कथा : अपराजित

~राजन सिलवाल~Rajan Silwal

प्रेम थियो, निष्ठा थिएन । दुवैलाई एक–अर्कामाथि शङ्का थियो । युवती भन्थी, ‘मैले बाटो बिराउन सक्छु । तिमीले सम्हाल्नू, मलाई जतन गर्नू !’ युवक भन्थ्यो, ‘त्यस्तो कहाँ हुन्छ ? बाटो त प्रायः लोग्नेमान्छेले पो बिराउन सक्छन् । बरु तिमी नै मलाई सम्हाल्ने, यताउति भड्किन नदिने, भड्किई हाले पनि ठेगानमा ल्याउने ठेक्का लिऊ !’ युवतीले पनि जिद्दी गरी, ‘त्यो छुट पनि दिन सक्तिनँ म । यो ठेक्कासेक्का पनि लिन्न । म त झन् स्वभावैले कोमल, कमजोर छु । लल्याक्लुलुक् हुन्छु । स्कुस वा तरुलको लहराजस्तो । तिमी रूख बनेर मलाई सम्हाल !’

युवक हाँस्यो तर पराजित हुन मानेन । युवकले फेरि भन्यो– ‘हैन स्वास्नीमान्छे भनेका नडग्माउने धरती हुन् । हामी आकाश पो बादल र सादल बोकेर जताततै व्याप्त हुन्छौँ । बरु तिमी रूख बन र मजस्तो अस्थिर चित्त भएको लहरालाई आपूmमा समाहित गर, अन्त कतै जान नदेऊ !’

ती दुवैबीच ‘को लहरा र को रूख बन्ने ?’ भनेर बहस चलिरह्यो । युवतीले ‘लहरा नै बन्ने’ हठ गरी । युवकले हार खायो ।

हिँड्दै जाँदा एउटा किसानको बारीको डिलमा अनौठो दृश्य देखियो । अग्लो पैयुँको रूखलाई तरुल, स्कुस र इन्द्रेनीको लहराले सक्कली रूपै नदेखिने गरी बेरेका थिए । युवतीतिर हेरेर युवकले सोध्यो– ‘अब देख्यौ त ?’

युवतीले भनी– ‘तिमी लोग्नेमान्छेहरूसँग सकिँदैन । बरु मै रूख… ।’ युवकले त्यस रूखलाई हेरिरह्यो ।

एक बोतल बियर हाजिर गर्न जाँदा हाकिमको कोठाअघिल्तिर मैले नयाँ निजी सहायकलाई देखेँ । चालीस–बयालीस हुँदो हो उनको उमेर । भिउँटे गाला, नाचिरहने आँखा र रगत पोखिए जस्ता ओठ थियो तिनको । कतैबाट भरखर सरुवा भएर आएकी होलिन् भन्ने अनुमान लगाएँ । आँखामा आँखा विलय भइरहँदा मैले सोधेँ– ‘सरुवा भएर आउनुभएको तपाईं ?’ उनको उत्तर पाएँ । मुस्कान मनपराएँ र आफ्नो कोठातिर लागेँ ।

दिउँसो अफिसको क्यान्टिनमा भेट भयो । मेराबारे जिज्ञासा राखिन् । मेरै क्षेत्रतिर ‘डेरा बुझिदिनू’ भनिन् । ‘सँगै अफिसको गाडीमा आउन पाए राहत हुन्थ्यो’ पनि भनिन् । के थियो र ! म चढ्ने गाडीको दायाँ सिट सधैँ खाली नै हुन्थ्यो । आउँदा–जाँदा ड्राइभरसँग गफ गर्दा–गर्दा वाक्क भइसकेको थिएँ । खाली सिट भरिएपछि मन पनि भरिन थाल्यो । भरिएको मन कहिलेकाहीँ हास÷परिहासमा छचल्किन थाल्यो ।

तिनको सामीप्यले मलाई घर बिर्साइरहेथ्यो, अफिस बिर्साइरहेथ्यो र अरू धेरै महŒवपूर्ण काम बिर्साइरहेथ्यो । विभिन्न वहानामा तिनी मेरो उपग्रह भइरहेको मलाई मज्जै लागिरहेको थियो । निजी सहायकको कोठामा अरू सहकर्मीको उपस्थितिप्रति म डाहा गर्थें । तिनको मुस्कान, हिस्सी र सान्निध्य एकलौटी पार्न चाहन्थ्यो मन । मेरो प्रशंसामा ती धेरै शब्द खर्चन्थिन् । म तलब खर्चन्थेँ शोधभर्नामा ।

शुक्रबार पाँच बजेतिर घर फर्किँदा दायाँ सिट खाली नै रह्यो । तिनको छायाँ कतै पनि देखिएन । ड्राइभर जान्दथ्यो, मेरा आँखाले के खोजिरहेछन् ? घर गइनँ । बीचबाटै गाडी फकाईदिएँ । के गरूँ–के गरूँ भयो । एउटा रेस्टुरेन्टमा पसेँ । बेयराले सोध्यो– ‘के ल्याऊँ सर ?’ अर्को कुनामा एक जोडी मतिर पिठ्यँु फर्काएर बसिरहेको देखेँ । लेखा अधिकृतको जस्तै रहेछ युवकको पश्चभाग, कपाल पनि उस्तै । युवतीले उसको कुममा बायाँ हात राखेर केही पिइरहेकी देखेँ ।

‘अब के खाने ?’ युवकले सोध्यो ।

‘एक बोतल बियर खुवाउनुस् न सर !’ उनले भनिन् र सायद शौचालय जान उनी मेचबाट उठेर हिँड्न थालिन् ।… अचानक मलाई आफ्नो सामुन्ने देखेर ती निजी सहायक ‘सालिक’ भइन् ।
अ३ि नै भन्नु पर्दैन ?

हाकिमको पनि स्तर निर्धारण गरेका थियौँ हामीले । विभागीय प्रमुखलाई एक नम्बर, उपप्रमुखलाई दुई नम्बर र शाखा प्रमुखलाई तीन नम्बर ।

यो कथा तीन नम्बर हाकिमप्रति समर्पित छ ।

शाखा अधिकृतको र मेरो जागिर दसौँ वर्षमा चल्दै थियो । तर, मैले लेखेको चिट्ठी उनी कम्तीमा पाँचपल्ट फिर्ता गर्थे । ह्रस्व–दीर्घ काट्न सक्तैनथे ती । किनभने म नेपालीमा आचार्य थिएँ । ‘व्यहोरा मिलेन’ भनेर हैरान पार्थे । केही नपाएर ‘मार्जिन, स्पेस, फन्ट साइज, आदि मिलेन’ जस्ता फत्तुर लगाएर भए पनि ती मलाई मुठार्थे । ‘काममा अलि सिरियस हुनुस् भक्तजी । अर्थोकै भक्तिमा लाग्नुभो कि के हो तपाईं ?’ उनी छेड हान्थे । ‘साहित्य लेख्नु र सरकारी चिट्ठी लेख्नु फरक कुरा हो, ख्याल गर्नुस् है !’ म फिस्स हाँसिदिन्थेँ । उनी फेरि पछारिन्थे ।

तीन नम्बर हाकिम कस्तो छ भनेर सहकर्मीहरू जान्दथे । एक दिन यादव सरले त भने पनि, ‘हेर्नुस्, तपाईं गीताको कुनै अध्याय लेखेर लैजानुस्, उसले मिलेन भनेर काटेनछ भने त के ?’ भयो त्यस्तै । उनको वैदेशिक मनोनयनको फाइल उठाउनुपर्ने भयो । गोपनीयताको लागि एक नम्बर हाकिमले खेस्रा लेखिदिए अनि साफी गरेर शाखा प्रमुख हुँदै पेस गर्नू भने । त्यसै गरेँ । तीन नम्बर हाकिमले सुरुवाती व्यहोरा हेर्नेबित्तिकै भने, ‘एक–दुईचोटि भनेपछि त लाग्छ नि ! यस्तो तालले हुँदैन । जानुस्, फेरि मिलाएर लेख्नुस् !’ म रोकिएँ र उनको अनुहारतिर हेरेँ ।

‘के हेर्नुभएको ? कुरा बुझ्नु भएन अभैm ?’ उनी भाले पल्टिए । मैले भनेँ– ‘यो सरकै मनोनयनको फाइल हो सर ।’ एकाएक उनको आँखामा चमक देखियो, भने– ‘ए हो र ! मैले त यादै गरिनँ । अरू नै केही विषय होला भन्ठानेको ।’

‘खेस्रा पनि डाइरेक्टरसा’बले नै गर्नुभएको, टाइप मात्र मेरो’, मैले भनेँ । उनी लल्याकलुलुक भए, ‘ए, ल यता ल्याउनुस् ! अघि नै भन्नुपर्दैन ?’

(स्रोत : शारदा मासिक २०७१ मंसीर)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.