एक जना राजकुमारलाई कथा सुन्ने निक्कै शोख रहेछ । ऊ राती कथा नसुनिकन निदाउनै नसक्ने रहेछ । दरबारमा कथा सुनाउनकै लागि नोकर-चाकरहरु पनि रहेछन् ।
एक दिन एक जना नोकरलाई राजकुमारबाट कथा सुन्न मन लागेछ । उसले राजकुमारलाई भनेछ ‘आज सरकारबाटै एउटा कथा सुन्न पाए म कति भाग्यमानी हुने थिएँ ।’ नोकरको चिप्लो कुरा सुनेर राजकुमार पनि फुरुंग परेछ र कथा भन्न थालेछ –
एकादेशमा एक जना साह्रै गरिब मानिस थियो । उसको घर थिएन सडकको पेटीमा सुत्थ्यो । खेतीपाती जागिर केही थिएन मागेर खान्थ्यो । अर्काको जडाउरी लाउँथ्यो ।
एकपल्ट ऊ बिरामी पर् यो । माग्न जान सकेन । तीन चार दिनसम्म माग्न जान नपाएपछि ऊ भोकले छटपटाउन थाल्यो । भोकले गर्दा ऊ ओछ्यानबाट उठ्न पनि सकेन । अनि उसले सकी नसकी आफ्नो हात बिस्तारै सिरानीतिर लग्यो र घण्टीको स्विच थिच्यो । घण्टी बजेको सुन्ने बित्तिकै उसको अगाडि दुई जना नोकर आए । नोकरहरुलाई देख्ने बित्तिकै उसले भन्यो ‘कहाँ हराएका थियौ तिमीहरु मलाई भोक लागेको थाहा छैन जाऊ तुरुन्तै खानेकुरा लिएर आऊ ।’
आज्ञा पाउने बित्तिकै ती नोकरहरु भान्साबाट मगमग बास आउने तातो तातो खाने कुरा लिएर हाजिर भए । पेटभरी मिठो खाना खाएर त्यो गरिब मानिस मस्तसँग
सुत्यो ।
कथा कस्तो लाग्यो भनी सोध्न र भन्न नभ्याउँदै राजकुमार त पलंगमा भुसुक्कै निदाइसकेछ ।
(स्रोत : Sahitya Batika)