घर फलाउँछन्
घरै खान्छन्
हेरौं भुइँ या आकाशबाट
अत्यास लाग्छ
यो शहर,
सास पो कसरी फेर्छन्
मान्छेजस्ता मान्छेहरू ।।
हाम्रा अभाव हाम्रा दुःख
बाउन्ने आकारका बुझ्छन्
उनका गोडामा ठेस लाग्न हुन्न
उनका खानेकुरा घट्न हुन्न
तोड्ने-फोड्ने
जोड्ने-घटाउने
कसलाई फाल्ने
कसलाई अँटाउने
सरकार उनैलाई
सुविधा उनैलाई
हाम्ले के पाएनौ
दुविधा उनैलाई
मुलुकको एक्सिलेटर बटारून् की
ठाउँ कुठाउँ ब्रेक लगाउन
हामीले हेरिरहनु पर्छ ।
गाउँ सिध्याएर हिडेकाहरू
खाल्डामै गुँड लाउँछन्
गाउँ विकास भएन भन्छन्
तिमीहरूले कागजमै मात्र बजेट पठायौ
बृद्धभत्ता पनि बेलामा दिएनौ
काठ लग्यौ, गाँठ लग्यौ
हाम्रा बारीमा फलेका पात र डाँठ लग्यौ
पहाड रूञ्छ, काँठ रूञ्छ
खाल्डोका कान बुजिएको छ
उ भन्छ मात्रै
हाम्रो सुन्दैन
किन ? किनकी
हामीले उसका इयर फोन थुतेनौ ।
खाल्डो अट्टहास गर्छ
हामी उ हाँसेको बुझ्छौं
उसले लुट्न जानेको छ
कुट्न जानेको छ
नालिस के दिनु
उ बिना धरौटी छुट्न जानेको छ
तैपनि उ दुःख पोख्छ
राजधानी भनेर के गर्नु
सडक छैन, पानी छैन
गाउँजत्ति राम्रो कहानी छैन ।
हो, उकुसमुकुस छ
प्रष्ट स्पष्ट
एकाबिहानै कुकुर लिएर दौडेका छन्
मधुमेह, उच्च रक्तचापका मायालुहरू
गमलामा खुर्सानी फलाएर
उद्यममा अखबारी प्रशंसा बटुल्नेहरू
यता घर, उता घर
खुसीहरू डेबिट-क्रेडिट कार्डमा साटेर
रेष्टुरामा रमाउनेहरू
सास फेर्दा धुआँ उकेल्छन्
मुख बाउँदा र्याल निकाल्छन्
भ्यागुताजस्ता जिब्रोधारी ।।
अवसर आफ्नै पोल्टोमा
योजना आफ्नै पोल्टोमा
गाउँमा पठाएर कागजी योजना
उ भन्छ
कामै नलाग्नेहरू
बित्थामा खाल्डोलाई सराप्छन्
होइन ?
योजना फलाउँछन्
योजना खान्छन्
हेरौं भुइँ या आकाशबाट
अत्यास लाग्छ
यो शहरमा
सास पो कसरी फेर्छन्
मान्छेजस्ता मान्छेहरू ।।
३० असोज २०७०
(स्रोत : Bhim Ghimirey’s Blog)