‘पाँच बज्यो’ मोबाइलको अलार्म चिच्यायो । उठें । उसको कोठाको ढोका खुलै थियो । उ थिएन । काउन्टरको केटो टेबलमै निदाएको थियो । बोलाएपछि उठ्यो । बिल तिरें । बिस्तारै तल झरें ।
सोचें ‘रात गइ बात गइ, आउने हो कि ।’ तर, उ देखिएन । ड्राइभिङ सीटमा एउटा सेतो चिर्कटोमाथि चाबी थियो । त्यो कागज अलिपर सारेर बसें । स्र्टार्ट गरें । डम्म कुहिरो छ । गाडी बिस्तारै अघि बढाएँ ।
रातको बातले मगजमा फन्को मार्यो । एक्लै फत्फताएँ – रामबहादुरले के गरेको त्यस्तो ? यतिका वर्षको विश्वास एकै झवाकमा भत्कायो । मत्थु मोरो । ‘सरको ड्राइभर झगडा गर्दैछ’ राती ११ बजे वेटरले उठाएपछि मेरो पारो तातेको थियो । काउन्टरमा उ लठ्ठ थियो । होटल मालिक्नीले सटको कलर समातेकी थिई । दुवै तँतँ मम गर्दै अपशब्द बोलिरहेका । छुट्याउन एक चड्कन लगाएँ । ‘सर पनि कुरै नबुझी…’ ऊ रोएको थियो ।
दिउँसै भनेथें ‘रक्सी नखाउ है । ५ बजे नै फर्कनु पर्छ ।’ रेडियोको रिपिटर टावर राख्न डाँडामा ठाउँ छनोट गर्ने काम । जडान थाल्ने जोहो गर्न विहान ७ बजे नै विराटनगरबाट काठमाडौं उड्नु थियो ।
भेडेटार-धरानको १६ किलोमिटर नागबेली घुम्तीमा ओह्रालो असजिलो लाग्छ । ब्रेकबाट खुट्टा हटाउनै मिल्दैन । सोच्छु -‘छिटो कुदाएर केही जित्नु छैन-बिस्तारै गए अवश्य पुगिन्छ ।’ एक्लै बोलें -‘ब्रेक अलि लुज भएछ कि क्या हो । यस्तो गाडी कसरी कुदाउँछ रामबहादुर ?’
ध्यान त्यो अघिको सेतो चिर्कटोमा पुग्यो । उठाएँ । उसले लेखेको रहेछ ।
सर,
त्यस्तो चिसो कोठामा सिरक थिएन । सोध्न झरेको थिएँ । होटल मालिक्नीले मनपरी बोली । पैसा तिरेरै बसेको हो, कसरी सहने ? मैले पनि जवाफ दिए । भनाभन भयो । उसले हात हाली । अनि तपाइले आएर कुरै नबुझी मलाई चड्काउनु भो ।
धेरै रीस उठेको थियो । त्यही झोकमा मैले दुवै ब्रेक खोलेर पुर्जा छुट्याएँ । टुल बक्स डाँडाबाट हुर्याइदिए । पछि मलाइ गल्ती गरें भन्ने चेत भयो । अनि टुल बक्स खोजें, भेटिन । सर, गाडी नचलाउनु होला । अरु कुनै रिजर्भ लिएर जानुहोला । म मर्मत गरेर दिउँसो लिएर फर्कन्छु । मलाई माफ गर्नुहोला ।
हजूरको आज्ञाकारी
रामबहादुर
(स्रोत : Bhim Ghimirey’s Blog)