कथा : विदेशिएको नाती

~भिष्म पाठक~Bhisma Pathak

“I AM SEXY AND I KNOW IT” भर्खर भर्खरै अंग्रजीगीत हरुमा रमाउन सिक्दै थिएँ मँ । दिन र रात को दोसाँध मा थियो समय। SURREYHILLS STATION बाट घरतिर लम्कदैं थिएँ मँ एयरफोनमा गीत सुन्दै । बाटोभरी पहेलो पातहरु झरेका थिए, खै के पो हो कुन्निक़ा बोटहरुबाट। सुनसान थियो बाटो मात्र थियो त लहरै मिलाएर पार्क गरिएका कारहरु बाटोको दुवै तर्फ या त दुबैतिर लहरै मिलेका रुखहरु , समयको गर्मीले पातहरु झरेकोमा दू:खी मानेर बसे जसरि। एक्कासी गीत रोकियो अनि रिङ्गटोन बज्यो। “ओइ के छ खबर”बुवाले गर्नुभएको रहेछ नेपालबाट। अँ सन्चै छ भनेर जवाफ दिएँ। अनि त्यता कस्तो छ। “त्यहि हो हजुरबुवालाई सन्चो छैन तँ संग कुरा गर्ने अरे “। “हल्लो” १७ महिना दोर्सो विश्वयुद्ध लडेका मेरो हजुरबुवा को स्वर अझैपनि दरिलो थियो। मनमा आनन्द आयो। हजुरबुवा अनि कस्तो छ अहिले? “कस्तो हुनु अब डाँडापारी को जुनको , मर्नुअघि तलाई देख्न पाए स्वर्ग गए जत्तिकै हुन्थ्यो नाती “। आङ सिरिङ्ग भएर आए। आँखा रसिला भए। यतिबेलासम्म त म CANTEBURRY रोड आइसकेको थिएँ। अँधेरो उज्यालो माथि हावी भैसकेको थियो। खुट्टा लल्याक लुलुक भएर आए, थुचुक्क बसें। एउटा मान्छे सर्याक् सर्याक् गरेर मेरो अगाडी हिड्दै गयो। थाहा छैन उ खुसि थियो कि दु:खि तर मेरो लागि संसारनै रोए जस्तो लाग्यो। न “हजुरबुवा मँ चाडैं आउछु ” भन्न सकें न “केहि हुदैन हजुरलाई” न त सकें “ह्वा ह्वा रुन ” छोरो मान्छे थिएँ जो मँ। गर्भमैं दबाएर राखे त्यो पिडा। “हजुरबुवा सकेको बिस्तारै खानु , हजुरलाई केहि खान मन छ ” ल़रबडिदो जिब्रोले सोध्न नभ्याउदै हजुरबुवा ले भन्नु भो “हेर म पनि लाहुर गएको थिएँ , घर को माया त हुन्छ नि ,तर हेर माया मोह भनेको त यस्तै हो आफ्नो लक्ष्य उदेश्य पुरा गर्नु मेहनत गर्नु सफल बन्नु अनि मात्र फर्कनु घर ” बरर आँशु झरे। हस् हस् भनेर दोरैरहें “ल बाउसंग कुरा गर ” कम्पित स्वरले भन्नुभयो हजुरबुवाले।
“स्वर्ग जानुभन्दा मेरो सफलता प्यारो भयो है हजुरबुवा ?” मनमा गाठो परेर आयो।
एकमनले टिकट काटेर भोलिनै जाउँ भन्थ्यो अनि अर्को मनले कसरि जाउँ पढाई काम चटक्कै छोडेर , भविष्य डामाडोल हुन्छ। अनि धिक्कारें
किन जानुपर्ने हामी विदेश ?
त्यै माटो , त्यै प्रकृति , त्यै सिर्जना अनि त्यै मान्छे हामीचाहीं किन देश छोड्नु पर्ने ?
हजुरबुवा ले किन छोड्नुपर्यो देश अरु को लागि लड्न ? किन बुवा ले जानु पर्यो अरब को गर्मि मा हातमुख जोर्न अनि किन जानुपर्यो मैले विदेश पढ्न अनि सफल बन्न ? कसलाई सोधुँ मँ किन ?
ओछ्यानमा पल्टिएँ र पनि कानमा त्यै आवाज गुन्जिरह्यो ” स्वर्ग गएसरी हुन्थ्यो, स्वर्ग गएसरी हुन्थ्यो”
किन यत्रो माया ?
१५ वर्ष संगै हजुरबुवा को साथमा रहंदा कहिल्यै सुनिन हजुरबुवा ले यस्तो स्वर मा बोलेको। सधैं छाती फुलाएर गर्व को साथ् धाकका साथ् बोल्ने हजुरबुवा , उचो स्वरमा बोल्ने हजुरबुवा आज झुकेर , मायाले हारेर करुण स्वर मा भन्दै हुनुहुन्छ ” तिमीलाई भेट्न पाए स्वर्ग गए सरि हुन्थ्यो ”
तर यो बिदेशीएको नाति निठुरे छ हजुरबुवा, बिल्कुल निठुरे !
आफ्नो बाउ पुर्खाले खनी खोस्री गरेको पाखा पखेरो छोडेर आफ्नै स्वर्ग को खोजीमा हिडेको छ यो नाति!
दु:ख सुख गरेर लक्का तिघ्रा हल्दिएपछी आफ्नो सफलताकोलागि देश गाउँ अनि परिवार छोडेको छ यो नाति !
हो हजुरबुवा सार्है निष्ठुरे छ यो नाति।

एक साँझ काम बाट थाकेर घर आएको थिएँ। सोफा मा कुर्कूचा जोडेर बसें। आफन्त हरु संग बस्थे मँ मेलबोर्न , अस्ट्रेलियामा। सबैजना दुखि देखिन्थे वरिपरि छरिएर बसेका थिए। एकजना दाईले भन्नुभयो “हजुरबुवा बित्नुभयो रे ” आँखा एक्कासी टोलाउन थाले अगाडी को भित्ता मा। बिल्कुल रित्ता भए आँखा। छाती गरुँगो भएर आयो। भित्र गह निचोरिएर आयो। सबै जना मलाई सम्झाउन लागे। सबैको ओठ हरु चलेको देखें तर केहि सुनिनं , कान ठप्प थिए। “हो हो हो प्रकृतिको येही नियम हो ” यहि टिठलाग्दो प्रकृतिको नियम देखेर मरन्च्यासे खिसिक्क हास्यो ओठ या भनौं निचिक्क रोयो ओठ ।

खै कुन्नि के ले हो , सबैजना को अगाडी न एक शब्द बोल्न सकें नत रुन नै। जुरुक्क उठें र दौडिएँ नजिकैको पार्कमा। वरिपरि बत्तीहरु बलिरहेका थिए। एक रुखको भेदमा थिएँ म , टह टह जुन लाग्दै थियो। के भो होला , के हुदै होला अनेक तर्कना मनमा खेल्न थाल्यो। थुनेर राखेको बाधँ फुटेर छतल्कियेको पानी जस्तै , आँशु बग्न थाल्यो। मुखबाट आवाज पनि निस्कियो “हुक्क हुक्क”, लाग्थ्यो पार्क वरिपरिका रुखहरु टुलू टुलू परेर सुन्दै छन् अनि फेरि लाग्यो के मतलब यी बिदेशी रुखहरुलाई बिदेशी हावा माटोलाई। दस मिनेट जति पछाडी बाधं मा पानी सिद्धियेछ क्यारे , मन हलुङ्गो भएर आयो , थुचुक्क बसें अनि शान्त भएँ।
अनि लाग्यो मँ रोएर के हुन्छ अब ? अनि मँ किन रुदैंछु ?
मँ किन रुदैंछु जस्तो कि मँ चाहिँ कहिलेपनि मर्दिन।
भो हजुरबुवा मँ रुंदिन , हासिखुसी यो दुनियाँमा मेरो भाग बाँचेर आउछु , त्यतै आउछु।

त्यसै दिन लाग्यो मैले नयाँ कुरा सिकेको छु जिन्दगि मा
प्राप्ति मात्र जिन्दगि होइन गुमाउनु पनि हो
सुख मात्र जिन्दगो होइन दुख पनि हो
जन्नुपर्दो रहेछ जिन्दगि मा आफ्नो प्यारो चिज गुमाउन
नाता गोता आफन्त गुमाउन अनि एकदिन आफैलाई गुमाउन।

घर फर्के खान पटक्कै मन भएन सुत्न गएँ। बत्ति निभायर ओछ्यानमा पल्टिनमात्र के लागेको थिएँ , यादको थुर्प्रो हरुले थिचेर ल्यायो मलाई। हजुरबुवाले बिहानै उठेर गर्नुभको पुजापाठ , संख घण्टा। झन्नक्क रिश उठ्थ्यो हजुरबुवाले सुतिरहेको बेला ओइ काले महादेवलाई चढाउन बेलपत्र टिपेर लेइज्यो झट्टै भन्दा, अनि मुर्मुरिदै निस्कन्थे मँ, बुढा ले कहिल्यै सुत्ने दिने भएनन् भन्दै। केहि मिठो चिज क्वाप्प खानुअगाडी भाँचेर मलाई आधि दिनु हुन्थ्यो । मलाई भनेर आफ्नो त्यो चरेसको थालमा घिउ भात अनि दुध छोड्नु हुन्थ्यो हजुरबुवा। गुच्चा खेल्न लागेको देख्दा जापानिज लाई युद्ध मा तर्साए जसरि तर्षाउनु हुन्थ्यो हजुरबुवा। करेसबरिको काउली गोडाउदा , साग र प्याजमा पानी लगाउन लाउँदा गाई बस्तु चराउन लगाउदा या त सेउला झरना लाउँदा झन्नक्क रिसाउथें तर डरले लुरुक्क परेर गर्थें । अनि मैले पढ्नु छ हजुरबुवा भनें भने, ल त ल म गर्छु त पढ्न जा भन्नुहुन्थ्यो र म मक्ख परेर जान्थें।कोहि नयाँ मान्छे घरमा आउदा यो मेरो नाति पढाईमा त स्कुलकै फस्ट बोइ हो भनेर गर्व गर्थे हजुरबुवा। मलाई चाहिँ लाज लाग्थ्यो।
अब फेरि मैले कहिल्यै देख्ने छैन ति हजुरबुवा !
मेरो यो नाति भनेर अब कसले गर्व गर्छ मेरो हजुरबुवा !

जिउ सरल्यक सुर्लुक चिस्सियेर आउथ्यो त्यो संझदा। येत्तिकै मा थाहा नै भएन कतिखेर निन्द्राले पछार्यो यी यादहरुलाई। आफ्नो आँखा अगाडी भएको भए, अनि आफ्नो परिवारसंग बेदना बाढ्न पाएको भए सायद बास्तबिकता संग घुल्न सजिलो हुन्थ्यो होला तर साच्चै सुमंद्र पारी देशमा एक्लै यो तितो यथार्थतासंग भिज्न सार्है गाह्रो हुदोरहेछ। लाग्थ्यो त्यो त सिर्फ सपना हो , मैले जस्तो छोडेर हिडेको छु मेरो हजुरबुवा म फर्कंदा त्यस्तै हनुहुनेछ । जसरि मलाई फलैंचामा बसेर बिदा गर्नुभएको थियो मेरो हजुरबुवाले त्यसरिनै स्वागत गर्नुहुनेछ एक दिन। आँखाले देखेन त मनले पत्ताएन।यातिक्कै मा दिनहरु बित्दै गए। भगवानले मान्छेलाई दिएको एक सबैभन्दा ठुलो शक्ति भनेको भुल्ने शक्ति होरे।

बिस्तारै येस्तै उस्तै मा दुइ वर्ष बितेछ। नेपाल बाट आएको लगभग चार बर्ष। नेपाल जाने भएँ छुट्टी मिलाएर दशैं तिहारको लागी । तेर घण्टा को फ्लाइट पछि पुगें नेपाल। फुङ्ग उडेको थियो एर्पोट तर फुरुङ्ग रमाएको थियो मन मेरो अनि बाहिर कुरेर बसिरहेको बुवा अनि भाई बहिनीको। सबै जनालाई त्यो हुलमुलमा देख्दा मन येत्तिकै प्रफुलित भएर आयो। भाईहरु आफूभन्दा आग्ला भएछन। धोत्रो बोलीमा दाई दर्शन भन्दै आयो। ल ! कत्रो भएछ है योत भनें ।अनि मुसुक्क हासें मँ छैन भनेर समयले कहाँ कुर्दोरहेछर। बुवा पनि अलि बुढो देखिनुथाल्नु भएछ ।
भद्रगोल थियो, होहल्ला थियो त्रिभुवन विमानस्थल तर जस्तो थियो मनमा आनन्द थियो किनकि यो आफ्नो देश थियो आफ्नो मान्छे थिए । काठमाडौँ बाट घर जान आतुस थियो मन। त्यो दिन दिदी कहाँ बसेर भोलिपल्ट घर तिर लागें। बाटो मा भेट्ने देख्ने मान्छे हरु आफ्नो लाग्थ्यो। बाटो मा देखिने रुख्जंगल , खेत बारी खोला नाला खोल्सा खोल्सी सब आफ्नो लाग्थ्यो। खाल्टो खुल्टी ढिस्को पहिरो जे देखें आफ्नो लाग्थ्यो।थन्सिङ्ग फाँट हुँदै पुगे मेरो गाउँ जहाँ मेरो परिवार मलाई कुरेर बसेको छ। अहो ! मेरो गाउँ ! त्यो गाउँपाखा, आँपका रुखहरु, खेत बारी मलाई देखेर लजाई रहे जसो लग्यो मलाई ४ वर्ष पछि देख्दा । अनि म पनि सुटकेस घिच्यौदै पुगें घरको आँगन हजुरआमा ले थाली मा फुल र अबिर केसरी लिएर मलाई स्वोगत गर्न बस्नु भएको रहेछ। सधै रातो लुगा मा देखेको मेरो हजुरआमा लाई हरियो लुगामा देख्दा मन खल्लो भएर आयो। घरको दैलो मा हजुरमा ले टिका लगाई दिनु भयो। तल्लो माख्लो घरका सबै जना आउनुभएको थियो हेर्न को लागि। मँ थुचुक्क बसें फलैचा मा अनि अनायास्सै लग्यो मलाई फलैचाको अर्को छेउबाट हेर्दैहुनुहुन्छ हजुरबुवाले। घर भित्र गएँ पुजा कोठामा लाग्यो हजुरबुवा भगवत स्तोत्र पढ्दैहुनुहुन्छ । बाहिर परालको कुन्यु को नजिक बिछायिएको गुन्द्री मा लाग्यो हजुरबुवा पल्टीरनुभाको छ।
सोध्न मन लागेको थियो खोइ मेरो हजुरबुवा ? मैले हजुरबुवाले सास छोडेको देखेको छैन। मैले मेरो हजुरबुवालाई चिता मा जलेको देखेको छैन। ए हजुरमुमा खोइ मेरो हजुरबुवा। तर सोधिन मैले बहाना गरें मैले बिर्सिसकेको छु हजुरबुवालाई । मैले हजुरबुवा बित्दा हजुरआमा ले रोएको देखेको छैन , परिवार नातागोता कसैले रोएको देखेको छैन अनि उनीहरुले मा रोएको देखेको छैन। घर परिवार को अगाडी फेरि त्यो दिन सम्झेर धक खोलेर रुन मन लाग्यो तर रोइनं बहाना गरें मैले बिर्सिसकेको छु हजुर्बुवालाई।

चार बर्ष पछि भेटेको नाता गोता संग दु:ख सुख को कुराकानी गर्दै, तल्लो घर माख्लो घर गर्दै बित्यो त्यो दिन। काकी ममी हरु संग ढिलो सम्म कुरा गरेर सुत्न लाग्यौं। बिहान सबैजना उठिसकेका थिए। झ्याल को कुनाबाट पसेको सुर्य को पहिलो झुल्को मा महसुस गरें हजुरबुवालाई , बुवा ले पुजापाठ गर्दैहुनुहुन्थ्यो , बजेको त्यो संख र घन्टी मा अनुभूत गरें हजुरबुवालाई। कता कता बोलाए जस्तो लग्यो हजुरबुवाले “ओइ काले उठ झट्टै ”
हस हजुरबुवा हस !! जुरुक्क उठें
काकी ले बिहानै लिप्नुभाको रातो पिढीमा अनुभब गरें हजुरबुवालाई।
दुबोमा टल्केको शीत को थोपा मा आभास गरें हजुरबुवालाई।
फुलेको फूलमा , ओइलेको पातमा , आँगन अगाडिको कपुरको बोटमा , त्रिसूलि बनमा लिखु खोलामा, झुलेको धानको बालामा, चराचुरुंगी को चिरबिरमा , मन्दिरमा महसुश गरें हजुरबुवालाई।
सम्झिदा मन घोचेर आउथ्यो बास्तबिकता यो हो कि अब मैले देख्ने छैन हजुरबुवा।
समय को त्यो खेल सकिसकेको थियो।
हब्बा भन्न मिल्दैनथ्यो , झेली भयो भनेर खेल बदर गर्न पाईदैनथ्यो।

झेल त भएकै हो। आज पनि त्यै सुर्य झुल्की रहेछ , त्यै जुन टहलिरहेछ तिमीहरुलाई जिम्मा छोडेर गएको हैन ?
खोइ मेरो हजुरबुवा ?
रुन मन लग्यो, अनि पोख्न मन लाग्यो सबै बेदना प्रकृति संग सोध्न मन लाग्यो, चिच्चाउन मन लाग्यो ओइ लिखु खोला , घरको अगाडी को निशब्द ठडीरहेको कपुरको को रुख , कविलास डाँडा तिमीहरुलाई शाची छोडेर गएको हैन ,

“खोइ मेरो हजुरबुवा “

(स्रोत : Bhishma Pathal’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.