~दीपेन्द्र श्रेष्ठ~
के गरुँ छिमेकी ?
म नियति बदल्न सक्छु
छिमेकी बदल्न सक्दिनँ !
बरु रगत बगाउन सक्छु
सिमाना खुम्च्याउन सक्दिनँ !
गर्व लाग्छ मलाई
मेरा छिमेकी शक्तिशाली छन्
परिवार उनको ठूलो छ
सन्तान उनका सिपालु छन्
धेरै पढेका छन् तिनी
आम्दानी पनि मनग्गे छ
अनि त के म गरिबलाई हेप्न पाइन्छ ?
विचार गर त साथी
शुभाशीष काफी नदिएको होला तिमीलाई
तर, श्राप पनि त कहिल्यै दिइनँ मैले
दुस्मनी तिमीसित कहिल्यै भएन
लडाइँ त परै जाओस् ।
तिमी के फुर्ती लाउँछौ ?
मालिक पल्टिन्छौ किन तिमी ?
मेरो त्यो चिया फल्ने पाखा र हिउँ जम्ने डाँडा
तिमीले जितेका भन्ठान्छौ ?
साथी ! तिम्रो मालिकले हडपेको हो मसँग ती
र्फकंदा उसले तिमी दासलाई सुम्पेको मात्र हो
याद गर मित्र !
तिमी मालिक र म नोकर कहिल्यै भएनौँ
सुन फेरि एकपल्ट
कहिल्यै भएनौँ, तिमी मालिक र म नोकर ।
बरु मलाई दुःख लाग्छ
कुनै विगतमा तिमी नोकर थियौ
तिम्रो मालिक अर्कै थियो
म वीर गोर्खाली भनिन्थेँ त्यतिबेला
तिमी नोकर थियौ र मेरो चित्त दुखेको थियो पनि
तिम्रो मालिक मसँग हातेमालो गर्दै थियो
तब किन तिमी मालिक पल्टिन्छौ ?
सुन त !
मेरो कोइराला काका, अधिकारी मामा लडेको होइन ?
तिम्रो मालिक खेद्न, तिमी नोकरलाई सार्वभौम बनाउन !
अहंको आगोले डढायो सबै गुण ।
फेरि नि मित्र !
मेरो घर फोहर हुँदा तिमीलाई गन्हाउँदैन र ?
मेरो घरमा झगडा हुँदा तिमीलाई अशान्त हुन्न र ?
तब मेरो परिवारमा कलह गराउँछौ किन ?
यो गरिबको माटोमा आँखा गाड्छौ किन ?
तिमीलाई मनग्गे पानी मेरै आँगनबाट दिएकै छु
तिमी मुहान नै पो ताक्छौ किन ?
मेरा कति छोरा तिम्रो सुरक्षामा खटेका छन्
अनि, मलाई सुरक्षा दिनेे तिमी फुर्ती लाउँछौ ?
अझै याद गर पि्रय
तिमी मालिक र म नोकर कहिल्यै भएनौँ ।
(स्रोत : नेपाल साप्ताहिक )