मेरो अनुहार पढिरहेको मैले अनुभव गर्छु । त्यसैबेला राजेन्द्र हाइ काढ्दै आफ्नो शरीर तनक्क तान्छन् र झ्यालको पर्दा हटाई बाहिर हेर्छन् । झ्यालबाट छिरेको चिसो बतास मसम्म आइपुग्छ । पुनः पर्दा लगाउँछन् राजेन्द्र र मतर्फ फर्केर बोल्छन्–‘यो चिसो पनि कति साह्रो बढेको ।’ उनी मौसमलाई दोष लगाउँदै मतर्फ हेर्छन् । मैले पनि टाउको हल्लाएर उनको कुरामा सहमति जनाउँछु । राजेन्द्र फेरि बोल्छन् –‘यो चिसोले आज त्यसै छोड्नेवाला छैन । बरु चिसो हटाउने कुनै उपाय गरौं कि ?’ उनको कुरा मैले बुझिसकेको थिएँ । उनी आज मसँगै बसेर केही पिउन चाहन्छन् । म चुपचाप उनलाई हेरिरहन्छु । उनी अगाडि बोल्छन्–‘आज तपाइँको साथ पाएर मलाई केही रमाइलो गर्न मन लागेको छ । के तपाइँ मलाई साथ दिन सक्नुहुन्छ ?’

म शुष्क हाँसो हाँसिदिन्छु । मेरो त्यही हाँसोलाई उनी स्वीकृतिका रुपमा लिँदै त्यही कोठमा पिउने कार्यक्रमको चाँजो मिलाउन थाल्छन् । एकैछिनमा सबै सामग्रीहरु जुट्छ । ‘आउनोस्, आजको हाम्रो भेटलाई रङ्गीन बनाऔं ।’ उनको प्रस्तावपछि विस्तारै उनको नजिक सर्दै म बोल्छु–‘मलाई सफ्ट ड्रिङ्कबाहेक अरु पिउने बानी छैन ।’ गिलासहरु ह्विस्कीले भरिन थाल्छन् र एकैछिनमा गिलासहरु रित्ता हुन्छन् । त्यसपछि गिलासहरु भरिने र रित्तिने क्रम जारी रहन्छ । ‘भो, यसभन्दा बढी नलिउँ क्यारे ।’ म अलि सतर्क हुन खोज्दै बोल्छु । उनी केही समयसम्म मलाई हेरिरहन्छन् र बीचैमा लामो हाँसो हाँस्दै बोल्छन्–‘लौ तपाइँलाई त भेटिसकेछ । जाबो ह्विस्कीले त तपाइँको शरीर गाल्छ भने अरुको त कुरै नलिउँ ।’

उनले यसो भनिरहँदा मैले भने उनलाई नसाले छोइसकेको अनुभव गर्छु । उनी पहिलेभन्दा झन् खुलेर बोल्न थालेका थिए । तपाइँ–तपाइँको सम्बन्ध तिमीमा परिणत भएको थियो । यसैक्रममा एकपटक उनले मलाई भनेका हुन्छन्–‘कवि मित्र मलाई भूपी शेरचनको कविताको एउटा पंक्ति अझै पनि याद छ । सुनाउँ कि ?’

म स्वीकृतिसूचक टाउको हल्लाउँछु । उनी अघि बढ्छन्–

‘मैले पिएको रिस गर्नेहरु पिएर त हेर पिउन कति गाह्रो हुन्छ…….।’

म पिउन छोडेर उनलाई हेरिरहन्छु । उनी फेरि बोल्छन्–‘कविमित्र तिमीलाई के थाहा भूपी शेरचन पिएरै कवि भएका थिए रे !’ म पनि आफुले थाहा पाएझैं गरी उनको कुरामा सहमतिको टाउको हल्लाइदिन्छु । भरि गिलास रित्ताउँदै र फेरि भर्दै उनी बोल्छन्–‘कविमित्र मैले एउटा कुरा पत्ता लगाएको छु ।’ यति भनेर उनी मेरो मुख ताकेर हेर्न थाल्छन् । उनको त्यस हेराइले मभित्र छटपटी चल्छ । उनले त्यस्तो के कुरा थाहा पाए जुन कुरा भन्नु भन्दा अगाडि यसरी मलाई हेर्नुपर्ने ? म भित्रभित्रै तर्सिन्छु पनि ।

‘भनु कविमित्र ?’ उनले मबाट सहमति खोज्छन् । मैले सहमतिमा टाउको हल्लाउँदै गर्दा मेरो अनुहार भने रातो भएर आउँछ । मेरो शरीरबाट ह्विस्कीको नसा उत्रिसकेको मलाई भान हुन्छ । उनी अगाडि बोल्छन्–‘यो रक्सी भन्ने चिज पनि गजबको रहेछ । भोजन नरुच्दा त औषधिकै काम गर्ने ।’ उनी बोल्दै गर्दा अकस्मात् मेरो मुखबाट लामो हाँसो फुस्किन्छ । धेरै समयसम्म एक्लै हाँसिरहन्छु । किनकी मेरो हाँसो उनले पत्ता लगाएको रक्सीको विषयमा थियो । थ्याङ्क्स गड भन्दै म उनलाई हेर्न पुग्छु । उनी त एकोहोरो भई मलाई नै हेरिरहेका पो रहेछन् । म पनि हाँस्न छोडेर उनलाई नै हेर्न थाल्छु । उनी बिस्तारै बोल्छन्–‘मित्रलाई बल्ल पो लागेछ ।’ यसपटक भने दुबैजना एकैपटक हास्छौं ।

अब भने हामी दुबैजना निर्धक्कसाथ खुलेर पिउन र मनका कुराहरु बाँड्न थालिसकेका हुन्छौं । हामीबीच लेखक र पाठकको नाता नभई वर्षांैदेखि परिचित घनिष्ठ मित्रको रुपमा थियो । कतिखेर उनले चुरोट सल्काइसकेछन् मैले पत्तै पाइन । एकैपटक मुखमा लगेर सर्को तान्दा पो मैले देखें र चुरोट माग्न हात बढाएँ । आफुले तान्दै गरेको चुरोट मलाई दिएर उनी अर्को चुरोट सल्काउन थाल्छन् । म चुरोटको सर्को तान्दै बोल्छु– ‘राजेन्द्र जी आज म निकै खुशी यस मानेमा छु कि जुन तपार्इं पत्ता लगाउन सक्नुहु्न्न ।’

‘ल तपाईं पनि…………..किन पत्ता लगाउन नसक्नु मैले ? आज हाम्रो अचानक भेट भयो । हामी सँगै घरसम्म आयौं अनि यी अहिले यो कार्यक्रम चल्दै छ ।’ यति भनेर उनी चुरोटको सर्को तान्दै धुवाँ उडाउँछन् ।

‘होइन, होइन तपाईंले कुरा पत्ता लगाउन सक्नुभएन । पख्नुस् म बताउँछु ।’ यति भनेर म पनि चुरोटको सर्को तानेर धुवाँ उडाउँदै पुनः बोल्न थाल्छु– ‘हो आजको हाम्रो भेट र यस बसाइले म अत्यन्त खुशी छु तर त्यसभन्दा बढी खुशी म यस मानेमा छु कि आज तपाईंको घरमा तपाईंको श्रीमती नहुनु पनि हो ।’

‘किन, केभो र कविमित्र तपाईंलाई ? मेरी श्रीमती घरमा नहुँदा तपाई यसरी खुशी हुनुपर्ने ?’ उनी मलाई हेरेर बोल्छन् ।

‘ल तपार्इं पनि ! तपाईकी श्रीमती यस समय यहाँ भएको भए हामी यसरी जम्ने थिएनांै नि, होइन र ?’ उनकी श्रीमती घरमा नहुँदा खुशी हुनुको रहस्य यसरी खोल्छु म । मेरो कुरामा उनले पनि सहमतिको टाउको हल्लाउँछन् र भित्तामा फ्रेमभित्र गुलाबी ओठ र मधुर मुस्कानमा आफुसँगै मुस्कुराइरहेकी आफ्नी श्रीमतीको तस्वीर नियाल्न थाल्छन् । उनीसँगै मैले पनि उक्त तस्वीर हेर्छु । अनेक कुराहरु मनमा खेल्न आइपुग्छन्, मन रोमाञ्चित भएर आउँछ ।

‘होइन तपाई त तस्वीर हेरेर हाँस्न पो थाल्नु भो ?’

अचानक राजेन्द्रको आवाजले झस्किँदै तस्वीरबाट आँखा हटाउन पुग्छु म । उनी मलाई हेर्दै पुनः बोल्छन्– ‘ल भन्नुस् तपाईंको जीवनमा यसरी युगल जोडीको तस्वीर भित्तामा सजाउने दिन कहिले आउँछ ?’

म मात्र उनलाई हेरिरहन्छु, केही बोल्न सक्दिन ।

‘भन्नुस् न भन्नुस् कहिले आउँछ त्यो दिन ?’

‘नाईं, अब कहिल्यै पनि आउँदैन ।’

‘मतलब ?’ उनी छोटो प्रश्नमा उत्तर खोज्छन् ।

‘यो जुनीमा म उनीसँगको तस्वीर यसरी फ्रेममा सजाउन सक्दिन तर मनको फ्रेमभित्र भने अहिले पनि सजाएको छु’ चुरोटको सर्को तान्दै म बोल्न पुग्छु ।

‘के त्यसको कारण म जान्न सक्छु ?’ उनी मलाई हेरेरै प्रश्न गर्छन् ।

‘यिनको त बिहे भैसक्यो ।’

‘ओ गड…….’ भन्दै मेरो कुरापछि उनी केही भावुक बन्छन् र गिलास उठाएर पिउन थाल्छन् । उनीसँगै म पनि गिलास उठाइदिन्छु । केही समयसम्म हामी मौन रहन्छौं । धेरैसमयसम्म म उनलाई हेर्न सक्दिन ।

‘केही छैन, उनी नभएर केभो र ? अरुले पनि साथ दिन्छन् नि त तपाइँलाई ।’ उनी मलाई सान्त्वना दिलाउने प्रयास गर्छन् । म शिर उठाएर उनलाई हेर्छु । उनी मलाई नै हेरिरहेका थिए । पुनः उनी बोल्छन्– ‘मेरो कुराले तपाईंलाई चोट पुगेको भए माफी चाहन्छु । अब छोडेर जानेको बाटो हेरेर पनि त बस्नु भएन नि विगत भूलेर वर्तमान बनाउनतर्फ लाग्नुपर्छ ।’ उनी यसबीचमा केके बोलिरहन्छन् तर म भने गिलास रित्याउनतर्फ लाग्छु । यसबीचमा उनले मलाई एकपटक भनेका पनि हु्न्छन्– ‘के म जान्न सक्छु जीवनको यस यात्रामा तपाईंलाई एक्लै छाडेर आफु मात्रै रमाउन सक्ने मान्छे कोहो भनेर ?’

‘हो सक्नुहुन्छ तर तपार्इं पत्याउनुहुन्न ।’ धेरै समयदेखि चुपचाप म केही चर्को र केही आक्रोशको भावमा बोल्छु ।

‘किन नपत्याउनु, म पत्याउँछु तर तपाईंले मलाई विश्वास गरी बताउनुभयो भने मात्र’ उनी म भित्रको रहस्य यसैगरी खोतलिरहन्छन् । म आफुलाई खोल्दै जान्छु । ‘तर तपाईंले एउटा बाचा गर्नुपर्छ ।’ म उनलाई बाचाभित्र पार्न चाहन्छु ।

‘कस्तो बाचा ? उनी प्रश्न गर्छन् ।’

‘मैले भनेका कुराहरु उनलाई भन्नुहुने छैन र मेरो बारेमा उनलाई केही बताउनुहुने छैन ।’

‘कसलाई केही बताउनेछैन मैले ?’ उनले आफुले बाचा बाँध्नुको अर्थ र व्यक्ति खोज्छन् ।

‘हो म भन्ने नै छु तर पहिलो बाचा बाँध्नुपर्ने हुन्छ । मञ्जुर……….?’

‘मञ्जुर’ उनी मतर्फ आफ्नो हात बढाउँदै बोल्छन् । मपनि उनको हातमाथि आफ्नो हात राख्दै बोल्छु– ‘तपाईंले आफ्नो श्रीमतीलाई मेरो बारेमा केही बताउनुहुनेछैन, केही सोध्नुहुनेछैन ।’ अकस्मात् उनको मुखबाट हाँसो गुञ्जिन्छ । मेरो हातबाट आफ्नो हात छुटाएर बाँकी रहेको गिलास रित्याउँदै बोल्छन्– ‘अलि जेन्टल बन्नुस न यार ! तपाईंका बारेमा मैले मेरी श्रीमतीसँग भन्नैपर्ने कारण नै के छ र ? लौ तपाईं भन्नुहुन्छ भने म त्यो पनि मान्न तयार छु कि कुनै दिन कुनै समय म मेरी श्रीमतीसँग तपाईंको बारेमा बोल्ने छैन ।’ उनले यसो भनिरहँदा म भने भित्तामा फ्रेमभित्र सजिएको उनकै श्रीमतीको तस्वीरलाई नियाल्न पुग्छु । केही समयसम्म उक्त तस्वीर हेरिरहन्छु र राजेन्द्रतर्फ फर्किन्छु । उनी पनि मलाई नै हेरिरहेका थिए । बोल्छन्– ‘तपार्इं पटकपटक त्यो तस्वीर हेर्दै हुनुहुन्छ । म देखिरहेछु तपाईं यस कोठाभित्र प्रवेश गरेपश्चात् हरेक समय त्यही तस्वीर हेरिरहनुभएको छ । त्यस तस्वीरसँग तपाईंको के सम्बन्ध छ ? मलाई नढाँटी बताउनुस् ।’ यति भनेर राजेन्द्र चुरोटको सर्को तानेर मेरो जवाफको प्रतीक्षामा हुन्छन् । अब मैले उनीसँग सत्य कुरा लुकाउने अवस्था नै रहँदैन । ‘हो राजेन्द्र जी, यस तस्वीरसँग नभएर तस्वीरको व्यक्तिसँग एउटा सिङ्गो जीवनको सम्बन्ध थियो तर अहिले आएर त्यो सम्बन्ध भावनामा सीमित भएको छ । कल्पनामा सीमित भएको छ ।’ त्यतिबेला हातमा रहेको चुरोटको सर्को तानेर धुँवा उडाउँदै पुनः बोल्छु–‘तपाईंले मसँग पटकपटक जसका बारेमा जान्न चाहनुभयो त्यो व्यक्ति पनि त्यही हो जसको आजसम्म पनि म पुजारी बनेको छु ।’

‘होइन, तपार्इं के भन्दै हुनुहुन्छ ?’ म बोल्दै गर्दा बीचैमा उनी मलाई प्रश्न गर्छन् ।

‘हो राजेन्द्र जी आज म सत्य भन्दै छु । मलाई यो अवस्थासम्म ल्याइपु¥याउने व्यक्ति तपार्इंकी श्रीमती हुन् । हो, बारम्बार तपाईंले सोध्ने गरेकी मेरी प्रेमिका तपार्इं कि स्वास्नी हुन् ।’ यस बीचमा म निकैबेर बोलिरहें र उनी श्रोता बनेर सुनिरहे । त्यसपछि उनको मुखबाट कुनै शब्द झरेन अथवा उनी केही बोलेनन् । त्यतिबेलासम्म हाम्रो अगाडिका सबै गिलासहरु पनि रित्तिसकेका थिए । बाँकी हातमा एउटा चुरोटको खिल्ली सल्किरहेको थियो । म विस्तारै त्यहाँबाट उठेर ढोकानिर पुगी फर्केर उनलाई हेर्छु । उनी भित्ताको फ्रेमभित्र सजिएको आफ्नो युगल जोडीको तस्वीर एकोहोरो भई हेरिरहेका थिए । अब मलाई उनीसँग त्यहाँ बस्न मन लाग्दैन । विस्तारै ढोकाबाट बाहिर आफ्नो पाइला बढाउँछु । बाहिर चिसो र अँध्यारो बढ्दै थियो …………………..

(स्रोत : Sahitya Batika)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.