~सन्तोष स्पन्दन~
भो नबजाऊ बाँसुरी र बिनायोका धुनहरु
अब मन चोर्ने झन्कार
चिसो हावा बयली खेलेर
ममताको आवाज सुसेल्ने धुनहरु
पर्दैन ,तिम्रो सुसेली भन्दा क्रान्तिको बिगुल बज्नु पर्छ |
भोको पेट
प्यासी घाँटी र नाङ्गो आंग लिएर मर्माहत पीडाका
आँसुहरु पिउदै
बाध्यताका
बिद्रोह ओकल्दै , तिमीहरु
डाँडाबाट नगरा फुक्ने कटुवालका औलादहरु हो
एक मानो पुरानो कोदो
दुई ढिका नुन
र
एक ढीडी खुर्सानीको लागी
नसक्ने पाखुरहरुले
दमाहा ढङ् -ढङ् पार्दै
साहेबहरु हो …SS नभन्नु |
तिम्रा दमाहा र सहनाईको आर्तनादबाट
बिरंगी भाका निस्कनछन्
तिमी अझ निरिह बन्ने छौ
तिम्रो कोलाहल निस्केर रुमलिदा
पत्थरको छातीले तिमीलाई गिज्याउने छ |
साहेब हो ….|
तिम्रो परिवेश सहनाई संग रुन सिकेको छ |
सियो धागो र ढोलक संग रम्न सिकेको छ |
झरना नदि भेट्न हतारिए जस्तो
बादल झरी बन्न मडारीय जस्तो
हतार र बहाब नगर्नु
एक दिन तिनै पत्थरका आलापहरुले मात्र होइन
खर्क र सल्लेरिहरुबाट
सल्लाका पातहरु सुसाऊदै
तिम्रो क्रान्तिको प्रतिनिधित्व गर्नेछन
त्यतिबेला एउटा उमंगको नगरा बजाउनु
बाँसुरीबाट एउटा शान्तिको धुन गुन्जने छ
पत्थरहरु हस्नेछन्
म नाच्ने छु |
(स्रोत : Santosh Spandan’s Blog)
