उसलाई टोलका अरु मान्छेहरुसंग निकै चित्त दुखेको थियो । उ जब बेरोजगार थियो जब उसका साथमा दूई पैसा हुदैन थियो कसैले पनि उसलाई एक कप चिया पनि ख्वाउदैनथे । उसलाई यस्तो पनि लाग्थ्यो कि उसका सही कुरा पनि कसैले सुन्दा पनि सुन्दैन थिए । राम्रै कामका लागी उधारो वा श्रृण मागे पनि मान्छेहरु उसलाई ठग भन्दा हुन जस्तो लाग्थ्यो उसलाई । बाउले दिएको स्कुल फि र गाउलेको कुखुरा हाँस चोरेर जम्मा गरेको पैशाले जसोतसो अलिअलि पिउन र अलिअलि खेल्नलाई धान्थ्यो ।
अब समय त्यस्तो रहेन । अब उसको आफ्नै ठूलै कम्पाउण्डभित्र विशाल घर खडा छ । आफ्ना र आगन्तुकका गरी दई चारवटा गाडी कम्पाउण्डमा खडा नै रहन्छन । अब उ लोकल ठर्रा पनि पिउदैन । मात्र विदेशी ह्विस्कीमा बनेलको मासुको सित्तन लगाउछ । नेताहरुको खर्च चलाईदिनु व्यापारीहरुलाई श्रृण बाड्नु उसको सामान्य दिनचर्या हो । यसपछि घरजग्गाको ओल्टाईपल्टाईको व्यापार त छदैछ । आखिर यही घरजग्गाको ओल्टाईपल्टाईले त उसलाई यति सम्पन्न बनाईदियो । आज उसलाई लाग्छ पुरा टोल उसको अगाडी झुकेको छ । आज उ पुरा टोलको मालिक भएको छ । उसलाई लाग्छ जब उसको गाडी टोल भएर अगाडी बढ्छ तब बुढाबुढीहरु सोच्दा हुन छोरो भनेको त यस्तो तोपकाजी जस्तो पैशावाल पो हुनु, आईमाईहरु सोच्दा हुन पोई भनेको त यस्तो तोपकाजी जस्तो पैशावाल पो हुनु, केटाकेटीहरु सोच्दा हुन बाउ भनेको त यस्तो तोपकाजी जस्तो पैशावाल पो हुनु ।
एकदिन उ यस्तै के के सोचेर घरको कौशीमा बसिरहेको थियो । एकजना तलतिरबाट आउँदै गरेको मान्छे उसको कम्पाउण्ड बाहिर खेलीरहेको आठ नौ बर्षजतीको उसको छोरोसंग के के कुरा गरेर गयो । त्यो मान्छेले उसको विशालकाय घरलाई पटक पटक हेरेकोमा उसलाई भित्रभित्रै रमाईलो महशुस भयो । उसलाई त्यो मान्छे कतै चिनै झै पनि लाग्यो । त्यत्तिकैमा उसको सानो छोराले दौड्दै आएर भन्यो “डयाडी ! त्यो मान्छेले भन्यो यो घर त्यही तोपे दलालको होईन । बजियाले बाटाको छेउको जग्गा देखाएर भित्रको पारिदियो । यो दलाल भनेको के हो डयाडी ? अस्ती पनि तपाई मोटरमा जाँदा टोलका मान्छेहरुले ‘तोपे दलाल गयो, तोपे दलाल गयो’ भने । डयाडीको नाम दलाल हो त ? जो मान्छे पनि तपाईलाई तोपे दलालमात्रै भन्छन । डयाडीको नाम त ममीले भन्नेजस्तै तोपकाजी होईन र?”
उसले टोल छाड्ने विचार गर्यो ।
हाल – दोहा कतार
१९ फेव्रुअरी २००९
khadkabinod02@yahoo.com
(स्रोत : KhassKhass.com )