श्रीमान सभासद ज्युहरु ,
तपाइहरुको पार्टीगत अभिबादन त म उती सारो जान्दिन के के भन्नु हुन्छ,शायद जयनेपाल,लालसलाम आदि इत्यादी।तर म एक नेपाली हुनुको नाताले मन लागि नलागी पनि नमस्कार भन्न चाहन्छु सबैजनालाई समग्रमा।
म स्वस्थ छु तर आरम छैन तपाइहरु जस्तै बन्न सक्ने हो भने दुख्ने कुनै बिराम छैन् ,छतीभरी देश दुख्छ के गरु बर्शौ भयो खोजेको निदान छैन तर लाचर जिउदै छु अनी तपाइहरु आरम हुनु हुन्छ होला सायद।”बेरोजगारी”बिरामीको लक्षण देखा परेको थियो त्यो पनि तीन महिना सम्मको लागि ओखती पाइहाल्नु भएछ खुशी लाग्यो यो खबर सुन्न पाउदा अनी साथै श्री पशुपतिनाथसग तपाइहरुको यस्तै शुभ समाचार सुन्नपाऊँ भनि कामना गर्दछु यहि रेगिस्तानबाट ।
बिशेष लेखनिय र उल्लेखनिय खबर त केनै छ र जुन तपाइहरुले सुन्न बाँकी होस् र देख्न बाँकी होस।तथापी देश छोडेर हिंडेको आज झन्डै तीन साल बितेछ त्यो बीचमा तपाइहरुलाई सम्झिएर पनि आरम बिरामको खबर सम्म पनि पठाउन सकिन आफ्नै बाध्यताहरु थिए त्यसैले आज अतिनै न्यास्रो लागेर एउटै पत्रमा भए पनि सबैजनालाई सम्झिने कोशिस गरेको छु।हुनत पहिले मैले चिट्ठी खबरनै गरेको भए पनि हजुरहरु सग पढ्ने समय पनि त हुन्न थियो होलानी हैन र?ती लाखौं जनताहरुले जिम्मा लगाएको संबिधान लेख्ने कामलाई त कुनामा थुपारेर सहमती खोज्नमा ब्यस्त हुनु भएको तपाइहरुलाई मेरो चिट्ठी त झन गौण हुन्थ्यो होला ।
शायद भुल्नु पनि भयो होला मलाइ तपाइहरुले धेरै पो भएछ त तपाइहरुले नयाँ संबिधान दिन्छौ भन्दै भासण गर्दै हिंडेको अनी म कहीले कुन पार्टीको त कहीले कुन पार्टीको झोला बोकेर पछि लाग्दै हिंडेको । मैलेत भूली सकेछु हिजो अस्ति भर्खरसम्म संबिधान हुँदा हामि कानुन भित्र बाधिएर बसेको दिनहरु,अहिले त गाऊघर बस्ती अनी सिंगो देशमानै कानुन छैन कति स्वतन्त्र छौ हामि न कुनै बाधा ब्यबधान छ,न कुनै रोकथोक जे गरे पनि हुन्छ धन्यबाद् तपाइहरुलाई अनी आभारी छौ त्यति ठुलो स्वतन्त्रता दिनु भएकोमा । खै कुन राजाको पालामा हो प्रजाहरुलाई मनमा लागेका कुराहरु बोल्ने मौका प्राप्त होस् भनेर एकदिनको लागि “गाईजात्राको” ब्यबस्था गरिएको थियो रे अनी त्यसैलाइ प्रजाहरुले मनोरन्जनकानीम्ति दुई दिन मनाउन थाले बिस्तारै सात दिन अर्थात “गाईजात्रे सप्ताह” मनाउन थालेका थिए तर जब तपाइहरुले ठाउँ पाउनु भयो त्यसलाई लतक्कै बढाएर तीन बर्ष पो बनाउनु भयो अझ त्यसलेपनि नपुगेर तीन महिना अरु थप्ने योजना अनुरुप थप्नु पनि भयो वास्तबमै हामि धेरै भाग्यमानी रहेछौ लगभाग चालिस महिना गाईजात्रा मनाउन पायौ,त्यस्मा पनि अती खुशी छु शायद सबै नेपालीहरु खुशी छन् र त्यहि खुसियालीमा दिपावली मनाउने रहर पालेर बसेका होलान बरु हजुरहरुलाई अप्ठेरो लाग्दैन भने एकदिनको लागि खुसियाली साथै दिपावली मनाउनको निमित्त भनेर झ्याली पिटाइ दिनुस् ,देशमा समाचार बोक्ने परेवा र कागहरु सकिए पनि प्रसस्त एफ एम रेडियो र टी भी च्यानल हरुत खुलेकै छन् क्यारे ।
ए म त मेरो आफ्नो औकात भन्दा बाहिर गएर तपाइहरुलाई सुझाब पो दिन थालेछु , एउटा जाबो जनतासग तपाइहरुलाई सुझाब दिने अधिकारनै कहाँ हुन्छ र?उनीहरु त केबल आफ्नो बहुमुल्य मतलाई दान गर्ने मात्र हुन,अनी तपाइहरु त्यहि मत बेचेर सत्ता किन्नु हुन्छ धेरै माथी पुग्नु हुन्छ तर त्यो आफूसग भएको मत पनि दिएर पठाउने जनताहरु कुकुरले कहीले कवाफ पकाएर खान बोलाउछ र पेटभरी खाएर आनन्दले निदाउला भनेर हातमा खाली थाल बोकेर कुरी रहन्छन आस्वशनको छहारीमुनी,धन्य हौ हामी जनताहरु।
माननिय ज्युहरु,आज तपाइहरुलाई बिशेष गरेर निम्ता गर्नको नीम्ति चिट्ठी लेख्न लागि रहेकोछु। थाहा होलानै अङ्रेजी पात्रो अनुरुप “मे” महिनाको अन्त्य भई सकेको छ ।”जुन” महिना त तातो महिना त्यस्तै नेपालमा पनि तातो त बढी सकेको होला तर पनि हामि यो सिउडी फूल्ने बगरमा दिन बिताउनेहरु लाई त्यहा को तातो केही होईन।त्यहा जति तातो हुन्छ यो गर्मीको मौसममा अनी हाम्रा चेलीहरु त्यहि गर्मीको बहानाले थोरै कपडा लगाएर हिड्छन त्यति तातो त यहाँको जाडो महिना हुन्छ तर पनि यहाँका सबै मान्छेहरु बार्हैकाल उस्तै कपडा लगाएर हिड्छन।खै यिनीहरुलाई गर्मी हुदैन होला र? हुदो होनि तर बिचराहरु के गरुन् यहाँको कानुननै त्यस्तै छ।हाम्रो जस्तो भाग्य कहाँ छ र यिनीहरुको मनोखुशी गर्न पाउने ।अनी कानुन कार्यान्यन गर्ने हरुपनि तपाइहरु जस्ता छैनन “सुताहा”।माननिय ज्युहरु मैले यहाँ ठुला ठुला बगरहरु खाली देखेको छु।अनी नेपालीहरु पनि उत्तिकै छन सम्भवत युबाहरुको कुरा गर्ने हो भने त त्यहा भन्दा यहाँ नै बढी छौ तर बच्चा र ब्रिद्धहरुको पनि गणना हुने भएकोले त्यहिको जनघनत्व बढी होला तर राष्ट्रको दु:ख बुझ्ने र अभिभारा बोक्ने छाती चै यहि छन् त्यहा भन्दा बढी, फरक यति हो की बिबसताका कारण दौरा सुरुवाल लगाएर भाशण गर्न सक्दैनन पाउदैनन तपाईं हरुले जस्तो।त्यसैले यो तपाइहरुले थप्नु भएको गाईजात्राको समयावधीमा आउनुस् यहाँ अनी सबै सगै बसेर मनाउ यो गाईजात्रा त्यहा बसेर त त्यो काठमाडौंको चिसो मौसम अनी ए/सीको हावाले तपाइहरुको निन्द्रानै नहट्ने रैछ!शायद यो पचास भन्दा बडी तापक्रम भएको मरुभुमीमा केही दिन तौली धानलाई बिस्कुन लगाएझै उटहरुको बिस्टाको गन्ध र सिउडीको घोचाइसग बिनापानी तड्पिदा रास्ट्रियताको तिर्खा जाग्छकी ?
अर्काको कानुनभित्र कैदी जस्तो बनेर घरको दु:ख सम्झिदै जे भने पनि सहेर पसिना बगाउनु पर्दा आफ्नो देशमा बढिरहेको अराजकताले चिमोट्छ की?त्यो लिदी भरिएको सत्ता मोह र भत्ता भक्तिले गाजिएको खोपडीभित्र कानुन र संबिधानको अर्थ र महत्व घुस्छ की?त्यस पछि थाहा हुन्छ की परदेशमा रहेका नेपालीहरु किन दुख्छन यो देशको दु:ख भनेर।त्यसैले हे भात खाने गोरुहरु हो मेरो निम्तोलाई स्विकारेर यहाँ आउनु यहिको कठोर कानुनको जोतारोले कस्छौ तिमीहरुलाई, बाध्यताको हलुडमा गरिबीको हलो झुन्डाएर सिउडी घारीमा खस्रो बालुवा माथी पुच्छर निमोठेर जोत्छौ अनी बल्ल कायल भएर लेख्छौकी संबिधान। हैन भने त यो थप तीन महिनामा तिमीहरुले कुर्सीको भाग बन्डा पनि गरि सक्दैनौ अनी के लेख्छौ तीन बर्षमा नलेखेको संबिधान ।
जिउ भरी काडा उम्रिए होलान् यो रेगिस्तानको दु:खको बख्यान सुनेर।तिमीहरुले यहाँ आउने त सम्झिने पनि आट गर्न सक्दैनौ किनकी जति जोतिनु त हामि जोतिएर पालेकै छौनी तिमीहरुलाई अनी तिमीहरुका बिलाशी परिवारलाई त्यसैले मैले तिमीहरु यहाँ आउछौ भन्ने आश त कत्ति पनि राखेको छैन तर पनि भनि टोपलेको मात्र हुँ।मलाई थाहा छ तिमीहरु गरि खाने हुती भएका मान्छे हैनौ यदि हुती थियो भने यो समयावधी भित्र संबिधान दिएर फर्की हाल्थ्यौ नी आफ्नो हलो कोदालो स्यिहार्न।त्यो आट नआएर त हो नी तिमीहरुले म्याद थप गरेको।बिचरा तिमी हरुको पनि त आफ्नै बाध्यता छन् नी है।परिवारको दुईछाक टार्नै पर्यो।बाल बच्चा पढाउनै पर्यो। चाडबाढ आउछ नयाँ नयाँ फेशनका कपडा र गहना निस्कन्छन श्रीमतीलाई हालिदिनै पर्यो।हिजो महङी उस्तै बढायौ जुन भोलि सभासद भवन छोडेर बाहिर निस्कने बित्तिकै तिमीहरु माथी पनि आइलागि हाल्छ अरिङालको गोलो खन्निए झै । यी सबैबाट बाँच्न पनि भित्रै बस्नु उचित छ, सम्बिधान त लेख्दै गरुला नी आखिर काम चलेकै छ।त्यसैले जे गर्यौ राम्रै गर्यौ भाग्यले दिएको आप हो सकेसम्म चुस्नु पर्छ नत्र नेपालमा रोजगारीको स्थिति त्यहि हो,हामिले झै मरुभुमीको बालुवा चपाउनु पर्छ हरेक साझ बिहान लालाबालाको पेटमा जाउलो हाल्न।गुलामी र निगाहको राशन खाएका तिमीहरुसँग कहाँ छ र बालुवा पचाउने क्षमता ।।
तिमीहरु आउदैनौ।संबिधानपनि लेख्दैनौ भन्ने जान्दा जान्दै पनि निम्ता गर्ने म पनि उस्तै मुर्ख हुँ।तर यति धेरैपनि हैनकी तिमीहरु नआउँदैमा हाम्रो भेटनै हुन्न सम्म भनु। यदि तिमीहरुकै कारण मेरो देशका सबै जोशिला युबाहरु बिदेशमा पशिनासग पैसा साटिरहेको अनी देश बिना कानुन बर्सौ लागाम बिनाको घोडाझै यता उती लर्खरी रहेको मौका पारेर सत्रुले आक्रमण गरेर मेरो सथमा भएको राहदानी यो संसारमा आमान्य भएनछ भने,म जहाँ पशिना बगाइ रहेको छु त्यहि शरणार्थी भइनछु भने यो बर्षको दशैंमा घर फर्किने योजना बनाइ रहेको छु।त्यति बेलात पक्कै भेट होला।दशैमा त तिमीहरु सग बसेर के रमाइलो गर्नु र?तर त्यति बेला सम्म पनि संबिधान लेखेनौ भने तिहारमा चै पक्कै तिमीहरुसग रमाइलो गर्छु।म स्कुले जीवन बिताइ रहेको बेला होला एउटा सानो कुकुर पालेको थिए।खुब माया गरेर राखेको थिए तिमीहरुलाई जस्तै तर धेरै जान्ने भएर फ्याउ फ्याउ भुकी हिडेछ चितुवाले न्याकी दियो ।त्यो हुँदानै होला शायद कुकुर तिहार राम्रोसग मनाएको थिए।त्यस पछि त अरु कुकुरहरु मनाउन पनि मन लागेन समय ले पनि साथ दिएन तर यो साल भने रहर पनि जागेको छ र समयले पनि साथ् देला जस्तो छ ।बाध्यताले परदेश हिंडेको छु तीन बर्ष पछि मनाउने योजना हो,मेरि बहिनिपनि खुब खुशी छिन,मेरानीम्ति माला गास्न मखमली र सयपत्रीका बेर्नाहरु श्यिहार्न थाली सकेकी छिन रे,तर मैलेपनि भनि सके की मखमली माला बरु गास्न भ्याएनौ भने ठिकै छ मेरो शिरमा एक थुङा फूल राखी दिए हुन्छ तर यो साल धेरै कुकुर फूल हरु फुलाएर ६०१ वटा माला गास्नु कुकुर तिहारको बिहान सम्ममा जसरी पनि,भाइटिका मनाउने भन्दा पनि कुकुर तिहार मनाउने खुब ठुलो सोख छ मलाई।
बैनी त एउटी मात्र हो अलिक भ्याउन्न की भनेर भुन्टेकी आमालाईपनि यो सालको तिहारमा माइत नजानु भनेको छु।उसले पनि हुन्छ भनेकी छे,शायद यति धेरै कुकुरहरुको एकै पटक पुजा गरिएको रमाइलो हेर्न होला नत्र त यो मामिलामा कम्ती कडा थीइ र उ । त्यस्तै तिमीहरुको स्वागतमा मेरो परिवार अहिले देखिनै जुटेको छ रे साथै छर छिमेकीहरुलाई पनि सहयोगको नीम्ति बोलाएको छु,बहुत उत्साह देखाएका छन्।सबैतिरको बाताबरण हेर्दा यो सालको कुकुर तिहार खुब रमाइलो र भब्य हुने आशा राखेको छु,त्यसैले माननिय ज्युहरु जसरी पनि उपस्थित भई उक्त पुजाको शोभा बढाइ दिनु होला। यो ऐतिहासिक कार्य मेरो मात्र रहर नभएर मेरा सम्पुर्ण गाऊलेहरुको ईच्छा हो अनी तपाइहरु जस्ताका नीम्ति देशकानीम्ति केही बनेर देखाउने स्वर्णिम मौका पनि हो।आगामी चुनावमा मत माग्ने लगानी पनि हो।।
एउटा ठुलो आशा अनी विश्वाश छ मेरि बहिनिले दु:ख गरेर गासेकी ६०१ कुकुर फूलका मालाहरु ओइल्याउने छैनन। तपाइहरुका गलामा चड्न पाउदा शायद ती कुकुर फूलहरुले पनि आफूलाई धन्य सम्झने छन्। मेरो घरसम्म आउन त्यति दु:ख पनि त छैन । बसमा त चड्नु हुन्न होला सबैलाई पुग्ने पजेरो छैन होला नेपाल सरकारसग त्यसैले सरकारी हवाइ जहाज चल्छ त्यहा तपाईंहरुलाई पैसा पनि लाग्दैन टिकेट नपाउने डर पनि छैन। त्यसैले जसरी भए पनि आउनु होला,मेरो चुले निम्तो छ संबिधानसभालाई यो आउदो कुकुर तिहारको दिन पुजा ग्रहण गर्न।।
आउने समयमा बाटोमा कुनै समस्या पर्यो अथवा संबिधान बनेर रोक्यो भने यहि पत्र प्रेशण भएको ठेगानामा संपर्क गर्नु होला म तपाइहरुको सहयोग र सेवामा हरपल तयार छु ।
जय संबिधान सभा अनी सभासदहरु ।।।
जय होस् नेपाली को ।।।।
यो चर्को घाम देशको नाम लिएर जिउछु ।।
यो मरु भुमी पाहिन्न पानी पसिना पिउछु ।।
घरको दु:ख परको बास आँखामा बलेनी ,
यो पापी धन फाटेको मन सुस्तरी सिउछु ।।
उही तपाइहरुले भुलेको जनता रेगिस्तानबाट
प्रबासी नेपाली ।।
(स्रोत : Sabda Sarathi)