मेरो बगैँचामा
बग्रेल्ती उड्छन् सुगाहरू
सुगाहरू
जोडजोडले बेसुर कराउँछन्
मात्र कराउँछन्
बुझ्दैनन् भाषा मान्छेको
त्यसैले त सुगा हुन्
सुगा हुन् र त आफैँ बोल्दैनन् ।
दोहोरो कुरा गर्न जान्दैनन् सुगाहरू
मात्र बर्बराउँछन् सुगाहरू–
‘सीताराम कहो पट्टु’
आयातित अक्सिजनमा हुर्किएका
रैथाने सुगाहरू ।
म खेती गर्छु
पसिनाले सिञ्चेर माटोमा
सुगाहरूका एक बगाल
बाँसघारीबाट आउँछन् आतङ्क मच्चाउँदै
र, पाकेको मेरो बाली
नष्ट गरिदिन्छन् क्षणभरमा
म घर बनाउँछु
माटो मुछेर रगतले
सुगाहरू घरको कौसीमा बस्छन्
र, जथाभावी फोहर पारिदिन्छन्
म आजित हुन्छु सुगाहरूदेखि ।
समय समयमा सुगाहरू
भुर्र उड्छन्
छिमेकीको आँगन र बगैँचा चाहार्छन्
अलिकता कनिका छर्छ छिमेकीले
कनिका टिप्छन् सुगाहरू
सुगाहरू समात्छ र सुमसुम्याउँछ छिमेकी
सुगाहरू पखेटा फटफटाँछन्
लठ्ठिन्छन् र टोलाउँछन्
छिमेकीले सुनाउँछ एउटा गीत
‘मेरो देश महान्’
कण्ठस्थ पार्छन् सुगाहरू ।
घोकेको गीत गाउँदै
फर्कन्छन् सुगाहरू
मेरो आँगन र बगैँचामा
म आँगन लिपेर सफा बनाउँछु
सुगाहरू बिस्ट्याउँछन् एकाबिहानै
र, फोहर पार्छन् मेरो आँगन ।
उदेक लाग्दो छ
अचेल, सुगाहरू शासक बनिरहेछन्
मेरो घरको
र, मलाई आफूजस्तै बन्न
छिमेकीले घोकाएको पुरानो गीत
रट्न लगाउँछन् एकोहोरो
कस्तो विडम्बना !
सुगाहरू शासक र,
मान्छे शासित ।
घट्टेकुलो, काठमाडौं
(स्रोत : Chakrapath)

