आज बिहान ५ बजे मोर्निङ् वल्क गएर र्फकंदा भर्खर ६:३० बजेछ । आज शनिबार, तेसैले जुलियाको अनुपस्थितिमा मेरो मनमा किन किन अशान्ति बढिरहेको छ । म कोठामा सुतिरहेको छोरालाई बिउँझाएर जुलिया नआएको खबर सुनाउँछु । छोरा बिउँझिएर जुलियाको मोबाइलमा फोन लगाउँछ; उनी क्रेनमा आउँदै गरेको खबरपछि मेरो मनमा अलिक शान्ति आउँछ । लिविङ रुममा बसेर केहीछिन् सोचेँ । फेरि, किन हो किन किचनतिर जान मन लाग्छ । तेसैले, तेतैतिर पाइला अघि बढाउँछु । उत्ति नै बेला जुलियाको प्रवेश । उनको आगमनले आत्तेस भइरहेको मनमा केही सान्त्वना मिल्यो । त्यसैले, फेरि म लिविङ रुमतिर र्फकें । जुलिया किचेनमा मेरो लागि ब्रेकफास्ट बनाउन लागी । म पनि ब्रेकफास्ट खानको लागि डाइनिङ् रुममा गएर बसेँ ।
यो हप्ता जुलियासँगको अन्तिम भेट, हिजोसम्म अपरिचित एक स्पेनिश युवती आज तीन महिनामा आफ्नै घरको सदस्यझैँ भएकी छे । उनी मेरो यो तीन महिने अमेरिका बसाइमा एक्दमै आफ्नो मान्छे बनिन् । मलाई अहिले मेरो परिवारसँग छुट्न जति गाह्रो भइरहेको छ त्यतिनै पीडा उनीसँग छुट्नु पर्दा पनि छ । मलाई अहिले लाग्दैछ- मेरो छोरी, मलाई अत्यन्त माया गर्ने छोरीलाई छोडेर म कही अन्तै जाँदैछु । मैले जानैपर्छ, तैपनि मेरो मन किन यति कमजोर बनिरहेको छ, स्वयम् आँफैलाई थाहा छैन । डाइनिङ रुममा यसरी सोचमग्न भएर बसिरहेको थिएँ, एक्कासी ‘ड्याडी अब अमेरिका फेरि कहिले आउनुहुन्छ’ भन्ने प्रश्नले म झस्किएँ । यसरी, ड्याडी भनेर सम्बोधन गरेको उनले यो प्रथमपटक हो । मैले उत्तर दिएँ- अर्को साल । म फेरि गम्भीर भएर सोच्न थालेँ । शायद, म नेपाल जाँदैछु भन्ने थाहा पाएर उनलाई पनि मनमा कतै न कतै पीर परेको हुनुपर्छ । नत्र किन यो प्रश्न- यो पनि यतिको समयपछि । जुलियाले ब्रेकफास्ट तयार गरेपछि मेरो टेबलमा राखी दिइन् । म खान थालेँ । उनी फेरि किचेनमा मेरो लागि लञ्च र डिनर तयार गर्न थाली । म खाइसकेर लिविङ रुममा र्फकें । टी.भी. खोलेर न्युज् हेर्न थालें ।
मान्छेको मन पनि कस्तो- जता गयो, जता बस्यो उतै रमाइलो लाग्ने । हुन त, यो अमेरिकाको एक्लो जिन्दगीदेखि वाक्क भइसकेको छु । जतिसक्दो चाँडो नेपाल र्फकनु छ मलाई । तैपनि, यो मनमा चैन भने छैन । शायद, म फर्किएपछि मेरो छोरालाई पनि केही समय यहाँ एक्लो महसुस होला । जुलियालाई पनि अर्को काम खोज्ने चटारो होला । किन यो मन बेचैन बनिरहेको छ, जब उनले ड्याडी भनिन् त्यसपछि त झन् मेरो मन नै पग्लेर आयो । आफ्नै छोरीलाई झैं माया गरूँ, आफ्नो बेदनाहरू सबै कहँूजस्तो लाग्यो । तर मैले केही गर्न सकिन । यो तीन महिनाको अवधिमा उनी मेरो खाना बनाउनको लागि जागिरे छिन् तर उनको परिवार कहाँ छ, उनी कहाँ बस्छिन ? मलाइ केही जानकारी छैन । उनी आउँछिन आफ्नो काम गर्छिन् बाँकी केही कुरा हुन्न मेरो । मलाई उनको बारेमा जान्ने धेरै जिज्ञासाहरू छन् तर चाहेर पनि मैले सोध्न सकेको छैन । जब म उनलाई केही कुरो सोध्न मनलाग्छ त्यतिनै बेला छोराले भनेको कुराले झसङ्ग हुन्छु । ‘बुवा अमेरिकामा प्राइभेसी एकदम महत्वपूर्ण कुरो हो । त्यसैले अर्काको निजी कुरा सोध्नु यहाँ राम्रो मनिनदैन ।’ यही कुराले मनमा जति प्रश्नहरू आए पनि मनमै राखेँ ।
दुईजना छोराको जन्मपछि मेरी प्राण प्यारीले यो संसारबाट बिदा लिइन् । सायद, उनले मेरो जीवनमा त्योभन्दा बढी समय साथ दिएकी भए मेरो पनि यी दुई छोराको साथसाथै जुलियाजस्तै मायालु छोरीको जन्म हुने थियो होला । भाग्यमा भएभन्दा बढी केही पाइन्न भन्छन् । त्यसैले, त होला मैले जे पाएँ त्यसैमा म सन्तुष्ट छु र हुनु पनि पर्छ । छोरी नभएर केभो र ? अहिले मलाई माया गर्ने दुई छोरामात्रै छैनन् साथमा दुई बुहारी अनि दुईकै गरी चार नाति-नातिनी छन् । जुलियासँग भेटेपछि किन किन मलाई छोरीको कमी महसुस भइरहृयो । तर, चाहेर पनि मैले कुनै प्रश्नहरू सोध्न सकिन । मैले त सुनेको थिएँ- स्पेनिशहरू राम्रोसँग इङ्लिश बोल्न जान्दैनन् । त्यसैले, ज्यादै सस्तो ज्यालामा काम गर्छन् । तर, त्यसको ठीक उल्टो पाएँ मैले- उनमा । उनी हेर्दा स्मार्ट देखिन्थिन्, इङ्लिश पनि एकदम राम्ररी बोल्थिन् र काम पनि एकै छिन्मा फटाफट सक्थिन् । शायद, उनमा भएको यो एक किसिमको बेग्लै कला मान्नुपर्छ । छोराको भनाइ अनुसार उनी एक शिक्षित युवती हुन् । उनी कुनै अफिसमा काम गर्छिन् अनि फुर्सदको समयमा एक्स्ट्रा पैसाको लागि पार्टटाइम काम गरेकी हुन् । यहाँ कामलाई सम्मान गरिँदो रहेछ भन्ने कुरो जुलियाको काम गराइबाट थाहा भयो । हाम्रो देशमा अफिसमा काम गर्न त होइन आफ्नो मान्छे बिदशेमा छ भनेसम्म घरको काम आफै गर्दैनन् । तर, यहाँ सबै काम सकेर फेरि पार्टटाइम गरिन्छ । यो सम्झंदा फेरि मलाई अर्को प्रश्न सोध्न मन लाग्थ्यो । शायद, उनको घरमा केही समस्या होला कि ? तैपनि, मैले केही सोध्न सकिन । कहीले काहीँ त उनलाई केही सोध्न नसकेकोमा धेरै नै असन्तुष्ट हुन्थेँ । त्यसैले, अलिअलि कुरो कोट्याउँथेँ । फेरि, उनको ‘येस’ र ‘नो’ बाहेक कुन्नै जवाफ नपाएपछि छोराको कुरो सम्झन्थे, अनि आफूलाई रोक्थेँ । सबैले भन्छन्- छोराछोरी बढे हुर्केपछि आमा बाबुको मन सन्तोक हुन्छ, मर्दा पनि केही फरक पर्दैन । तर, खोई मलाई अहिलै मर्ने मन छैन । आधा उमेरमै मेरी सङ्गिनीले मलाई छोडेर गई । तैपनि, मर्ने कुरो मेरो दिमागमा कहिलै आएन । सन्तानको सुख र उनीहरूको भविश्यको लागि जस्तोसुकै त्याग पनि गर्न सकिँदो रहेछ । मैले मेरो दुई छोराहरूको खुशी र भविश्यको लागि अर्को बिहे गरेर सुखी जीवन बिताउने कल्पना कहिल्यै गरिन । अहिले, लगभग ७० वर्षपुगिसकें । अब त झन त्यो कुरो मेरो लागि परको विषय बनिसक्यो । मेरो तपस्याको फल नै मान्नुपर्छ- मेरो दुई छोराहरूले मेरोर् इच्छानुसार पढे । जेठो छोरो नेपालमै राम्ररी सेटल भइसकेको छ, कान्छो छोरालाई दुःख गरेर अंमेरिका पढ्न पठाएँ उनले पनि राम्रै नै पढ्यो र यही जागिरमा सेटल भयो । एक्लो बाबुले दुःख गरेर यहाँ आइपुग्दा कसको मन पो फुरुङ्ग हुन्न र ? तेसैले, म आफै फुरुङ्ग हुन्छु कहिले काहीँ ।
मान्छेलाई सबै कुरा हुँदाहुँदै पनि कुनै न कुनै पीडाले सताइराख्दो रहेछ । छोराहरूको सफलताले गद्गद् भएको मन जब कान्छा छोराको पारिवारिक कुरोलाई सोच्छु फेरि नराम्ररी घायल हुन्छु । मेरो कान्छा छोराको एक छोरा र एक छोरी छन् । तैपनि, मैले अमेरिका आएपछि नाता-नतिनीबाट पाउने सन्तुष्टी भने पाउन सकिन । छोरा र बुहारी बेग्ला बेग्लै अपार्टमेन्टमा बस्छन् । तैपनि, छोराछोरीको हेरचाह दुबैले गर्छन् । यस बारेमा मैले उनीहरूलाई कति सम्झाएँ तर उल्टै मलाई नै सम्झाउँछन् । छोरा भन्छ ‘बुवा हामी दुबैको समझदारीमा हामी अलग अलग बसेका हौ, हामी दुबैले छोराछोरीको लागि जिम्मेवारी निभाइरहेका छौं, सँगै बस्नुनबस्नु हाम्रो आफ्नै कुरो हो तपाईं चिन्ता नगर्नोस् । उनको यो वाक्यले मलाई अरु बढी केही भन्ने हिम्मत नै हुन्न । हुन पनि, उनीहरूबीचमा असमझदारी छ जस्तो पनि देखिन्न । हरेक दिन आफ्नै श्रीमान श्रीमतिजस्तै फोनमा कुरा गर्छन् बच्चालाई स्कुल लाने, घुम्न लाने पनि पालैपालो गर्छन् । कतै पार्टीतिर जाँदा सँगै जान्छन् । त्यसैले, मेरो बेचैनी आफै सन्तोक हुन्छ । बुहारी कहिले काहीँ छोराकोमा आएर मलाई खाना पनि बनाइदिन्छे तर मलाई थाहा छैन उनीहरूको केमा असमझदारी हो ? नेपालमा रहेका नाति नातिनी बाजे कहिले नेपाल फर्कने हो भन्ने प्रतीक्षामा छन् । तर, यहाँ परिवार भएर पनि एक्लो मेरो छोरालाई छाडेर जान एकदम दुःख लगिरहेको छ । मेरो छोराको माया त्यसपछि जुलिया यी दुईजनाका कारण कहिले नेपाल पुगौं भएको मनमा किन किन हलचल आइरहेको छ । खोई, बुढेसकाल भएपछि त मरुँमरुँ लाग्छ भन्ने सुनेको थिएँ । त्यो त भ्रम् पो रहेछ । नेपालमा नाता नातिनीको मायाले संसार भुलाउँछ, फेरि अमेरिकामा आएपछि अर्को माया थपियो । यति धेरै कुरो सोचिरहँदा जुलियाले मेरो लागि लञ्च डिनर सबै बनाइसकिछे । उनी घर फर्कने तर्खरमा फेरि ‘ड्याडी आइ एम् डोन्’ भन्दा पो झसङ्ग भएँ । ‘बाई’ गरेर अन्तिम हात हल्लाएँ उनको लागि । शायद, यो अन्तिम बोली थियो । थाहा छैन, यो यात्रा अनि यो जीवनमा भोलि फेरि भेट होला या नहोला ।
(स्रोत :पालम मासिक )