परिचय उतै कतै पहाडमा छाडेर
मैदान झरिसक्दा
तातो घामले देश हैन पानी खोजिरहेको छ
फूलमान रिक्सा कुदाइरहेछ ।
भोकले स्वतन्त्रता हैन
खान मागिरहेछ
घामले राष्ट्रियता हैन
छहारी मागिरहेछ
लठ्ठीमा उनेर जुलुस लगाउने झन्डा
त्यतिखेर प्यारो हुन्छ
जब जाडोमा एकसरो बेर्न काम दिन्छ
फूलमानलाई चन्द्र सूर्य उचालेर
कतै फर्फराउनु छैन ढोंगी देशप्रेम
बरु गुप्ताङ्गमा बेरेर
आफ्नै लाजको राष्ट्रियता ढाक्न पाए
त्यो झन्डाको पनि माया हुन्छ ।
जसरी यो हावा राहादानी बोक्दैन
जसरी त्यो चरो निस्फिक्री उड्छ
त्यसरी नै हिंड्न चाहन्छ फूलमान
तर, किन छेक्छ सरकार उसको स्वतन्त्र बाटो ?
किन खोजिन्छ फूलमानको राहदानी ?
कसले भागबन्डा गरिदियो यो पृथ्वी ?
कसले बनायो
पृथ्वी, सूर्य, चन्द्रमा र आकाशको लालपुर्जा ?
हो तिनैविरुद्ध ज्वालामुखी बोकेर
फूलमान रिक्सा कुदाईरहेछ ।
खासमा कसले बनायो सरकार ?
कसले हाल्यो फूलमानको नाममा पातकी भोट ?
त्यसैले खोसेको हो उसको परिचय
हो त्यसैले लगाइदिएको हो पहिरोको माला
र त्यसैले झारेको हो यो भुतभुते बस्तीमा
तिनैले चोरेका हुन् उसकी स्वास्नी
तिनैले बेचेका हुन् उसकी छोरी
तिनैले थमाएका हुन् यो जर्जर रिक्सा
जहाँ फूलमान ओसारिरहेछ समय
र पत्तै नपाई जिन्दगी साहूका नाममा सारिरहेछ ।
एक दिन मान्छेहरुले भने
‘फूलमान बौलायो’
च्यातिदियो नागरिकताको खोस्टो
बालिदियो लालपुर्जासँगै यो देशको झन्डा
गाली दियो देशका नाममा
अलिकति नेताका नाममा
अनि अन्तिममा आफ्नै नाममा
र निस्कियो रिक्सा लिएर ग्राहकको खोजीमा
त्यतिबेला उसले
चे ग्वेभाराको चित्र भएको टिसर्ट लगाएको थियो ।
&&&
*यो कविता १३ चैत २०७१ को शुक्रबार साप्ताहिकमा प्रकाशित भएको छ
(स्रोत : Nepalisahityaghar.com)