अनूदित कथा : आँखाहरू

~सङ्गीता झा~
अनुवादः कुमुद अधिकारी

“आमा अटोवाला तपाईँसँग कुरा गर्न चाहन्छ।” छोरीले सुनाइन्।

“आज बिहान-बिहानै यसलाई के काम परेछ मसँग ?” म सोध्छु ।

“तपाईँ आफैँ भेट्नु न।” छोरी भन्छिन्।

“अहिले स्कुल जान ढिलो हुन्छ, पछि आएर भेट्नु भनन।” यति भनेर म आफ्ना दैनिक कार्यहरूमा लाग्छु। ठीक आधा घण्टा पछि फेरि घण्टी बज्छ। आयाले आएर अटोवाला आएको छ भनेर सुनाउँछे। म झर्किँदै बाहिर निस्कन्छु र अटोवालका याचनापूर्ण आँखाहरू देखेर पग्लिन्छु। फेरि तत्क्षण आफैँसँग वाचा गर्छु कि अब म धेरै पग्लिनेछैन किनकि म कम्पनीको सि.इ.ओ. की श्रीमति भएकी छु। उसका आँखाहरूमा याचना छ, कृतज्ञता छ, म प्रति ती आँखाहरू आशावान छन्।

म सोध्छु – “के छ ?”

ऊ भन्छ – “मेम साहेब, अहिले दस हजारको साह्रै खाँचो पऱ्यो। मासिक किस्तामा तिर्छु।”

म आफ्नो आवाजमा क्रोध मिसाएर भन्छु – “दस हजार केका लागि ? रूपियाँ के रूखमा फल्छन् ?”

ऊ अनुनय गर्दै भन्छ – “मेम साहेब, छोरीलाई एघार कक्षामा भर्ना गर्नुछ। मैले हजुरसँग मागेको त किताब र कापीलाई मात्रै हो। छोरीले दश कक्षमा ९५ प्रतिशत नम्बर ल्याएकी छ र उसका लागि मासिक शुल्क पूरै छूट छ। यहाँसम्मको यात्रा पनि तपाईँकै दयाले सम्भव भएको हो। राम्ररी पढी भने उसलाई राम्रो र सुनौलो भविष्य दिन पाउँछु। नत्र आफूजस्तै कुनै अटोवालाकी स्वास्नी बन्नुपर्छ।”

उसको बोलीसित उसका आँखाहरू पनि बोलीरहेका छन्। ती आँखाहरूमा आशाका भावनाहरू तैरिरहेका छन्। म उसकी पहिलेकी जस्तै मेम साहेब भएकी भए सायद भन्दी हुँ – “अरे, ल राम्रो, तिमी चिन्ता नगर, तिम्री छोरी मेरी छोरी हो र उसको सबै पढाइ मेरो जिम्मा भयो अब।”

मेरो यस्तै पुरानो बानीले छोराछोरीहरू पनि आमालाई त खाली अटोवालाकी छोरीको मात्रै चिन्ता छ भनी निकै पल्ट रिसाएका थिए। उनीहरू भन्थे आमालाई त हाम्रो भन्दा पहिला उसकै रिजल्ट पहिले हेर्नुपर्छ र उसैलाई प्राइज दिन हतारो हुन्छ। तर अब मेरो कायापलट भएको छ। अब म एउटा साधारण अफिसरकी श्रीमतिबाट सि.इ.ओ. की श्रीमतिमा परिणत भएकी छु। यस पदसित आएको पैसासँगै मेरो हृदयको करूणा पनि सकिँदै गएको छ। मलाई देखेर अटोवालाको अनुहारमा आससँगै आश्चर्य पनि मिसिँदै गएको छ।

म निकै जोडले भन्छु – “हुँदैन, सरी है, म तिमीलाई पैसा दिन सक्दिनँ। यो महिना निकै टाइट छ। मैले पनि छोराछोरीको फिस तिर्नुपर्छ।” यति ठूलो झूट बोल्दा न मेरो स्वरमा, न आँखामा केही फरक देखिन्छ। त्यसपछि म उसका आँखामा नहेरी ढोका बन्द गरिदिन्छु।

श्रीमान् पछाडिबाट कराउनुहुन्छ – “अरे देऊ न दस हजार त्यसलाई। एउटा साडी किनेको सम्झिनु।”

म रिसले कराएर भन्छु – “तपाईँ चुप लाग्नुस त। मेरो र नोकरका बीचमा तपाईँले नबोलेकै राम्रो।” श्रीमान् छक्क पर्नुहुन्छ। यसभन्दा अघि त यसको ठीक उल्टो हुन्थ्यो। मैले जतिबेला अटोवालालाई उसका छोराछोरीको पढाइका लागि बारम्बार पैसा दिने गर्थेँ, श्रीमान् झर्किँदै भन्नुहुन्थ्यो – “महिना भरीको बजेट बिगारी दियौ। यो महिना नाइकका राम्रा जुत्ता किन्छु भनेर कहिलेदेखि योजना गरेको थिएँ।” यस्तै कुनै महिना उहाँको ज्याकेट त कुनै महिना कोटका योजनाहरू मैले धराशायी गरिदिएकी थिएँ। एकपल्ट मैले उसलाई अटोरिक्सा किनेर दिँदा घरको अर्थव्यवस्था झण्डै धर्मराएको थियो। त्यसको लगानी म प्रत्येक महिना अटोरिक्साको भाडाबाट काट्थेँ। यो किस्ता पूरा गर्दागर्दै मेरी छोरी के.जी.बाट नौ कक्षामा पुगी।

मेरो श्रीमान्‌ले मलाई आश्चर्य मानेर हेरिरहनु भएको छ। मेरो यस्तो रूप उहाँले कहिल्यै देख्नु भएको थिएन। देख्नुहोस् पनि कसरी,यो रूप त मैले हिजो लेडिज क्लबको मिटिङपछाडि धारण गरेकी हुँ। मलाई भर्खरै बनेकी साथी – जो अर्कै कम्पनी का सि.इ.ओ. की पत्नी थिइन् – ले भनेकी थिइन् – “तिमी किन यति साह्रो हाउसमेड, ड्राइभर, अटोवाला, माली आदिका झमेलामा फँसी रहन्छ्यौ। हामी सबैले पूर्व जन्मका कर्महरूको फल भोगिरहेका छौँ। पूर्व जन्ममा जति पुण्यको काम हामीले गरेका थियौँ त्यसैको फल हामी भोगिरहेका छौँ। तिमीले जति मद्दत गरे पनि तिनले आफ्नो पूर्व जन्मको फल त भोग्नै पर्छ।”

म उसका कुरामा पूर्ण विश्वास गर्छु र एकै मिनेटमा केही सोचविचार नगरी दूधवाला, नोकर्नी, धोबी, अटोवाला आदि सबैको जिन्दगीबाट टाडिन्छु। मनमनै एउटा आत्मविश्वास पलाएको छ किनकि यस कामको सुरुवात मैले अटोवालाका चम्किला आँखाहरूमा निराशा र दुःख भरेर सुरु गरेकी छु। यो अटोवाला मेरो जिन्दगीमा उसका आँखाका कारणले आएको हो। एघार वर्ष अघि एकपल्ट म यसको अटोरिक्सामा बसेकी थिएँ र ऊ बाटोभरी अटो चलाउँदै गुनगुनाइरेहेको थियो। अटोबाट उत्रिँदा चानचुने पैसा नभएर मैले उसलाई पाँच रूपैयाँ बढी मात्र के दिएकी थिएँ, उसका आँखाहरूमा अनौठो चमक र कृतज्ञताका भावना भरिएका थिए र उसले मलाई शिर झुकाएर धन्यवाद दिएको थियो। उसका आँखाहरूले मलाई मोहित बनाएको थिए। जिन्दगीमा पहिलोपल्ट आँखाहरू यति शक्तिशाली भाषा बोल्छन् भन्ने आभास भएको थियो। तिनै आँखाहरूले अचानक मेरा कदमहरू रोकेका थिए।

मैले सोधेकी थिएँ – “अटो आफ्नै हो ?”

उसले भनेको थियो – “मेम साहेब, मेरो त्यस्तो भाग्य कहाँ ?”

त्यसबेला मेरी छोरी नर्सरीमा जान थालेकी थिइ र म एउटा राम्रो अटोवाला खोजीरहेकी थिएँ। मैले उसलाई छोरीका लागि राखेँ। म तिनै आँखा नजिक हुँदै गएँ। मैले पूरै परिवारको विरोध हुँदा पनि उसलाई अटोरिक्सा किनिदिएकी थिएँ जसका लागि अहिले पनि मलाई मेरा पतिदेव व्यङ्गवाण प्रहार गरिरहनु हुन्छ। तिनताका हामीसँग पैसा पनि कमै हुन्थ्यो। उसका छोराछोरीहरूलाई पनि मैले राम्रै स्कुलमा भर्ना गराएकी थिएँ। हरेक दिन बिहान म उसको आगमनको प्रतिक्षा गर्थेँ। उसका आँखाहरूको चमक र उसको उत्साहले मलाई साह्रै आकर्षित गर्थे। मलाई लाग्थ्यो यति धेरै अप्ठ्याराहरूमा बाँच्दा पनि ती आँखाहरूमा त्यस्तो चमक, त्यस्तो निश्चिन्तता र निश्चलता कसरी भरिएको होला। छोरी पनि अटो अङ्कल भने पछि हुरुक्कै हुन्थी। कहिले भन्थी – “आज अटो अङ्कलको कमाई राम्रो भएको थियो र अटोमा बस्ने हामी सबैलाई उहाँले आइसक्रिम खुवाउनु भयो।” अनि कहिले भन्थी – “एउटा बच्चालाई चोट लागेको थियो अनि अटो अङ्कलले डिटोल लगाएर सफा गरिदिनुभयो।” छोरी स्कुलबाट आएपछि आफ्ना कुरा सुनाउँदा अटो अङ्कलको प्रसङ्ग जोड्न कहिल्यै चुक्तिनथी।

अटोवालाकी छोरी राम्ररी पढ्थी र प्रत्येक वर्ष आफ्नो कक्षामा प्रथम आउँथी। ऊ हरेक वर्ष तिहारमा आफ्नी पत्नी र छोराछोरी लिएर मेरा घरमा आउँथ्यो। पतिदेव र छोराछोरीहरूले खिल्ली उडाए पनि म हरेक वर्ष उसकी पत्नीलाई साडी र छोराछोरीहरूलाई लुगा र पटाकाहरू दिने गर्थेँ। एक किसिमले भन्दा अटोवालाई जिन्दगी बाँच्न मैले नै सिकाएकी थिएँ।

तीन दिन पछि छोरी कराउन थाली- “आमा ! अटोवाला आएन।”

मैले भनेँ – “केही हुँदैन, कतै पहाड लडेको छैन। तिमीलाई ड्राइभरले पुऱ्याउँछ।” त्यसपछि पनि पाँच दिन सम्म अटोवाला आएन।

मेरो पूर्व जन्मको कर्मका कारणले यस जन्ममा मोज गरेकी छु भने कमसेकम यस जन्ममा पनि त राम्रो काम गरेर अर्को जन्म सुधार्न सक्छु। यस्तो विचार आउन थालेपछि मलाई अटोवाला सित गरेको व्यवहार प्रति आत्मग्लानि हुनथाल्छ। मनमा एउटा दृढ निश्चय गरेर अटोवालालाई खोज्न निस्किन्छु। छोरीको स्कुल छेउ अर्को अटोवालासँग सोधपूछ गर्दै म उसको घर पत्ता लगाउँछु र त्यहाँ पुग्छु। उसको घरको गल्लीको कुनाको दोकानमा मन्तिरको चौतारीमा बसिरहेको चिनेजानेको अनुहार देख्छु तर उसका आँखाहरू बिलकुल शून्य देखिन्छन्। छेउमा गएर हेर्छु, मेरो अटोवाला होश हराएजस्तो, मैला लुगा लगाएर बसिरहेको छ। म तर्सिन्छु किनकि ती आँखाहरूले मलाई चिन्न अस्वीकार गरिरहेका छन्। मेरो क्रूर व्यवहारले उसलाई यति व्यथित बनाए छ कि ती आँखाहरूबाट मेरो परिचय पनि हराइसकेछ। मलाई देख्दा चम्किने, खुसी हुने र बोल्ने आँखाहरू पूरै शून्य भएछन्। उसको घरमा पुग्दा शोक मनाउँदै गरेकी उसकी पत्नी र रोइरहेकी छोरी भेटिन्छन्। यिनलाई देख्दा मलाई लाग्छ कुनै ठूलै दुर्घटना भएको छ। म उसकी पत्नीलाई सोध्छु। ऊ बताउँछे – “तपाईँले पैसा नदिएपछि यस घरलाई निराशाले घेऱ्यो। उनको स्वाभीमानले तपाईँ बाहेक अरूअगाडि हात फैलाउन दिएन।”

मैले हुन्न भनेपछि ऊ निराश भएको थियो र आफ्नी छोरीलाई पढाउन सक्दिनँ भनी भनिदिएको थियो। उसले परिस्थिति सामु घुँडा टेकेको थियो। मलाई एकाएक लाग्यो, उसका आँखामा जलिरहेको ज्योति मैले निभाएकी हुँ।

तर उसकी छोरीलाई पढाइको भूतले समातेको थियो। आफ्नो पाढाइका लागि ऊ जे पनि गर्न तयार थिई। त्यस केटीले एउटी बदमास छिमेकी महिलाको मद्दत लिएर आफूलाई एक रातका लागि बेच्ने निधो गरी। यस कुराको सुइँको आफ्ना आमाबाबुलाई कतैबाट पनि दिइन। एक रात ऊ एउटा व्यापारीसँग कसैलाई केही नभनी एउटा होटलमा गई। दुर्भाग्य, त्यसैबेला पुलिसले त्यहाँ रेड गऱ्यो। त्यस केटीलाई पुलिसले पक्रेर लग्यो। छोरीलाई छुटाउँदा उसको भएभरको सम्पत्ति बिक्यो। तर पुलिसका कारणले छोरीको इज्जत चाहिँ जोगियो। त्यसपछि अटोवाला न कसैलाई चिन्छ न कसैसँग कुरा गर्छ। एककोहोरिएर हेरेको हेऱ्यै गर्छ। उसले गर्नु पनि के गरोस्। उसका आँखामा चमक हाल्ने मेमसाहेबले नै चमक खोसेकी थिइन्।

म सर्वाङ्ग काम्न थाल्छु। कुरा यति परसम्म जान्छ भन्ने कुराको अन्दाज पनि मैले गरेकी थिइनँ। आफ्नो अर्को जन्म सुधार्नका लागि समय खेर नफाली एउटा निर्णय लिन्छु र त्यो परिवारलाई आफ्नो आउटहाउसमा लैजान्छु।

यो घटना घटेको पनि पाँच वर्ष भैसकेको छ। अटोवाला मेरो श्रीमान्‌को कम्पनीमा ड्राइभर छ। उसकी छोरी इन्जिनियरिङ कलेज पढिरहेकी छ र बेलुका मेरी छोरीलाई ट्युसन पढाउँछे। उसका दुई साना छोराहरू पनि राम्रै स्कुलमा पढिरहेका छन्। यति हुँदाहुँदै पनि अटोवालाका आँखाहरूमा अझै शून्यता व्याप्त छ। ती आँखाहरूमा मेरो परिचय कतै बाँकी छैन। म त्यो दिनको पर्खाइमा छु जुन दिन ती आँखाहरूले मसँग पहिलेको जस्तै कुरा गर्छन्।

(स्रोत : Sahityasarita)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in अनूदित कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.