स्मृतिको आँधी रोकेर
उभिएकी छु
तीन दशकअघिको गोरेटोमा ।
टिफिन बक्सको आकारमा आफ्नै खाली हत्केला
काखीमुनि बालकजस्तै च्यापिएको किताब
र स्कुल ब्यागको अनौठो कल्पनामा
दोबि्रसकेका छन् पुस्तकका छेउकुनाहरु
अझै पनि रित्तै छ पानीको बोतल
तर भरिएको छ
वरिपरिका अनन्त अभावहरु ।
मेरो अघिल्तिर
लटरम्म लर्किएको छ उही काली आँपको हाँगो
आलुबखडा, आरू र फडिम
चुत्रो, ऐँसेलु र अड्चल
म काठमाडौँको फराकिलो सडक किनारामा
ठिङ्ग उभिएको रुख
धुलाम्मे भोकहरुले तृप्त
मेरो टिफिन बक्स अझै खाली छ ।
अँगाल्दै काइपरेका ढुंगाहरु
र तिनैका छातीमा खोपेर इतिहासका अव्यक्त धुनहरु
नाम्दी खोला अझै पनि गाइरहेछ रहस्यको आकर्षक गीत
मेरै पाइलामा चाहिँ
खस्रो स्पर्श मात्र बाँकी छ यात्राको ।
हजुरआमाले सुनाएका लिङ्गे र राँके भूतका कथाहरु
आमाले गुनगुनाएका लोरीहरु, देवीभागवतका श्लोकहरु
र, बुबाले खुवाएको इमानदारीको शपथमा
आफ्नै भविष्यको वैधानिक यात्रा छ निरन्तर…
तिनैको भग्नावशेषमा उभिएको यो वर्तमानको जग
निकै हल्लिएको छ अचेल ।
मसँग छ
काँचो आँप र आलुबखडाले कुँडिएको दाँत
तातो चियाले डामेको जिब्रो
यहीँ उमि्रएका छन् संविधानका स-साना खटिराहरु
म क्यान्सरले भयग्रस्त समयबाट निर्लिप्त
बेताल अनुसन्धानमा फर्किएकी छु
र,
बालकजस्तै च्यापिरहेकी छु खाली पुस्तकसँगै
तिखारेर केही थान सीसाकलमहरु !
स्मृतिको आँधी रोकिएको छ
मातृगर्भको चेतनाशून्य चेतनामा प्रवेश गर्दा
लाग्दै छ
जाति र सम्प्रदायभन्दा माथि छ यो संसार
मनले भन्छ, संविधानको पहिलो धारा
यहीँबाट लेख्नुपर्छ अब !
भद्रकालीको मन्दिर घुमेर
न्यायालयको ढोका अगाडि
भर्खरै एउटा बंकर
आँधी बोकेर उभिएको छ !
(स्रोत : नेपाल साप्ताहिक )