सबल स्कुलबाट घर आउँदै थियो । दुईजना युवाहरू उसको आँगन छेउको तगारो लगाउँदै बाटो लागे । उनीहरूले घाँटीमा क्यामेरा झुण्ड्याएर पिठ्युँमा झोला भिरेका थिए । एक सूरमा हिँड्दै गरेका युवाहरूलाई देखेपछि सबल सतर्क भयो । उनीहरूको अनुहार केही नियास्रो देखिन्थ्यो । सबल पैयुँको रुखमा छेलिएर आँगनको डिलबाट उक्लँदै घरमा पस्यो । पिँढीमा बसेकी हजुरआमाले थाप्लाको रुमाल झिकेर आँशु पुछ्दै गरेको दृष्यले ऊ मलिन भयो । सँधै स्कुलबाट घर आएपछि आँगनबाटै ‘हजुरआमा काँ’हुनुहुन्च’ भन्दै भित्र पस्ने सबललाई आज त्यो अस्वाभाविक दृष्यले मनभित्र चिसो बतास चलायो । चुपचाप हजुरआमाको पछ्यौरा समाउँदै झोलै नबिसाई भुइँमा थपक्क बस्यो । हजुरआमाको अनुहारतिर हेर्ने आँट नै आएन उसमा । शरीर शिताङ्ग भयो । अनायासै भावुक बन्यो र आफ्नो जुत्ताको तुना खेलाई रह्यो । आँखाका डिलबाट छचल्किँदै भूइँमा तप्पतप्प आँशु खसे । दुईथोपा आँशु त हजुरआमाको गोडामा पनि खस्यो । उनी झल्याँस्स भइन् । संहालिँदै छेवैमा बसेको नातिलाई छातीमा च्याप्प कसिन् ।
‘मेरो नाति ! के भयो बाबु ? किन रोएको ? कतिखेर आएर छेउमा बसेछ, मैले त ख्यालै नगरेकी । मेरा पनि होससुर्ता हराउन थाले । कठै बरा मेरो बाबु ! हिँड भित्र । भोक ला’को होला । आज स्कुल लैजाने खाजा पनि भएन ।’ मनकुमारी एकसुरमा फतफताइन् । आफ्ना आँशु पुछ््दै गरेको रुमालले सबलका आँशु पुछिदिइन् र गालामा चुप्प चुप्प म्वाइ खाइन् ।
सबलको बालमनोविज्ञानमा गहिरो चोट प¥यो । केही बर्स अघि आपूmले नचिनेका धेरै मानिसहरूका अगाडि आफ्नी हजुरआमा रोएको देखेको हो उसले । त्यतिबेला ऊ पाँच बर्सको थियो । त्यसैले केही भेऊ पाएको होइन । अहिले दस बर्सको भयो । गाउँकै सरकारी माविमा कक्षा चारमा पढ्छ । पढाइमा निकै तेज र मिहिनेती छ । शिक्षकहरूले उदाहरण दिनु प¥यो भने सबलकै नाम लिन्छन् । सबैको प्यारो बनेको छ ऊ । सनैसनै उसमा परिपक्वताको झलक देखापर्दै गएको छ । तिक्ष्ण दिमागको सबल आफ्नी हजुरआमाको त्यो अवस्था देखेपछि त्यसको कारणबारे थप खोजीनीति गर्नै चाहेन । हजुरआमाको पछ्यौरा समायो र चुपचापसँग थपक्क भुइँमा बस्यो । हजुरआमाको पीडामा आफ्नो पीडा मिसायो ।
मनकुमारीले सबलको पिठ्युँबाट झोला झिकिन् । जुत्ताको तुना खोलेर जुत्ता र मोजा खोलिदिइन् । खुबै माया गर्छिन् नातिलाई उनी । नगरुन् पनि किन ? जीवनको एकमात्र साहारा भनेको सबल नै त हो । त्यो पनि बूढेसकालको बैसाखी । सर्ट–पाइन्टमा लागेको धुलो हातले फ्याटफ्याट पार्दै झारिदिइन् । सबल भित्रभित्रै हिक्हिकाइरहेको थियो । बालमष्तिष्कमा परेको गहिरो चोट पिएको छ उसले । ओठ टोकेर नियास्रो अनुहार आफ्नी हजुरआमाको काँधमा अड्याएको छ उसले । दुवै बजै–नातिले आ–आफ्ना अव्यक्त पीडा साटिरहेछन् एकापसमा । मौनता तोड्दै मनकुमारीले नातिलाई सोधिन्–
‘भोक लाग्यो बाबु ?’
सबलले टाउको हल्लायो र भोक लागेको जनाउ दियो ।
‘बरा ! मेरो नाति कति भोका’होला । चिया पकाउँछु र छिटै खाना पकाउँला । आज यस्तै भयो है बाबु !’ नातिको स्वीकारोक्ति मागिन् । फेरि पनि सबलले स्वीकारसूचक भावमा टाउको हल्लायो मात्र । बोलेन । दुबै भित्र पसे र अगेनामा आगो बाल्न थाले ।
फागुनको पहिलो साता बित्दै थियो । घाम डाँडाबाट ओह«ालो लागेपछि छिटै साँझ परिहाल्छ । कुखुरा आफ्नो बासस्थानतिर लाग्दै छन् । उता गोठमा बाख्राका पाठा–पाठी कराउँदै र उफ्रँदै छन् । लैनो भैँसीले छिटो दुहुन सङ्केत गर्दै छ ।
मनकुमारीले छिट्छिटो चिया पकाइन् । सबलले बिहानको बासी रोटी चियामा डोब्दै खान थाल्यो । बूढीले दुईचार सुर्की पिएर ‘पछि पिउनुपर्ला’ भन्दै अगेनाको छेउमा गिलास राखिन् । प्लास्टिकको बाल्टीको बिटमा नौनी लगाएर भैँसी दुहुन गोठतिर निस्किइन् । सबलले चियारोटी खाएर गिलास र फ्राइबिन माझ्यो र बाख्रापाठा भित्र सा¥यो । बाख्राको अलग्गै खोर नभएकाले उनीहरू बाख्रालाई बैठक कोठाको ढोकाछेउ कुनामा किला ठोकेर बाँध्ने गर्छन् । मनकुमारीले बाहिरफेराको सबै कामधन्दा सकेर भित्र पसिन् । सबलले कठ्कुराबाट दाउरा ल्यायो । मनकुमारीले खाना पकाउन थालिन् । सबलले होमवर्क गर्न थाल्यो । रात परिसकेकाले लालटिनको उज्यालोमा अगेना छेउमै बसेर लेख्न थाल्यो । पाहाडको गाउँ सरकारी विजुली पुगेको छैन । होमवर्क सकेपछि बजैनातिले खाना खाए ।
खसीपाठा, घ्यु, दूध, दही बेचेर जोरजाम गरेको थोरैतिनो रकम र खेतिपाती गरेर उब्रेको समयमा फाट्टफुट्ट निमेक गरेर कमाएको पैसाले मनकुमारीले घरमा जस्ताको छानो हालेकी छिन् । भुइँमा दुई कोठा भएको बुइँगल सहितको घर छ । बिचको तलामा सुत्ने कोठा छन् । उपल्लो तलामा अनाजपानी र थोत्राथोत्री सामान राख्ने गरिन्छ । घरको दायाँतर्फ गोठ छ । घर र गोठ अगाडि वरिपरि ढुङ्गे पर्खालले घेरेको सानो आँगन छ । आँगनको एक छेउमा तगारो छ । त्यसको दायाँतिर पैयुँको रुख र बायाँतिर नासपातिको रुख छन् ।
उमेरसँगै सबलको सोच र व्यवहारमा परिवर्तन हुँदै गएको छ । आफ्नो घरपरिवार र व्यवहारका बारेमा बुझ्दैछ ऊ । पहिलाजस्तो हजुरआमालाई सताउने गर्दैन । नातिको परिवर्तित व्यवहार देखेर मनकुमारी पनि अलिक औपचारिक हुँदैछिन् । जीवनको साहारा भन्नु पनि त्यहि एउटा प्युसो न हो । जन्मघर छोडेर कर्मघर गएका छोरीहरूबाट भरोसा गर्ने नेपाली समाज पनि त होइन । त्यसको अपवाद मनकुमारी कसरी हुन सक्थिन र !?
… …
तीन सन्तानकी आमा हुन् मनकुमारी । छोरीहरू दिलकुमारी र चन्द्रकला तथा छोरा विमल थिए । छोरा र सानी छोरी चन्द्रकला जनयुद्धमा सामेल भएर जनमुक्ति सेनामा कार्यरत थिए । उनीहरू अलग–अलग ब्रिगेडमा थिए । जेठी छोरी दिलकुमारीको भने जनयुद्ध सुरूहुनु पहिला नै विवाह भइसकेको थियो । आफ्ना श्रीमान धनप्रसाद क्षेत्री भारतको चण्डिगढमा फ्याक्ट्रिमा काम गर्थे । जनयुद्ध सुरु भएको केही बर्समै कलेज पढ्दै गरेका छोरा–छोरी भूमिगत भएर युद्धमा सामेल भएपछि मनकुमारी एक्लो परिन् । त्यसपछि फ्याक्ट्रिको स्थाई जागिर छोडेर धनप्रसाद घर आए । आफ्ना पति घर आएपछि मनकुमारीले छोरा–छोरीलाई युद्धबाट घर फर्काउन पतिलाई निकै आग्रह गरिन् । उनले छोरा–छोरीलाई घर फर्काउनुको साटो उल्टै श्रीमतीलाई चिन्ता नगर्न भन्दै सम्झाउन थाले । धनप्रसाद पञ्जाबमा जागिर गर्दा माओवादी समर्थित ‘अखिल भारत नेपाली एकता समाज’ मा सङ्गठित थिए । एकता समाजको क्षेत्रीय तहको कमिटीमा रहेर काम गरेका उनले जनयुद्ध किन र कस्का लागि लडिएको छ भन्ने कुरा राम्रैसँग बुझेका थिए । त्यसैले छोरा–छोरी युद्धमा लागेकोमा दुःख होइन गर्व गर्नुपर्छ भन्दै परिवारलाई बेलाबखत सम्झाई रहन्थे ।
आमाको मन न हो, त्यति सजिलै कहाँ सम्हालिन्थ्यो र ! दस महिना पेटमा बोकेको पीडा, मृत्युसँग पौँठेजोरी खेलेर जन्माउँदाको पीडा । त्यसपछि आफू भोकभोकै रहेर पनि लाम्टा चुसाएर हुर्काउँदाका दुःखहरू सबै छोरा–छोरीको माया–प्यारमा साटेर बिर्सिएका हुन्छन् हरेक आमाहरू । बर्सौंबर्स तिनका गुहुमुत सोहरेर घामपानी, हावाहुरीबाट बचाउन कोखिलामा च्यापेर हुर्काएका आफ्नो कलेजोका टुक्राले घरपरिवार र आफ्नो ब्यक्तिगत जीवन सबै त्यागेर चटक्क घर छोडेर निस्कँदा कुन आमाको मन नभक्कानिएला ? दुई छोरी पछि जन्मिएको छोरो । उच्च शिक्षा पढाउने, पढेलेखेकी बुहारी भित्र्याउने धोको, धोकोमै सीमित भयो मनकुमारीको । छोरा–छोरी भूमिगत भएदेखि अरूका नजरमा खुसी देखिए पनि भित्रभित्रै आँशु पिएर दिन काट्थिन् उनी । ‘पार्टीमा नलाग्नु थियो लागिहाले, लागे पनि घरै छोडेर नहिँडेको भए हुन्थ्यो । अब हिँडिसके, कमसेकम शत्रुले गोली नदागिदिए हुन्थ्यो’ आफन्तहरूसँग सँधै दोहो¥याउने वाक्य थियो मनकुमारीको ।
छोरा–छोरी युद्धमा हिँडेदेखि मनकुमारीले रेडियो निकै सुन्ने गर्थिन् । समाचार आयो भने रेडियो नजिक आउँथिन् । बिहान रेडियो खुलेदेखि बेलुका बन्द नहुँदासम्म उनले रेडियो खोलि रहन्थिन् । धनप्रसादले पञ्जाबबाट ल्याएको तिनशेले फिलिप्स रेडियो थियो घरमा । कुनै दिन रेडियो बजेन भने तलमाथि गर्ने गाउँलेहरूले आज लाहुरेनी कान्छी घरमा रहिनछन् भनेर चुपचाप हिँड्थे । धनप्रसाद भारतमै बस्दा सानैमा उतैकी लैनछोक्रीलाई बिहे गरेकाले गाउँलेहरू उनलाई लाहुरेनी कान्छी भनेर बोलाउँथे । पुलिस र सेनासँग माओवादीको भिडन्त भएको भन्ने समाचार आएको दिन त उनको शरीरबाट भोक र निद्रा पनि भाग्थ्यो ।
‘हिँड्नेहरू हिँडिहाले तैँले व्यर्थैमा चिन्ता गरेर किन आफ्नो जिउ सुकाउँछेस् । तेरो जिउ सुकेर न त जनयुद्ध रोकिन्छ न त तेरा छोराछोरी घर फर्किन्छन् ।’ धनप्रसादले मनकुमारीलाई बेलाबेला यसै भनेर सम्झाउँथे ।
गाउँबाट पुलिस विस्थापित भएपछि माओवादीले स्थानीय सत्ता निर्माण गर्न थाल्यो । गाउँ पूर्णरूपमा मुक्त भए । त्यसपछि जनमुक्ति सेनाका सशस्त्र फौज गाउँमा छ्याप्छ्प्ती हिँड्न थाले । विमल र चन्द्रकला पनि फौजी ड्रेसमा आफ्ना टुकडीसँगै घरमा आउन थाले । माओवादीका ठुलठुला तहका नेताहरू समेत खुल्ला रूपमा हिँड्न थाले । नेताहरू गाउँमा आए भने मनकुमारीकै घरमा बस्थे । उनको घर मुख्य सेल्टरजस्तै थियो । जनसत्ताको सुरक्षा गर्न गाउँगाउँमा जनमिलिसिया गठन भए । धनप्रसाद प्रवासमा छँदा निकै स्थापित र प्रभावशाली थिए । घर फर्केपछि पनि पार्टीका नेताहरूलाई राम्रो सल्लाह सुझाव दिन्थे । गाउँमा झैझगडा भयो, जनअदालतमा कुनै मुद्दा प¥यो भने उनको खोजी भइहाल्थ्यो । मुद्दामा पार्टी हेरेर होइन उसको वर्ग र न्याय–अन्याय हेरेर निश्पक्ष फैसला गर्नु पर्छ भन्दै सबैलाई आफ्नो तर्कमा कन्भेन्स गर्थे । जिल्ला जनसरकारको निर्वाचनमा उनी निर्विरोध भएर प्रमुखमा निर्वाचित भए । तबदेखि मनकुमारीको सोचमा पनि परिवर्तन आउन थालेकै हो । उनलाई अब त माओवादीले साँच्चिकै देशमा जनवाद ल्याउने भए भन्ने लाग्न थाल्यो । पार्टीप्रति पूर्ण विश्वास गर्न थालिन् । नेता–कार्यकर्ता सबैलाई समान रूपमा माया गर्थिन् । कहिल्यै पनि उनीहरूलाई भेदभाव गरिनन् । आफूसमेत महिला सङ्गठनमा सामेल भइन् । यसरी उनको पूरै परिवार माओवादीमा सङ्गठित भयो । उनको घर र परिवार माओवादीमय भयो ।
माओवादीले एकैसाथ तीनवटा सदरमुकाम कब्जा गर्दै शाहीसेना माथि आक्रमण ग¥यो । सेनासँग घमासान युद्ध हुन थाल्यो । त्यहिबेला एक ठाउँको सेनासँगको भिडन्तमा छोरी चन्द्रकलाको सहादत भयो । जे नहोस् भनेर मनकुमारी दिनरात जपना गर्थिन्, आखिरमा त्यहि भयो । यो खबरले उनको मुटु चुँडियो । अब उनी महान् सहिदकी आमा भइन् । पार्टीमा उनलाई जिम्मेवारी थपियो । महिला सङ्गठनका साथै ‘सहिद परिवार समाज’की सदस्य पनि भइन् । घरको कामधन्दासँगै सङ्गठनका बैठक र कार्यक्रमहरू समेत भ्याउनु पर्ने भयो । आपूmजस्तै अरू सहिद परिवारका घरमा गएर सम्झाउनु पर्ने जिम्मेवारी थपियो ।
… …
एकदिन बिहानै पार्टीका केन्द्रीय तहका नेताहरू दलबल सहित उनको घरमा आए । बेलुका जनमुक्ति सेनाका फौजी कमाण्डरहरूको ठुलै टिम पनि थपियो । घरभित्र बस्ने ठाउँ नै पुगेन । बाहिर आँगनमा टेन्ट टाँगेर हल तयार गरियो । गोठको एक छेउमा पाल टाँगेर मेस चलाइयो । धनप्रसादलाई सम्पूर्ण व्यवस्थापनको जिम्मा दिइयो । यसरी भेला हुनुलाई माओवादीहरूले उत्सवका रूपमा लिने गर्छन् । उनीहरूका लागि परम्परागत धार्मिक चाडपर्वहरू सबै त्याज्य छन् । जन्म, मृत्यु र विवाह संस्कारहरू पनि बदलिएका छन् । सच्चा कम्युनिस्टहरू भौतिकवादी हुन्छन् । त्यसैले पुरातन संस्कारहरू मनाउने कुरा भएन । पार्टीका भेला, बैठक, सभा–समारोहमा हुने केन्द्रिकरण नै उनीहरूका लगि पर्व हुने गर्छन् । दस दिनसम्म मेस चलेपछि एक रात उनीहरू त्यहाँबाट गाएब भए । एकाएक कता गए पत्तो भएन । गाउँलेहरूले पनि कुनै सुइँको पाएनन् । दुईदिन पछि सेनाको ठुलै व्यारेकमा घमासान लडाइँ भएको खबर आयो । त्यसरात गणतन्त्र एफएमले प्रत्यक्ष प्रसारण पनि ग¥यो । कारवाही आंशिक सफल भएको वक्तव्य पार्टी हेडक्वार्टरबाट जारि भयो । दुबैतर्फको बराबरी जस्तै भयो ।
जनमुक्ति सेनाको फौजी कारवाही पूर्ण सफल हुन नसकेपछि शाहीसेनाले ठुलो केन्द्रिकरण गरेर गाउँमा अप्रेशन चलायो । पत्रकार र मानवअधिकारवादीहरूको भेषमा सिआइडि परिचालन ग¥यो । गाउँगाउँमा जनसेवा गर्ने बहानामा सुराकीहरू खटायो । एकदिन बिहानै झिसमिसेमा व्यापक हमला गर्दै शाहीसेना मनकुमारीको गाउँ पस्यो । कारवाहीबाट फर्किएका माओवादीहरूले अघिल्लो राती त्यो गाउँ छोडिसकेका थिए । धनप्रसाद व्यवस्थापनका काम सल्टाउन नभ्याएकाले घरमै थिए । शाहीसेनासँग आएको सुराकीले माओवादी मुख्य अड्डा यहि हो भन्दै धनप्रसादको घर सिकायो । सेनाले चौतर्फी घर घेरा हालेर फायर गर्दै अघि बढ्यो । उनीहरूले धनप्रसादलाई भित्रबाट घिसार्दै बाहिर आँगनमा ल्याए । एस.एल.आर.का कुन्दाले निर्घात कुटपिट गरेर माओवादी नेताहरू कहाँछन् भन्दै बयान गराए । उनले जति यातना दिएपनि थाहा छैन भन्दै प्रतिवाद गरिरहे । अन्त्यमा आँगनबाट घिसार्दै बारीमा लगे र पछाडिबाट छ–सात राउण्ड गोली हानेर मारे । बेलुका सरकारी रेडियोले ‘माओवादीसँगको दाहोरो भिडन्तमा जिल्ला जनसरकार प्रमुख भनिने माओवादी नेता धनप्रसाद क्षत्रीको मृत्यु, केही आधुनिक हतियार र गोलीगट्ठा बरामद’ भन्ने समाचार प्रसारण ग¥यो । यसरी मनकुमारीले आफ्नै आँखा अगाडि विभत्स दृष्य देख्नु प¥यो । उनी बेहोस भएर आँगनमा ढलिन् । शाहीसेना गाउँबाट फर्किएपछि गाउँलेहरू आएर मनकुमारीलाई उठाए । माओवादीका डाक्टरले उनको उपचार गरे । गाउँलेहरूले धनप्रसादलाई श्रद्धाञ्जली दिएर दाहसंस्कार गरे ।
… …
छोराले जनयुद्धकै क्रममा जनमुक्ति सेनामा कार्यरत क्रान्तिसँग विवाह गरेको थियो । क्रान्तिले छोरा जन्माएपछि डेढ बर्सको दुधे वालकलाई सासूआमाको काखमा छोडेर पुनः जनमुक्ति सेनामा सामेल भएकी थिइन् । धनप्रसादले छोराको विहे, बुहारी र नाति कसैलाई पनि देख्न पाएनन् । छोरालाई घरमा छोडेर हिँडेलगत्तै भएको फौजी कारवाहीमा क्रान्ति सहिद भइन् । आफ्नो जीवनसाथी ढलेको खबर विमलले पार्टीनेतृत्व मार्फत् पाएको थियो । जीवनसाथीको अन्तिम अनुहार हेर्न पनि पाएन उसले । उनीहरू दुबैजना फरक फरक ब्रिगेडमा कार्यरत थिए । दिदी र बुबाको सहादत पचाइसकेको उसलाई जीवनसाथीको सहादत पचाउन पनि करै लाग्यो । आफ्नै टाउकोमा कात्रो बाँधेर हिँडेका योद्धाहरूलाई यस्ता घटना कुनै पनि बेला टाउकोमा बज्रिन सक्छ भन्ने कुरामा सचेत थिए उनीहरू । तर पनि मृत्यु न हो, साँच्चिकै प्यारो त कस्लाई पो हुन्छ र ! बाँचेरै क्रान्ति जित्ने र आफ्नै ज्ञान सिपबाट सुन्दर समाजको नक्सा कोर्र्ने सपना हरेक क्रान्तिकारीहरूले देखेकै हुन्छन् । उसले पनि देखेकै थियो ।
त्यो समयमा शाहीसेनासँग बाहिरी मोर्चामा घमासान लडाइँ भइरहेको थियो । एकाएक घेरा हालेको शाहीसेनासँग भिडन्त भयो । विमल प्लाटून कमाण्डर थियो । आफ्नो टुकडिलाई अघि बढायो उसले । एकछिन असिना बर्सिए सरी दोहोरो गोली पट्कीए । उसको टोली क्रमशः शाही सेनालाई लखेट्दै आफ्नो घेरा खुलाउँदै थियो । आफ्नो तर्फका सेनाहरूलाई घेराबाट निस्कन आदेश गर्दै दुश्मनलाई लखेट्दै थियो उसले । ठुलठुलो स्वरमा दुश्मनलाई हतियार फालेर ज्यान जोगाउन कासन गर्दै अघि बढिरहेको थियो । भाग्दै गरेको दुश्मनले अन्धाधुन्ध फायर गर्दै थियो । त्यसैबेला टुइन्च मोर्टारको गोली विमलको टाउकैमा लाग्यो । ऐया पनि भन्न नपाई मैदानमै उसको प्राणले पखेटा हाल्यो र अनन्त आकाशमा कावा खाँदै विलिन भयो । यसरी विमलले पनि क्रान्तिमा आफ्नो कोटा पूरा गरेर गयो । एकपछि अर्को गर्दै मनकुमारीको पारिवारिक सपनामा बज्रपात परिरह्यो । उनको दिलमा परेको घाऊमा खाटा बस्न कहिल्यै पाएन । अब टुहुरो वालकलाई हुर्काउनु र बुढेसकालको बैशाखीलाई दह«ो बनाउने विकल्प मात्र रह्यो उनीसँग ।
… …
जेठी छोरीको परिवार विवाहपछि बसाई सरेर तराइतिर झरेको थियो । त्यसैले छोरीसँग भेटघाट त्यति हुन पाउँदैन थियो । बर्सबर्समा फुर्सद मिलाएर आमा र भदैलाई भेट्न आउँछिन् दिलकुमारी । मोवाइल हातहातमा भएपछि भने आमाछोरीको मोवाइलमै वार्तालाप हुन्छ । मनकुमारीले त्यति धेरै मोवाइल चलाउन त जान्दिनन् तर उताबाट आएको उठाउन र केहीलाई मात्र निश्चित अङ्क दवाएर डायल गर्न जानेकी छिन् ।
अक्सर छोरीसँग बेलुका परेपछि फोन गर्छिन् मनकुमारी । दिनभरि कामधन्दा ठिक्क हुन्छ । फुर्सद पनि रातीमै हुन्छ उनलाई । अधिकांश ग्रामिण परिवेसका मान्छेको नियती नै हो यो ।
टिनिन्न टिनिन्न मोवाइलको घण्टी बज्यो । बिस्तराबाट जुरुक्क उठेर सबलले हजुरआमालाई सोध्यो ‘खै खै हजुरआमा कस्ले गरेको फोन, म हेर्छु । ठुल्दिदीले होकी ? ल हेर्नुस् ठुल्दिदीकै रै’च त । फोन उठायो उसले– ‘हेलो ठुल्दिदी ढोग गरँे, सन्चै हुनुन्च ? हजुरआमालाई दिन्चु है कुरा गर्नुस् ल ।’ हजुरआमालाई मोवाइल दियो ।
‘हेलो’
‘नमस्ते आमा । सन्चै हुनुहुन्च ? सबल पनि सन्चै छ ?’
‘अँ सन्चै छम् बा, सबल पनि ठिकै छ । तिमरु सबै ठिक छौ ?
‘सवैलाई ठिकै छ’
‘के चाल छ त ?’
‘आज सहिद दिवस । स्कुलमा कार्यक्रम थियो । सबै सहिद परिवारलाई अभिनन्दन गरेका थिए । म पनि गै’थेँ । कार्यक्रम राम्रो भयो । तर सहिद दिवस पनि दुइटा माओवादीले छुट्टाछुट्टै मनाएको भन्ने सुनियो । कति नरमाइलो भयो । क्यासवालाहरूले त आफ्नै पार्टीकार्यालयमा मना’थे अरे । मान्छे पनि धेरै थेनन् भन्ने खबर ल्या’थे । आज हाम्रो भाइको सहादत भएको दिन सम्झेर तपाइँलाई फोन गरेको ।’ उताबाट बेलीविस्तार लगाइन दिलकुमारीले ।
‘अँ हो नानी । आज हाम्रो विमलको सहादत भएको दिन त हो केरे । तर….। खै के गर्ने । मर्ने मरेर गए । यस्तै बर्सबर्समा कार्यक्रम गर्छन् र ठुल्ठुला कुरा गर्छन् नेताहरू । गरिपु¥याउने कोहि होइन जस्तो लाग्छ कतिखेर । सबै आ–आफ्नै दुनो सोझ्याउन व्यस्त भा’जस्ता छन् ।’ गुनासो पोखिन् छोरीसँग ।
फोन बन्द थिएन । छोरीसँग एकोहोरो कुरा गरिरहिन् मनकुमारीले ।
‘शरीरमा लागेको घाउ त औषधी गरे निको हुन्छ, तर हिर्दयमा लागेको घाउ निको हुन गाह«ो हुँदो रै’च । त्यत्रो युद्ध लडेका पार्टीहरू ऐले आफाआफै लड्दै छन् । एकअर्कामा हिलो छ्याप्नै ठिक्क छ । यिनले कहिले क्रान्ति गर्ने हुन् र हाम्रा घाउमा मलम लगाउने हुन् खोई । आज यहाँ पनि गाउँमा सहिद दिवस मना’थे अरे म त गै’न । अब त बुढेसकाल लागेर हो कि हिँड्दा हातगोडा फत्राकफुत्रुक्क हुन्छन् । कार्यक्रमबाट फर्किएर दुईजना पत्रकार घरमा आ’थे । मसँग अन्तरवार्ता लिए । खाटा बस्न लागेको घाउ कोट्याएर बल्झाउने मात्र त हो बाबु, भनेँ । त्यसो नभन्नुस् आमा कसैले क्रान्तिलाई धोका दिँदैमा सबैले दिँदैनन् । कुनै दिन फेरि क्रान्तिको नगरा बज्छ भनेर सम्झाउँदै थिए । त्यो त हो बाबु, क्रान्ति कसैले चाहँदैमा तुरुन्तै भैहाल्ने कुरा त होइन क्यारे भनेँ मैले । खै यस्तै त भयो नानी ।’ वार्तालाप लामै भयो आमाछोरीको ।
‘हो आमा । जे हुनु भै हाल्यो । अब कसैलाई दोष दिएर पो के गर्नु । गुमेका मान्छे फिर्ता हुने होइनन् ।’ दिलकुमारीले सम्झाउने कोसिस गरिन् ।
‘बरू लड्दा लड्दै हारेर क्षति भएको भए सहन अलि सहज हुन्थ्यो होला । यहाँ त त्यस्तो पनि भएन । अब त जित्नै थालियो केरे भन्ने बेला दुश्मनसँग सम्झौतामा लगेर धोका दिए । यसले पो भतभती पोल्छ त छोरी । मन थाम्दाथाम्दै पनि भित्रैबाट हुरीबतास मडारिएर आउँछ । पीडा हुन्छ । कुनै दिन क्रान्ति त होला, आशा गर्ने कुरा त छँदै छ, तर यत्रो पीडा सहेका परिवारलाई भेट्न कुनै पनि नेता नआउँदा मन जलिरन्च । हाम्रै घरमा खाएपिएका नेता आज सहर छोड्दैनन् । यो सहरमा बस्दाबस्दै बचेखुचेका राम्रा नेता पनि जालोमै फस्ने हुन् कि भन्ने डरले पिरोल्छ बा के गरम् ।’
फोन बन्द भयो । निकै लामो सुस्केरा हालिन् मनकुमारीले । हजुरआमाका कुरा निकै ध्यान दिएर सुनिरह्यो सबलले । वालसुलभ मनमा क्रान्तिको बिउ रोप्यो उसले । आप्mना बाबुआमालाई राम्रोसँग ठम्याउन पनि नपाउँदै टुहुरो बनाउने सत्ता ध्वस्त पार्ने सपना मनभरी साँचेर गरुङ्गो मन बनायो । रातीको दश बजिसकेको थियो । दुबै बजैनाति सुते ।
७ असोज २०७१
काठमाडौं
इच्छुक सांस्कृतिक प्रतिष्ठानले प्रकाशन गरेको साहित्यिक त्रैमासिक पत्रिका ‘इच्छुक’मा प्रकाशित मेरो नयाँ कथा
(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )