‘मान्छे जति सुकै आदर्शवान किन नहोस मौका मिल्ने बित्तिकै त्यो आदर्शको पहाड पग्लिएर तराई बन्दो रै’छ/ त्यसको प्रमाण तिमी हौ प्रगती/’
अनु बारम्बार यसै भन्छे/ म दुनियाँबाट एक्लिएर,अलग्गिएर पग्लिएर तराई बनेको पहाडलाई ठम्याउने प्रयत्न गर्छु/ तर खै मनका अन्तर कुन्तर कतै आदर्शहरु थिए जस्तो लाग्दैन/ यदि हुँदो हो त त्यसको चिन्ह धुमिल धुमिल भएपनि अझैसम्म त कायमै रहनु पर्ने/ त फेरि अनु आदर्शका कुरा किन गर्छे? उनलाई किन लाग्छ कि,म आदर्शवान थिए, जुन अहिले पग्लिएको छ/
आफ्नो निर्णयमा अडिग रहेर,हजार हजार व्यबधानहरुका बीच पनि कसैलाई माया गर्नुलाइ आदर्श भनिन्छ भने,हो म आदर्शबादी हुँ/ म उत्तमलाई माया गर्छु,ऊ मेरो प्रेम हो,अनन्त अनन्त…./ चाहे यो समाज,दुनियाँ अनुहरु स्वीकार गरुन या नगरुन/ फरक यति हो,हरेक सम्बन्धको आ-आफ्नै दायरा हुन्छन/ कुनै सम्बन्धको दायरा खुकुलो हुन्छ,फराकिलो हुन्छ-जस्तो मेरो र अनन्तको छ/ र कुनै सम्बन्ध अत्यधिक संकुचित तर आत्मीय हुन्छ/
त्यसो त मभित्र परिपक्कता छ, म बुहारी हुँ,एउटा राम्रो सामाजिक हैसियत भएकी मान्छे हुँ/ मेरो आफ्नै पहिचान छ,परिचय छ/ हाँस्नका लागि कुनै बहानाहरु खोज्नु पर्दैन / म जस्तो सुकै पीरको अवस्थामा पनि मान्छेहरु संग घुलमिल हुन सक्छु/एकान्तमा रोएर पीरहरु पखाल्नु मलाई राम्रो लादेन/ त्यसैले पीरहरूको जस्तोसुकै भुमरीबाट निस्कनका लागि पनि मलाइ मान्छेको भिडनै उपयुक्त लाग्छ/ त्यो भिडको व्यस्तता,काम प्रतिको एकाग्रता, त्यसबाट बचे खुचेका एक हाते समय र त्यो समयबाट ब्यक्तिने आत्मियता…../ आखिर यत्ति त हो जिन्दगी जिउनुको मज्जा/
दिनहरु म सहजै निल्न सक्छु, कारण म एउटा रेडियो पत्रकार हुँ/ तर रातहरु निकै सकसपूर्ण हुन्छन/ घरीघरी लाग्छ,यो रात किन आउँछ? रातभर अँधेरीमा जागै रहेर आँखा टट्टाईन्जेल मधुर सपनीको प्रतिक्षा गर्न र फेरि त्यै अपूर्ण प्रतिक्षाको सेपमा चिसिदै जिन्दगीका सारा हिसाब किताब घाटा नाफा सबै सबैको लेखा जोखा गर्न मलाई पटक्क मन पर्दैन/ हो बरु बाहिर आगनमा निस्केर जून हेर्दै अनन्तसंग मोबाइलमा घन्टौ गफ गर्न भने मलाई रमाइलो लाग्छ/ यति मात्र हैन, ऋतुसंग,कमलासंग,अनुसंग त्यस्तै जूनेलीमा उभिएर उनीहरुका प्रेम अनुभव लिन र त्यो भन्दा ज्यादा आफ्ना कटु तर निकै आत्मीय प्रेमानुभुतिहरु बाँड्नुमै बडो आनन्द आउँछ/जो जे सुकै भनुन, मलाई जून बडो प्यारो लाग्छ / जूनको शितल छहारीमा उभिएर घन्टौ उत्तमलाई कल्पन,अनन्तसंग कुरा गर्न मात्र हैन ती बालापनका संगी साथी र जूनेलीमा खेलिने लुकामारी,,,,,/ सम्झी सम्झी एक्लै रमाउनुको आनन्दमा म रात बितेको पत्तै पाउँदिन/ हरेक रात जेठानी दिदीकी छोरी अस्मितालाई आगनमा उभ्याएर भन्ने गर्छु-छोरी,त्यो माथि आकाशको जून छ नि, हो त्यो मेरो साथी हो उनि आकाशमा छिन त के भो? आकाशका ती तारा ग्रहहरु बिचमै एक्लिएर धर्तीमा पोखिएकी छिन/ म चाहिं मान्छेहरुको न्यानो सपनाबाट बिथोलिएर ,एक्लिएर जुनको आत्मीयतामा पग्लिर्हेछु/
त्यो फुच्चीले के बुझोस् यस्ता भावनाका गहिरा कुरा? दिक्क मान्दै खुर्र भागेर आफ्नी आमाको काखमा लपेटिन पुग्छे/ म खुइय्य सुस्केरामा पीडा सुसेल्दै एकोहोरो आकाशका ती ताराहरु बीचकी जूनलाई हेर्छु र बोल्छु आफैसंग-हे जून! आज पनि मलाई अनन्तको सपना देख्नु छ र सपना देख्नका लागि निदाउनु जरुरी छ/
सपना देख्नका लागि निदाउनु जरुरी छ/ तर निंद परे पो यो आँखामा/ त्यसो त म कमै निदाउछु बच्पनदेखी नै/ पांच घण्टा भन्दा निदाएको सायदै छु/ अल्पनिद्का बीच पनि अनन्तको सपना कसरी आयो आँखामा,त्यो म जान्दिन/ तर मलाइ त्यो सपना साँच्चै साँच्चै मिठो लागेको छ/ र फेरि फेरि दोहोर्याएर देख्ने रहर जागेको छ/
अनन्त मेरो लोग्ने, झन्डै २ वर्ष भयो बिहे भएको/ ऊ र म बीच प्रेम छैन तर ऊ मलाई राम्रो लाग्छ/ ऊ इमान्दार छ, कर्तव्यनिष्ठ छ, अलिकति लुकिचोरी पनि छ / उसले चोरीचोरी हेरेको,व्यक्त नगरेरै माया गरेको त्यस्ता धेरै पलहरुलाई आफूभित्र कैद गरेर राखेकी छु/
मेरो जिन्दगीको कथा अचम्मको छ/ उत्तमलाई मन पराए,बिहे भयो अनन्तसँग/ फेरि बिहेपछी पनि उत्तमलाई पुरै भुलेर अनन्तलाई माया गर्न सकिन/ यस्तो अस्तव्यस्त भएर बाँच्न मलाई मन पर्दैन/ मन नपर्ने म बिगत २ वर्षदेखि म यस्तै अस्तव्यस्त,भद्रगोल छु/
दुई वर्ष अघिको एक रात, म जूनको छायामा ओझेलिएर उत्तमको कल्पनामा डुबी रहेथे/ बाह्र वर्षीय भाइ सुमित मसंगै उभिएर जूनको तस्बिर कोर्दै थियो/ त्यतिनै बेला आमा आगनमा निस्केर हकार्नु भयो-सुमित के गरिरा’छस? जा भित्र गएर Homework गर/ ऊ अधुरो चित्र छाडेर भागिहाल्यो/ म उभिएरै जून देख्नुको आनन्द र त्यहि जूनको छायामा ओझेलिएर उत्तमलाई कल्पनुको आनन्दलाई पुनः एकीकृत गर्न खोज्दै थिए/ तर आमाले मेरो एकाग्रतालाई खल्बल्याउदै भन्नु भयो-प्रगती भोली तलाईं केटा हेर्न आउदैछ/
अब त्यहाँ कुनै एकान्त पनि थिएन,जूनको शितलता थिएन/ जहाँ म अडिन सकुं,थामिन सकुं/ उत्तमको कल्पना पनि किन किन मिठो लागेन/ पुरै बेचैनीको पहाड बोकेर आमा छेउ पुगेर भने-आमा, म बिबाह गर्दिन/
‘अब नगरे कहिले गर्छस त?’
को,कहाँको केहि नखुलाई आमा त्यहाँबाट जानु भयो/ म बादलसंग लुकामारी खेलिरहेको जूनलाई एकटकले हेर्दै बोले-हे जून! के हाम्रो प्रेम कथा नलेखेरै टुंगिने भयो त? म त हाम्रो प्रेमको अमर इतिहास रच्न चाहन्थे,तर यो के भयो?
निर्जीव ती तारा जून मेरो भावनामा किन पग्लिनथे र? बरु म आफै पग्लिदै थिए,तरल भएर छताछुल्ल पोखिदै थिए/
Loves happens only ones
भोलीले मेरो जिन्दगीमा पुरै ग्रहण लिएर आयो/ जिन्दगीसंगै मेरो प्रेम पनि कता कता भासिएर गयो/ आमाको अघि मेरो प्रेम उघ्रिनै सकेन/त्यसो त उघ्रिएको थियो नै कहाँ, न आमाको अघि न उत्तमको अघिनै/ बिगत तीन वर्षदेखि अव्यक्त फक्रिएको प्रेम अब्यक्तनै ओइलायो पनि/ भोलिको त्यहि साँझ त्यो रमिल माहोलबाट अलग्गिएर फोन गरे उत्तमलाई-
‘उत्तम जी म बिहे गर्दैछु/’
‘कस्तो ठट्टा गरेको?’
‘हैन यो साँचो हो/’
‘म पत्त्याउछु र?’
‘नपत्त्याउनुस तर म बिहे गर्दैछु/’
उत्तमले नपत्तयारै, म स्वयंले नपत्तयारै बिहे भयो/ बिहेमा पुरै सावन उरालेर रोए म/ बिहे पछिको तेस्रो साँझ मोबाइलमा संदेश आयो उत्तमको/ सम्हालिन नसकेको मन, झनै विह्वल बने/ आफुलाइ रोक्दा रोक्दै पनि उसलाई फोन गरेर भनिदिए-म प्रेमगर्थे कसैलाई/
‘अहो! भाग्यमानी को हो नि?’
‘नामै काढ्नु किन पर्यो ? यसै पनि बिहे भैसके पछी उसको बारेमा बताएर के काम?’
‘फेरि पनि त्यस्तै ठट्टा?’
……………………..
केहि नबोली फोन काटे/
दिनहरु क्रमशः बिते/ उत्तमले मेरो बिहे गरेको कुरामा अविश्वास गर्दै बारम्बार मैले माया गर्ने मान्छेको बारेमा सोधिरह्यो/ एक साँझ मैले माया गर्ने मायालुको चेहेरा उसको सामु राखिदिए/ त्यसपछि ऊ बिस्तारै टाढिदै जान थाल्यो/ मेरो फोन रिसिभ हुन छाड्यो,म झनै उसको समिप धकेलिदै गए/ यतिसम्म कि,मैले अनन्तको न्यानो स्पर्श भुलेर हरेक रात उसको कल्पनामा हराउन थाले/
तीन महिना पछी अनन्त विदेश हानियो/ ऊ मलाई छाडेर जान चाहन्थ्यो / तर नेपालमा बेरोजगारी भै बाँच्न पनि तयार थिएन/ अतः ऊ पत्थरबनेर बिदेशियो/ तर ऊ बिदेशिनु भन्दा अघिल्लो रात अलि बढी संबेदनशील रह्यो/ ऊ अलिकति बढी भावुक थियो ,छुट्टिनु पर्दाको पीडालाई लिएर / भन्दै थियो-भोलि छुट्ने बेला नरोऊ है मलाई सम्हाल्न गाह्रो हुन्छ/ यसो भनेर पछाडिबाट अंगालेर मेरो गालामा चुम्वन गर्यो/ उसको चुम्वन को तातो स्पर्श,उसको आलिंगनको न्यानोपनले अलिकति पगाल्यो मलाई/
ऊ गयो,उत्तम झन् झन् टाढिदै गयो/ फोन सम्पर्क,च्याट…सबै बन्द भयो/ प्रत्यक्ष भेटघाट त झनै असम्भव थियो/ किन कि ऊ गाउँ छोडेर काठमाडौँ बस्न थालेको नै झन्डै २ वर्ष भैसकेको थियो/ कहिले काहीं मुटुनै चुँड्ने संदेश आउंथ्यो / उसको संदेश पढेर म अँधेरीमा एक्लै रुन्थे/
एक साँझ ऊ अनलाइन भेटियो / मैले धेरै पटक हाई हेल्लो भने तर कुनै प्रतिक्रिया आएन/ झन्डै आधा घण्टा पछी मात्रै उसले सोध्यो-तिमी खुसि छौ नि!
‘अँ खुसि छु नि,किन दुखी हुनु नि?’
छल्दै थिए उसलाई / र त्यो भन्दा ज्यादा त आफै दुखिरहे अदृश्य/
‘ए राम्रो/’
‘अनि तपाई बिहे गर्नु हुन्?’
जवाफ नाइँ थियो/
‘किन,उमेर त भयो नि/’
‘हैन म कहिल्यै बिहे गर्दिन/यत्तिकै बस्छु/’
यत्तिमै कुराकानी रोकियो/ र फेरी अर्को तीन महिना हरायो/ मैले सदाजस्तै घच्घच्याउदै सन्देश पठाए-
‘why are you contact less ?(किन सम्पर्क बिच्छेद )
जवाफ आयो-
‘खै किन किन मलाई तिमीबाट टाढै रहन मनपर्छ/’
ऊ टाढीन चाहन्थ्यो,टाढीएर गयो पनि/ यद्यपी उसका यादहरु भने टाढिएनन/ उसका सपना,कल्पनाले मलाई भने कहिल्यै पनि छाडेन/ खाँदा बस्दा,जतिबेलै कल्पनामा उत्तमै उत्तम छाउथ्यो/तर एक रात…/अचम्मै,एक रात मेरो सपनामा मैले कहिल्यै कल्पनै नगरेको एउटा चेहरा प्रष्टियो-अनन्त/
एउटा अन्जान गाउँ,तर निकै सुरम्य त्यो पहाडी घना बस्ती / म खै कसरी पुगे? तर जेहोस त्यहाँ पुगेर मेरो मन रमाएको थियो/ तर फेरी त्यो घना बस्तीबाट कसो कसो मैले आफुलाई एउटा प्रहरी चौकीमा पाए/ त्यहाँ मैले भर्खरै आफ्नो ड्युटी सकेर युनिफर्म उतारेर अर्को लुगा लगाएको तर युनिफर्म हातमै लिएको अनन्तलाई देखे/ जब उसका आँखा ममा परे तब लज्जा बोधले मेरो टाउको झुक्यो/ अचम्म,यस्तो त कहिल्यै भएको थिएन/मैले टाउको झुकाएरै उसलाई हेरे,त्यो पनि लुकी लुकी/मलाई डर थियो कि,कहीं उसले मलाई यसो भनेर नाजिस्काओस-अरे,तिमीलाई पनि मेरो याद आउँछ र? तर ऊ पटक्क नबोली भित्र गयो/ म त्यसरीनै लजाएर उभिइरहे जहींको तहीं/
चिटचिट पसिनाले निथ्रुक्कै भिजे,त्यो सपना सम्झेर/ कस्तो अदभुत सपना/ विदेश रहेको अनन्तलाई कुनै अञ्जान गाउँको प्रहरी चौकीमा भेट्नुलाई लिएर म निकै बेरसम्म सोचमग्न भए/तर मन भने त्यसै त्यसै चञ्चल चञ्चल थियो/ एक पटक आफैसंग मुस्कुराउदै मैन बाले/ अनि फोन डायल गरे-
‘ए,रातको तीन बजे किन फोन गरेकी?’
‘हेर न,मैले भर्खरै कस्तो मिठो सपना देखे/’
‘ह्या, यो राती राती फेरी त्यै उत्तमको सपना सुनाउन लाग्यौ? हेर है, मैले भंदेको छु,तिम्रो सपना सुनेर मेरो निद्र खलबल्याउनु छैन/’
‘उत्तमको हैन, अनन्तको/’
अनु खित्केर हासीं र बोली-ए प्रगति, तिमीलाई अनन्तको सपना कहिलेदेखि मिठो लाग्न थाल्यो हँ?
‘अनु,मैले अनन्त मिठो लाग्यो भनेकी छैन, सपना पो मिठो लाग्यो भनेकी त/’
‘अनि त्यो सपनामा अनन्त छ नि त/’
‘तिमी अनावश्यक कुरा मात्र गर्छौ कि,मेरो सपना पनि सुन्छौ?’
‘सुन्छु नि,उत्तमको भए त मरिगए पनि सुन्दिन थे/ म सुनाऊ/’
अलिकति लज्जित हुँदै मैले सपना सुनाए फोनबाटै/ त्यसदिनदेखि लगातार अनु मलाई जिस्काउदै भन्छे-प्रगति तिम्रो आदर्श प्रेम पोखियो असरल्ल/ मैले बुझे,मान्छे जतिसुकै आदर्शवान किन नहोस मौका मिल्ने बित्तिकै त्यो आदर्शको पहाड पग्लिएर तराइ बन्दो रै’छ/
म भन्छु-तिमी आदर्श पग्लिएर प्रेम पोखिएको कुरा नगर/ म उत्तमलाई माया गरिरहन्छु/’
‘के को गरिरहन्छु नि/ गर्थे भन न/ तिम्रो आदर्श प्रेम त पोखिइ सक्यो नि/ नत्र तिमीलाई किन अनन्तको सपना मिठो लाग्थ्यो?
साँच्चै अचेल मलाई किन अनन्तको सपना किन मिठो लाग्छ ? अरे, म त उत्तमलाई माया गर्छु/ मेरो आँखामा उत्तमको सपना बाहेक अरु कुनै पुरुषको सपना फुल्न सक्दैन/ मैले लिने श्वासमा,मैले हेर्ने जूनको आभासमा, मैले उड्ने खुल्ला आकाशमा…..जताततै उत्तमै उत्तम छ/ तर….तर म यो पनि त नकार्न सक्दिन कि मलाई अनन्तको सपना मिठो लाग्छ/ र हर रात उसको सपना देख्नका लागि म आँखा चिम्लन्छु/ तर निंदहरु उडाउदैनन मेरो सपनाको क्षितिज छिचोल्दै/ र पनि मलाई प्रतीक्षा छ,त्यै सपना पुनरावृतिको/
(स्रोत : Sirjanakalaharharu )
