कथा : झरीमा रुझेको यादहरु

~पोस्तक श्रेष्ठ~Postak Shrestha

अलि सञ्चो नभएर आज घरमै बसेकोछु। एक्लैछु। श्रीमती काममा गएकीछिन् र बच्चाहरु छिमेकी नेपाली साथीको घरमा खेल्न गएकाछन्।आज मौसम त्यति सफा छैन। कालो बादल पश्चिमतिरबाट ढाक्दै ल्याएको झ्यालबाट देखिन्छ। कुनै पनि बेला पानी दर्कन सक्छ। मिन्नेसोटाको मौसम, कुनै भर छैन।

बच्चाहरुले खुलै छोडेर गएको टिभी एकनासले कर्कश कराइरहेकोछ। दिक्क लाग्छ। टिभी बन्द गरिदिन्छु। नभन्दै पानी दर्किन्छ। झ्यालका खापाहरु बन्द गरिदिन्छु तर पर्दा भने खुलै राख्छु। मलाई किन किन पानी परेको हेर्न मन पर्छ। पानीका थोप्लाहरु जमीनमा एकनासले बज्रिरहेकाछन्। म नियाली रहेकोछु बाहिर वर्षातको नजारा। किन किन मन त्यसै रोमाञ्चित हुन्छ; तरङ्गित हुन्छ। मलाई लाग्छ, म पानीमा निथ्रुक्क भिज्दै हिंडिरहेकोछु।

“पानीमा किन भिज्दै हिंड्नु हुन्छ, एकछिन ओत लाग्नूस्” कतै एउटा नारी स्वर कानमा गुञ्जिन्छ। कतै सुनेको जस्तो, चिनेको जस्तो आवाज।

“हँ, म कहाँ पानीमा भिजेको छु र” म झस्किन्छु। “ म त आफ्नो घर भित्रै छु नि”

यो के भएको होला मलाई? त्यो कसको आवाज मेरो कानमा गुञ्जिएको होला? सम्झने कोशीस गर्छु। क्रमशः म अतीतको गर्भमा समाहित हुन्छु।

२०४६ साल। राजाले दलहरुले दलहरु माथिको प्रतिबन्ध हटाएर प्रजातन्त्रको पूनर्श्थापना गरेको उपलक्ष्यमा निस्केको जुलुशमा हामी सबै स्कुलेहरु सहभागी भएर सदरमुकाम गएका थियौं। उनी पनि थिईन। उनी भन्नाले –नैनकला। म भन्दा एक तह तलको कक्षामा पढथिन्।सामान्य चिनजान थियो, तर बोलचाल थिएन। हेराहेर जरुर हुन्थ्यो तर मैले त्यो हेराइको कुनै अर्थ खोज्ने कोशीस् गरेको थिईन। जुलुशबाट फर्किदा बेस्सरी पानी परेको थियो र हामीहरु छिन्न भिन्न भएका थियौं। म रुझ्दै हिंडिरहेको थिएं।

“पानीमा किन भिज्दै हिंड्नु हुन्छ, एकछिन ओत लाग्नूस्”। एउटा घरको पालीमा आफैं ओत लागेर बसेकी रहिछिन् नैनकला। उनको आग्रह हो वा सल्लाह, जे होस् मैले सहजै स्विकार गरेको थिंए। खास चिनजान थिएन। बोल्ने कुरो पनि केही थिएन।

“कस्तो पानी परेको, हगी?”

“हो त नि”

सिमित औपचारिक सम्वाद भए। पानी रोकिने कुनै सुरसार थिएन। भिजेको कपालबाट पानीका थोपाहरु उनको गाला चुम्दै झरिरहेका थिए। पहिला सामान्य लाग्ने उनको अनुहार आज नजिकबाट नियाल्ने मौका पाउदा मलाई सुन्दर लागेको थियो। घरिघरी उनीसंग नजर जुध्थ्यो र उनको गालामा लालिमा फैलन्थ्यो र लाज मिश्रित मुस्कान निस्कन्थ्यो र उनी नजर हटाउथिईन्।उनी मुस्काउदा गालामा खोपिल्टो पर्थ्यो।

“अव एसएलसी पछि के पढ्नुहुन्छ?” उनले सोधेकी थिइन्। मैले खास केही योजना बनाएको थिइन र पारिवारिक आर्थिक अवश्थाले गर्दा धेरै ठूलो सपना पालेको पनि थिईन। सम्पत्तीको नाममा एउता गैरी खेत, एक हल गोरू, केही गाईहरु थिए। बुबा पुरेत्याँई पनि गर्नु हुन्थ्यो र त्यसबाट भएको आम्दानीले परिवार धान्न सहयोग गरेको थियो।

“हाम्रो यहाँ क्याम्पस छैन, कि चितवन जान पर्छ, कि काठमाण्डौ। खर्च धेरै लाग्छ। खै अगाडी के पढ्न सकिएला र?” मैले आफ्नो विवशता ब्यक्त गरेको थिंए।

“त्यस्तो भनेर कहाँ हुन्छ ! तपाँई जस्तो राम्रो पढाइ भएको मान्छेले त्यसै छोड्न हुन्छ ? उद्देश्य के लिनु उडी छुनु चन्द्र एक, महाकवि देवकोटाले भन्नु भएकोछ”।

म फिस्स हाँसेको थिंए। तर किन किन उनले मेरो प्रशंसा गरेको मलाई औधी मन परेको थियो। उनको सल्लाहमा आफ्नोपन झल्किएको महसुस भएको थियो।

हामी कुराहरुमा हराउन थालेरहेका रहेछौं। पानी रोकिएको हेक्का नै भएनछ।

“तल को हो बात मारेर बसेको”? माथिबाट घरको आमैले कराएपछि पो हामी झल्याँस्स भएछौं।

“ए पानी त रोकिई सकेछ। जाऔं अब। बुवाले मार्नुहुन्छ, ढिलो भयो।”। उनले आफ्नो पछ्यौरी मिलाउदै भनेकी थिइन्।

किन किन उनीसंग बात मार्दा अति आनंद महशुस भएको थियो। कुनै केटीसंगको दोहोरो कुरा गरेको र अति सान्निध्यता सायद यो पहिलो नै थियो। यो पानी अझै परिहेको भए हुन्थ्यो नि भनेजस्तो पनि लागेको थियो। त्यसपछि बाटो लाग्यौं र केही पर पुगे पछि हाम्रो बाटो छुट्टिएको थियो। एउटा नजानिदो आकर्षणले मलाई नैनकला गएको बाटोतिर फर्कि फर्कि हेर्न वाध्य तुल्याएको थियो।

त्यस पछि मैले नैनकलालाई जताततै देख्न थालेको थिएं; भेट्न थालेको थिंए । मेरा आंखाहरु उनीलाई खोज्दै हिंड्थ्यो वा उनी मलाई खोज्दै हिंडथिन्, त्यो चाँहि यकिन भएन। तर हाम्रो बाक्लो जम्काभेट संयोग मात्र पक्कै हुन सक्दैनथ्यो। मेरो कक्षाकोठाको झ्यालबाट कहिले उनी मलाई चियाईरहेकि हुन्थिन् त म आफैं कहिले उनको कक्षाकोठा बाहिर टहलिरहेको हुन्थें। कुनै दिन नैनकलालाई देख्न पाइन भने नरमाईलो लाग्थ्यो, खल्लो लाग्थ्यो। केही नपुगेको जस्तो, केही नभएको जस्तो।

मेरो एसएलसी परिक्षा सकियो र अब स्कुल जानु पर्ने काम रहेन। तर नैनकलासंगको भेट कम भएको थिएन। पानी पंधेरो, घट्ट, गाई चराउन जांदा, हटिया बजारमा, मेलाहरुमा भेट भैरहन्थ्यो। केही दिन भेट भएन भने उनको घरको बाटो काम नपरेपनि हिंड्न थालेको थिंए। थाहा छैन, प्रस्ताव पहिला मैले राखेको थिँए वा उनले। हुन सक्छ, औपचारिक प्रस्ताव नै राखिएन। तर हामीले एक अर्कालाई मन दिईसकेकारहेछौं। मन भन्ने कुरो कुनै वस्तु पनि त होईन नि मुखले भनेर वा मागेर लिने वा दिने। यो आफैं साटिदो रहेछ। साटियो, थाहै नपाई।

मेरो एसएलसी परीक्षाको परिणाम आएको दिन उनी औधि खुशी भएकीथिइन्। आत्मबिभोर भएकी थिइन्। म प्रथम श्रेणीमा उत्तीर्ण भएको थिँए। खुशी त म पनि भएको थिँए तर मेरा अगाडिका बाटोहरु अनिश्चित थिए।सबैले अब के पढ्ने, पढ्न कहाँ जाने भनेर सोधिरहेका थिए र मसंग कुनै उत्तर थिएन। म खुशी भन्दा सायद बढी चिन्तित थिंए होला।

त्यही बेलातिर एकजना मेदिनीप्रसाद काका, जो हाम्रो परिवारको पुस्तैनी जजमान हुनुहुँदो रहेछ, काठमाण्डौंबाट गाँउतिर झर्नु भएकोको थियो। उहाँहरु धेरै पहिला काठमाण्डौं जानु भएपनि केही सम्पत्ती, खेतीपाती अझै गाँउमा रहेछ। सरकारी जागीर, उच्च ओहोदामा हुनुहुँदो रहेछ। बुवाले मेरो बारेमा उँहासंग कुरा राख्नु भएकोथियो।

“यसको पढाइ राम्रो छ, एसएलसीमा प्रथम श्रेणी ल्यायो भन्छ, लौन मेदिनीप्रसाद भाइ, यसलाई के गर्न सकिन्छ, तिमीले मेरो हालत यहाँ देखिहालेका छौ”। बुवाले उँहालाई भाइ भन्नु हुँदोरहेछ।

“हेर्नुस, तँपाई-हाम्रो परिवारको सम्बन्ध भनेको धेरै पुरानो हो। तँपाई मेरो गुरुदाइ पनि हुनुहुन्छ, के गर्न सकिन्छ म गरिहाल्छु नि, चिन्ता नमान्नूस्”। मेदिनीप्रसाद काकाले भन्नु भएको थियो। “तिमीलाई पढ्न मन छ त बाबु? पढ्ने मान्छेलाई कुनै कुराले रोक्न सक्दैन”।

“मलाई पढ्न मन छ”।मैले स्विकृतीमा टाउको हल्लाएको थिँए।

“ल म तीन दिन पछि काठमाण्डौं फर्किंदैछु। तिमी मसंगै हिंड। बस्ने खाने कुनै कुराको चिन्ता नलिनु। पढाइको पनि ब्यबश्था मिलाईदिन्छु। सानो सानो जागीर पनि खोजिदिंउला”। यति भनेर उँहा निस्कनु भएकोथियो।

मलाई यो अप्रत्याशित अवसर प्राप्त हुंदा औधी खुशी लागेको थियो। नैनकलालाई सुनाउंदा उनी पनि खुशी भएकीथिईन्। तर यति छिटो गाँउ घर परिवार छोड्न पर्ने कुराले चाँहि मलाई नरमाइलो लागेको थियो। नैनकलालाई छोडेर जान पर्ने कुराले चिन्तित तुल्याएको थियो।

“तिमीलाई छोडेर म कसरी जाने होला, नैनकला” मैले मेरो द्विविधा ब्यक्त गरेको थिँए।

“तिमीले मलाई सधैंको लागि छोडेर जान लागेको हो र? तिमी जाऊ, धेरै पढ, राम्रो जागीर खाऊ, अनि मलाई पनि लिन आऊ, हुन्न?” नैनकलाले मेरो ढाडस बाँधेकी थिईन्।

त्यसपछि म मेदिनीप्रसाद काकाको पछि लागेको थिँए। म जाने बाटोमा नैनकला कुरेर बसेकी थिइन्। काकाको अगाडि हामी केही बोल्ने कुरा भएन। हामीले एक अर्कालाइ मौन बिदाई गरेका थियौं। धेरै अगाडि पुग्दा सम्म मैले फर्की फर्की हेरेको थिँए। नैनकला अझै हात हल्लाउंदै थिइन्। जति जति मेरा पाईलाहरु अघि बढ्दैथिए, त्यति त्यति म नैनकलाबाट टाढा हुँदै थिँए।

काठमाण्डौमा मेदिनीप्रसाद काकाले सबै ब्यबश्था गरिदिनुभएको थियो। कलेज, डेरा, नोकरी। बिहान कलेज जान्थें र दिंउसो नोकरी। नोकरी उँहा कार्यरत मन्त्रालयमा नै थियो। फूर्सद हुंदा उंहाको घर जान्थे। केही कामहरु सघाई दिन्थेँ। काकाका एक छोरा र एक छोरी थिए। छोरा-मेहुल र छोरी मेघा। आठ-नौ कक्षातिर पढ्थे। उनीहरुको गृहकार्यमा सघाईदिन्थेँ। छोरा-छोरीहरु दुबै उच्च संस्कारका थिए। शुरुका केही दिन गाउँघर परिवार र बिशेषगरी नैनकलाको खुब याद आएपनि म बिस्तारै काठमाण्डौंको जीवनसँग अभ्यस्त हुन थालेको थिँए।

शुरुमा गाँउमा फोन आईसकेको थिएन। नैनकला संगको सम्पर्कको माध्यम चिठ्ठी मात्र थियो। चिठ्ठी पुग्न महिनौं लाग्थ्यो वा पुग्दै पुग्दैनथ्यो। जे होस् बर्षमा एकचोटी दशैंमा घर पुग्थेँ र नैनकलासंग भेट हुन्थ्यो। बर्षभरि साँचेर राखेको माया हामी एक अर्कामा खन्याउँथ्यौं। मेरो र नैनकलाको सम्बन्ध अब गाँउमा गोप्य रहेको थिएन। हामीले बरपिपलको रुखमा हाम्रो नाम खोपेका थियौ। खरीढुँगाले भित्ताहरुमा नाम कोरेका थियौँ। भञ्याङको चौतारी, बन पाखाहरु हाम्रो प्रेमको साक्षी बन्न पुगेका थिए। नैनकलाले पनि एसएलसी पास गरेर गाऊँकै प्राथमिक बिद्यालयमा पढाउन थालेकी थिइन्। पछि गाँउमा टेलीफोन आए पछि भने नैनकलासंग नियमित कुराकानी हुन पाएको थियो।

आई एस्सीमा पनि मैले राम्रो गरेको थिँए। मेदिनीप्रसाद काकाले कसरी हो, मलाई छात्रबृतिमा अमेरिका पढन जाने ब्यबश्था मिलाईदिनु भयो। बिदेशी कुटनितिज्ञहरुसंग उँहाको राम्रो सम्बन्ध थियो। सबैसंग बिदावारी हुन म गाँउ गएँ। काठमाण्डौं कहिले नपुगेकी नैनकलालाई म अमेरीका जान लागेको कुराले अलि चिन्तित तुल्याएको थियो। हमेशा मलाई हौशला दिईरहने त्यसदिन अलि उदास देखिएकि थिइन्।

“तिमी अमेरीका पुगे पछि फर्केर त आउछौ?” उनीले निराशा ब्यक्त गरेकीथिइन्।

“म फर्केर आँउछु, किन नआउनु। म मेरो मन मष्तिष्क यहाँ छोडेर त्यहां कसरी हराउन सक्छु र?” मेरो कुरा सुनेर ऊनी फिस्स हाँसेकी थिइन्।

म अमेरिका आएको एक-डेढ बर्षजति पछि नेपालमा माओबादी “जनयुद्ध” शुरु भएकोथियो । माओबादी र सरकारी सुरक्षा सेनाहरु एक अर्कालाई सिध्याउन लागिपरेका थिए। आफ्नै नेपाली दाजुभाइहरु एक अर्काको रगत बगाउन लागिरहेका थिए। कहिले सरकारी पक्षलाई क्षतिपुगेको समाचार आउथ्यो भने कहिले माओबादी पक्षलाई। सरकारी सुराकी गरेको दोष लगाएर माओबादीहरुले शिक्षक, पत्रकार लगाएत अन्य ईत्तर राजनीतिक पार्टिका कार्यकर्ताहरुलाई “सफाया” गरिरहेका थिए भने सरकारी पक्षले पनि माओबादीको मतियार, कार्यकर्ता भएको आरोप लगाएर सोझासाझा मानिसहरुलाई दु:ख दिइरहेका थिए। जनता दोहोरो मारमा परेकाथिए। मानिसहरु आफ्नै घर गाँउबाट बिश्थापित भईरहेकाथिए। थाहा छैन, हजारौं आमाबाबुहरुलाई सन्तान बिहीन तुल्याउने, बच्चाबच्चीहरुलाई अनाथ तुल्याउने, आइमाई मानिसहरुलाई बिधवा तुल्याउने यो युध्द कस्को लागि किन भइरहेको थियो, कुनि।

गाँउमा टेलिफोनको टावर पनि माओबादीका केटाहरुले उडाइदिएछन् र गाँउको एकमात्र फोन पनि बन्द भएछ। हुलाक पनि बन्द भएछ। फोन गर्न, पत्र पठाउन ४-५ कोष हिँडेर सदरमुकाम आउन पर्ने भएपछि नैनकलासंगको सम्पर्क एकदम सिमित हुन पुगेकोथियो। तै पनि दुई तीन महिनामा उनी सदरमुकाम आएर फोन गरिरहन्थिन् र पत्र पनि ४-५ महिनाको अन्तरालमा आइरहन्थ्यो।

समय बित्दै गएको थियो। अण्डरग्र्याड कोर्स सिध्याए पछि मेदिनी प्रसाद काकालाई म अव नेपाल फर्कने बिचार राखेको थिँए। नेपालनै फर्कने, बाबुआमाको सेवा गर्ने, नैनकलासंग घरजम गर्ने, मेरा योजनाहरु यस्तै थिए।

“नेपालमा यस्तो युद्ध मच्चिरहेको छ। तिमी यँहा आएर के गर्छौ? नआऊ”। उताबाट काकाको आदेशात्मक आवाज आएको थियो।“ अब मेघा र मेहुल पनि अमेरिका आउँदैछन्, तिमीले तिनीहरुलाई त्यहाँ सहयोग गर्न पर्छ। तिमी पनि अब मास्टर्स को लागि भर्ना गर। तिमीलाई मैले खबर नगरेको पो, तिम्रा बाबुआमा पनि अहिले काठमाण्डौंमा नै हुनुहुन्छ। गाँऊमा बस्न सक्ने श्थिति भएन। तर तिमीले चिन्ता नगर। मैले सबै बन्दोबस्त गरिदिएको छु”। त्यो सुने पछि नैनकलाको बारेमा चिन्ता बढेको थियो।

त्यस पछि म फेरी मास्टर्सको पढाइमा दत्तचित्त भएर लागेको थिंए। मेघा र मेहुल अमेरिका आईपुगेका थिए र अण्डरग्राजुएट कोर्समा भर्ना भएका थिए। बिस्तारै नैनकलाको फोन र पत्रहरु आउन छोडेको थियो। गाऊँमा हुलाक बन्द भइसकेको थाहा भएर पनि मैले पत्रहरु भने पठाउन छोडेको थिइन। पत्रहरु एकतर्फीरुपमा गइरहेका थिए; नदीको पानी जस्तो। तर जवाफ आएको थिएन। किन नआएको होला, कहिलेकाँहि एकान्तमा मन छटपटिन्थ्यो। सायद उनले मलाई अव बिर्सेकिथिइन वा आशा मारेकी थिइन्। पछि त मैले पनि ब्यस्तताले गर्दा पत्र लेख्न छोडिदिएको थिँए।

नेपालमा युध्द पनि पनि चर्किदै गएको थियो। शान्ति श्थापना होला र नेपाल फर्किंउला भनेर कुरिरहें। आ, जे त होला, फर्किन्छु भनेर सोचेको पनि थिंए तर काकाले मेघा र मेहुलको अण्डरग्राजुएट नसकिन्जेल तिमीले फुत्किन पाउन्नौ भन्नु भएपछि उहाँको कुरा अस्विकार गर्ने हिम्मत भएन। मैले जे हासिल गरेको थिँए, त्यो सबै काकाकै कारणले थियो र काकाको आग्रह अस्विकार गर्नु ठूलो कृतघ्नता हुनेथियो। समय बित्दै गयो। मास्टर्स सकेर म अब एउटा ठूलो कम्पनीमा जागीर खान थालेको थिँए। मेघा र मेहुल पनि दुबै ग्राजुयट भएका थिए। दीक्षान्त समारोहमा मेदिनी प्रसाद काका र काकीहरु समेत आउनु भएको थियो। काका, काकी, मेघा र मेहुल हामी सबै जना अमेरीकाका बिभिन्न शहरको भ्रमणमा गएका थियौ। खुब रमाइलो भएको थियो। एक सांझ काका र काकीले मलाई छुट्टै राखेर एउटा प्रस्ताव राख्नु भएको थियो-मेघासंग मेरो बिवाह गरिदिने।

“तर काका, म…मेघा….कसरी?” म असमञ्जसमा परेको थिँए। मेरो बोली फुटिरहेको थिएन।

“मेघाले के भन्छे भन्ने लागेको हो भने, ढुक्क भए हुन्छ। हामीले मेघाको अनुमति लिईसकेकाछौं। तिमीसंग बिवाह गर्न राजीखुशी छे”। म असमञ्जसमा परेको देखेर काकीले भन्नु भएको थियो।

“तर पनि काकी, मेघा…..” मैले केही भन्न खोजिरहेको थिँए तर भन्न सकिरहेको थिइन।

“किन र बाबु, तिमीलाई मेघा मन…(पर्दैन र?)” । सायद काकीले मेरो उल्झनको अपेक्षा गर्नु भएको थिएन।

मेघा मन नपर्ने भन्ने कुरै थिएन। मेघामा कुनै खोट थिएन। सर्बगुण सम्पन्न थिइन्। मेघा जस्ती युवतीलाई जीवनसाथीको रुपमा पाउने जो सुकै पुरुष भाग्यशाली हुनेछ। तर मैले मेघालाई कहिले पनि कुनै त्यस्तो नजरले हेरेको थिइन। मेरो मनमा त नैनकलालाई बर्षौंदेखि सजाएर राखेको थिँए।

“ल तिमीलाई सोच्ने समय चाहिन्छ भने ठिकै छ, सोचेर जवाफ देऊ न त, बिवाह भन्ने कुरो हतारमा निर्णय गर्ने कुरो पनि होइन”, मेदिनीप्रसाद काकाले भन्नु भएपछि तत्काललाई मलाई राहत मिलेको थियो।

त्यो रात म सुत्न सकेको थिइन। मनमा अनेक तर्कबितर्कहरु आइरहे। अहिले सम्म मैले काकाकाकीसंग सबै कुरा लिईरहेको थिँए र आज काकाकाकीले मसंग केही मागिरहनु भएको थियो तर पनि मैले सहजै दिन सकिरहेको थिइन। एकातर्फ मेरो बर्षौं देखिको प्रेम थियो भने अर्को तर्फ काकाकाकीले मलाई लगाउनु भएको अतुलनीय गुणको बोझ। यी दुबै बोझले मलाई थिचिरहेकाथिए र म निसास्सिरहेको थिँए। मनमा अनेक कुरा खेल्दा खेल्दै म कुन बेला निदाएछु, याद भएन।

काकाकाकीको त्यो प्रस्ताव पछि श्थिति अलि असहज भएको थियो। सधैं फरासिली, बोलाकिली, हल्काफुल्का जिस्किने, ठट्टा गर्ने मेघा अब लाज मान्ने भइरहेकिथिइन्। मसंग नजर लुकाउने भइरहेकिथिइन्। सकेसम्म मेरो अघि पर्दिनथिइन् र परिहालेमा पनि लाजको लालिमा उनको अनुहारभरि छरिएको स्पष्ट देखिन्थ्यो। मेहुलले मलाई भिनाजु भनेर जिस्काउन थालिसकेकोथियो। काकाकाकी दुबै जना पहिला जस्तो सहज देखिनुहुन्थेन। हामीहरु बिच अब औपचारिक कुराकानीमात्र हुन थालेको थियो।

मेघाले मेरो स्वभाबिक भन्दा बढीनै ख्याल राख्न थालेको महसुस हुन थालेकोथियो। मैले छरपरष्ट छोडेर गएको मेरो कोठा फर्केर आँउदा चिटिक्क मिलेको हुन्थ्यो। म सुत्दा कहिले बत्ती ननिभाई, पर्दा नझारी सुतिदिन्थें। तर बिहान उठ्दा बत्ती निभेको, पर्दा लागेको पाउँथें। मैले जताततै फालेर छोडेका मेरा कपडाहरु धोइएका हुन्थे। ईस्तिरी लगाएर चटक्क मिलाएर राखिएकाहुन्थे। मेरा जुत्ता-मोजाहरु, ब्रस, मञ्जन, दारी काट्ने मेसिन सबै ठाउँमा हुन्थे। मेरो कोठामा मेघाको उपश्थितिको जताततै महसुस हुन थालेको थियो। एउटा स्त्रीले पुरुषको अस्तब्यस्त जीवनलाई कसरी सम्भार गर्न सक्दिरहिछन् त भन्ने महशुस भएको थियो। भ्यालेन्टाईन डे को दिन एउटा गुलाफको फूल र त्यो मुनि एउटा शुभकामना कार्ड मेरो बिस्तराको साइड टेबलमा थियो। भन्न पर्देन, त्यो कार्डमा मेघाकै हस्ताक्षर थियो।

एक दिन म ढिलो उठेछु क्यारे। मेघा चियाको कप लिएर आएकि थिइन्।

“हजुरलाई, सञ्चो भएन क्या हो, ढिलो उठिस्यो’ नि”। मेघाले मेरो निधारमा हात राखेकिथिइन्।

“होइन, त्यस्तो केही भएको छैन”। मलाई मेघाको स्पर्ष न्यानो लागेको थियो, आफ्नोपनले भरिएको, मायालु लागेको थियो।

त्यसपछि हरेक बिहान मेघा चियाको कप लिएर आउन थालेकि थिइन। मेरो दैनिकी, दिनचर्याबारे जानकारी लिन थालिसकेकी थिइन्। कुनै दिन म अलि छिट्टो निस्किएमा वा फर्किंदा ढिलो भएमा मेघाले उत्सुकता ब्यक्त गर्ने थालेकीथिइन्। कहिलेकाँहि आफ्नो स्वतन्त्रतामा अरु कसैले हस्तक्षेप गर्दा पनि मिठो नै लाग्दो रहेछ। पछि त म आँफै मेघालाई खबर गरेर जान थालेकोथिंए। नैनकला अव मेरो स्मृतिमा धुमिल भइरहेकिथिइन् र मेघाको आकृतिले ठाँउ लिइरहेकोथियो।

एकदिन मेरो साइड टेबलमा एउटा सानो कार्ड थियो। “मम्मी ड्याडीको प्रस्तावमा हजुरको उत्तर के होला, जिज्ञासु छु” हस्ताक्षर मेघाकै थियो।

वास्तवमा अव म क्रसरोडमा उभिएकोथिँए। अनिर्णयको बन्दी बनेको थिँए। एकातिर मसंग नैनकलासंगको अतित थियो भने अर्कोतिर मेदिनीप्रसाद काकाले मलाई लगाउनु भएको अतुलनीय गुण र मेघाको म प्रतिको श्रद्धामिश्रित, निश्चल माया। कहिले सोच्थें, सायद नैनकलाले मलाई बिर्सि सकिहोलिन्। समयले र भौतिक दूरीले उनलाई म बाट पर पुर्याईसक्यो होला। तर अर्को मनले मान्दैनथ्यो। लाग्थ्यो, नैनकला मलाई अझै पर्खिरहेकी होलिन्। म गएको बाटोतिर एकोहोरो हेरेर बसेकीहोलिन्। भित्तामा हामीले लेखेका नामहरु नमेटिऊन् भनेर अझै खरीढुङ्गाले अझै थप्दैहोलिन्।मैले अनायास नैनकलाले पठाएका पत्रहरु एकचोटी फेरि सबै पढेको थिंए। पत्रहरु पढिसकेपछि नैककला प्रतिको मेरो भावना प्रबल भएर आएको थियो। उनलाई एक पटक जसरी पनि भेट्ने निर्णय गरेको थिँए।

मैले एकाएक नेपाल जाने निर्णय गर्दा काकाकाकीहरु छक्क पर्नु भएकोथियो। मेघा पनि छक्क परेकिथिइन्। तर उँहाहरुले थप केही सोध्नु भएन। गाँउबाट बिश्थापित मेरा बाबु-आमासंग काठमाण्डौमै भेट भएको थियो। आठ-नौ बर्ष भइसकेकोथियो म अमेरिका गएको। बाबु-आमा दुबैको अनुहारमा उमेरका रेखाहरु प्रशस्त फैलिसकेकाथिए। कपाल पनि आधी भन्दा बढी फुलिसकेकाथिए। हालखबरका सामान्य गफ पछि मैले मेघासंगको बिवाहको कुरा चलेको र केही निर्णय गर्नु पूर्ब नैनकलासंग भेट्न चाहेको कुरो बाबु-आमासंग राखेको थिँए।

बुवा-आमा दुबैले लामो नि:श्वास लिनु भएकोथियो।

“नैनकला र तेरो सम्बन्धबारे सुनेका थियौं, बाबु तर अब तैले नैनकलालाई भुलिदिए हुन्छ”। बुवाले निराशाजनक स्वरमा भन्नु भएको थियो। आमाको अनुहारमा पनि त्यस्तै नैराश्यता देखेको थिँए।

“किन र बुवा, के नैनकलाको बिवाह भइसक्यो र?” मैले ब्याकुलताका साथ सोधेको थिँए।

“होइन, नैनकला माओबादीसेनामा गईन। जिँउदै छिन् या मरिसकिन् थाहा छैन।”। मलाई अचानक म मुनिको जमीन धस्सिएको आभास भएको थियो। अकास पनि फनफनी घुमेको जस्तो लाग्यो।

“किन, कसरी बुवा, यस्तो कसरी हुन सक्छ? नैनकला कसरी माओबादी सेनामा जान सक्छे”? मैले बुवालाई प्रश्नहरुको वर्षा गरेकोथिँए।

“अब यो किन र कसरीको खोजी गरेर केही फाइदा छैन बाबु। अब खुरुक्क अमेरिका फर्किएर जा। मेदिनीप्रसाद काकाले जे जे भन्नुहुन्छ, त्यहि गर। हामीले त तँलाई जन्म दिएर हुर्काइदिएकोसम्म हो। तेरो भाग्य बिधाता भनेका मेदिनीप्रसाद नै हो”।

मैले जिद्धि गर्दा पनि बुवाआमाले थप केहि बताउन चाहनु भएको थिएन। मैले एकचोटी गाँउजाने र नैनकलालाई खोज्ने कुरा गरेको थिँए। सुरक्षाको कारण देखाएर उँहाहरुले गाँउजाने कुरो सिधै अस्विकार गरिदिनु भएको थियो। बाबु-आमाको अस्विकृतिको बाबजुद म गाँउजान हिँडेको थिंए।

दुई दिनको बसयात्रा, त्यसपछिको पैदल यात्रा। ऊकाली, ओराली, कहिले खोलाको किनार किनार, कहिले जंघार तर्दै, कहिले सुनसान जंगलको बाटो। बाटोमा भेटिएका मानिसहरुले शंकालु, डर त्रास मिस्रित नजरले हेर्थे र म पनि मानिसहरु देख्दा भित्र भित्र त्रसित हुन्थें। मेरो हिँड्ने बानी छुटिसकेकोले एकैछिनमा थकित हुन्थें। तर बिश्राम नलिई अघि बढिरहेको थिंए; नैनकलालाई भेट्ने दृढतालले मलाई तानिरहेकोथियो। म गाँउको बेसीमा पुगिसकेको थिँए र डाँडाको थुम्कोमा रहेको मेरो गाँउ देखिइसकेको थियो। आफ्नो गाँउको झलकले मलाई आत्मबिभोर तुल्याएको थियो। ती बनपाखाहरु, खोलाहरु, बेसीका खेतका गराहरु सबैले मलाई स्वागत गरिरहेकोजस्तो लागेको थियो।

“हल्ट”

पछाडिबाट कसैको कडा आवाज आएकोथियो र म रोकिएको थिए। मलाई सेनाका पोशाक लगाएका केही युवाहरुले घेरेका थिए। सबै हातहतियारबाट सु-सज्जित थिए। उनीहरुको टोपीमा भएको रातो तारा चिन्हले उनीहरु माओबादी सेना भएको अडकल काट्न गारो भएको थिएन।

“तंपाई को, कहाँ जान आएको, नाम के हो, घर कहां हो? किन आएको, कसको ईजाजतले आएको?….” उनीहरुले एकै पटक थुप्रै प्रश्नहरु बर्साएका थिए। आफू उपल्लो गाँउको भएको, १०-१२ बर्षदेखि गाँउ छोडेर काठमाण्डौ र त्यसपछि थप अध्ययनको लागि अमेरिका गएको र अहिले आफ्नो गाँउ घुम्न मन लागेर आएको बताएको थिँए।

“तँपाईका उत्तरहरु सत्य हुन भनेर कसरी मान्ने? तँपाई हाम्रो दुश्मनको मानिस पनि हुन सक्नुहुन्छ। त्यसैले थप अनुसंधानको लागि हामी तंपाईलाई कब्जामा लिंदैछौ र हाम्रो कमाण्डर समक्ष प्रस्तुत गर्नेछौं”। त्यसपछि उनीहरुले मेरो आँखामा पट्टी र हात पछाडि लगेर बाँधिदिएका थिए र मलाई उनीहरुसंगै हिंड्न बाध्य पारिएको थियो। भित्र भित्र डर लागिरहेको थियो तर आफूले कुनै जन बिरोधी काम नगरेको, र आफू शत्रु वा मित्र कुनै कित्ताको मानिस नपरेकोले केहि गरिहाल्लान् भन्ने चाँहि लागेको थिएन। करिब दुई-तीन घण्टा हिंडेपछि हामी रोकिएका थियौं।

“कसलाई लिएर आउनु भयो कमरेडहरुले”? एउटा कडा नारी स्वर गुञ्जिएकोथियो। कता कता चिरपरिचित जस्तो आवाज।

“यो मान्छे, पल्लो गाँउको हुँ भन्छ, ९-१० बर्ष अघि अमेरिका गएको रे, अहिले गाँउ घुम्न आएको भन्छ। यसको कुरा बिश्वास नलागेर लिएर आएको, कमाण्डर कमरेड”। मलाई लिएर आउने मध्य एउटाले जवाफ दिएकोथियो।

“हँ, अमेरिकाबाट आएको रे , पल्लो गाँउको रे? ” नारी स्वर झस्किएकि थिइन्। “पट्टी खोल्नूस त।

मेरो आँखाको पट्टी खोलिएको थियो।

“नैनकला !!!!”” मेरा ओँठहरुबाट मेरो सामुन्नेको नारीको नाम निस्किएकोथियो। मेरो शरीरमा हजारौं भोल्टको करेंट प्रवाहित भए जस्तो भएको थियो। हो, मेरो अगाडी नैनकला थिइन्। सैनिक पोशाकमा। बन्दुक बोकेकी। दुब्ली। आँखा अलि भित्र धस्सिएर गालाको हड्डी माथि उठेको जस्तो देखिएको। सुक्खा अनुहार। कलेटी परेको ओंठ। तर तिनी मेरी नैनकला थिइन् जो संग मैले संगै बांच्ने संगै मर्ने कसम खाएकोथिँए। यसरी अचानक नैनकलासंग भेट होला भनेर चिताएको पनि थिइन।

“तिमी”……”? उनी पनि चकित् भएकि थिइन्। भावनाका हजारौं रेखाहरु उनको अनुहारमा आएर गएका थिए। आंखामा आँशु छचल्किएको थियो र उनले हठात् मलाई अँगालोमा बाँधेकीथिइन्। “तिमी कसरी यहाँ अकस्मात??

अन्य जनसेनाको उपश्थितिले होला सायद, उनी छिट्टै सम्हालिएकी पनि थिइन। मलाई अंगालोबाट मुक्त गरेकीथिइन्।

“कमरेडहरु, तँपाईहरुले मेरो साथीलाई पो लिएर आउनु भएछ। उ थाकेको होला, भोक पनि लागेको होला, ल छिट्टो खानपानको ब्यबश्था गर्नूस्”।

“ए हो र , गल्ती भयो कि कमरेड, पुर्याउन जाऊँ”। जनसेनाका सिपाहीहरु पनि आश्चर्यमिश्रिग भावमा मुखामुख गरिरहेका थिए।

“हैन, केहिछैन, आज थाकेको होला, आराम गर्छ, भोली झिस्मिसेमा नै सुरक्षाकासाथ इलाका पार गराईदिनुहोला।“

“तिमीले बिहे गर्यौ”? खाना खाँदै गर्दा उनले सोधेकीथिइन्।

“छैन, म अहिले सम्म तिम्रै प्रतिक्षामा छु। म तिमीलाई लिन आएको नैनकला”। मैल जबाफ दिएको थिँए।

“तिम्रो प्रेम मेरो लागि सौभाग्य हो। म खुशी छु, तिमी अमेरीका देखि मलाई खोज्न आयौ। प्रेम निभायौ। तर मेरो बाटो अब अलग भइसकेकोछ। म तिमीलाई मेरो प्रेम बन्धनबाट मुक्त गर्छु। जाऊ, फर्क र घरजम गर”। उनले भनेकी थिइन्।

“तर तिमीले जीबनको यो कस्तो बाटो रोज्यौ नैनकला?” मैले सोधेको थिँए।

“भयो, यो कुरातिर नजाऔं, तिमी थाकेकाछौ। आराम गर। भोलीबिहान कमरेडहरुले तिमीलाई सुरक्षित साथ पुर्याईदिन्छ” उनले कुरा मोड्न कोशिष गरेकिथिइन्।

“म त तिमीलाइ भेट्न आएको नैनकला। तिमीले मलाई किन बिर्सियौ? मेरा पत्रहरुको जवाफ किन आएन? तिमीले किन यस्तो बाटो रोज्यौ, जुनबाटोमा हिँसा नै हिँसा छ? “ मैले प्रश्नहरु छोडिन।

“तिमी मसंग राजनैतिक कुरा गर्न आएको”? उनी अलि चिडचिडाएको थिइन। सायद मेरा पछिल्लो प्रश्न उनलाई मन परेको थिएन।

“म मेरो प्रेम फिर्ता लिना आएको, नैनकला”। त्यसपछि उनी गम्भिर बनेकीथिइन्।

“तिमीले २०५६ सालतिरको ‘किलो सियरा टु’ अपरेशन बारे सुनेका थियौ?

“सुनेको जस्तो लाग्छ, तर त्यति जानकारी भएन”। मैले जवाफ दिएको थिँए।

“२०५६ साल फागुण १० गतेको कुरा हो। गाँउमा अझै चिसो घटेको थिएन। हिउँदको वेला त्यति काम नभएकाले गाउँलेहरु सबै घरमै थिए । आईमाईहरु घर कंसेर गर्दै थिए। कोही पानी लिन गएका थिए। कोही गाईबस्तुहरुलाइ घाँस पराल दिंदै थिए। दिन अघिल्लो दिन जस्तै सामान्य थियो। केही फरक थिएन तर एकाएक श्थिति बदलिएको थियो। यहाँ बिध्वंश मच्चिएको थियो। हेर्दाहेर्दै त्यो हाम्रो सुन्दर गाँउ खरानी भएको थियो । १५ जनाको जीवन एउटै चिहान भयो । ७० भन्दा बढी घर जलेर खरानी भए। साना नानीहरुले अघिल्लो रात सँगै सुतेका बाबाहरुलाई भोलिपल्ट कहिल्यै नउठ्नेगरी सुतेको भेट्टाए । बिहानै पानी लिन पधेरो गएका श्रीमतीहरू पानी लिएर र्फकंदा घरहरू बलिरहेका, गाईवस्तुहरू आगोमा जल्दै गरेका र श्रीमान् र छोराहरू एउटै खाटमा गोली लागेर रगतपच्छे ढलिरहेका देखे”।

“म पनि पानी लिन गएको थिंए। त्यो दिन हाम्रो घरको छाना छाउने दिन थियो। छिमेकी काकाहरु, दाइहरु आउनु भएको थियो। फर्किंदा मैले देखें आंगन भरि प्रहरीहरु थिए। बुवा, काका, दाइहरु सबैलाई लाइन लगाएर राखिएकोथियो र प्रहरीले बन्दुक सोझ्याएको थियो। म डरले कान्लाको छेउमा लुकें। प्रहरीको हाकिमले आदेश दियो, “ यिनीहरु सबै माओबादी हुन्, यिनीहरुलाई गोली ठोक”।

“बुवाले नेपाली काँग्रेस सदस्य परिचय पत्र देखाउदै दुई हात जोड्नु भयो। गोलीले उँहाका हातहरु उछिट्टिए। अर्को गोली छातीमा लाग्यो र उँहा ढल्नु भयो। काका, दाइहरु सबैजना ढल्नु भयो। उनीहरुले दोहोर्याएर फेरि सबैलाई गोली हाने। परिचयपत्रहरु उंहाहरुको मुखमा कोचिदिए। हाम्रो घरमा आगो लगाइदिए। त्यसपछि गोली चलाउँदै, आगो लगाउँदै उनीहरु माथितिर लागे। त्यो दिन बिहान गाँउ पस्ने बाटोमा प्रहरीको गस्ती टोलीसंग माओबादीको जम्काभेट भएको रहेछ र दोहोरो फायरिंगमा एक जना प्रहरीको मृत्यू भएको रहेछ। त्यसको रिसमा प्रहरीहरु हाम्रो गाँउमा पसेर ताण्डब गरे। मैले मेरो बुवा, दाइ र काकाहरुलाई निमेष भरमा गुमाएँ। त्यसै दिन पछि हेलिकप्टरबाट समेत गोली बर्षा भयो। मानिसहरुमात्र होइन, गाइबस्तुहरु समेत मरे। भोलिपल्ट रेडियो समाचारले बुवा, काका, दाइहरुको नामै तोकेर भन्यो, दोहोरो भिडन्तमा माओबादी सेनाहरुको मृत्यु। सरकार हाम्रै थियो-नेपाली काँग्रेसको। निहत्था मेरा बुवा, काकाहरु, दाइ जो सबै नेपाली काँग्रेसकै हुनुहुन्थ्यो लाई माओबादी बनाईयो। त्यसको शोकले गलेर आमा पनि केही महिना पछि बित्नु भयो। तिमी यहाँ थिएनौ। म एक्लो र असुरक्षित भएँ। आफन्तहरु सबै माओबादीको नाममा मारिए पछि म पनि कुनै दिन त्यसरी नै मारिनसक्ने डरले माओबादीको आश्रय लिँए। म कुन बाटो आएँ, सही गरेँ या गलत गरेँ, अब फर्केर हेर्न चाहन्न”।

नैनकलाको दर्दनात्मक कथा सुनेर म एकछिनलाई स्तब्ध भएकोथिँए। नि:शब्द भएकोथिँए। तर मैले आश मारेको थिइन। उनलाई यो हिँसात्मक बाटो छोडेर सामान्य जीबनमा फर्किन अनेक अनुरोध गरेकोथिँए। तर उनी उनको निर्णयमा अटल थिइन्। म असफल भएकोथिँए।

अर्को बिहान नैनकला मलाई पुर्याउन धेरै परसम्म आएकिथिइन्। त्यसपछि उनका जनसेनाहरुले उनलाई सुरक्षाको कारण देखाएर अघि बढ्न रोकेकाथिए। नैनकलालाई त्यसरुपमा छोडेर हिँड्न पर्दा मेरो मन मा पहिरो गएको थियो। मैले लुकाएर आँशु झारेको थिँए। नैनकला सायद सैनिक तालिमले होला, कठोर देखिन्थिन्।

म अमेरिका फर्किएको केही दिन पछि माओबादी र तत्कालिन शाही सेनाको भिषण दोहोरो भिडन्त भएको थियो र मैले नैनकलालाई सदाको लागि गुमाएको थिँए। सरकारी सेनाको लागि एउटा आतंकबादी मारिएको थियो र माओबादीहरुको लागि एउटा सहयोद्धा। तर यो युद्धमा मेरो प्रेम शहीद भएकोथियो।

=======

बाहिर ढोकाको घण्टी कसैले एकनाससंग बजाइरहेको रहेछ। म अतितको तन्द्राबाट ब्युँझन्छु। ढोका खोल्छु। मेघा कामबाट फर्केकी रहिछिन्।

“हैन, मैले घण्टी बजाएको कति भयो, हजुर निदाइ’सेछ कि क्या हो, खै त बच्चाहरु?”

मेघा निथ्रुक्कै भिजेकि रहिछन्। बाहिर झरी परिरहेकै रहेछ।

(२०५६ साल फागुण १० गते रुकुम, खारामा भएको प्रहरी दमनमा आधारित)

समाप्त।

(यो कथा पहिला “झरी परिरहन्सछ” शीर्षकबाट सपना संसार डट कम मा प्रकाशित भइसकेकोछ। कथा अनुसार शीर्षक नमिलेको भन्ने पाठकहरुको सुझाव अनुसार परिवर्तन गरेकोछु)

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.