साखुल्ले जीवनका पन्नाहरु
निबृतिले भरिएका मनफुलहरु
अन्तस्करणभित्र पहिरोले थिचिदै गर्दा
निरोको धुनमा राष्ट्रप्रेम झल्कला र?
शब्दहरु भित्र आफैलाई निख्लम
सत्यको बिहङगम पर्दाले ढाकिरहेकै बेला
अबचेतन मनभित्र एउटा प्रश्न उब्जन्छ।
ढाकरहरुले हस्तिनापुरको फेदिबाट
आफ्नो जिजिबिषाको जोहो गर्दै गर्दा
भ्यागुते उफ्राइले मेरो माटो समुन्नत होला?
परचक्री पिडा र अतित उद् बोधन भित्र
आफैलाइ बन्दी बनाउन बिबश मनफुलहरु
जाग्छन शब्दमा र मुर्च्छित हुन्छन मरुभुमिमा
मुर्च्छना र जाग्रत भावले राष्ट्र बन्ला?
एउटा सिमान्तकृत क्षेत्रभित्र कैद
कैद गरिएका/गराईएका मनफुलहरु
बन्दी क्षेत्रबाट उन्मुक्त भावनाहरु
खुल्ने, फुल्ने र घुल्ने रोगले ग्रसित
अनी प्रताडित छ मेरो कित्ता मेरो माटो
‘म’ र ‘मेरो’को अस्तित्वबाट अबिचलित
‘हामी’र ‘हाम्रो’ बनाउन सकेन ‘गीता’ले
यि र यस्ता रोगले एक कदम अघी नबढ्दा
शाब्दिक धरातलमा मात्रै राष्ट्रप्रेम बढ्ला र?
अबचेतन मनभित्र एउटा प्रश्न उब्जन्छ।
मैले देखेको सपना ‘म’बाट ‘हामी’ भएकै दिन
हामी हाम्रो समाज आफै बनाउन तल्लिन हुनेछौ।
आरोप-प्रत्यारोपको शृंखलाहरु आफै बन्द गर्नेछौ।
समतामुलक समाजको बिनिर्माण गर्नेछौ।
हो, त्यही दिन मेरो प्रश्नको अन्त्य हुनेछ।
हामी र हाम्रो परिवर्तनको सपना साकार हुनेछ।
(स्रोत : Shabdahar )