लघुकथा : श्रवण कुमार

~भिम प्रसाद घिमिरे~Bhim Prasad Ghimire

यस्तो कहिल्यै भएको थिएन । कहाँ खोज्ने ? कसलाई भन्ने ? पत्याउने होइनन् । बरु मलाइ सबैले बौलाहा भन्लान् । तर, समाधान त चाहिएकै हो । धेरैपल्ट मैले त्यो वर्ड फाइल खोलें । हेरें, बन्द गरे । टेम्पररी फोल्डरमा पनि त्यही नामका स्क्रयाप फाइल खोली हेरें । अहं छैन । कता गयो गयो ।

मैले जानाजान डिलिट वा सम्पादन गरेको सम्झना छैन । तर, कथाबाट एउटा पात्र वेपत्ता हुनु कसरी सम्भव हुन सक्छ ? म आफैलाई चित्त बुझदो उत्तर दिन सक्दिन । रिक्शाचालक बृद्ध पिता, बुढी भएकी आमा । सातजना भान्टाङ-भुन्टुङ भाइबैनीको उ भरपर्दो दाजु थियो । दुइ कक्षापछि स्कुल गएन । स्कुले शिक्षा पुरा नगरेपनि महान भएका मान्छेका जीवनी उसलाई कण्ठ थियो ।
मजदुरीबाटै उ राजमिस्त्रीमा बढुवा भएको थियो र्।र् इटा-बालुवा र ढुंगासँग खेलेर उसका ज्यान बलिष्ठ थिए । काम नभएका बेला पहिरनले उसलाई कसैले मिस्त्री मान्दैनथे । ऊ कुनै बडिबिल्डर वा मोडलभन्दा कम देखिदैनथ्यो । ज्यालादारीभन्दा ठेक्दारी मन पराउने । ठेक्का लिएको काम छिटै फत्ते गर्ने ।
राम्रो ठाउँमा जमिन लिएर घर बनाउने । मातापिता पाल्ने । भाइबैनीलाई सकेजति पढाउने । सपनाले उसका विपनालाई साथ दिएका थिए । तर, बाबु ज्यानले सकेसम्म काम छाड्न मानेका थिएनन् । माहिला र साहिला भाइ पढ्न मान्दैनथे । बैनीहरुका पहिरनले सम्पन्न परिवारको झल्को दिन्थ्यो । कथामा मैले एउटा क्लाइमेक्स कल्पना गरें ।
अनि उसको भेट बजारमा एउटा चलेको पसलेकी रुपवती छोरीसँग भेट गराइदिए । जात मिल्थ्यो । बात पनि मिल्थ्यो । पसलेले घरको एउटा तला थप्दा उसलाई त्यहाँ पुर्‍याइयो । हिमचिम देखेर रुपवतीका पिताले प्रस्ताव गरे -‘मेरी छोरी बिहे गर्ने भए तिमीले मैकहाँ आएर बस्नुपर्छ ।’ मैले लेखें ‘तर, उ दुःखमा हुर्केको छोरो थियो । आफ्ना आमाबा र भाइबैना छाडेर कसरी बस्थ्यो ? उसले मानेन ।’ त्यो दिनदेखि ऊ पसलेको घरमै गएन । उसले सोच्यो ‘…………… के सोच्यो, कथा यहाँबाटै अपुरो छ । मैले लेखेकै हो । एउटा असल इमान्दार छोराका बारेमा ।
कम्प्युटर अफ गरेर बाहिर निस्के । नजिकै मन्दिरबाट एउटा जोडी बाहिर निस्कदै थिए । बेहुलो सरासर मैंतिर आयो । नियालेर हेरें – चिनेको मान्छे होइन । ठिङ्ग उभियो, कुटील हाँसो हास्यो । भन्यो ‘हेर्नुस महाशय, यो कलियुग हो । म श्रवण कुमार होइन ।’

(स्रोत : Bhim Ghimirey’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.