कथा : टी ब्रेक

~विनोदविक्रम केसी~Binod Bikram KC

पाँच दिनकी सुत्केरी फूटपाथमा भीख माग्न बसेकी छे। एकदमै ‘अन्डरवेट’ लाग्ने नवजात शिशु घरी आमाको स्तन चुस्छ, घरी अत्तालिएर रुन्छ। उसको रुवाइ शहरका अनगिन्ती होहल्लामा पुरिन्छ यत्तिकै। शहरको व्यक्तित्वको अनिवार्य पक्ष के हो? निष्करुणता शायद।नेपाल टेलिकमको भित्तामा अडेस लाएर बसेकी छे सुत्केरी।

अनुहार चिल्लो छ। सुत्केरी हुँदा नेपाली महिलाले पाउने चिल्लोचाप्लो स्याहार भने पाएकी होइन उसले। बस्, सुत्केरी भएकीले यत्तिकै चिल्लो छ उसको अनुहार।

हामी पाँच जनाको मित्रमण्डली टी ब्रेक (चिया छुट्टी) मा निक्लेको छ।

‘कतिको भो यो बच्चा?’ एकजना सोध्छ र पाँच रुपैयाँको नोट रुमालमा हाल्दिन्छ।

‘पाँच दिनको’, महिला भन्छे। उसका आँखा रित्ता, रित्ता छन्। दुःखको चरमताले मान्छेलाई शायद यस्ता भावहीन, स्वप्नहीन आँखा दिलाउँछन्।

‘तिम्रो श्रीमान् के गर्नुहुन्छ बैनी?’ मित्र पाँच रुपैयाँको आफ्नो उदारताको असुली गर्न खोज्छ। प्रश्न सोध्नु दाताको नैसर्गिक अधिकार हो। र, उत्तर दिनु दानपात्रको दायित्व हो।

‘के गर्छ भन्नु खै?’ ऊ र्झ्का मान्छे।

हामी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को क्यान्टिनमा छौं। चौरमा ठूलो छातामुन्तिरको टेबुलमा बसेका छौं हामी। चिया आइपुगेको छ। यहाँको क्यान्टिनमा चुरोट किन्न पाइँदैन। एक बट्टा सूर्य चुरोट बोकेरै आएका छौं हामी।

अब शुरू हुन्छ– चियाको चुस्की, चुरोटको सर्काे र अन्त्यहीन गफ। व्यर्थका उत्तेजना, व्यर्थका बहस।

तय छ– आजको टी ब्रेक त्यही नवजात शिशुमा केन्द्रित हुनेछ, समर्पित हुनेछ।

हाम्रो टी ब्रेकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिला र विषयमा धुवाँधार गफ, विवाद, बहस, विमर्श हुन्छन्। हरेक निरर्थकताले टी ब्रेकमा सार्थक चोला धारण गर्छ। हामी बकबक गर्छाैं। र, कहिल्यै थाक्दैनौं। गिलासहरू रित्तिन्छन्, कुरा रित्तिंदैनन्। चुरोटहरू छोट्टिएर ठुटा बन्छन्, गफको लम्बाइ भने झ्न्–झ्न् तन्किन्छ।

हाम्रो गफको उलिन्काठमा जे पनि चढ्छ, जो पनि चढ्छ। र, ओर्लिन्छ पनि। चढ्ने र ओर्लने क्रम चलिरहन्छ। हामी उलिन्काठ बोक्छौं, बोकिरहन्छौं। मानौं, अभिशप्त छौं।

सुनकोशीको पहिरो र गाजामा इजरायली हमला। प्रधानमन्त्रीको नाजुक स्वास्थ्य र ज्यानमारा इबोला भाइरस। नेपाली फूटबल टीमको लज्जास्पद हार र टेनिस सुन्दरी सेरेना विलियम्सका शानदार तिघ्रा। मिस नेपालको सेक्स अपील र भारतमा फैलिरहेको बलात्कार प्रकोप। सरकारी अस्पतालको बिजोग र ओबामाको हेल्थ केयर पोलिसी। लम्फू विधायकहरू र कङ्गोको संविधान। एमालेमा हाबी भएको डनवाद र पतनशील विश्व कम्युनिस्ट आन्दोलन। विनोद चौधरीको फोर्ब्स धनाढ्य सूचीमा आरोहण र विश्वका ८५ जना धनीसँग साढे तीन अर्ब गरीबसँग भएजति सम्पत्ति भएको अक्सफाम को ट्र्याजिक प्रतिवेदन। विमल निभाको नयाँ कविता ‘खुत्रुके’ र ग्लोबलाइजेसनका घातक परिणामहरू… गफको यो अन्त्यहीन र मायावी फैलावट!

तर, आजको हाम्रो टी ब्रेकको केन्द्रमा त्यही शिशु छ।

सुत्केरीलाई पाँच रुपैयाँ दिने मित्र शिशुको वर्तमान र भविष्यबारे चिन्तित छ।

उसको लगानी परेको छ। लगानी गर्नेले चिन्ता गर्ने हैसियत राख्छ।

‘साँच्ची, को होला त्यसको बाउ? कति गैरजिम्मेवार रैछ त? स्वास्नी र छोरालाई यसरी फूटपाथमा छोड्न सक्ने मुटु भएको त्यो झयासलाई भेटेदेखि त्यसको मुखैमा थुक्दिन्थें’, ऊ मुख बिगार्दै भन्छ। शिशुको लिंगबारे हामी प्रस्ट छैनौं। तै पनि, केही बोल्दैनौं। जसको पैसा परेको छ, उसैले तय गरोस्।

‘त्यो केटीको प्रेमीले भुँडी बोकाएर भागेको पनि त हुन सक्छ’, एउटा बोल्छ।

‘बलात्कारको उपज पनि त हुन सक्छ, त्यो शिशु’, अर्को बोल्छ।

‘त्यसको बाउ विदेश गएको पनि त हुन सक्छ’, फेरि अर्को बोल्छ।

म केही बोल्दिनँ। टाउको दुखेको छ। सुन्छु मात्रै।

‘शहर असाध्यै निर्दयी हुन्छ, क्रूर हुन्छ। फूटपाथमा एउटा भोको शिशु रोइरहेको हुन्छ, तर मान्छेहरूलाई बाल मतलब छैन।’ पाँच रुपैयाँ दिने मित्र आजको टी ब्रेकमा हिरो हुने कसरतमा छ।

‘मान्छेहरू भनेर तैंले हाम्लाई भन्या हो? हाम्लाई निर्दयी भन्न खोज्या हो?’ एउटा पड्किन्छ।

‘होइन, होइन’, दाता मित्र भन्छ, ‘हाम्रो समूहको तर्फबाट त मैले हाम्रो सामूहिक चरित्र देखाइहालें नि। मैले त सिंगो शहरको कुरा गरेको?’

‘पाँच रुपैयाँमा मानवताको सम्पूर्ण अनुष्ठान सम्पन्न हुँदैन, साथी’, अघि पड्किने भन्छ।

दाता मित्र (सजिलोका लागि उसलाई ‘दाताश्री’ भनौं) चुरोट सल्काउँछ। शायद यो बसाइमा उसको यो तेस्रो चुरोट हो।

‘शहर स्वभावैले पीडक हुन्छ’, दाताश्री धुवाँसँगै शब्द पनि फुरुरु उडाउँछ, ‘एसएलसी पास गरेपछि म काठमाडौं आएँ। म जस्ता लाखौं आउँछन्। कलंकीमा र्झ्दा मसँग एक सय साठी रुपैयाँ र फुपूको छोराको डेराको ठेगाना थियो। अँ, केही सपना पनि थिए।

केही के थुप्रै थिए। एक वर्षमै मैले के थाहा पाएँ भने म त आफ्ना सपनाहरूको हत्या गरिदिने जल्लादको खोजीमा पो यो शहर पसेको रहेछु।’ दाताश्री बोल्दाबोल्दै करीब–करीब भावुक हुन्छ। उसको स्मृतिको जंगलमा पसेर हराउला भन्ने पीर हामीलाई! कसैको स्मृतिमा संलग्न हुनु दिक्कलाग्दो हुन्छ। तर, अचम्म छ! देशमा आत्मकथाको बजार अकस्मात् गर्मिएको छ। जर्नेलदेखि दर्ज्यानी चिह्न नखुलेकाहरूका आत्मकथा रेकर्डतोड बिक्री भइरहेका छन्।

दाताश्री पुनः नवजात शिशुमा आइपुग्छ।

‘म त त्यसको अनुहारमा एउटा भयंकर विद्रोही देख्छु’ ऊ भन्छ, ‘भोलि त्यसले हरेक चिजसँग विद्रोह गर्नेछ। समाजसँग, शहरसँग, देशसँग र सिंगो पृथ्वीसँग। अहिले नै त्यसका आँखा कति आक्रोशित छन्! आगोका लप्काजस्ता।’

उसले शिशुका आँखामा त्यति गढेर हेर्न कहाँ भ्याएको थियो र? तर, ऊ जे बोलिरहेको छ, त्यो पाँच रुपैयाँको तुजुक हो। हामी जान्दछौं।

‘तिमीहरूले चाहिं के–के देख्यौ हँ त्यसको अनुहारमा?’ दाताश्री उत्सुक छ। दाताहरू जहिले पनि उत्सुक हुन्छन्।

‘मैले त त्यसको अनुहारमा एउटा खुँखार गुन्डा देखें’, एउटा भन्छ, ‘चरी, चक्रे मिलन, दीपक मनाङे त के हुन् र? तीभन्दा दश गुना खुँखार हुनेछ यो। फूटपाथको कठोरतासँगै हुर्किनेका हातमा अन्ततः पर्ने भनेका छुरी र पिस्तोल न हुन्।’

‘मैले चाहिं त्यसको अनुहारमा कार्ल मार्क्स देखें’, अर्को भन्छ, ‘त्यसले भोकाहरूको दमदार घोषणापत्र लेख्नेछ।’

‘अनि मैले बुद्ध’, फेरि अर्को भन्छ।

नवजात शिशुको अनुहारमा नजाने को–को देखिए। हिटलर, लेनिन, दस्तोएब्स्की, भूपि, चे–ग्वेभारा, बिल गेट्स, चार्ल्स शोभराज… को–को, को–को!

‘तैंले चाहिं त्यसको अनुहारमा के देखिस्?’ दाताश्री अब मलाई द्रष्टाको भूमिका दिन चाहन्छ। तर, मैले त्यो नवजात शिशुको अनुहारमा केही पनि देखेको थिइनँ।

‘मैले त केही पनि देखिनँ’, म सत्य बोल्छु।

‘तँ चिजहरूलाई हेर्नै जान्दैनस्’, दाताश्री निष्कर्ष निकाल्छ, ‘तँ धेरै थोक जान्दैनस्।’

मलाई थाहा छ– म धेरै थोक जान्दिनँ।

तर, यति चाहिं जान्दछु कि त्यो नवजात शिशु हाम्रो दिल्लगीको विषय हुनुहुँदैन।

टी ब्रेक समाप्त हुन्छ। हामी अफिस फर्किसकेका छौं। आ–आफ्ना काम, धन्दामा जुटिसकेका छौं।

नवजात शिशु फूटपाथमै होला।

हिमालखबर, बिहीबार , ३१ असार २०७२

(स्रोत : Himal Khabar )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.