कविता : मृत्यु, जीवन र विम्वहरु

~राम प्रसाद प्रसाईं~Ram Prasad Prasain

विम्वहरु कति बाँच्छन् र?
विम्वहरु किन बाँच्छन्?
विम्वहरुको मृत्यु घोषणा गरे के हुन्छ?
हाम्रो बचाइ नै विम्वात्मक छैन र?
विम्वहरुको मृत्यु घोषणाले
बचाइ राख्छ त हाम्रो अस्तित्व?
यौनकुण्ठाले होस् वा
चिन्तनकुण्ठाले मगजमा हाइड्रोसिल

अण्डकोष ट्युमरग्रस्त
मकर नुहाउन खोला तीर झरेको बुढो कैलेनुरजस्तै
सोचे होलान् हाइदेगार बाजेले

“दिएको खाने र अह्राएको गर्ने”
असल प्राणीको नाममा गाली उमार्ने
‘कुकुर’ विम्वहरु कतिसम्मन् बोक्ने हामेरुले
हाम्रो सभ्यता र पित्तपरम्परित रागहरुले

पर्यायवरणको माइक्रोचिप्स कारखानामा
सौम्य सभ्यताको श्लिलतामाथि प्रहार भइरहँदा
त्यही सभ्यताका फौज्दारी अदालतमा साक्षी बकिरहने
‘गिद्ध’ विम्वहरु कतिसम्मन् भिर्ने हामेरुले
हाम्रा चिन्तनधर्मिता र प्रयोगशील प्रयोजनविहीनताहरु
यस्तै यस्तै अन्गिनित हुन् सक्लान्

मैले सुनेको
नामेट अस्तित्व लिएर वर्तमान बाँचेको
मिथकीय सोक्पासँग
कपाल साटेका
समय गर्भका भोगाइ र सन्दर्भले जन्माएका
यिनै “बब मार्ले”
युग युगान्तरसम्म फुकिरहन्छन्
‘नो वुमेन् नो क्राइ’
मैले अनुभूत गर्न नसकेको बुद्ध
तथ्य र वास्तविकतासँग अवाक् कुम्भकर्ण भइरहन्छ
अब ऊ ध्रुबे हाती भएर हिँड्दैछ रे
च्रेतनाका लोखर्के बगानहरुमा
कान्छी बारुलीका कम्मर नाप्दै
नगरकोट, गरकोट, थमेलतिर
चेतनाको भष्मे फाँड्न

स्पन्दनशीलताको न्यानो ज्वाला साट्न
सन्काहाहरुको महामारीग्रस्त बस्तीहरुमा
डाइनोसरहरुले सँसार हाँकेका छन्
इतिहाँसबाट नामेट नामहरु छन्
(जस्तै सद्दाम, गद्दाफी, हिट्लर, मुसोलिनी, इदि अमिन, इत्यादि)
नामेट नामहरु अनवरत फुकिरहन्छन्
स्मृतिको अनन्ततामा विगुलहरु
त्यसो त नामेट गराइएका नामहरु पनि होलान्
(रम्तेल भाइ, मैना सुनार, विरेन्द्र शाह, डेकेन्द्र थापा, क. चे, इत्यादि)
नामेट गराइएका नामहरु पनि अनवरत फुकिरहन्छन्
स्मृतिको अनन्ततामा विगुलहरु

त्यसैले
महामहिम् सर्जकहरु
जाऔँ कवि “वि.प्र.”सँगसँगै
उल्टिँदै सुल्टिँदै
सुल्टिँदै उल्टिँदै
सँगसँगै जाऔँ
बेला बखत
दायाँ बायाँ
बायाँ दायाँ
झ्यास झुसमा विम्वविहीनताको खोज गरौँ
यो खोजीमा जीवनको जुइनो भेटियोस्
यो अनुबन्धमा अस्तित्वको तुइन देखियोस्
यसै गर्दै
यतैतिर
स्वाभिमानको एक फोक्टो सम्याऔँ
स्वाधिनताको ब्याड बनाऔँ
बेर्नाहरु उमार्दै
जीवनहरुमा विम्वहरुको
‘मेटामोर्फोसिस्’ गर्दै जाऔँ
निरन्तरताको नाम सहयात्रा
सहयात्राको पर्याय जीवनबोध
चेतनाबोधको अर्को नाम मृत्यु
बस् सिद्धार्थदेखि बुद्धसम्म बर्तुलाकार यायावरभित्रको आयाम
बोधिसत्वले जन्माएका “फिनिक्स”हरुको रुपान्तरणभन्दा पर परसम्म
मान्छे, माटो र मनोक्रान्तिले तिमी कवि “सचिदानन्द” (Truth-Consciousness-Bliss) बन्दै जानू
वनझाँक्रीको बस्तीमा पसेर
लौकिक चेतना, सङ्कथन र सँवादको भाका टिपेर फर्किनू
आँधीसँग चौतारोमा थकाइ मार्दै
तिमीले मकै झिल्स्याएको देखेको छु
आफैँ झिल्सिँदै आन्नदानुभूति गरेको छु
तिमीलेझैँ जीवनका प्रत्येक एकाइहरुलाई
जीवनकै अङ्कगणितमा एकेक थप्दै
विम्वहरुमाथि मार हान्दै
तिनीहरुकै अस्तित्वविहीनतामाथि भावातीत हुँदै
जीवनमा रङ्गहरु भरिरहेछु
जीवनमा तरङ्गहरु बगिरहेछु
जीवनमा बहार र लहरहरु चलिरहेछु
त्यही भएर नि होला
विम्वहरुकै अस्तित्वविहीनतामाथि ध्यानातीत हुँदै
समयको सीमाविहीन यात्रामा
स्वयँ समानान्तर चतुर्भुजभित्रको
एक्लो त्रिभुज भइरहेछु
जस्तो तिमी र तिम्रो जीवन भइरहेछ
जस्तो कवि, कविता र काव्यिक यात्रामा भइरहेछ

अन्ततः
हाम्रो बचाइ नै विम्वात्मक छैन र?
विम्वहरुको मृत्यु घोषणाले
बचाइ राख्छ त हाम्रो अस्तित्व?
त्यसैले,
जीवन एक उत्तरविहीन
अवाञ्च्छित घटना।

(स्रोत : Ram Prasad Prasai’s Facebook )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.