व्यङ्ग्य निबन्ध : डाक्ट बन्ने रहर !

~बिजय चालिसे~Vijay Chalise

सिधासाधा हिसाबमा मजस्तो आम नेपालीहरुले डाक्टर भन्नासाथ विमी हेर्ने र रोग निको पार्ने मानिस संझेका हुन्छौं । शहरबजारका एक नम्बरी डाक्टर हुनका लागि विशेष रोगको विशेषज्ञ नै हृुनुपर्छ । तर यही कुरा स्थानभेद, सुविधाभेद, सभ्यताभेद आदि के के भेदका कारण सबैठाउँमा समान रुपमा लागु हुँदैन । दरबन्दी भएर डाक्टर सधै बेपत्ता हुने अस्पतालमा सिस्टर, हेल्पर, स्वीपर जुनबेला जो फेला प¥यो, त्यही डाक्टर हुन्छ । गाउँघरका स्वस्थकेन्द्र–चौकीहरुमा स्वास्थकर्मी, सहायक स्वास्थकर्मी साब्हरु जिल्ला सदरमुकाम,केन्द्र–मन्त्रालय–विभागको नाउँमा घर जानुभएको बेला (यो वर्षमा दश महिनै जस्तो हुनेगर्छ !) चौकी–केन्द्र रुङ्ने पालेदाइ नै सबैका पत्यारिला डाक्टरसाब् हुन्छन् । त्यसैले यो क्षेत्रका डाक्टरहरु पनि स्थानभेद अनुरुप जोकोही पनि हुन सक्छ ।
तर यहाँ कुरा गर्न लागेको रोगी (रोग लाग्ने रोगी होइन,लोभ लाग्ने रोगी)डाक्टरको होइन । हामी कहाँ डाक्टरको यस्तो पनि समूुह छ जो डाक्टरसाहेबको संबोधन बेगर तपाइँतर्फ फर्केर पनि हेर्दैनन् । यस्ता डाक्टरहरुमा रसायनशास्त्रदेखि मसलाशास्त्र सम्म र खन्ने भुत्ल्याउने देखि मस्काउने–सफागर्ने सम्मका विषयमा विध्यावारिधि गर्नेदेखि अमेरिका बसेर मुस्ताङ्ग,हुम्ला,जुम्लासम्मका सामाजिक जीवनमा विध्यावारिधि गर्ने महापण्डित सम्म पर्छन् । त्यही देखेर मलाई पनि एकपल्ट नेपालै बसेर त्रिविविबाटै विध्यावारिधि गर्न मन लागेको थियो,त्यो पनि त्यहाँका आदिबासी रेडइण्डियनहरुको बानीबेहोराका सम्बन्धमा !

“के भन्दै हुनुहन्छ तपाइँ,अमेरिकी आदिबासी जातिको बारेमा अध्ययन गर्न नेपालबाटै कसरी संभव हुन्छ र ? तपाइँको विषय कसरी दर्तागर्न सक्छौं हामी ?”केन्द्रीय विभागका अधिकारीले ठाडै अस्वीकार गरिदिए ।
“किन संभव नहुने ? अमेरिकी विश्वविध्यालयबाट नेपालका भाषा–भाषी र संस्कृति जस्ता विषयमा विदेशी विद्वानहरुका महाज्ञानका उपज पोथीपत्रा पल्टाएर विध्यावारिधि गर्न पाइन्छ भने मैले अमेरिकी आदिबासी बारे त्यस्तै पोथीपत्रा पल्टाएर नेपालबाटै विध्यावारिधि गर्न किन नपाउने” मैले अर्को प्रश्न तेस्र्याएँ ।

“होइन तपाइँ किन जिद्दी गर्नुहुन्छ ! अमेरिका जस्तो ठाउँका विश्वविध्यालयमा नेपालको जुनसुकै विषयमा विध्यावारिधि गर्न सकिन्छ । त्यसलाई हामी मान्यता दिन्छौं । हाम्रो विश्वविध्यालयले मान्यता दिन्छ । तर के गर्नु उनीहरुकोले हाम्रो विश्वविध्यालयले गराएको तपाइँले चाहेजस्तोा विषयको शोधलाई त उनीहरु मान्यता दिंदैनन् ! अनि के गर्नुहुन्छ, भन्नोस् त ? आजको युगमा नेपालमा बसेर नेपालको अनुसन्धान हुन सक्तैन क्या ! तपाइँ त्यति पनि बुझ्नुहुन्न !” उनले लामै व्याख्यान दिए ।
“तपाइँको कुरा मलाई पटक्कै चित्त बुझेन…..!”

“ बढ्ता नकराउनोस् तपाइँ,तपाइँको योग्यता नै पुग्दैन विध्यावारिधिमा दर्ता हुन ! चुप लागेर जानोेस् !” उनले बीचैमा मलाई पूर्णतः अयोग्य साबित गरिदिए ।

त्यसरी मेरो डाक्टर हुने इच्छा बीचैमा तुहिएको थियो । नामको अगाडि डा. झुण्याएर विशिष्ट बन्ने सपना गर्भमैं तुहिन पुगेको थियो मेरो । झन् त्यसमाथि विदेशमा ढोकापाले भएर बिताएका दिन पनि सञ्चार विशेषज्ञको पदवि दिलाउन र विदेशी विश्वविध्यालयमा एमएस ( एमएस–अर्थात मस्काउने सफागर्ने विषयमा विध्यावारिधि) गरेर स्वदेश फर्कनासाथ ठूलाठूला पद(मन्त्री,सल्लाहकार,विशेषज्ञ आदि)को पगरी र महापण्डितको फेटा भिर्न पाइने देखेर त यो तुहिएको सपना सग्लो जन्मन नसकेकोमा आफंैलाई धिक्कारेर थाक्दिन म !

नेपालको श्विविध्यालयले आफूलाई डाक्टर बन्ने योग्यता नपुगेको घोषणा गरेपछि मेरो मन छटपटिन थाल्यो–अब कसरी डाक्टर बन्ने ? डाक्टर नबनी यो जुनी त बेकारै जाने भयो ! “ किन चिन्ता गर्छस्,गुठुरी फुका न घरमैं आइपुग्छ डाक्टरको प्रमाणपत्र ! भन् न मात्र,ै कुन विषयमा डाक्टरेटको उपाधि चाहिन्छ तँलाई ? सजिलै विदेशी नागरिक (भारेभुरे देशको त के गन्ती, पढेलेखेका नेपालीहरुकको सपनाको देश अमेरिकाको हरियो पत्ता–ग्रिनकार्ड लिने उपाय समेत अहिले चर्चित शोधको विषय हुन सक्छ ) बन्ने विषयमा पिएचडी गर्ने हो कि,कसरी सफल राजनीतिज्ञ बन्ने भन्ने विषयमा । तैंले चाहेका विषयमा भनेको दिनमा आइपुग्छ, किन चिन्ता गर्छस् ! चाहे मात्र पुग्छ,बुझिस्,गुठुरी चाहिं अलि तगडा नै फुकाउनुपर्छ !” मेरो मनको चिन्ता बुझेर पहिले नै गुठुरी फोएर डाक्टर भैसकेका मेरै एकजना मित्रले बाटो देखाइदिए ।

“तर पछि थाहा भयो भने नि ?अहिले जताततै नक्कली शैक्षिक प्रमाण–पत्र छानविनको हल्ला मच्चिएको छ । त्यसमाथि घरमैं प्रमाण–पत्र ल्याइदिने कसैलाई आफूले चिनेको पनि छैन ।” मैले आफ्नो कठिनाइ र भविष्यमा गोप्य कुरा फुत्कन सक्ने आशंका व्यक्त गरें ।

“ यस्तो कुराको चिन्तै नगर न ! नक्कली प्रमाण–पत्रको हल्ला मच्चाउनेहरुले के नै पो लछार्न सक्छन् र । निर्णय गर्ने राजनीतिक तहबाटै हो क्यारे ! त्यो तहका कुर्सी हडप्नेहरु सबै जनताको नाउँमा नक्कली प्रमाण–पत्र(भोट)पाएरै आएका हुन् । अब भन् त आफ्नै सबर्गीहरुको छानबिन गर्लान् त उनीहरुले ? अर्को कुरा,त्यसरी प्रमाण–पत्र घरमैं ल्याइदिनेलाई तैंले नचिने मैंले चिनेको छँदैछु नि । तँ मसक्क आँट मात्रै सबै व्यवस्था मिलाउने त म छँदैछुनि।” उसको तर्क काटने मैले कुनै ठाउँ नै भेटिन । तर त्यसका लागि ठूलै गुठुरीको जोरजाम गर्नुपर्ने रहेछ ,आफ्नो साबगासले त्यो नभ्याउने भएकोले मनमारें ।

मेरा अर्का मित्र डाक्टर थिए । पहिलेका त मित्रै हुन् तर अहिले चाहिं उनी मलाई त्यो दर्जा दिन चाहँदैनन् भन्ने कुरा मैले बुझेको थिएँ । कुनैसमय पहाडबाट भर्खरै शहर पसेका बेला उनी काम चलाउ लेखहरु लिएर आउँथे । म आफू कार्यरत अखबार र पत्रिकामा त्यो लेख काँटछाँट गरी जिनतिन छाप्न योग्य तुल्याएर छापिदिन्थें । त्यतिबेला उनी निकै गुन मानेजस्तो गर्थे,हात मल्दै बेलाबेलामा त्यस्तै कार्य संपादन गराउने गर्दथे । त्यसकै नाताले उनी पनि मलाई मित्र नै ठान्ने गर्दथे । तर पछि कुन पेच भिडाएर हो कुन्नि उनी पाताल भास्सिए । त्यसको पाँच–छ वर्ष पछि स्वदेश फर्किए–डाक्टरको याँ मानको पगरी गुतेर ! अमेरिकामा बसेर नेपालको दोस्रो प्रजातात्रिक आन्दोलन सफल गराउन ठूलै नेतृत्व गरेको ढ्वाङ पनि उनले साथै ल्याए । नपत्याउने कुरै भएन । नेपालका भाषा, संस्कृति,समाज,इतिहास भूगोल जुनसुकै विषयमा विद्यावारिधि दिन सक्ने अमेरिकाले जनआन्दोलनका नेताहरुको युरोप–अमेरिकी विकासे संस्करण तयार गर्न नसक्ने कुरै भएन । त्यहाँ नेपाली जनआन्दोलन नलडिएको भए कताबाट सफलता मिल्थ्यो ! फाट्या लुगालाउने निमुखा नेपाली जनता र नेता भनाउँदाहरुको मात्रै प्रजातन्त्र ल्याउन के पिताम ! त्यसैले त अमेरिकामा नेपाली जनआन्दोलन चलाउनेहरु मध्ये नै निकैले मुलुक फर्केर ठूलै मेवा फेला पारे । विश्वबैंकको ढोकापाले भएर आन्दोलनलाई सफल तुल्याउने हुन् कि नाइट ल्कबमा सुरा–सुन्दरीको रसास्वदन गरेर योगदान गर्नेेहरुहुन् मुलुक फर्केर विशेषज्ञता प्रदान नगरेका भए यतिचाँडै नेपाल कसरी सिंगापुर र न्युयोर्क सरह विकासको चुचुरोमा पुग्नसक्थ्यो र !

मेरा ती पूर्व मित्रसँगै त्यतिबेला अमेरिका बसेर नेपाली जनआन्दोलनको सहनेतृतव गर्नेेहरुमध्ये कोही आन्दोलनको सफलता पछि स्वदेश फर्केर राजदूत पड्काए,कसैले विदेशी थर त्यहीँं फालेर प्रजातान्त्रिक माइती नेपाल फर्केर ठूलाठूला कमिसन र समाजसेवी पासाकोे विकास गर्ने सफलता पाए । मेरा पूर्व मित्रले भने त्यति ठूला सफलता हात पार्न नसकेकैले पनि उनी दुई–चार जनाको जमघट हुनासाथ अमेरिका पुराणको वाचन गरेर सन्तोष लिन्थे–उता हाम्रो अमेरिकामा बसेर मैले जनआन्दोलनको यसरी नेतृत्व गरें आदि….आदि ….।

ज्नआन्दोलनका नेताको रुपमा राम्ररी पसल नचलेकाले उनी चाँडै नै त्योे विष्यमा प्रवेशमात्र गरेर अरु विषय तिर लागहाल्दथे । मेरा पूर्व मित्रको भनाइमा शिक्षा र सांस्कृतिक शोध उनको प्रमुख क्षेत्र भएकोले उनी त्यही क्षेत्रको चार्चामा नेतृत्व लिन्थे । आफूलाई महान बुद्धिजीबी ठान्थे,अरु सबै कि मूर्ख कि राजनीति अनुचर ! उनी भन्थे–बुझ्नुभो,हाम्रो अमेरिकामा त मजस्तै डाक्टर नभई कसैले बुद्धिजीबी र सफल पेशाजीबी मान्दैमान्दैन । तपाइँजस्ता बल्लतल्ल एमएसम्म गरेकाको त कुनै भाउनै हुँदैन बझ्नुभो’ । त्यसमाथि तेस्रो श्रेणीमा ! तब त अमेरिका त्यति विकसित भयो,त्यति बौद्धिक हुन सक्यो,विज्ञान–प्रविधिको नेता हुन सक्यो । खोइ यहाँ…यहाँ त तपाइँजस्ता डाक्टर नभएका पनि शिक्षक,प्रोफेसर र बुद्धिजीबी,मजस्तो अमेरिकी विश्वविद्यालयबाट डक्टरेट गरेको मानिस पनि उही शिक्षक,प्रध्यापक र बुद्धिजीबी । यसरी कहिले हुन्छ यो मुलुकको विकास खोइ ? उनी आत्मबखान र परनिन्दाको गीताका सबै अध्याय सिध्याउँथे ।

मेरो मनले ठम्यायो–किन उनैलाई समातेर पाताल नभास्सिने र डाक्टरको पगरी हत्याउने उपाय नसोध्ने ? गएँ एक दिन डाक्टरसाहेबसँग समय मागेर । समय माग्नका लागि कठिन थिएन, उनी र म प्राइबेट क्यामपसमा सँगसंगै अध्यापन गथ्र्यौं । उनको सिद्धान्त लागिनसकेकोले मजस्ता सामान्य एमएले पनि अहिलेसम्म पढाउने पेशा गुमाइ हाल्नु परेको थिएन, नत्र डाक्टरको पगरी नभिरी प्राध्यापन गर्ने पाउने कुरै थिएन । डाक्टर बाहेकका अरु सब बेकार,अमेरिका रिटर्न बाहेकका सबै गँवार भन्ने डाक्टरसाहेबको नवीन सिद्धान्त थियो । पुराना भारत रिटर्न लाहुरेको मुखबाट निस्कने उधर हमारा हिन्दुस्तानमें भन्ने थेगो जस्तै हाम्रा डाक्टरसाहेबको मुखबाट हरेक वाक्य पिच्छे हाम्रो अमेरिका भन्ने थेगो झुण्डिएको हुन्थ्यो । हरकुराको तुलना उनी अमेरिकासँग गर्थे–हाम्रो अमेरिकाको प्रजातन्त्र,हाम्रो अमेरिकाको शिक्षा,हाम्रो अमेरिकाको पत्रकारिता, हाम्रो अमेरिकी बद्धिजीबी आदि….आदि….। ती सबै आदि,आदिका उदाहरण उनी आफैं थिए–एक्लो बादशाह ! अरु सबै गँवार । भारतीय दरबानी र सिपाहींगिरीबाट फर्केका मेरा छिमेकी लाहुरे दाइको मलाई कहिलेकाहीं संझना हुन्छ । उनी पनि मुखैमा झुण्डिएको थेगो बारम्बार दोहा¥याइ रहन्थे–उधर हमारे इण्डियामें, क्या बात कर्ता हे बाबु सबकुछ मिलता है ! क्या है ये गँवार नेपालमें ! तर अलि फरक थियो भारतीय दरबान–सिपाहीगिरी नगरेका उनका नजरमा गँवार हुन्थे, यिनका नजरमा डाक्टरी पगरी नगुतेका र उनको स्वप्नदेश युरोप–अमेरिका नपुगेका,त्यहाँ गएर डिएमएस(डेक्ची मस्काउने–सफा गर्ने),जिडी(ग्रेभ डिगिङ),सिभिसी(चिकन काट्ने–भुत्लयाउने) जस्ता विषयमा गहन प्रयोगात्मक सोधकार्य नगरेका जति सबै असभ्य,असक्षम र गँवार ठहरिन्थे ।

हो उनैसँग समय मागेर भेट्न पुग्नासाथ भनिहालें–लौ न डाक्टरसाहेब, मलाई पनि जीवन सफल तुल्याउने उपाय सिकाइदिनुहोस् । मलाई पनि जिन्दगीमा एकपटक तपाइँको स्वर्ग पुगेर शोध कार्य गर्नेे ठूलो रहर छ,कसरी पूरा गर्नेे त्यो रहर ?
“ यु मिन, यु वाण्ट टु गो टु द स्टेट्स् ? त्यसमाथि शोधकार्य गरेर डाक्टर बन्ने त्यो पनि संस्कृति आइमिन कल्चरमा ? नो चान्स, नट एट अल ! कल्चरसल्चर होइन,बरु डिएमएस,जिडी,सिभिसी जस्ता विषयमा प्रक्टिकल रिसर्चवर्र्क गर्न जाने भए भन्नोस । १०–१२लाखम्यानेज गर्न सक्नुहुन्छ भने म व्यवस्था मिलाई दिउँला । उनका कुरा सुनेर मेरा नौ नारी गले । घरमा सधैं आफ्नी भुण्टीलाई जोताएर ढल्या लोटा उठाउने कष्ट नगरेको आफू त्यहाँ गएर एमएस गर्नेे आँटै आएन । करेसो बारीसमेत कहिल्यै डिग नगरेकोले जिडी मा शोध गर्नेे कुरा त झनै मेरोे बुता भन्दा परको कुरा थियो । बाउनको छोरो सिभिसी मा रिसर्च गर्ने झन् कुरै भएन । केटाकेटीमा चिकेनको चल्लो छुँदा समेत आमाले गाग्रोभरिको पानी खन्याएर जात फर्काएको सम्झँदा सिभिसीमा रिसर्च गर्ने कुरामा सफलहँुला भन्ने आँट गर्न सकिने झन कुरै थिएन । अर्काे जुनीमा भए पनि एकपटक डाक्टरसाहेबको स्वर्गमा अफू पनि पुगेर डाक्टरको पगरी कसो नफुत्काउँला भन्दै फर्कें,आफ्नै भुण्टीमाथि रिस फेर्न ।

आरुबारी
२१ असार २०५८

(स्रोत : Vijay Chalise’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.